गतसाता प्राणवायु अक्सिजन जस्तै हाम्रालागि अभिन्न बन्दै गएको मोबाइल विग्रेर बनाउने ठाउँ खोज्दै दमौली बजार चाहार्दै थिएँ । धेरै ठाउँमा देखाएँ तर कसैले पनि मोबाइल बनाएनन् बरु मलाई निराश भने बनाए ।झट्ट मोबाइल मर्मतका सबै काम हुन्छन् भन्ने सुनेको एउटा पसलको नाम याद आयो र त्यही पसल तर्फ लागें ।
मोबाइलमा आएको समस्या बताएपछि काम चलाउ ढंगको मर्मत हुनेभन्दै पसलवालाले तुरुन्तै मोबाइल खोल्न थाले र गफको श्रृङ्खला पनि सुरु गरे । म शिक्षण पेशामा भएको थाहा पाएका उनले उक्त पेशामा आवद्ध भएको कति वर्ष भयो ? निवृत्त हुने बेला भयो कि भएन ? किन दमौली सरुवा भएर नआउनु भएको ? जस्ता प्रश्न गरे । मैले क्रमैसंग जवाफ दिँदै गएँ र दमौली सरुवा भएर नआउनुको कारणमा आफु सरुवाको लागि नेताकोमा धाउने नगरेको बताएँ । उनले थप सोधे, तपाई कुन पार्टी समर्थक ? मैले भनें, म सेतोपाटी समर्थक । रवि लामिछानेका समर्थकले झै उनले मुखाकृति विगारे र भने तपाई पनि १२ भाइको पक्षधर पो । साँच्चै त्यो अनलाईन कुन पार्टीको झोलेले चलाएको हो ? मेरो उत्तरको अर्थ नबुझेका उनले प्रश्नको वर्षा नै गरे । मैले आफु शिक्षक भएकाले कुनै राजनैतिक दलको समर्थक हुनुभन्दा पहिला सेतोपाटी अर्थात ह्वाइट बोर्डको समर्थक भएको बताएँ ।
उनले सामुदायिक विद्यालयको दूरावस्थामा शिक्षक, अभिभावक, सरकार र विद्यार्थी सबै जिम्मेबार रहेको उल्लेख गर्दै दिग्दारी व्यक्त गरे र आफुले चाहेर पनि सामुदायिक विद्यालयमा आफ्ना बच्चा पढाउन नसकेको भन्न भ्याए । निरन्तर एक्लै बोलिरहेका उनलाई रोक्दै उनको पछिल्लो भनाइमा प्रश्न गरें, किन ? उनले सहजै उत्तर दिए, शिक्षक आफुले पढाएको विद्यालयमा आफ्ना छोराछोरी पढाउँदैनन् । उनीहरुलाई आफ्नै शिक्षण क्षमतामा विश्वास छैन अनि हामीले कसरी विश्वास गर्ने ? मोबाइल बन्ने विश्वासमा फक्रेको फूलजस्तो भएको मेरो चेहरा आगोमा परेको प्लाष्टिक जस्तो भयो ।
बाल्यकालमा म धुले पाटी समर्थक थिएँ । हामीलाई एक–एकवटा साना धुलेपाटी दिइएको हुन्थ्यो । त्यसमा मसिनो धुलो जम्मा गरेर पाटीलाई हल्लाएर धुलोलाई विस्कुन सुकाए जसरी पाटीभरी फिँजाउँथ्यौं अनि अक्षर र अंकहरु लेख्न सिक्थ्यौं । हामीले क, ख र १, २ लेख्न सिकेको धुलेपाटीमा नै हो । अलि ठूलो कक्षामा गएपछि मात्रै गुरुहरुले कालोपटीमा चकले लेखेर पढाउनु भएको हो । शिक्षण पेशामा आएको डेढ दशक कालोपटी समर्थक भएँ । त्यस यता दैनिक ६ पटक सेतोपाटीको अगाडि उभिएर बालबालिकाका अगणित जिज्ञासा समाधान गर्ने प्रयासमा छु, त्यसैले मैले मोबाइल मर्मतकर्ताको तपाई कुन पार्टीको समर्थक ? प्रश्नको जवाफमा सेतोपाटी समर्थक भनेको हुँ । समयको पदचाप पछ्याउने क्रममा स्मार्ट बोर्डको समर्थक हुँ भन्ने दिन पनि आउला तर अहिलेलाई सेतापाटी समर्थक ।
शिक्षण पेशामा आवद्ध भएको तीन दशक पूरा भएछ । शिक्षकलाई आदर्श मान्ने पुस्ताको प्रतिनिधि मैले यो बिचमा विस्तारै नयाँ पुस्ताले आदर्श मान्न छोडेको देख्दैछु । विद्यालय, समाज र देशका लागि उसले निर्वाह गर्नुपर्ने अभिभावकिय भूमिका खुम्चिएको त छैन र उसको स्वीकार्यता खुम्चिँदै गएको देख्दैछु । अभिभावक भनिएको राज्यले गर्ने दोस्रो दर्जाको नागरिकको व्यवहारले भोगी रहेछु । अनि हाम्रो पेशागत हितको काम गर्छौं भन्ने कसमसंगै हामीसंग उठाएको लेवी खाने तर हामीलाई आफ्नो सुविधाको सोपान बनाउने शिक्षक नेतृत्वपनि व्यहोर्न अभिषप्त छु ।
कोेभिडकै वीच म जस्ता थुप्रै शिक्षकहरु कहिले विद्यालय खोल्न पाइएला र बाल बालिकाको मनलाई शिक्षाको ज्योतिले प्रकाशित गर्न पाइएला भनेर व्यग्र प्रतिक्षामा थिए । तर राज्य खोप लगाउन पाउने नागरिकको सूचिको पुछारतिर शिक्षकलाई राखेर विद्यालय खुल्ने दिन पर धकेल्दै थियो अनि हाम्रो समाज शिक्षकले घरै बसीबसी तलब खाए भनेर घारेहात लगाउँदै थियो ।
राज्यद्वारा गरिएको विभेदको हिसाब गरिसाध्य छैन, शिक्षक माथि । देशका विभिन्न स्थान घुमेर ति स्थानको सभ्यता, संस्कृति, परम्परा, भुगोल, हावापानी लगाएत विषयमा जानकारी राख्ने र त्यसबारे बाल बालिकालाई जानकारी गराउने कुरा शिक्षकका लागि बढी आवश्यक हुन्थ्यो । तर केही वर्ष अगाडी हरेक वर्ष १० दिन पर्यटन काज तथा त्यत्ति नै बराबरको तलब सुविधा दिने घोषणा सरकारले गर्दा त्यो सुविधा पाउनेमा शिक्षक नै परेनन् । नियमित आवधिक बढुवाको व्यवस्था शिक्षकका लागि छैन । एउटा शिक्षक सेवा प्रवेश गरेको २० वर्षसम्म सोही श्रेणीमा काम गरेर अवकासमा जाने अवस्था छ । राज्यले ईसिडी शिक्षक तथा कार्यालय सहायक र सहयोगी माथि विभेद गरिरहेको छ । आत्महत्या गर्न नसकेकाहरु शिक्षक बन्छन् भन्नेलाई हामी प्रधानमन्त्री मान्न÷भन्न बाध्य छौं ।
बालबालिकाको हात समाएर भविष्यका रेखा कोर्न सिकाउने एउटा प्राथमिक शिक्षकलाई आफुजस्तै तर माथिल्लो तहको भनिने शिक्षकर्ले जब प्राथमिक तहको शिक्षक भएकाले कक्षामा मेहनत गर्न नपर्ने ,पढाउन सजिलो हुने भएकाले सहकर्मीभन्दा धेरै पिरियड पढाउनु पर्छ भन्छ, तब आफ्नै भित्र मौलाएको विभेदरुपी विषवृक्ष देखेर उसका नशा, नाडी गलेर आउने रहेछ । यस्तो बेला मेरो मनमा प्रश्न आउने गर्छन्, गोरेटो बनाउनुभन्दा बनिबनाउ गोरेटोमा हिँड्न गाह्रो हुन्छ भन्ने ज्ञान पाउन कुन विश्वविद्यालय पढ्नु र कुन तहको डिग्री हासिल गर्नु पर्छ होला ? पूर्व प्राथमिक वा प्राथमिक तहका शिक्षकलाई हेलाँ होचो गरेर, तँ हामीभन्दा भिन्न दर्जाको नागरिक होस् भनेर शिक्षाको जग राम्रो बन्ला ?
यि सबै अवहेलना, हेय, विभेद, दोस्रो दर्जाको नागरिकको व्यवहार सबैलाई वेवास्ता गर्दै संसार परिवर्तनका लागि महत्वपूर्ण योगदान कसैको छ भने शिक्षकको छ र ति संसारका करोडौं शिक्षक मध्येको म पनि एक हुँ भन्दै दृढता पूर्वक सेतोपाटी समर्थक भइरहेछु । कहिलेकाहीँ लाग्छ, राज्य, समाज, अभिभावक, आफ्नै सहकर्मी आदिले साना साना प्रोत्साहनका कार्यक्रम ल्याईदिए सेतोपाटीका प्रतिको मेरो समर्थन थप सुदृढ हुने थियो । र चित्त बुझाउन आफैसंग कुरा गर्छु, हतोत्साही तुल्याउने काम छाडेर राम्रो काममा हैँसे गरिदिए हुने ।
म सेतोपाटी समर्थक
previous post