
कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा संकट छाएको छ । हाम्रोमा कोरोनाकै कारण एसइई परीक्षा स्थगनमा छ । देश बन्दाबन्दीमा छ । कोरोनाको महामारी रोकिएर जनजीवन सामान्य बन्ने कहिले हो भनेर भन्न सकिने अवस्था छैन । र यहिबेला माध्यमिक शिक्षा परीक्षा(एसइई) कहिले गर्ने,गर्ने कि नगर्ने, गर्ने भए कसरी गर्ने, नगर्ने भए विकल्पहरु के हुन सक्छन् भन्ने सम्बन्धमा यतिबेला देशव्यापी वहस भइरहेको छ । शिक्षामन्त्री लक डाउन खुलेको तीन हप्तामा एसइई हुन्छ त्यसैले विद्यार्थीहरुले पढाइलाई निरन्तरता दिनुस् भनेर विद्यार्थीहरुलाई आग्रह गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड पनि मन्त्रीकै भाषामा कानुनत एसइई सञ्चालन गर्नेपर्ने भनिरेको छ । विकल्प खोज्ने बेला भएको वा परिस्थिती सृजना भएको र सरोकारवाला निकाय र व्यक्तिहरुसंग आवश्यक छलफल र परामर्श गरी उपयुक्त विकल्प छनौट र कार्यान्वयनमा थारै नै सहि तानिएको देखिएको छ । यतिबेला अर्काे बहस पनि सुरु भएको छ । जस अनुसार ६ वटा अनिवार्य विषयको परीक्षा, बोर्डले सञ्चालन गर्ने र दुइवटा एच्छिक विषयको मूल्याङ्गकन विद्यालयले गर्ने उल्लेख छ ।
यसै पनि मुलुकमा जुन ढंगले एसईई परीक्षा सञ्चालन हुँदै आएको छ, यो नै मुलुकले अपनाएको प्रणाली तथा पद्धतिको विरुद्धमा छ । एकातिर, विद्यालय शिक्षालाई १२ कक्षासम्म कायम गरिसक्दा पनि कक्षा १० को अन्त्यमा देशभर एकसाथ लिइने केन्द्र सञ्चालित यस्तो परीक्षा कायम राखिराख्नुको कुनै औचित्य छैन । र यहीबेला कतिपय वुद्धिजिबीहरु तथा सांसदहरु समेत यस पटक एसइई सञ्चालन गर्नु कठिन हुने र महत्व घट्दै गएका कारण अभिभावकलाई अनावश्यक आर्थिक बोझ दिने तथा विद्यार्थीमा तनाव बढाउने यो परीक्षा लिन छाड्नु उपयुक्त हुने तर्क गरीरहेका छन् । प्राध्यापक डां विद्यानाथ कोइरालालाई पनि कक्षा १० परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन गर्न आवश्यक छैन भन्ने लागेको छ । कोइरालका अनुसार कक्षा १२ मा बोर्ड परीक्षा हुने भएकाले एसईईको औचित्य समाप्त भइसकेको तर्क शिक्षाविद्हरूको पनि छ । प्रतिनिधि सभाका सदस्य बाबुराम भट्टराईले अब एसइई सञ्चालनको आवश्यकता नरहेको बताएका छन् भने नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदिय समितिमा अहिलेको अवस्थालाई अवसरको रुपमा लिएर एसइई बन्द गर्नुपर्न सुझाएका छन् । निजी विद्यालयहरुका संगठनहरुले पनि यसको मूल्याङ्गन गर्न विद्यालयलाई दिइनु पर्ने भन्ने तर्क गरिरहेका छन् । यद्यापी निजी विद्यालयहरुको यो तर्कमा स्वार्थ रहेको भन्नेहरु पनि छन् । शिक्षामन्त्रीले भनेझै एसइई समाजिक दूरी कायम गरेर सञ्चालन गरौंला तर तर सोचनिय कुरा के हो भने त्यो मन्त्रीले भने झै सहज छैन । र त्यत्तिमै समस्या सकिँदैन पनि । सांघुरा कपि परिक्षण केन्द्रहरुमा बसेर कपि परिक्षण गर्नु पर्दा शिक्षकहरुपनि जोखिममा रहन्छन् भने उत्तर पुस्तिकाको कोडिङ डिकोडिङमा पनि उस्तै समस्या रहन्छ ।
यसै पत्रिकाका स्तम्भकार छविदीप आलेले चैत्र ६ को अंकमा यस विषयमा बहस सुरु गर्नु भएको थियो । खासगरी कक्षा ९–१२ लाई माध्यमिक तह भनिएको सन्दर्भमा नाम नै असान्दर्भिक हो कि भन्ने उहाँको तर्क छ । कक्षा १२ मा राष्ट्रिय परीक्षा बोर्डले देशव्यापी परीक्षा सञ्चालन गर्ने र सरकारी सेवामा प्रवेशका लागि कक्षा १२ उत्तीर्ण गर्नु अनिवार्य भएपछि कक्षा १० को परीक्षाबाट प्राप्त गर्ने प्रमाणपत्रको महत्व कम हुने तर त्यसले अभिभावकमा थप्ने आर्थिक बोझ र विद्यार्थीलाई दिने मानसिक दवाव बढी भएकाले अहिले जुन तामझामका साथ सञ्चालन गर्दै आइएको छ, त्यो ढंगले गर्नु आवश्यक छैन भन्ने उहाँको आशय थियो । उहाँको मुल आशय थियो, कक्षा १० मूल्याङ्गकन गर्ने अधिकार विद्यालयलाई नै दिनुपर्छ ।
एसइईमा राम्रो ग्रेड ल्याउनु पर्ने भन्दै विद्यालयहरुले विद्यार्थीलाई पढ्न प्रेरित गर्न छाड्लान, घट्दै गएको विद्यार्थीको पठन संस्कृतिमा अझै कमि आउला भन्ने चिन्ता पनि छ र जुन अत्यन्त जायज हो । खुल्ला एसइईमा समावेश हुन चाहने विद्यार्थीको हकमा एसइई प्रणाली हटाउँदा पर्ने समस्याका बारेमा पनि ठोस निर्णय गर्नुपर्ने त छँदैछ । एसइईमा समावेश हुने विद्यार्थी केन्द्रीत कोचिङ तथा ट्युसन सेन्टरहरुको भविष्य पनि यो संगै चौपट हुनेछ । अभ्यास पुस्तकको प्रकाशन तथा विक्रि वितरण गरिरहेका प्रकाशक ्तथा विक्रेताको आम्दानी घट्ने छ । खासगरी अंग्रेजी, गणित र विज्ञान जस्ता विषय अध्यापन गर्ने शिक्षकहरुको अलिअलि हुने अतिरिक्त आम्दानी पनि घट्ने छ । उत्तर पुस्तिका परीक्षण तथा सम्परिक्षणमा संलग्न हुने शिक्षकहरु अनि कोडिङ तथा डिकोडिङ लगाएतका अन्य नतिजा तयारीका काममा लागि पर्नेहरुको पनि अतिरिक्त आम्दानी घट्ने नै छ ।
पुरानो एसएलसी परीक्षाको महत्वको प्रभाव हामीमा कायमै भएको र कक्षा ११ मा कस्ता विषय पढ्न पाउने भन्ने कुराको आधार कक्षा १० मा विद्यार्थीले प्राप्त गर्ने अंक भएकाले विद्यालयहरुले वास्तविक मूल्याङ्गकन नगरी जथाभावि अंक दिने समस्या पनि रहने छ । अहिले प्रयोगात्मक परीक्षा हुने अनिवार्य गणित र ऐच्छिक प्रथम बाहेकका विषयमा विद्यालयहरुले जसरी अङ्ग राखेर पठाउने गरेका छन् त्यसलाई हेर्दा, आफ्ना विद्यार्थीले राम्रो ग्रेड ल्याएको देखाउन अझ खासगरी निजी विद्यालयहरुले विद्यार्थी आकर्षित गर्न यसो नगर्लान भन्न सकिने अवस्था पनि छैन । तर परिवर्तनलाई आत्मसात गर्दै जाँदा र एसइईको पुरानो महत्व घटेको आम अभिभावकले बुझm्दै जाँदा यी समस्याहरुको निराकण हुँदे जानेछ ।
एसइई नगर्दा हुने नकारात्मक प्रभाव अवश्य छन् । तर अहिलेको विषम अवस्था, घट्दै गएको एसइईको महत्व र यसले अभिभावक र विद्यार्थीमा पारको प्रभाव आदिबारे विश्लेषण गर्दा यो परीक्षालाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल र वहस चलाएर उचित निर्णयमा पुग्नु पर्ने बेला भएको छ । एसइई यसै वर्षबाट पूर्णत बन्द गर्न सम्भव छ÷छैन यस बारेमा बहस र छलफल गरेर आगामी दिनका लागि योजना बनाउन सकिन्छ । मेरो आग्रह अहिलेको एसइई प्रणाली बारे पुनःविचार गरौं ।