
पोखरामा पढ्दै गरेको छोरा हरेक पटक दमौली घर आउँदा मेरा लागि केही कोसेली छ कि भन्ने आशा रहन्छ । उ मलाई निराश बनाउन चाहँदैन र एउटा न एउटा नयाँ किताब लिएर आउँछ । गत महिना घर आउँदा उसको झोलामा ‘तोरकीन’ नामक उपन्यास रहेछ । मेरो हातमा तोेरकीन राखिदिँदै भन्यो, “माथिल्लो हिमाली भागको भूगोल, सभ्यता, संस्कृति, संस्कार र परम्परा बुझ्न सहयोगी हुने पुस्तक रहेछ ।”
‘क्षितिज समर्पण’ मेरालागि नयाँ नाम थियो । तर छोराले माथिल्लो मुस्ताङको जन्म, नामाकरण, विवाह, मृत्यु संस्कार तथा स्थानीय संस्कृति र परम्परा अनि चाडवाडहरु र मनाउने तरिका, स्थानीय जनजीवन लगाएतको सुन्दर वर्णन गरिएको पठनीय पुस्तक भनेपछि पढ्न सुरु गरें । स्थानीय भाषाको प्रयोग र त्यसमा भएका कतिपय अपरिचित शव्दका कारण सुरुमा केही अप्ठ्यारो लागे पनि हिमाल पारीको जिल्ला मुस्ताङको दुर्गम तर प्राकृतिक सुन्दरताले भरिपूर्ण ‘चराङ’ को कथाले मलाई छिट्टै
बाँध्यो । भौतिक शरिर नपुगेपनि मेरो मन कहिले चराङ, कहिले चराङ दरबार, कहिले कागबेनी र छुसाङ पुग्थ्यो । उपल्लो मुस्ताङ घुमेर रमाउँथ्यो ।
सुर्खाङबाट गहुँ काट्न झरेकी छुक्की र चराङबाट झरेको नामग्याल कागवेनीमा एउटै गहुँबारीमा भेटिए । पहिलो दृष्टिमै राम्री लागेकी छुक्कीले पाङदेन लगाएकी भए नामग्याल खिस्रिक्क हुँदो हो । केतेन मात्र लगाएकी उसलाई देखेर नामग्याल हुरुक्क हुन्छ । उपन्यास पढ्दै गर्दा पाठकलाई आफु, कागवेनीको गहुँबारीमा भएको र आफ्नै अगाडि छुक्की र नामग्यालले मुस्कानको आभा छरिरहेको अनि एकले अर्काको हृदयलाई पल्लवित बनाइरहेको घटनाको साक्षी भएको अनुभूत हुन्छ ।
उनीहरुका आँखा आँखा बोलिरहे । परस्परको आँखाको भाषा बुझेर होला नामग्याल भन्छ, “छुक्की, ह्यार्का हाल्न पठाउँ ?” गजब छैन त प्रेम प्रस्ताव । नामग्याल र छुक्कीको मात्र होइन, छेवाङ र कुन्साङ तथा पेम्बा र कर्चुङका ‘क्याच्ची’ प्रेम सन्दर्भहरु उपन्यासमा छन् ।

नामग्याल र छुक्कीको छोरा छेवाङ, उसको साथी पेम्बा र छेवाङकी पत्नी कुन्साङको वरिपरी घुमेको छ, तोरकीन । हिमाली सभ्यात, परम्परा र संस्कृति बताउने अनेक प्रसंग उपन्यासमा छन् । हामी भन्छौं ढुङ्गाहरु बोल्दैनन् । तर माथिल्लो हिमाली भेगमा ढुङ्गाहरु बोल्छन्, मान्छेको भाषा । कुनै घरको ढोकाको बायाँ तर्फ चाङ लगाएर राखिएका दुइवटा ढुङ्गाले हामीलाई भन्छन्, उक्त घरमा गर्भवती महिला छन् । जब बच्चा जन्मन्छ, ति डुङ्गाहरु ढोकाको दायाँ तर्फ सर्छन् र तिनीहरुमा रातो वा सेतो पोतिन्छ । रातो पोलिएको भए छोरी र सेतो पोतिएको भए छोरा जन्मेको भन्ने बुझिन्छ । सुत्केरी महिला भएको घरमा कसैले ठूलो स्वरगरी बोलाएमा जन्मेको छोरा, छोरीमा बदलिने वा नवजात शिशुकको मृत्यु हुने विश्वासले थो राख्ने गरिँदो रहेछ ।
नवजात शिशुको नामाकरणमा पनि हिमाली भेगमा आफ्नै परम्परा रहेछ । सामान्यतया आइतबार जन्मेको बच्चाको नाम न्हिमा, सोमबार जन्मिए धावा आदि । नामाकरणमा पनि सजिलो, जन्मबार सम्झन पनि सजिलो । हिमालबाट पर भएका हामीलाई हिमाल देख्दा आहा ! लाग्छ । हामी सोच्छौं सधैं हिमालको काखमा बस्न पाए ? नुन लिन च्याङ्ग्रा सहित भोट पुगेको नामग्याल र उसका साथीहरुले खेप्नु परेको हण्डर, टासी र ल्हेन्डुक अनि च्याङ्ग्राको गएको ज्यानबारे पढ्दै गर्दा हामीले सोचे जस्तो रमाइलो छैन हिमाली जीवन भन्ने थाहा लाग्छ ।
यदाकदा प्रचलनमा रहेको तर विस्तार हराउँदै गएको बहुपति प्रथाको पिडा उपन्यासमा चित्रण गरिएको छ । विहेको दिन बेहुलोका भाइहरु जति जनाले बेहुलीलाई खादा लगाईदिन्छन्, उनीहरु सबैलाई श्रीमान् मान्नु पर्ने बाध्यतामा नवबधु हुने
रहेछन् । उब्जाउ जमिन कम भएको हिमाली भेगमा खाध्यान्नको अभाव कम गर्न शायद यो चलन चलाइएको हुँदो हो तर ति नवबधुको मुटुमा पर्ने गाँठो कसले देख्ने ? विस्तारै यसमा परिवर्तन आएको छ, दाजुको विहेको बेला भाइहरु केही केही बहाना बनाएर घर वाहिर बस्छन् र भाक्टा बस्न तयार नभएको जनाउ दिन्छन्, भाउजुलाई खादा ओढाउँदैनन् । आफ्नो बाबु को हो भनेर थाहा नपाउने समस्याबाट शिशुहरु मुक्त हुँदै गएका रहेछन् ।
वैदेशिक रोजगारीको पिडा पनि उपन्यासमा चित्रित छ । छेवाङ धेरै कमाउने र बाबा, आमा, भाइहरु, श्रीमती र छोरालाई सुख सुविधामा राख्ने सपना बोकेर वैदेशिक रोजगारीमा जान्छ तर हप्ता भरमा तीन दिन पनि काम पाउँदैन । फर्काैं ऋण कसरी तिर्नै, नफर्काैं काम छैन । काम नभएपछि कमाईको कुरै भएन
अमेरिका लगाएतका देशको आप्रवासनले घर, परिवारमा ल्याएको समस्या, बढ्दो विश्वव्यापि तापमानका कारण कालो पहाड बन्दै गएका हिमाल, रित्तिँदै गएका हिमाली र पहाडी ग्रामिण वस्ती, साथी–साथी बीचको बदलिँदो सम्बन्ध, अवैध कारोवारीको फन्दामा पर्ने सोझा नागरिक र तिनले खाने हण्डर तिजी, फाग्नी जस्ता चाडपर्व र मनाउने तरिका लगाएत विषयमा उपन्यासमा अन्यन्त मिहिन ढंगले वयान गरिएको छ ।
लेखक सरस्वती प्रतीक्षाले भनेझै क्षितिज समर्पणको लगन, मेहनत र मिहिनभन्दा मिहिन सांस्कृतिक र भौगोलिक पाटोहरुको उजागरले तोरकीन भव्य उपन्यास बनेको छ । कहीँकतै उपल्लो मुस्ताङ चराङको शाब्दिक वृत्तचित्र हेरेझैं, कहीँकतै चराङको पृष्ठभूमिमा लेखिएको सुन्दर फिल्म हरेझैं ‘तोरकीन’ ले तपाईँलाई थाहै नपाई अर्कै दुनियामा पु¥याउनेछ ।
