यतिखेर देश महायज्ञमय बनेको छ । हाम्रै तनहुँको सदरमुकाम दमौलीमा पनि अस्तिमात्रै एउटा महायज्ञ सम्पन्न भएको छ । भगवान् वेदव्यासको १०८ फुट अगले विराट् मुर्ति निर्माणार्थ श्रीमद्भागवत सप्ताह विराट् ज्ञानमहायज्ञ । यो विषय प्रति त्यति धेरै जानकारी नभएपनि एउटा आम तनहुँवासी र दमौलीबाट पनि नजिकैमा वसाइ भएको हुँदा थोरै सहि चासो लाग्ने रहेछ । तसर्थ एउटा आम मानिसको हैसियतले भगवान वेदव्यासको १०८ फुट अग्लो विराट् मुर्तिका सम्बन्धमा आफुलाई लागेको कुराहरु यो आलेखको माध्यमबाट पस्कने जमर्काे गरेको हुँ । सुरुमै निवेदन गरौं भुलचुक भएमा माफि चाहन्छु ।
भगवान वेदव्यासको १०८ फुट अग्लो विराट् मुर्तिले पक्कैपनि तनहुँको पर्यटन प्रवद्र्धनमा धेरै ठूलो मद्दत गर्ने छ । यसमा कसैको दुइमत छैन । वेदव्यासको मुर्तिसंगै पर्यटनका अन्य आधारभूत कुराहरुलाई पूर्ति गर्न सक्ने हो भने तनहुँको मात्र हैन धार्मिक पर्यटनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै एउटा उत्तम गन्तव्य बन्न सक्छ । तर यहि विषयलाई पनि भिन्न भिन्न कोणबाट नियाल्न सकिनछ । जस्तो कि हामी भगवान वेदव्यासको मुर्ति किन बनाउँदै छौं ? वेदव्यास तनहुँमा जन्मिएको भन्ने प्रामाणिक आधार भएर वा वेदव्यास तनहुँमा जन्मिएका हुन भन्ने प्रमाण दिनको लागि ? अनि कहिलेसम्म सक्ने वेदव्यासको मुर्ति बनाएर ?
हाम्रो सामु चुनौतिहरु धेरै छन् तसर्थ उचित र आवश्यक गृहकार्य गर्न नसकेको खण्डमा १०८ फुटको वेदव्यास ठडिन गाह्रै पर्छ । वेदव्यासकै मुर्ति निर्माणका लागि भनेर केही समय पहिला पनि महायज्ञ लगाइएको र सो महायज्ञमा करिब ७० लाख संकलन भएको भन्ने सुनेको छु । उक्त रकम मर्ति निर्माणको डिपिआर निर्माणका सकिएको भनिएको छ । यस पटकको महायज्ञमा झण्डै चार करोडको हाराहारीमा अर्थ संकलन भकउो छ । सम्पूर्ण खर्च कटाएर बच्ने भनेको त्यही तीन करोड आसपास हो । जुन रकम कुल लागत ६४ करोडको ४.६९ प्रतिशत मात्र हुन आउँछ । यदि यहि तरिकाले अगाडि बढ्ने हो भने उक्त मुर्ति निर्माणका लागि अझै अर्का २२ वटा महायज्ञ लगाउनु पर्ने हुन्छ । यस अघिको महायज्ञ र यस पटकको महायज्ञको समयान्तरलाई औसतमा साढे दुइवर्ष हिसाब गर्ने हो भने अझै ५५ वर्ष वेदव्यासको मर्ति ठडिने सुरसार आउँदैन । तसर्थ सम्बन्धीत निकायले अर्थ संकलनको लागि अन्य उपाय तर्फपनि ध्यान दिएको छ कि महायज्ञ कै भरमा छ ? पक्कै ध्यान दिएको छ । नभए अब दिनुपर्छ । भगवान वेदव्यासको उक्त मुर्ति तनहुँको मात्र होइन राष्ट्रकै गौरवको विषय हो । त्यसैले राज्यको पनि ध्यानाकर्षण गर्न सक्नुपर्छ ।
हामीले भगवान वेदव्यासको जन्म तनहुँमा भएको भनेर दावी गरिरहेका छौं । तसर्थ पनि वेदव्यासको मुर्ति जतिसक्यो चाँडो बनाउनु पर्ने आवश्यकता छ । किनभने नेपालमै पनि अन्य ठाउँहरुमा समेत व्यास क्षेत्रहरु रहेका छन् । बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेका छिमेकी भारतले पनि व्यासको जन्म भारतमा भएको भन्न छोड्दैन । गौतम बुद्ध भारतमा जन्मिएको भनेर छुट्टै लुम्बिनी बनाउन सक्ने भारतले भोली व्यास पनि भारतमै जन्मिएका हुन भनेर रातारात हामीले भन्दा अग्लो मुर्ति नठड्याउला भन्न सकिँदैन ।
१०८ फुट अग्लो वेदव्यासको मुर्ति पक्कैपनि तनहुँको सान र गौरबको विषय हो । यसको लागत पनि धेरै छ । ६४ करोड सानो रकम होइन् । त्यसकारण सो कार्यका लागि रकम संकलन गर्न अन्य उपायहरु सोचिहाल्नु पर्छ । महायज्ञको भर परेर हुँदैन । अस्ति तिरको कुरा हो, दमौलीका केही व्यापारिक वर्गका व्यक्तिहरु कुरा गर्दै गरेको सुन्न पुगें, संयोगले । उनीहरु भन्दै थिए, यो भन्दापहिले पनि दिएकै हो । यसपाली पनि दिनै प¥यो । एउटै कामको लागि दुइ दुइ वर्षमा पैसा दिइरहनु पर्ने । कसरी सक्नु यसरी त ? हुन पनि हो दमौलीमा लाग्ने जुनसुकै महायज्ञ होस् दान गर्न दमौली खाल्डो बाहिरका मानिस कमै पुग्छन् । निचार्ने त विचरा त्यही खाल्डोका साहु भनिनेहरुलाई नै हो । त्यस कारण महायज्ञ बाहेक अन्य विकल्प सोच्नु जरुरी छ । जस्तै एउटा विकल्प के हुन सक्छ भने तनहुँमा १० वटा स्थानीय निकाय छन् । व्यास नगरपालिका भित्र मात्रै १४ वटा वडा छन् । प्रत्येक वडाको बजेट वार्षिक एक करोड भन्दा धेरै नै हुन्छ । धेरै बजेट हुनेको केही धेरै अनि थोरै बजेट हुनेको केही थोरै गरेर औसत प्रति वडा १० लाखको दरले मात्र हिसाव गर्ने हो भनेपनि व्यासमा मात्र एक करोड ४० लाख संकलन गर्न सकिन्छ । अब सोचौ, अन्य सम्पन्न स्थानीय निकायहरु, प्रदेश र संघसंग सहकार्य गर्न सक्ने हो भने ६४ करोड उठाउन कति समय लाग्ला ? एक वर्षमै ठडिन्छन्, १०८ फुट अग्ला व्यास । तर यदि महायज्ञ कै भर परेर बस्ने हो भने २१ औं शताब्दी सकिँदा पनि व्यासको मुर्ति डिपिआर मै सिमित हुन बेर लाग्दैन । त्यस कारण राष्ट्रिय हिसाबमा तनहुँले , तनहुँको हकमा व्यास नगर पालिकाले यसको जिम्मा लिएर अगाडि बढ्नुको विकल्प छैन ।
अर्काे विकल्प हुन सक्छ, निजी क्षेत्रलाई जिम्मा दिने । हुन त निजी क्षेत्रलाई जिम्मा दिँदै गर्दा तनहुँवासीको अपनत्व र मुर्ति प्रतिको आफ्नो पनको कुराहरु पनि आउलान तर यदि त्यो कुरालाई व्यवस्थापन गर्न सक्ने हो भने निजी क्षेत्रलाई लिजमा दिनु पनि राम्रो विकल्प हुनसक्छ । निजी क्षेत्रले जिम्मा लिएका धेरै कामहरु समयमै सम्पन्न भएको उदाहरण पनि प्रशस्त छन् । काठमाण्डौंको चन्द्रागिरी हिल्सलाई नै हेरौं, चौधरी ग्रुपले नवलपरासीका निर्माण गरेको शास्वत धामलाई हेरौं । मनकामनाको केवलकार हेरौं । त्यस कारण तनहुँवासीको अपनत्वलाई कायम गर्न सक्ने हो भने निजी क्षेत्रलाई जिम्मा दिने एउटा राम्रो विकल्प हो । उनीहरु लगानी गर्छन, निश्चित समयसम्म चलाउँछन् । उक्त समयावधीको नाफा/घाटा उनीहरुकै । त्यसपछि फिर्ता । होइन भने सरकारी काम गराइको गति त उही हो । पार्क बनाउने भनेर खेल मैदान हटाइएको जिल्ला अस्पताल दमौली अगाडिको चउरको हालत हेरे थाहा भैहाल्छ ।
मैलै यतिकराहरु लेख्दै गर्दा कहिकतै महायज्ञ प्रति असन्तुष्टि जनाएको भाव पनि पर्न सक्छ । तर मेरो मनसाय त्यो भने होइन् । म आफैले पनि धेरथोर सहयोग गरेको छु । व्यासको मुर्तिको निर्माण लागत जम्मा गर्ने विभिन्न उपाय मध्ये एक हो भन्ने पनि महसुस गरेको छु । तर मेरो असन्तुष्टि चाहिँ के हो भने महायज्ञ लगाउने कुरा अचेल एक हिसाबले फेसन जस्तो भइरहेको छ । विद्यालयमा भवन थप्नुपर्दा महायज्ञ, खेलमैदान बनाउनु प¥यो महायज्ञ, अस्पताल बनाउनु प¥यो महायज्ञ । जे गर्दा पनि महायज्ञ । अस्ति भर्खर ऋषिङमा महायज्ञ सम्पन्न भयो, प्राविधिक शिक्षालय सञ्चालनको लागि, दमौलीमा भर्खरै सम्पन्न भयो व्यासको मुर्ति निर्माणको लागि । उता धुर्मुस सुन्तली महायज्ञ लगाउँदै छन्, रङ्गशाला निर्माण गर्नका लागि । ए बाबा यो त सबै सरकारले गर्नुपर्ने काम होइन र ? अझ हास्यास्पद कुरा त के छ भने सरकारले गर्नुपर्ने काम व्यक्तिले गरिराछ अनि सरकार चाहिँ दान गर्दैछ । धुर्मुस सुन्तलीले बनाउने रङ्गशालामा नगरपालिकाको तर्फबाट यति दान । वडा नं यतिको यति । अचम्म छ बा । अस्ति एकजना अग्रज सर सुनाउँदै हुनुहुन्थ्यो, उहाँलाई काठमाण्डौबाट फोन आयो रे, उहाँको विद्यालयमा महायज्ञ लगाउनु प¥यो भनेर । यो प्रसंगबाटै थाहा हुन्छ, महायज्ञको फेसन कसरी मौलाईरहेको छ । पहिले पहिले महायज्ञले धार्मिक अर्थ राख्थ्यो । अचेल त यो पण्डितजीहरुको विजनेस भैसकेछ ।
महायज्ञको मौलाउँदो फेसन सरकार प्रतिको व्यङ्ग पनि हो । सरकारले गर्नुपर्ने कामहरु महायज्ञ लगाएर गर्दैछन् मानिसहरु । यसले जनताबाट सरकारले विश्वास गुमाएको प्रष्ट हुन्छ । कहिले काहीँ यसो सोच्छु, काठमाण्डौंमा एउटा महायज्ञ लगाउनु पर्छ । विचरा ०७२ को भुकम्पले ढलेको धरहरा अझै उठ्न सक्या छैन । महायज्ञ लगाइदिन पाए टुक्रुक्कसम्म बस्थ्यो कि । धुर्मुस सुन्तली फाउण्डेसनमा दैनिक लाखौं करोडौं जम्मा हुँदै गर्दा मेरो धरहरा मै बनाउँछु को नारा कहाँ सेलाएको छ,थाहा छैन । धरहरा बनाउनका लागि स्थापित प्रधानमन्त्रीको कोषमा के कति रकम छ, अत्तोपत्तो छैन ।
महायज्ञको फेसन मौलाउनुको पछाडि एउटा बाध्यता पनि लुकेको छ । देशको आधा बजेट माननिय नेता, मन्त्री र सांसदको सेवा सुविधामै सकिन्छ । अनि आफ्नो आवश्यकता पूरा गर्न जनताले महायज्ञ नलगाएर के गर्नु त ? डर लाग्छ कुनै दिन माननिय ज्यूहरुको सेवा सुविधाको लागि रकम अपुग भयो भनेर महायज्ञ लगाउने दिन आउँछ कि कतै ।
हिन्दु धर्मशास्त्र अनुसार महायज्ञको आफ्नै महत्व छ । दानको आफ्नै महत्व छ । आफ्नो कमाइको १० प्रतिशत दान गर्नु भनिन्छ । दान गर्नको लागि महायज्ञ राम्रो माध्यम हो । तर जे कुराको लागि पनि महायज्ञ कै भर पर्ने संस्कृतिको विकास हुनु राम्रो कुरा होइन् । अझ सरकारले गर्नुपर्ने काम पनि महायज्ञ लगाएर जनताले गर्नुपर्ने कुरा छ झन बडो बिडम्बनाको हो । एउटा सचेत नागरिकको हिसाबले हामीले सरकारलाई झकझकाउनु पर्छ । महायज्ञ लगाउनु हुन्न भन्ने होइन् तर हरेक कामको लागि महायज्ञकै भर पर्नु हुन्न भन्ने मात्र हो । दान गर्ने ठाउँ भिन्दा भिन्दै भएपनि दान गर्ने व्यक्ति त विचरा उही एउटै हुन्छ । तसर्थ दान–दान भन्दापनि सरकारलाई झकझकाउने तर्फ अग्रसर हुनु बढी महत्वपूर्ण र आवश्यक हुन्छ । भगवान् वेदव्यासको १०८ फुट अग्लो मुर्ति छेउमै बसेर फोटो क्लिक्क पार्न धेरै कुर्नु नपरोस् । यो कार्य सफलताको खुसीमा छिट्टै रमाउन पाउँ एउटा आम तनहुँवासीको नैतिकताले यहि शुभेच्छा राख्दछु ।