१५ वर्ष अगाडि सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचार र अवैध धन न्यूनिकरणमा अन्तर्राष्ट्रियस्तरमा सहयोग वृद्धि गर्ने र राष्ट्रिय तहमा भ्रष्टाचारविरुद्ध जुध्न कानुनी र सांगठनिक संरचना तयार गर्ने उद्देश्य साथ डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । यसका अतिरिक्त भ्रष्टाचार र अपराधजन्य कर्मबाट आर्जित सम्पत्ती विदेश पु¥याउने प्रवृत्ति नियन्त्रण गर्नु यसको उद्देश्य हो । समग्रमा संसारभरी भ्रष्टाचार विरुद्धको आवजलाई बुलन्द गर्न यो दिवस मनाइने गरेको हो । नेपालले पनि भ्रष्टाचार विरुद्धको रामबाण मानिएको यो महासन्धीमा पहिलो दिनमा नै हस्ताक्षर गरेर प्रतिवद्धता जनाएको छ । तर यसबाट नेपालले पर्याप्त लाभ लिन सकेको छैन । खासगरी राजनैतिक संरक्षणमा नेपालमा हुने गरेका भ्रष्टाचार नियन्त्रणमा राजनैनिक प्रतिबद्धता नै आवश्यक छ । दुर्भाग्य नै भन्नु पर्छ हाम्रो राजनैतिक नेतृत्व भाषणमा बाहेक कार्यरुपमा भ्रष्टाचार नियन्त्रण गर्न तयार छैन ।
संसारका खास गरी विकासशिल राष्ट्र भ्रष्टाचार रुपि रोगका कारण विकासले आवश्यक गति लिन नसक्दा पछाडी पर्दै गएका छन् । नेपाल पनि भ्रष्टाचारका कारण आक्रान्त राष्ट्र मध्य एक हो । पछिल्लो समय त झन दिन दुगुना रात चौगुना भ्रष्टाचारजन्य क्रियाकलाप बढ्दै गएका छन्, जुन दुःखद पक्ष हो । राजनैतिक नेतृत्व नै भ्रष्टाचारमा संलग्न गएका कारण जेल सजाय भोगेका उदाहरण हाम्रोमा प्रसस्तै भैसकेका छन् । सुशासन तथा समृद्धिको नारा सहित सत्तासिन हुन पुगेको नेकपाको वर्तमान सरकारबाट सुशासनका सन्दर्भमा महत्वपूर्ण काम गर्ने अपेक्षा नागरिकले गरेका थिए । तर सरकार गठनको १० महिना पुग्दा त्यस तर्फ खासै प्रयास भएको पाउन सकिएको छैन । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता सुनाए र आफुले भ्रष्टाचार नगरेको र गर्न नदिने कार्यलाई कडाइका साथ अगाडि बढाएको चर्कै स्वरमा सुनाए । तर प्रधानमन्त्री निवासमा ओलीवंशको भोज राख्ने, दलको केन्द्रिय समितिको मिटिङ राख्ने जस्ता कामले उनको प्रतिवद्धतामा विश्वास गर्ने ठाउँलाई अझै घटाएको छ ।
प्रम ओलीले बुझ्नु पर्ने के हो भने अब नेपाली नागरिक उधारोमा होइन नगदमा काम चाहन्छन् र भ्रष्टाचार नियन्त्रणको कामका सन्दर्भमा पनि हामी नगदमै चाहन्छौं । भाषणमा मात्र होइन । भनाइ र गराइमा समानता हाम्रो चाह हो । आम नेपालीको चाह हो । भ्रष्टाचारीलाई आवश्यक कारवाही हुन सक्दा र सादा जीवन उच्च विचारको भावलाई प्रेषित गर्न सक्दा भ्रष्टाचार न्यूनिकरणम सहयोग पुग्ने छ । भ्रष्टाचार न्यूनिकरणमा सबै हातेमालो गर्दै अगाडि बढांै । शून्य सहनशिलता कायम गरौं ।