
लेखक/उपन्याकार
दिन त आखिर दिन नै हुन् । दिन भन्नाले आँखाले छर्लङ्ग देखिने समय । त्यो हिजो थियो । आज छ । भोलि पनि अवश्य नै हुनेछ । दिन अविरल रुपमा स्वतः आउँछ । जान्छ । सो प्राप्त गर्न ठूलो धनराशी खर्च गर्न र अथक कसरत पनि गर्न पर्दैन । ती सित्यैमा प्राप्त हुने दिन सधैँ एकै नास, उही रुप वा एउटै स्वरुपको भने हुँदैनन् । तिनीहरूमा विविधता हुन्छ । यथार्थमा भन्दा प्रकृत्यमा आउने परिवर्तनको विम्ब नयाँ बिहानीसँगै अंकुरीत हुन्छ ।
साहित्य साधनामा आफूलाई समर्पण गर्नेको दिन सधैँ उर्जाशिल हुन्छन् । साधकले हरेक नव बिहानीसँगै आफ्ना पाठक र शुभचिन्तकलाई केही न केही नयाँ उपहार पस्कने अठोट गरेको हुन्छ । यो उसको कर्म, धर्म र नियमितता हो । साहित्य साधक आफ्नो परम कर्तव्यबाट च्युत हुनु भनेको दिनले प्रकाश नओकल्नु जस्तै हो । उज्याला सपनाहले बाटो बिराउनु हो । प्रकृतीमाथि बज्रपात पर्नु हो ।
हो, सबै दिनहरू समान हुँदैनन् अपितु हरेका दिनमा थप विशेष र भिन्नताका प्रतिविम्बहरू मुखरित हुन्छन् । जसरी दिनहरू फरक प्रकृतिका जन्मन्छन् त्यसरी नै साधक साहित्यकारका दिनहरू पनि फरक प्रस्तुती र फरक सिर्जनाका विजहरू हुँदै हुर्कन्छन् । प्रकृतिमा फरक घटना भएको दिनले एउटा फरक किसिमको इतिहासको निर्माण गरेको हुन्छ भने साहित्य साधकहरूको फरक प्रस्तुती र घटनाले पनि छुट्टै इतिहासको निर्माण गरेको हुन्छ । त्यस्ता थुप्रै ऐतिहासिक घटना र नयाँ प्रस्तुतिको गुजुल्टोभित्र पर्ने अर्काे एउटा ऐतिहासिक दिन भनेको मंसिर २२, २०७५ हो ।
स्याङ्जा जिल्लामा अवस्थित, हरिनास गाउँपालिकाको सदर मुकाम चित्रे भञ्ज्याङ्, कटेर अलिपर गए पछि गृहकोट ढुङ्गेठाँटी आउँछ । त्यै गृहकोट ढुङ्गेठाँटीको सिरानमा अवस्थित भैरम थान यस भेगकै सर्वाधिक चर्चित र शक्तिशाली थानहरूमध्येकै एक हो । यो स्थान उच्च भागमा अवस्थित छ अपितु सो थानको तल्लो भागसम्म यातायातको राम्रो सुबिधा छ । उच्च भागमा रहेको भैरम थानसम्म पैदल जान सहज होस् भन्नाको लागि सुविधायुक्त सिढीहरूको व्यवस्था गरिएको छ ।
उल्लेखित मितिमा हरिनास साहित्य मञ्चले भैरम थानमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा प्रमुख आकर्षणका केन्द्र थिए चर्चित गजलकार डा.माधव अधिकारी । विशिष्ट अथिति पङ्तीकारले फेला पारेको थियो । माधवजी काठमाण्डौंबाट एक दिन अगाडिनै सो ठाउँमा आई स्थानीय साहित्यप्रेमीहरू सँगको तादाम्मलाई अझै दर्विलो बनाउनु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो हरिनास साहित्य मञ्चका संस्थापक अध्यक्ष रिमबाबु रानाले । उक्त शुभ दिनको दुलहा बनेर प्रस्तुत हुनुभएको थियो गजल एवम् साहित्यप्रेमी ऋिषिराम लम्साल ।
सधँै सयौँ परेवा, हाँस, कुखुरा, राँगा, बोका, भेडा लगायत थुप्रै प्रकारका निरिह पशुहरूको टिथलाग्दो आर्तनाद सुनिने उक्त ठाउँमा सो दिन कवि, कवयित्री, लेखक एवम् गजलकारहरूको प्रतिभा प्रष्फुटन हुनु पक्कै पनि सबैलाई आश्चर्य लाग्ने कार्य हो । अनगिन्ती आर्तनाद र अनाथ चित्कारहरूका आवाजले गजल र कविताका लयात्मक उच्चारण पश्चात स्वर्गमा शान्ति पाउन् भन्ने अभिप्रायले भैरम देबीलाई शाक्षी राखेर लम्सालज्यूले गजल सङ्ग्रहको विमोचन गरेजस्तो लाग्यो मलाई । हुन पनि सयौँ वर्षदेखि सो ठाउँमा बबुरा जनावरहरूको हत्यागरी बलिरुपि आस्था पस्कने ठाउँमा त्यस प्रकारको साहित्यिक कार्यक्रम आयोजना भएको सम्भवत पहिलो नै थियो होला । आयोजकले मलाई एउटा नुतन ऐतिहासिका कार्यमा निमन्त्रणा गरी सामेल हुने पवित्र शु–अवसर जुराइदिनु भएकोमा गर्वले शिर ठाडो भएको अभिप्राय सबैको समक्ष उच्चारण गरेको थिएँ ।
कार्यक्रममा स्याङ्जा, कास्की एवम् तनहुँ जिल्लाका साहित्यप्रेमीहरूको खंदिलो उपस्थिति थियो । त्यसरी नै स्थानीय साहित्यप्रेमीहरूको पनि बलियो सहभागी थियो । हाम्रा मुर्धन्य साहित्यप्रेमीहरू मदन लम्साल, सानु मगर, एममाया थापा, सेतीकाली साहित्य सङगमका खड्ग गहतराज, रेशम गोतामे, घनश्याम लम्साल, हरिबोल लम्सालकी ममतामयी माता दुर्गा लम्साल, लक्ष्मी खनाल आदि कवि एवम् कवयित्री हरूले कविता, कजल, मुक्तक आदि वाचन गर्नु भएको थियो ।
सो कार्यक्रमको लागि म भिमादबाट बिहान ९ः३० प्रस्थान गरेको थिएँ । चित्रे भञ्ज्याङ ठिक ११ बजे पुगें । भैरम थान कयौं पटक देखेको तर कहिल्यै पनि गएको थिइनँ । त्यहाँसम्म पुग्नको लागि बाटो सोध्न भनेर एउटा पसल अगाडि बाइक रोकेँ । त्यहाँ कोही पनि नदेखेपछि पसलभित्र मुण्टो एस्सो नुघाएर ‘हेलो को हुनुहुन्छ ?’ भनेर सोधें । भित्रबाट पेटीकोट मिलाउँदै एक जना महिला बाहिर निस्कनुभयो । उहाँले मलाई चिनेझैं गरी सभ्यता सूचक ‘नमस्कार’ पस्कनुभयो । मैले पनि उहाँको ‘नमस्कार’ लाई विधिपूर्वक दुई हात जोडेर फर्काइदिएँ । उहाँ देख्नमा सुन्दर, बोलीमा आकर्षण मात्रै होइन शिक्षित महिला जस्तो पनि
लाग्यो । उहाँले ‘बसौँन, सर’ भन्नुभयो । म पसलभित्र पसेँ । तर बसिनँ । उभिइरहें । मेरो धार्नीको मुण्टो चारैतिर घुमाएर हेरें ।
त्यो त कापीमात्रै उपलब्ध हुने पसल पो रहेछ । मेरो पसल र उहाँको पसलको प्रकृती एउटै खाले रहेछ । मलाई त ‘के खोज्छस् काना, आँखो’ जस्तो पो भयो । मैले उभिइ उभिइ उहाँसँग कापीको बारेमा कुरा गरें । उहाँले ‘हुन्छ नि त’ भन्नुभयो । त्यहाँदेखि हामी दुबैले कापीको कारोबार पनि सुरु गर्न थाल्यौँ ।
उहाँले मलाई भैरम थान जानी सजिलो बाटो देखाइदिनुभयो । म लुरुलुरु म रोदीखोला कटेर अगाडि बढ्दै गर्दा किचनासतिर जानी बाटो र भैरम थानतिर जानी बाटोको साइडको एउटा ठुलो पसलमा पुगेछु । मैले सो पसलको प्राङ्गणमा बाइक रोकी ‘ए साहुनी बैनी, म भैरम थान जानी हो ।
बाइक यहिँ राखे कसोहोला ?’ भन्छु भनेर भित्र पस्दै गर्दा त ऋषि लम्साल (हरिबोल) र अर्का अपरिचित व्यक्ति त्यहीँ खाना खाँदै गरेको अवस्थामा
भेटेँ । कैलाश सर त्यति परबाट आउनु हुन्न होला भन्ने सोच राख्नु भएका हरिबोल म झुलुस्स त्यहाँ पुगेको देख्दा त दङ्ग पर्नुभयो । उहाँले स्याउती मार्दै लौ ‘मासु र भात खाम्’ भनी आग्रह गर्नुभयो । मैले ‘घरबाट खान खाएर आएको हुँ । केही खान्नँ’ भनें । केही खाइनँ । अर्का व्यक्ति हुनुदोरहेछ सो दिनका प्रमुख अतिथि ।
कार्यक्रम सकेपछि हामीले विशेष किसिमको खाजा खायौँ । खाजा धित पर्ने हिसाबले थपीथपी खायौँ । त्यो करिब २००० मिटरको उचाइमा अवस्थित भैरम थानमा खाजाको व्यवस्था गर्नु एकदमै चुनौतीपूर्ण काम हो । तथापि चित्रे(स्याङजाली साहित्यप्रेमीहरूको अगाडि त्यो सुक्ष्म काम रहेछ । उहाँहरूको एकता, समर्पण र अनुशासन देखेर म सधैँ जलन हुन्छु । त्यो जलनले मलाई उर्जा र प्रेरणा मिलेको हुन्छ । त्यै बाटोमा सेतीकाली साहित्य सङ्गमलाई पनि डो¥याउन प्रयाश गरेको छु ।