सोमबारबाट देशभर एकैसाथ शैक्षिक शत्र २०७६ का लागि भर्ना अभियान प्रारम्भ हुँदैछ । गाउँ र शहर सबैतिर विद्यालय उमेर समूहका बालबालिका विद्यालय जानबाट वञ्चित भएको अवस्था हामी कहाँ अझै पनि छ । केही बर्ष देखि सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको भए पनि अपेक्षित रुपमा खुद भर्ना दरमा वृद्धि भएको छैन ।
बेलायतमा प्रधानमन्त्रीको उम्मेदबार हुँदै गर्दा टोनी ब्लेयरलाई उनका तीन प्राथमिकताबारे प्रश्न गरियो । आफ्ना मुख्य तिन प्राथमिकता बारे ब्लेयरले भनेका थिए, मेरो पहिलो प्राथमिकता शिक्षा, दोस्रो प्राथमिकता शिक्षा र तेस्रो प्राथमिकता शिक्षा । दुर्भाग्यवश हाम्रो राजनैतिक नेतृत्वको प्राथमिकतामा शिक्षा अझै पर्न सकेको छैन् । राणाहरुले नागरिक पढे भने टाठाबाठा हुन्छन् र आफ्नो शासनका विरुद्ध आवाज उठाउँछन् भनेर विद्यालय खोल्न दिन्थेनन् भन्ने सुनेको र पढेको अहिलेको पुस्ता हाम्रा नेताहरुको व्यवहारलाई राणाबाटै दीक्षित भन्न थालेका छन् ।
शिक्षामा राज्यले जुन लगानी गर्नुपर्ने हो त्यो अनुरुप नगरे पनि विश्वव्यापी लहरका कारण पछिल्लो समय शिक्षामा आम नागरिकको चासो बढेको छ । दैनिक ज्यालादारी गरेर वा गिट्टी कुटेर भए पनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षा प्राप्त गर्ने अवसर दिनुपर्छ भन्ने अभिभावकको संख्या बढेको छ । केही वर्ष अगाडिसम्म छोरालाई मात्र विद्यालय पठाउने बाबुआमा अब छोरीलाई पनि विद्यालय पठाउने भएका छन् । अहिलेको अवस्थालाई हेर्ने हो भने त विद्यालयहरुमा छात्रको भन्दा छात्राको संख्या बढी हुन थालेको छ । फलामलाई तातेको बेला हिर्काउ र आकारमा ल्याउ भन्ने नेपाली उखानलाई आत्मसाथ गर्दै आम अभिभावकको विचारमा आएको यो सकारात्मका परिवर्तनलाई विभिन्न कार्यक्रम मार्फत निरन्तरता दिनु सरकारको कर्तव्य हुन आउँछ ।
कतिपय अभिभावक चाहेर पनि आफ्ना छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा छैनन् । त्यसैले खुद भर्नादर शतप्रतिशत पु–याउनु र प्राथमिक शिक्षा पूरा गर्ने दर बढाउनु हाम्रा लागि चुनौतिकै रुपमा रहेको छ । दुःखपूर्वक भन्नु पर्छ गरिब नागरिको पहुँच भएको नेपालको सार्वजनिक शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्कंदो छ । अर्काेतिर निजी शिक्षा आम नागरिकको पहुँचमा छैन् ।
गएको शैक्षिक वर्षबाट विपन्न बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नहोउन भनेर सक्षमहरुले अभिभावकत्व गर्ने कार्य प्रारम्भ भएको छ । शुरुवात राम्रो छ । तर कार्यान्वयन कति प्रभावकारी भएको छ भनेर हेरखोज गर्नु पनि आवश्यक छ । किनभने प्रचारका लागि अभिभावकत्व ग्रहण गर्ने तर पछिल्ला दिनहरुमा आफुले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको पठनपाठनमा चासो नराख्ने गरेका उदाहरणहरु भेटिन थालेका छन् ।
“हाम्रो नगर, हाम्रो गाउँ; सबै बालबालिकालाई विद्यालय प–याऔं ।” भन्ने नाराका साथ यो वर्षको विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । भविष्यका कर्णधार भनिने बालबालिकाले विद्यालय जाने अवसर पाएनन् भने त्यो देश र स्वयम् बालबालिकाकाप्रति अन्याय हुनेछ । शिक्षा प्राप्त गर्न पाउनु बालबालिकाको अधिकार हो र उनीहरुको यो अधिकार रक्षा हामी सबैको कर्तव्य हो । विद्यारुपि धन सबै भन्दा महत्वपूर्ण धन हो भन्ने कुरालाई आत्मसात गर्दै हाम्रा र छिमेकमा रहेका बालबालिकालाई विद्यालय जाने वातावरण निर्माण गर्नु आजको आवश्यकता पनि हो । त्यसैले बालबालिकाले शिक्षा प्राप्त गर्ने अधिकार प्राप्त गरुन र आफ्नो संगै गाउँ, समाज र देशको उज्ज्वल भविष्य निमार्णमा लागि परुन भन्न हामी सबैले भर्ना अभियानमा सहयोग पु–याउँ ।