–व्यास नगर पालिका वडा नं १ मा कार्यालय रहेको छाब्दीबाराही वचत तथा ऋण सहकारीमा करोडौं रुपैयाँ हिनिमिनाको चर्चा अहिले दमौलीमा व्याप्त छ ।
–केही वर्ष अगाडिको कुरा हो तनहुँकै साविक राम्जाकोट (हाल ऋषिङ गाउँ पा लिका–५) कार्यक्षेत्र रहेन गरी स्थापना भएको ग्रामिण कृषि उत्पादका सहकारी संस्थामा पनि व्यापक अनियमितता भएको भन्दै वचतकर्ताहरु सञ्चालक विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा तत्कालिन डिभिजन सहकारी कार्यालय धाए । तर हात लाग्यो सून्य । आवश्यक छानविन गरेर दोषी ठहरेमा कारवाही गर्ने दायित्वबाट पन्छँदै बरु अनियमितताको आरोप लागेकाको पक्षमा तालुकदार कार्यालय लाग्दा छोराछोरीको खाजा र कापी कलमको खर्च कटाएर वचतकर्ताले जम्मा गरेको लाखौं रुपैया फिर्ता पाउने आशा हराउँदै गएको छ ।
–साविक रानीपोखरी हाल ऋषिङ गाउँपालिका–८ मा स्थापना भएको अजम्बरी कृषि सहकारी पनि राम्रै चिलरहेको थियो । तर अहिले बन्द अवस्थामा छ । सेयर सदस्य र वचतकर्ताहरु सञ्चालक विरुद्ध स्थानीय स्तरमा उत्रिए । सेयर रकम तथा वचत फिर्ता गर्ने सहमती सहित विभिन्न पटकका संघर्षहरु स्थगित भए तर थुप्रै समय वितिसक्दा पनि उनीहरुले आफ्नो बचत फिर्ता पाएका
छैनन् ।
–व्यास नपा वडा नं २ मा कार्यालय रहेको दमौली वचत तथा ऋण सहकारी पनि केही वर्ष राम्रै
चल्यो । अरु सहकारीलेभन्दा उच्च व्याजदर दिएको भन्दै वचतकर्ताहरु त्यहाँ ओइरिए । तर जब करोडौ लिएर सञ्चालक फरार भए तब बचतकर्ताहरुलाई थाहा भयो, वचतमा बढी व्याज दिनुको
अर्थ ।
देशभर हजारौं सहकारीहरु छन् । ति मध्ये केही जसको सञ्चालनको जिम्मा लिएका मानिसको बद्नियतका कारण वचतकर्ता र सेयर सदस्य ठगिएका माथि प्रस्तुत केही उदाहरण हुन् । कतिपय सहकारीले साँच्चै सहकारीका अर्थ र मर्मलाई आत्मसाथ गरेर नागरिकको आर्थिक अवस्था सुधार्नमा मद्दत गरेका छन् । ति सहकारीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पुरस्कृति समेत भएका छन् । तर माथि प्रस्तुत गरिए जस्ता केही सहकारीका सञ्चालकहरुका कारण अहिले सहकारीहरु बद्नाम हुँदै गएका छन् । सहकारी माथिको आम विश्वास घट्दै गएको छ । र भन्न थालिएको छ, “भदौरे घाम, साझेदारी काम ।” यसको अर्थ हो, भदौरे घाम चर्काे हुन्छ जुन मानिसका लागि हानिकारक हुन्छ । त्यसरी नै साझेदारी काममा पनि घातक हुने गर्दछ ।
स्थानीय समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझिन्छ । यसको सोझा अर्थ सहकार्य अर्थात संंगसंगै काम गर्नु हो । सहकारी ऐन २०४८ ले समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयासलाई नै सहकारी भनेको छ ।
नेपाल सरकारले आर्थिक विकासका लागि आवश्यक तीन खम्बा मध्ये एउटा खम्बा सहकारीलाई भनेको छ । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाईने सहकारी दिवसको यो वर्षको नारा “सहकारीहरुले अझ राम्रो विश्व निर्माण गर्दछन् ” रहेको छ ।
तर पछिल्ला वर्षहरुमा हाम्रो देशमा सहकारीका नाममा हुने गरेका ठूला ठूला ठगिका घटनाले सहकारीहरुले अझ राम्रो होइन यो भन्दा नराम्रो विश्व निर्माण गर्दछन् भन्नु पर्ने अवस्थामा पु¥याएका
छन् । विभिन्न राजनैतिक दलका नेता निकटका सहकारीको मर्म र भावना विपरित विचार बोकेका अनि “बाहिर बाहिर सहकारी, भित्र भर्दै आफ्नै भकारी” विचार ले निर्देशित केही मानिसका कारण सहकारीताको अर्थ गलत लाग्ने भएको छ । सजिलै पैसा कमाउने हो भने सहकारी खोल्ने र सञ्चालक बन्ने भन्न थालिएको छ ।
कुनैपनि दल वा नेताको आडमा सामुदायिक सहभागितामा आर्थिक उन्नतिको सपना देखेका नागरिकको पसिनाको कमाई माथि गिद्धे दृष्टि लगाउने र लाखौं करोडौं ठगेर भाग्नेहरुलाई कानुनको कठघरमा उभ्याउन नसक्दासम्म सहकारीताको सिद्धान्तको अर्थ नै उल्टो लाग्ने छ ।
सीमान्त समुदायले गरेको सानो सानो बचत हिनामिना गरेर आफु मोटाउनेहरुलाई कारवाहीको दायरामा ल्याउन सकेमात्र सहकारी दिवस मनाउनुको अर्थ र महत्व रहन्छ ।
भदौरे घाम, साझेदारी काम
previous post