भगवान न खोजेर भेट्छौं न चाहेर देख्छौं र साथमा
जीवन । कहाँ, कसरी अनि कसले बनायो होला मानिसलाई ? अनि कति आश्चर्य छ र बुद्धि र विवेक छ । मैले सुनेको हामीलाई भगवानले बनाउनु भएको रे । साँच्चिकै म त्यो भगवानलाई भेट्न चाहन्थें अनि आफ्नो उत्सुकता मेटाउन चाहन्थें । कति ठाउँमा खोजें कति प्रयत्न गरें तर इश्वर भेटाउन सकिन । अखिरमा बुझें कि म एउटा भ्रममा बाँचेकी
रहिछु । भगवान भनेको त आफ्नै आमा बुबा हुनुहुँदो रहेछ । जसले हामीलाई जीवन दिनु भयो ।
नौ महिनासम्म कोखमा राखेर १० धारा दूध पिलाएर अनि ज्यू ज्यानको पर्वाह नगरेर रात दिन रगत र पसिना बगाएर जन्माउने, हुर्काउने र बढाउने आफ्नो अमूल्य भगवानलाई छाडेर हामी मात्र एउटा अदृश्य अनि अन्धविश्वासको भगवान खोज्दै रहेछौं । जुन दिन सबै कुरा बुझें र ति अदृश्य भगवानको ठाउँमा आफ्ना प्यारा आमा बुबालाई राखेर तौलिएँ साँच्चिकै ति अदृश्य भगवान भन्दा कमका रहेनछन् । यि सबै कुरा बुझिसकेपछि संसारको सबैभन्दा भाग्यमानी सन्तानको रुपमा आफु माथि ने गर्व गर्न थालें ।
मैले त्यो पनि विचार गरें कि आफ्नो सन्तानको लागि आफ्ना आमा बुबाको योगदान कत्रो हुन्छ । म निकै मुर्ख र स्वार्थी रहेछु । हरेक छोरा छोरी मुर्ख र स्वार्थी हुँदा रहेछन् । म जस्तै हामी जहिले पनि म पढ्छु, जागिर खान्छु, धेरै पैसा कमाउँछु आफ्नो अनि आफ्ना परिवारको सपना पूरा गर्छु अनि खुसी र सुखी जिन्दगी विताउँछु तर त्यही सन्तानको बाबु आमाको सोच हुन्छ, म सन्तानलाई हुर्काउँछु, बढाउँछु, पढाउँछु र ठूलो मान्छे बनाउँछु । त्यत्तिमात्र होइन हामीमा सधैं म कसरी खुसी हुन्छु म कसरी सुख िहुन्छु, के लाएर राम्रो हुन्छु । खाली यस्तै कुराको चिन्ता हुन्छ । तर त्यहीँ बाबु आमाको सोच हुन्छ मेरो बच्चा कसरी खुसी हुन्छन् ? सुखी हुन्छन् अनि के लाएर अरुको भन्दा मेरो छोरा छोरी राम्रा देखिन्छन् र सबैले वाह भन्छन् । ल अब आफै विचार गर्नुस कति अन्तर छ छोरा छोरी र आमा बुबामा उनीहरुको सोच सधैं आफपप्नो छोरा छोरीको भलाईमा उनीहरुको खुसीमा गुज्रेको हुन्छ ।
के साँच्चिकै आमा बुबा भगवान होइन रहेछन् त ? हामी मुर्ख नै हौं । हामी भगवान खोज्न मन्दिरमा जान्छौं, गुम्बा, मस्जिद, चर्च अनेकौं धाममा धाउने गर्दछौं, मात्र त्यो अदृष्य अनि पथ्थरको भगवान खोज्न । घरका आमा बुबालाई हेलाँ गरेर, स्याहार सुसार नगरेर, उनीहरुलाई रुवाएर, उनीहरुको चित्त दुखाएर छुटाउँछौं र वृद्धाश्रममा राखेर आफ्नो भगवानलाई टाढा बनाउँछौं । र ठाउँ ठाउँ चाहारेर पथ्थरको निर्जिव अनि अदृष्य भगवान खोज्छौं । हरेक आमा बुबाले कसरी आफ्नो सन्तानको उन्नति प्रगति हुन्छ, कसरी उनीहरु खुसी र सुखी हुन्छन् भन्ने सोचेका हुन्छन्, निस्वार्थ
भएर । तर हामी अनेकौं नराम्रा कुरा सोचेर, घृणा गरेर, उनीहरको साना साना कमजोरीलाई बढाएर आफुबाट टाढा बनाउने प्रयत्न
गर्छौं ।
एकपटक आँखा बन्द गरेर सोचौं त के हामीले पाप गरेका होइनौं ? अवश्य पनि महापाप गरिरहेका छौं । आमाबुबा हामी बिरामी सामान्य विरामी हुँदा नै किन नहोस् आत्तिएर साथमा पैसा होस् या नहोस् अस्पताल लिएर जान्छन् । तर हामी भने वास्ता गर्दैनौं । जति ठूलो रोग लागेपनि सामान्य ठानेर मर्न छाडिदिन्छौं ।
अरुबेला जे जस्तो भएपनि मर्न लाग्दा समेत पनि पैसा छैन वा भ्याउँदिन भनेर बस्छौं
हामी । अझ हामी मध्ये कति त यस्ता सम्म छौं आफ्ना आमा बुबा भएको भन्न समेत हिचकिचाउँछौं । उनीहरु दुःख पाएर बस्दा पैसा हुँदैन, सरसफाई गर्न सक्दैनन्, राम्रा लुगा लगाउन सक्दैनन्, मिठो खान सक्दैनन्, त्यो देखेर अरुसंग मेरा आमा बुबा हुन भन्न लाज लाग्छ ।
यो छ हाम्रो समाजको यथार्थ अनि ति पिडित आमा बुबाको कहानी । मृत्युको मुखमा पुग्न समेत पछाडि नहटी जन्म दिने आमा अनि काँध र कम्मरको छाला फालेर रगत र पसिनाको धारा बगाएर कमाएर हुर्काउने बाबुको विचल्ली पारेर आफ्नो स्वार्थ पूरा गर्न हिँड्ने हामी स्वार्थी सन्तान देख्दा कति मन दुख्छ होला ति भगवानको । ति स्वार्थी सन्तान जब आफ्ना भगवान आफुबाट टाढा हुन्छन् । खोजेर नपाउने अनि फर्केर नआउने ठाउँमा पुग्छन् तब मात्र उनीहरुको महत्व बुझ्दछौं । जब आफुलाई समस्या माथि समस्या पर्छ । साथ दिने कोही हुँदैनन् तब उनीहरुलाई
सम्झन्छौं । उनीहरुको यादमा, सम्झनामा मन्दिर बनाउँछौं, दान गछौं, पुजा पाठ गर्ने गर्छाैं र जहाँ छौ सधैं खुसी रहनु र हाम्रो रक्षा गर भन्दै मन्त्र जप्न थाल्छौं । तर हामीलाई राम्ररी थाहा छ, त्यो उनीहरुले सुन्दैनन् ।
जुनकुरा हामीसंग हुन्छ त्यसको महत्व बुझ्दैनौं र त्यही कुरा जब हाम्रो साथबाट टाढा हुन्छ तब मात्र त्यसको महत्व बढ्दै जान्छ । जसले समयमा नै भगवान के हो अनि मेरो जीवन के हो अनि मैले के गर्दैछु र अब के गर्नुपर्छ भन्ने कुरा बुझ्छ तब मात्रै उसको जीवन सफल र सार्थक हुन्छ । हरेक कुरामा सन्तुष्टि, उन्नति र प्रगति हुन्छ अनि आत्मा शान्ति हुन्छ ।
भगवान र जीवन
previous post