नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुढ्यौलीले माफी मगाएको छ । दशकांैदेखि दमौलीवासीले पिंउँदै आएको गुणादी मूलको पानीलाई हेलत्वभावमा ‘चुन्याहा पानीले विरामी परेको’ र ‘नेपाली काँग्रेसले लिएको गठबन्धन नीति पनि वी.पी.को राष्ट्रीय एकता र मेलमिलाप नीति अन्तरगतको हो’ भनि रामचन्द्र पौडेलबाट आएको अभिव्यक्तिलाई नियतमा खोट भन्दा पनि बुढ्यौली र बोझिलो कार्यभारले विस्मृतिमा पु¥याएको कमजोरी भनेर बुझिदिंदा न्याय पर्ला ।
वी.पी.को १०९औं जयन्ती मनाउने क्रममा भाद्र २४ गते नेपाली काँग्रेसको वी.पी. स्मृति भवनमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दा काँग्रेस नेता पौडेलले गुणादीवासीले लगाएको गुन र वी.पी.को राष्ट्रिय एकता र मेलमिलाप नीतिको मर्म विपरित बोलेका थिए ।
गुणादीका स्वाभिमानी जनताको भावनामा चोट पुगेकोमा आफूलाई दुःख लागेको बताएर नेता पौडेलले टार्न खोजे । सचिवालय मार्फत आएको यो भनाईबाट गुणादीवासीलाई सन्तुष्टि दिलाएन । पछि पौडेल आफैले माफी मागेपछि मात्रै मंगलबार साँझबाट गुणादीवासीले पानीको मुहान खोलिदिएका थिए ।
पौडेलको अभिव्यक्तिबाट राष्ट्रिय रुपमा जुन सन्देश गयो, त्यो– सार्वजनिक सभामा सभापति शेरबहादुर देउवाले ¥याल चुहाउँदा जस्तै बुढ्यौलीले विश्राम मागेको सन्देश गएको छ ।
वी.पी.का राजनीतिक नीतिका व्याख्याता भनिएको पौडेलले नेपाली काँग्रेसले अहिले लिएको सत्ता प्राप्ति र चुनावी गठबन्धन नीति पनि वी.पी. को राष्ट्रिय मेलमिलापको नीति अन्तरगतकै हो भनेर वी.पी.को राष्ट्रियता, राष्ट्रवाद र स्वाभिमानप्रति नेपाली जनतामा भ्रम सिर्जना गराएका छन् । हाम्रा पाठकलाई यथार्थ पत्तालगाउन सजिलो होस् भनेर वी.पी.ले सार्वजनिक गरेको राष्ट्रिय एकता र मेलमिलापसंग सम्बद्ध अपिल बक्समा प्रकाशित गरिएको छ । वी.पी.ले २०३० साल तिर दक्षिण एशियाली मुलुकहरुको अस्तित्वमा देखापरेको उथलपुथलको वातावरण पछि नेपालमा जस्तै नेपाली भाषीहरु भएको स्वतन्त्र मुलुक सिक्कीमको अस्तित्व भारतमा विलय भएको अवस्थामा भारतमै बसेर नेपालका शासकहरु विरुद्धमा आन्दोलन गर्दा नेपालको राष्ट्रिय अस्तित्व माथि नै प्रश्न चिन्ह लाग्न सक्ने सम्वेदनशिल अवस्थामा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान बचाउनका लागि आफ्नो ज्यान जोखिममा राखेर प्रवासबाट नेपाल फिर्ता हुने निष्कर्षमा पुगेका थिए । पञ्चायतले कुन खालको कारवाही गर्छ भनेर परिक्षण गर्न कूल बहादुर गुरुङलाई बलीवेदीमा अगाडि सारेर राष्ट्रियता बचाउन ‘मुलुकका सबै राजनीतिक शक्तिका बीच राष्ट्रिय एकता र मेलमिलाप’ को आव्हान गरेका थिए । सत्तामा पुग्न र चुनाव जित्नका लागि होइन । २०३३ साल पुस १६ गते एक अपिल प्रकाशित गरेर गणेशमान सिं का साथ वी.पी. नेपाल आउँदा संगिन अभियोग सहित विनास्थलबाटै गिरफ्तार भएका थिए । यो इतिहास नजानेर नबुझेर काँग्रेस नेता रामचन्द्र पौडेलले सत्ता र चुनावी गठबन्धन वी.पी. कै नीति हो भनेका होइनन् । सत्तालिप्साको स्वार्थ पुरा गर्न हसियाँ हथौडामा भोट माग्न नेपाली काँग्रेस चितवनका स्वाभिमानी कार्यकर्तालाई ‘के चितवनका जनता कृतघ्न हुन्’ भनेर गाली गरेजस्तै बुझी बुझी बुझ्पचाएर जनतामा भ्रम फैलाउन वी.पी. को नाम बेचेका हुन् । बरिष्ठ नेताले जनस्तरमा फैलाएको भ्रमले राष्ट्रियता र राष्ट्रिय स्वाभिमान बचाउने राष्ट्रिय एकता र मेलमिलाप नीतिकै अपमान भएको छ । रामचन्द्र पौडेलले यो बुझेको हुनु पर्दछ कि वी.पी. वादमा निर्देशित नेपाली काँग्रेसको सिद्धान्त र आदर्शमा कम्युनिष्टहरुसंगको सहकार्यलाई स्वीकार गरिएको
छैन । वी.पी. कालिन ऐतिहासिक दस्तावेजहरुले वीपी जीवित छँउन्जेल कम्यूनिष्टहरुसंग सहकार्य गरेर नेपालमा प्रजातन्त्र स्थापना गर्ने सन्दर्भमा वी.पी.ले सँधै अस्वीकार गरेको देखाउँछ । त्यसैले वी पी कोइरालाले आफ्नो जीवनको उत्तराद्र्धमा भनेका रहेछन्– “मैले नेपाली काङ्ग्रेसको इतिहास लेख्नु धेरै आवश्यक
थियो । अब सक्तिनँ र शैलजाले त्यो गर्दछे । उसले मेरा कुराहरू बुझेकी छ । म मरेपछि नेपाली काङ्ग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिने छ । नेपाली काङ्ग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण
बनाइनेछ । मैले नेपाली काँग्रे्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा, मेरा अडानका निरन्तरता छन् । हिन्दुस्तानको बारेमा, राजाको बारेमा र संसारको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधैं उल्लेख गर्ने गरेको छु ।
२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गयौं । हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैभरि र सबभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुश शैलीको मैले सधैं र सबभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्तानमा बसेर सङ्गठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरें । राजासँग मेल मिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ । मेरा यी अडानहरूका बारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु ।
नेपाली काँग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको सङ्घर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्छ । जुन दिन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जाने छ ।
जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्ने छ, यो निरर्थक भएर जानेछ । नेपाली काँग्रेसेसलाई उसको अग्रिम ऐतिहासिक भूमिकाको लागि मेरा दृष्टिकोणहरू अनुरूपको यसको इतिहास लेख्नु आवश्यक छ ।”
(वी.पी. यो कथनमा कशी लगाउन र विस्तृत जानकारीका लागि जेल जर्नलको पृष्ठ ‘छ’ र ‘ज’ पढ्न सक्नु हुनेछ ।)
राष्ट्रिय एकता र मेलमिलाप नीतिमा आधारित अपिल
(पञ्चायतले सातवटा ज्यान मुद्धा लगाउने थाहा पाउँदा पाउँदै वी.पी.ले २०३३ पुस १६ गते प्रकाशित )
राष्ट्रियता र प्रजातन्त्र भन्नुको तात्पर्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा गर्ने दुवै जिम्मेवारी लिनु परेको छ । हामीले यी मध्ये एउटा मात्र जिम्मेवारीको कुरा ग¥यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुन्छौं । त्यस्तै, हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौं भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यतिमात्र होइन, यस्तो एक पक्षीय कार्यले विदेशीहरुको चालमा पर्ने अवस्थामा पनि रहन्छौं । त्यस्तै, हामीले केवल राष्ट्रियताको मात्र चर्चा ग¥यौं भने १६ बर्षदेखि चल्दै आएको खोक्रो राष्ट्रियताको नारावाजीमा पुग्छौं र अधिनायकबादको पक्षधर हुन
पुग्दछौं । यस्तो खोक्रो राष्ट्रियताले देशवासीमा राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोवल पैदा गर्न सक्दैन । त्यसो हुनाले हामीले राष्ट्रिय एकता प्रजातन्त्रको जगमा खडा हुनु पर्दछ । प्रजातन्त्र र विकास वा उन्नति एकअर्कामा आधारित तत्व हुन भन्ने कुरा पनि बुझ्नु परेको छ ।
प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ भन्ने हामीलाई लाग्छ । हाम्रा शुभचिन्तकहरुले नेपाल फर्कने हाम्रो चाहानामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनिहरुलाई हामी भन्दछौं– ‘हामी मााथिको सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामु नगण्य भन्ठानेर नै हामीले यो ऐतिहासिक निर्णय लिएका हौं ।’ नेपाली काँग्रेसका कार्यकर्ताहरुले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।