विश्वभर अन्तर्राष्ट्रिय बाल दिवस नोभेम्वर २० अर्थात मंसिर ५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यही दिन संयुक्त राष्ट्र संघको पहलमा बालबालिकाको सार्वाेत्तम हित हुने गरी तयार गरिएको दस्तावेजमा स्वीकृति जनाई संयुक्त राष्ट्र संघिय महासभाबाट बाल अधिकार सम्बन्धी महासन्धी पारित भएको थियो । सन् १९८९ नोभेम्बर २० तारिख यही कारण संसारका बालबालिकाका लागि महत्वपूर्ण दिन हुन गयो ।
१८ बर्ष मुनिको मानव जातिलाई बालबालिका भनेर परिभाषित गरेको महासन्धीले बाल अधिकारका चार स्तम्भ बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता उल्लेख गरको छ । बाल बचाउ अन्तर्गत बाँच्न पाउनु, गर्भवती महिलाको विशेष स्याहार, सुरक्षित जन्म तथा जन्म दर्ता, खोप तथा स्वास्थ्य स्याहार, पोषणयुक्त खाना र सफा पानी पर्दछन् । यसैगरी बाल विकासमा संसारका हरेक बालबालिकाले स्वच्छ वातावरणमा औपचारिक वा अनौपचारिक शिक्षा हासिल गर्न पाउने, खेल मनोरञ्जन र आराम गर्न पाउने, उचित स्वास्थ्य उपचार पाउने, माया ममता र हुर्काउने कार्यमा बाबु आमाको संयुक्त दायित्व हुने, उचित मार्गदर्शन र राम्रो पारिवारिक वातावरण पाउने कुरा पर्दछन् ।
महासन्धीको तेस्रो स्तम्भ बाल संरक्षण अन्र्तगत गर्भ देखि हुने विभेदबाट संरक्षण हुने उल्लेख छ । यसै गरी दुव्र्यवहार, उत्पीडन, हेला, अपमान, गाली कुटपिट र यातनाबाट बाल बालिकाले संरक्षण पाउने, यौन तथा श्रम शोषणबाट संरक्षण पाउने, युद्धमा संलग्नताबाट संरक्षण पाउने, बेचबिखन तथा ओसारपसारबाट संरक्षण, लागूपदार्थबाट संरक्षण पाउने तथा कानुनी संरक्षण पाउने उल्लेख छ । बाल सहभागितामा जीवनमा प्रभाव पार्ने निर्णयहरुमा आफ्नो कुराको सुनुवाई गर्ने र सो को कदर गरिनु पर्ने, आस्था अनुसारको धर्ममा संलग्न हुन पाउने, संघसंस्था खोल्ने र सहभागि हुने, बालबालिकाको विचार र भावनाको कदर गरिनु पर्ने उल्लेख छ ।
महासन्धीको धारा २८ र २९ मा शिक्षा संम्बन्धी अधिकारहरु ब्याख्या गरिएको छ । धारा २८ मा शिक्षा प्राप्त गर्ने बालकको अधिकार भएको उल्लेख गर्दै कम्तीमा प्राथमिक शिक्षा अनिवार्य निःशुल्क गराउनु पर्ने राज्यको दायित्व हुने उल्लेख छ । यसैगरी धारा २९ मा शिक्षा बालबालिकाको व्यक्तित्व क्षमताको विकासतर्फ निर्देशित हुनुपर्ने उल्लेख छ । धारा २९ ले बालबालिकामा मानव अधिकार र मौलिक स्वतन्त्रताहरु तथा संयुक्त राष्ट्रसंघको बडा पत्रमा उल्लेखित सिद्धान्तहरु प्रतिको आदरभाव विकास भएको नागरिक उत्पादन पक्ष राष्ट्रको शिक्षा नीति हुने परिकल्पना गरेको छ । यो धारा यसका अतिरिक्त बालबालिकाको आफ्ना आमाबाबुप्रति, उसको आफ्नो सांस्कृतिक पहिचान, भाषा र मूल्यहरुप्रति, निज उत्पन्न भएको देशप्रति र निजको भन्दा भिन्न सभ्यताहरुप्रतिको आदर भावको विकास बालबालिकामा हुने गरी पक्ष राष्ट्रको शिक्षा निर्देशित हुनपर्ने भनेको छ । स्वतन्त्र समाज, सबै नागरिकहरु, जाति, राष्ट्रिय र धार्मिक समुदायहरु तथा आदिवासी मूलका मानिसहरु बीच समझदारी, शान्ति, सहिष्णुता, लैंगिक समानता र मित्रताको भावनामा उत्तरदायित्वपूर्ण जीवनको लागि बालबालिकाको तयारी पक्ष राष्ट्रले गर्नु पर्ने उल्ल्ेख छ
संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका नाताले नेपालले सन् १९९० सेप्टेम्वर १४ मा महासन्धीमा हस्ताक्षर गरेपछि पक्ष राष्ट्र बनेको नेपाल पनि बाल अधिकारका क्षेत्रमा केही गर्न बाध्य भयो । यस बीचमा बालबालिका सम्बन्धी ऐन, २०४८ र नियमावली २०५१ निर्माण भएको छ । बालबालिका सम्बन्धी मन्त्रालय नै स्थापना भएको छ । नेपालको संविधान २०७२ को धारा १३(३) मा समानताको हक अन्र्तगत राज्यले बालबालिकाको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुनद्वारा विशेष व्यवस्था गर्न सक्ने प्रावधान राखिएको छ । धारा १७ मा शिक्षा तथा संस्कृति सम्बन्धी हक उल्लेख भएको छ भने, धारा २२ मा बालबालिकाका हक , धारा ३५(९)मा राज्यले बालबालिकाको उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्न सक्ने प्रावधान राखिएको छ । बालमैत्री विद्यालय राष्ट्रिय कार्य ढाँचा, २०६७ जारी भएर कार्यान्वयनमा समेत आइसकेको छ ।
महासन्धीमा हस्ताक्षर र यती धेरै सकारात्मक प्रयासहरु भएता पनि सुरक्षित जन्मको अधिकारबाट नै ग्रामिण क्षेत्रमा जन्मने बालबालिकाहरु बञ्चित छन् भने खोप तथा स्वास्थ्य स्याहार, पोषणयुक्त खाना अनि सफा पानी पाउने अधिकारबाट पनि बालबालिकाहरु बञ्चित नै छन् । बाबुआमासंग बस्न पाउने बालबालिकाको अधिकार सम्बन्धका सामाजिक सञ्जालमा आएको “आज बाबुआमासंग छोराछोरीकालागि समय छैन र होस्टेल लगेर राख्छन्, भोली बाबुआमाकालागि छोराछोरीसंग समय हुने छैन र बृद्धाश्रममा लगेर राख्नेछन् ” भन्ने भनाई बाट व्यस्तताका नाममा बाबुआमाले आफ्ना बालबालिकाको अधिकार कसरी हनन गरिरहेका छन् भन्ने स्पष्ट पार्छ । विरामी हुँदा उचित स्वास्थ्य उपचार नपाउने बालबालिकाको संख्या त झन कति छ कति । गर्भ देखि नै हुने विभेदबाट खासगरी बालिकाहरु प्रताडित छन् । बालबालिकाको बेचबिखन, लागूपदार्थ ओसारपसार तथा जोखिमपूर्ण काममा बालबालिकाको प्रयोगको अवस्था पनि डरलाग्दो नै छ ।
जीवनमा प्रभाव पार्ने निर्णयहरुमा बालबालिकाको सुनुवाई गर्ने कुरा हाम्रोमा अझै बानी परिसकेको छैन । हामी बालबालिकासंग सल्लाह र परामर्श गर्दैनौं । बरु आफ्ना कुरा राख्न खोज्ने बालबालिकालाई खुकुरी भन्दा कर्द लाग्ने भनेर हप्काउँछौं । हाम्रा विद्यालयहरु अझै पूर्णतः बालमैत्री हुन सकेका छैनन् । बालमैत्री हुनु भनेको बालबालिका माथि कुटपिट नहुनु मात्र हो भन्ने हाम्रो सोचाई रहेको छ । उनीहरु अनुकूल सिकाई वातावरण र भौतिक संरचना हुनु पनि त्यत्तिकै आवश्यक छ भन्ने कुरा बुझ्नु जरुरी छ ।
समग्रमा भन्नु पर्दा बालअधिकार भनेको बालबालिकाको निम्ति स्वस्थ भएर बाँच्न, सर्वाङ्गीण विकास गर्न, खुसी हुन, नभै नहुने न्यूनतम आवश्यकताहरु पाउनु नै बालअधिकार हो । बालबालिकाको बाँच्न पाउने अधिकार, विकासको अधिकार, संरक्षणको अधिकार र सहभागिताको अधिकार सुरक्षित हुन सक्दा मात्र देशले भविष्यका लागि असल नागरिक प्राप्त गर्न सक्छ । बालबालिकालाई कस्तो बनाउने भन्ने बाबुआमाको हातमा हुन्छ । त्यसैले हरेक बाबुआमाले आफ्ना बच्चालाई साथै राखेर हेरुन कि के आफ्ना बच्चाले अवलम्बन गरेको मार्ग सहि छ ?
खुलेर सपना देख्ने र त्यो सपनालाई साकार रुप दिने ल्याकत राख्ने बालबालिका बनाउन हामीले उनीहरुलाई कुनै किसिमको हानीबाट सुरक्षित तुल्याउनु छ, प्रत्येक बालबालिकालाई विद्यालय पु¥याउनु छ र बालबालिकाका लागि सुन्दर संसार निर्माण गर्नु छ । यो अवसरमा सबै बालबालिकामा शुभकामना ।
बाल अधिकारः सबैको सरोकार
previous post