व्यास नगरपालिकाले माघ २ गते एक विज्ञप्ती जारी गर्दै अर्काे सूचना नभएसम्म नकुहिने फोहर उठाउन नसक्ने व्यहोरा नगरवासीमा जानकारी गराएको छ । विज्ञप्तीमा फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको उल्लेख गर्दै विगत ३०÷३२ वर्ष देखि स्थायी समाधानका लागि विभिन्न विकल्पमा कार्य भइरहे पनि समाधान हुन नसकेको बताइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, ‘कुहिने फोहोर र नकुहिने फोहोर घर घरबाट छुट्टयाउने कार्य भएता पनि नहुकिने फोहोरमा कुहिने फोहोर अझै मिसिएको अवस्था छ, जस्ले गर्दा नकुहिने फोहोर विसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएर स्थानीयको गुनासो आइरहेको छ ।’ सम्पुर्ण नगरवासीमा कुहिने फोहोरलाई अलग गरिदिनुहुन अनुरोध गरिएको विज्ञप्तीमा कुहिने फोहोर संकलन गर्न एकदिन बिराई नियमित गाडि आउने तर नकुहिने फोहोर संकलन कार्य अर्को व्यवस्था नहुदाँसम्म मिति माघ ३ गतेदेखि नै विशेष कारणबस उठाउन नसकिने हुदाँ नकुहिने फोहोरको केहि दिन स्वंयमले घरमै सुरक्षित राख्नुहुन
अनुरोध गरिएको छ । न.पा.को यो सूचनाले धेरै नगरवासीलाई अब नगर फोहरले ढाकिने भयो भन्ने कुराले चिन्तित तुल्याएको छ ।
नगरपालिकाले फोहर उठाउन छाडेको हप्ता नहुँदै सडक खासगरी दमौली बजारका सडक किनारमा नकुहिने फोहरको थुप्रो देखिन थालेको छ । घरमा सुरक्षित राख्न न.पा.ले गरेको आग्रहको पालना गर्न दमौलीका कतिपय वासिन्दा तयार भएको देखिएको छैन । यसले सहरको सौन्दर्य घटेको छ । सरसफाइ शुल्क भनेर वर्षेनी नपाले नागरिकबाट पैसा असुले पनि समयमा फोहर नउठने समस्या बेलाबेला देखिएकै हो । अझ अहिले त अनिश्चित कालका लागि नकुहिने फोहर नउठ्ने भएको छ ।
इमान्दार भएर कुहिने र नकुहिने फोहर छुट्याउनु र फोहर व्यवस्थापन कार्यलाई सहज तुल्याउनु नागरिक दायित्व हो । तर महत्वपूर्ण कुरा भनेको फोहर व्यवस्थापनका दीर्घकालिन उपायहरुको खोजी गरी सहरलाई सफा राख्नु नपाको दायित्व हो । तीन दशकदेखिको फोहरको दीर्घकालिन व्यवस्थापनको प्रयत्नले आकार ग्रहण गरेन वा नागरिकले फोहर छुट्याएर दिएनन भनेर उम्कन स्थानीय सरकारले पाउने अवस्था छैन । त्यसैले नपाले फोहर व्यवस्थापनको कुरामा थप चासो र चिन्ता लिएर दीर्घकालिन समाधानको उपाय खोज्न विलम्ब नगरोस् । छिट्टै समाधानको उपाय प्राप्त भएको समाचार पढ्न पाइयोस् र नागरिकको दैलोमा थुप्रिएका फोहरहरुको व्यवस्थापन होस् ।