फरक क्षमता(अपाङ्गता) भएकाहरुको क्षमता पहिचान र सम्मान होस् भन्ने हेतुले हरेक वर्ष डिसेम्बर ३ मा विश्व अपाङ्गता दिवस मनाउने गरिन्छ । सन् १९९२ बाट मनाउन थालिएको यो दिवसको अर्थ तब रहन्छ, जब हामीले उनीहरुमा निहित क्षमता पहिचान गरी त्यसको प्रयोग राष्ट्र हितमा गर्न सक्छौं अनि फरक क्षमता मैत्री सामाजिक वातावरण र संरचना निर्माण गरी उनीहरुलाई पनि साङ्ग सरह मूल प्रवाहमा ल्याउन सक्छौं । फरक क्षमता भएकाहरुले पनि अरु सामान्य मानिसले झै समाज परिवर्तनका काम गर्न सक्छन् भन्ने कुराको उदाहरण हेर्ने टाढा जानु पर्दैन, साहित्यकार झमककुमारी घिमिरेलाई हेरे पुग्छ । अलि टाढा जाने हो भने हेलेन केलर वा स्टेफेन हकिन्सको क्षमता र योगदान हामी देख्न
सक्छौं ।
आज डिसेम्बर ३, अर्थात विश्व अपाङ्गता दिवस । आजको दिन फरक क्षमता भएका ब्यक्तिहरुले गरेका सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले सम्झने र त्यसका लागि सम्माना प्रकट गर्ने दिन । अर्कोतर्फ फरक क्षमता मैत्री समाज अनि संरचनाकालागि आवाज उठाउने र प्रतिवद्धता व्यक्त गर्ने दिन । संसारका सबै सरकार अनि सङ्गठनहरुले फरक क्षमता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता जनाएका छन् र आज त्यो प्रतिवद्धता पूरा भए नभएको हेर्र्ने र आत्मसमिक्षा गर्ने दिन पनि हो । भनिन्छ, संसारको १५ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको फरक क्षमता भएको
छ । यो जनसंख्यालाई साथै लिएर हिंड्न नसक्ने हो भने संसारले समावेशी र समतामूलक समाज निर्माण हुन सक्दैन ।
फरक क्षमता मैत्री समाज र संरचना निर्माणको आवश्यकता त छ नै उनीहरुलाई आत्म निर्भर तुल्याउन सक्यौं भने मात्र हाम्रो समतामूलक समाज निर्माणको प्रयत्नले सार्थकता पाउने छ । यसमा राज्य र आम नागरिक सबैको अर्थपूर्ण पहल र अग्रसरता रहोस् भन्ने कामनाका साथ फरक क्षमता भएका सबैमा हाम्रो श्रद्धा र नमन ।