
“सोचे जस्तो हुन्न जीवन” लाई अथक मेहनत, लगन र परिश्रमले सोचे जस्तो हुन्छ जीवन भन्ने बनाउन सफल व्यक्ति हुन्, डा. कमल लामिछाने । अनि यो नाम अपाङ्गता अध्ययनमा देश विदेशमा परिचित पनि छ । विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्टिविहीन लामिछाने अमेरिका र जापानमा अपाङ्गताको क्षेत्रमा काम गर्ने महत्वपूर्ण व्यक्तिका रुपमा परिचित छन् ।
उनै लामिछानेद्वारा लिखित अन्तर्दृष्टि नामक पुस्तक ढिलोगरी भर्खर पढ्ने मौका
मिल्यो । पुस्तक पढ्दै जाँदा कतै मन भक्कानिएर आउँछ भने कतै गला अवरुद्ध हुन्छ । म कुनै पुस्तकको समिक्षा गर्न सक्ने ल्याकत राख्ने मान्छे होइन । पुस्तकको वास्तविक समिक्षा गर्न उक्त पुस्तक पढेर मात्र पुग्दैन त्यसले समेटेको विषयवस्तुको विषयमा अन्य धेरै जानकारी राख्नु पर्छ र त्यसका लागि अरु धेरै अध्ययन गर्नु पर्ने हुन्छ ।
पुस्तक पढ्दै जाँदा अपाङ्गता भएका व्यक्तिले भोग्नु पर्ने विषयका बारेमा जे–जति जानकारी पाएँ , त्यसले केही नलेखि रहन दिएन् । तर यो आलेख अन्तर्दृष्टिको समिक्षा होइन भन्ने कुरा फेरी स्मरण गराउँदै आलेखलाई अगाडि बढाउन चाहन्छु ।
जन्मजात दृष्टिविहीन लामिछानेको बाल्यकाल अझ भनौं १२ वर्षसम्मको उमेर अन्धकारमै वित्यो । चितवनको जुटपानीमा जन्मेका लामिछाने आफ्ना बुबा–आमाका पाँचौ र अन्तिम सन्तान थिए तर जन्मजात दृष्टिविहीन । दृष्टिविहीनता अहिले पनि पूर्व जन्मको पापको रुपमा व्याख्या गरिने र हेलाँको दृष्टिले हेरिने विषय हो भने आजभन्दा साढे चार दशक अगाडीको अवस्था कस्तो थियो होला त्यो सहजै अनुमान लगाउन सकिन्छ ।
अझ महत्वपूर्ण कुरा अहिले पनि राज्यले अपांगता भएकाहरुको शिक्षा–दीक्षा र अन्य विषयमा पर्याप्त व्यवस्था गर्न सकेको छैन भने त्यतिबेला झन हुने कुरै भएन ।
अपाङ्गता भएकाहरु आफन्त, परिवार, विद्यालयका शिक्षकहरुबाट आफ्नै साथीहरुबाट कसरी अपमानित र अपहेलित हुन्छन् भन्ने कुराका थुप्रै निजी अनुभवहरु लामिछानेले अन्तर्दृष्टिमा उल्लेख गरेका छन् । ति अवहेलना, अपमानलाई चिर्दै अनि काग कराउँदैछ पिना सुक्दैछ भनेझैं गरेर कसरी आफुलाई निरन्तर अगाडि बढन् र सफलताको सगमाथा चुम्न सकिन्छ भन्ने कुराको उदाहरण त लामिछाने आफै भएका छन् । यस्तै विषयलाई समेटेर यस पटक कलम चलाउने जमर्काे गरेको छु ।
त्यतिबेलाको एसएलसी परीक्षामा सहभागी भएको लामिछानेको अनपेक्षित नतिजा आउँछ, अर्थात उनी अनुत्तिर्ण हुन्छन् । धेरै पछि उनले थाहा पाए कि उनको कार्यालय सञ्चालन र लेखा विषयको प्रयोगात्मक अंक विद्यालयबाट नपाठाइएकाले नतिजा प्रकाशन नभएको रहेछ । लेखा शिक्षक कृष्णभक्त जोशीका प्यारा विद्यार्थी लामिछानेलाई सुरुमा यो कुरा पत्याउनै गाह्रो
भयो ।
सत्य त्यही थियो, पत्याउन बाध्य भए । तर अझ तितो सत्य त के रहेछ भने जोशी सरले “आँखा नदेख्ने मान्छेले प्राक्टिकल गर्न सक्दैन । त्यस्तो विद्यार्थीलाई कसरी नम्बर दिनु ?”भनेर उनको नम्बर नपठाएका रहेछन् । उनी छाँगाबाट खसेजस्ता भए । “तिमिले कति गर्न सक्छौं, मलाई थाहा छ । तिम्रो हरेक पटक राम्रो नम्बर आएको छ । त्यसैले केही चिन्ता नगर” भन्ने शिक्षक अचानक कसरी यस्तो निर्दयी हुन सक्छ ?
प्रमाणपत्र तह पढ्दाको पनि त्यस्तै दुःखद सन्दर्भ लामिछानेले उल्लेख गरेका छन् । उनी २०५५ सालको प्रमाणपत्र तहको परीक्षामा नेपाल टपे । उनी अध्ययनरत क्याम्पसबाट दुइसय ३४ जना सहभागी भएकामा जम्मा ११ जना उत्तीर्ण भएका थिए र उनी प्रथम । तर त्यो सफलता उनका लागि साथहरुसंगको दूरी बढाउने कारक बन्यो । उनी उल्लेख गर्छन, छात्रावासमासंगै वस्ने साथीहरु नतिजा सुनेपछि बदलिन थाले । आफुहरुले किताब पढेर सुनाईदिएकोले उनी प्रथम हुन सफल भएको भन्दै उनीहरुले अबका दिनमा उनलाई किताब पढेर नसुनाउने सल्लाह नै गरेछन् ।
उनी सात कक्षामा पढ्दाको कुरा हो । उनकी दिदी पार्वतीको विहे हुने भयो । काठमाण्डौमा भएका उनलाई खबर भयो र उनी आफुसंग सबभन्दा मिल्ने दिदीको बिहेका लागि चितवन घर जान तयार भए, विद्यालयमा विदा मागे । होस्टेल छोडेर भोलिपल्ट संगै चितवन जाने नारायण दाइको मा बास बस्न पुगे । घर जाने भनेको दिन अर्थात भोलिपल्ट फोन आयो । उनका दाइ हरि फोनमा बोले र भने “पार्वतीको विहेमा झण्डै २ सय ५० जना जन्ती आउँछन् । दिदीको विहेमा भाइले लावा दिनु पर्छ । तँ घरमा आइस् भने यो काम तैंले गर्नुपर्छ । एकजना आँखा नदेख्ने मान्छेले त्यो काम गर्दा हाम्रा शत्रु हाँस्छन् । तँ आइनस् भने मैले त्यो काम गर्न मिल्छ । त्यसैले तँ नआउनु ।” उनीसंग हस् भन्ने बाहेक अरु उत्तर थिएन र होस्टेल फर्किए ।
उनका माइला दाई हरिको विहे हुने भो । पार्वती दिदीको विहेका घटना सम्झँदा उनलाई त्यो विहेले चितवन जानेगरी उत्साही बनाएन । तर दाजुको विहेमा नजाँदा चिनेजानेकाहरुमा दाजुभाइको सम्बन्ध राम्रो नभएको सन्देश जाने डरले उनलाई चितवनसम्म डा¥यायो । दुइजना आफुजस्तै र मन मिल्ने साथी लिएर उनी जुटपानीको घरमा पुगे । घरको अलिक असहज वातावरण बुझपछि उनले जेठादाजु चिरञ्जीवीसँग कुरा बुझे । जन्मजात दृष्टिविहिन उनका दाजुले भने“ तँ आउँछस् भन्ने त मैले सोचेकै थिइनँ । मेरो त घरबाट अन्त जाने विकल्प थिएन तर तँ त काठमाण्डौ थिइस् , नआएको भए हुने ।”
भोलिपल्ट सम्पूर्ण तयारी सकेर दुइवटा वसमा जन्ती अनि एउटा कारमा बेहुलो लिएर सवारी भए । उनी साथै आएका साथीहरु लिए हिँड्दै टाँडी आए र बस चढेर काठमाण्डौं फर्किए । बा–आमा काठमाण्डौं आएर पशुपतिनाथ मन्दिरमा लाख बत्ती बालेका तर उनले त्यो सबै सकिएपछि मात्र थाहा पाएको सन्दर्भ पनि पुस्तकमा उल्लेख
छ ।
तर पुस्तकमा ति सबै अवहेलन, वेवास्ता, अपमान सहेर पनि उनले कहिल्यै हिनता नपाली निरन्तर आफ्नो लक्ष्य प्राप्तीमा लागेको र अपेक्षित सफलता पाएको कुरा पनि उल्लेख छ । पुस्तकमा अपाङ्गता भएकाहरुले भोग्नुपर्ने यथार्थ छ र छन्, साङ्ग र अपाङ्ग दुबैका लागि प्रेरणा प्रदान गर्ने खालका अनेकौं
प्रसङ्ग ।