
मानिसहरुले भन्ने गरेको सुनिन्छः आत्म हत्या कायरले मात्र गर्दछ, हिम्मत हुनेले त बाँचेर देखाउँछ । अझ हिन्दु धर्मशास्त्रमा त आत्महत्यालाई पापको संज्ञा नै दिईएको छ । यहाँसम्म की आत्महत्या गरेको व्यक्तिको लास छुने मानिस पनि अपवित्र हुन्छ । आत्महत्या गरेको लास छुने व्यक्तिले पनि विधि विधान पु¥याएर शास्त्रसंगत रुपमा आफ्नो सद्धिकरण गर्नु पर्दछ । अन्यथा उ पनि आत्महत्या गर्ने व्यक्ति जस्तै पापी हुन्छ भनिएको छ । शास्त्रको कुरा र तर्कहरु एक ठाउँमा रहे । आत्महत्या सम्बन्धी शास्त्रमा गरिएको चर्चा व्याख्या र विश्लेषण के, कति, कसरी र किन ठीक वा वेठीक त्यो चर्चा र बहसको अलग पाटो भयो । तर भनिने सुनिने गरेको जस्तो आत्महत्या कायरले मात्र गर्दछ भन्ने कुरामा चाही पंक्तिकारको विमति छ । तर यसको अर्थ आत्महत्या गर्ने मानिसहरु बहादुर हुन्, शाहसी हुन, उनिहरुको सम्मान गर्नुपर्दछ भन्ने मेरो तात्पर्य होइन । मेरो बुझाई कति मात्र हो भने मानिसहरुले आत्म्हत्या गरेर यति सुन्दर जीवन खेर नफेकुन् भनेर नैतिक रुपमा आत्महत्याप्रति वितृष्ण जगाउनका लागि आत्महत्या कायरले मात्र गर्दछन् भनिएको होला । सायद धर्मशास्त्रमा पनि मानिसहरुले यस्तो गलत कदम नउठाउँन भनेर पापको डर देखाइएको होला । एक अनुसन्धान अनुसार आत्महत्या गर्न चाहिने हिम्मतको दश भागको एक भाग मात्र पनि जीवन जिउनका लागि गर्न सकियो भने जीवनमा धेरै मुस्किल र अप्ठ्याराहरुको सहजै सामना गर्न सकिन्छ भनेर भनिएको छ । यसर्थ पनि आत्महत्या कायरहरुले गर्नै सक्दैनन् । यसको लागि धेरै ठूलो साहस चाहिन्छ । तर परिस्थितिले बाद्य बनाएपछि मानिसले त्यो साहस गर्नबाट पनि पछि नहट्दो रहेछ ।
माघ १ गते काठमाण्डौबाट पोखराको लागि यति एयरलायन्सको जाहाज ल्याण्ड गर्ने क्रममा सेतीको खोंचमा परी दुर्घटनाग्रस्त भै ६८ यात्र र चार चालकदलको सदस्य सहित ७२ जनाकै मृत्यू भएर राष्ट्रलाई नै शोकमा डुवाएको भयावह र विभत्स घटना सेलाउन नपाउँदै फेरी अर्को त्यो भन्दा पनि भयाबह र हृदय विदारक घटना घटेको छ । इलामका ३६ बर्षिया प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वर स्थित प्रतिनिधि सभाको संसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएर आत्मदाहको प्रयास गरे । उपचारार्थ अस्पताल लगिएको भएतापनि शरीरको अधिकाँश भाग जलिसकेको हुँदा बचाउन सकिएन र उनि एउटा अनन्त यात्राको लागि निस्कीए, यो संसारबाट विदा भएर । राज्य र सरकारको लागि प्रश्नै प्रश्नको कोसेली लिएर ।
आत्मदाह गर्नुभन्दा अगाडि उनले निकै लामो स्टास लेखेका रहेछन् फेसबुकमा । उनले लेखेको स्टासको एक एक शब्द पंक्तिकारले पनि पढेको छ । उनको स्टास पढ्दै गर्दा सहानुभूति र क्रोधको संवेगले एकैसाथ मथिंगल रिंगायो । सायद उनको स्टास जो कोहीलाई पनि पंक्तिकारलाई जस्तै भएको हुँदो हो । भनिन्छ, मर्ने बेलामा मानिसले कहिल्यै झुटो बोल्दैन । यदि त्यसो हो भने स्वर्गिय प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु अघि फेसबुकमा लेखेको स्टाटसले प्रश्नै प्रश्न खडा गरिदिएको छ । सरकारमाथि, यो राज्यको व्यवस्था र पद्धति माथि र नाम चलेका उद्यमी व्यवसायीहरु माथि यति मात्र होइन । नातागोता आफन्त र आफ्नैहरुसंगको सम्बन्ध माथि पनि ।
कोही मानिस मर्न किन चाहन्छ ? यति सुन्दर जीवनलाई खेर फाल्न किन चाहन्छन् ? मर्नु भनेको बेलुका सुतेर भोलिपल्ट विहान उठे जस्तो त होइन, अर्को मौका पाउनलाई । जब मानिसको जीवनमाप सबै बाटो र ढोकाहरु बन्द हुन्छ, अनि बाद्य भएर मानिसले आत्महत्या गर्ने दुस्साहस गर्दछ । आत्महत्या गर्ने दुस्साहस गर्ने मानिस आफैमा जति दोषी हो, त्यो भन्दा दोषी उसलाई आत्महत्या गर्न बाद्य बनाउने कारक तत्वहरु हुन् । स्वर्गिय आचार्यकै फेसबुक स्टासलाई आधार मानेर हेर्ने हो भने उनले आत्मदाह गर्नुको पछाडि सबैभन्दा बढी यो राज्यको पद्धति यहाँको व्यवस्था, भ्रष्टाचा, नातावाद र कृपावाद दोषी छ । यो राज्यको व्यवस्था र पद्धतिले आजित भएर पिल्सीएर आफ्नो जीवन लिला समाप्त गर्नेमा स्वर्गिय आचार्य पहिलो व्यक्ति पक्कै होइनन् । धेरै प्रेम आचार्यहरुले बाद्य भएर यो बाटो रोजेका छन् । फरक यति हो, स्वर्गिय आचार्यले आफ्नो मृत्यूलाई गुमनाम हुन दिन चाहेनन् । उनले आफ्नो मृत्यू पनि विद्रोहको एउटा शुरुवात होस् भन्ने चाहे । अब यहाँनेर गम्भिर प्रश्न तेर्सिएको छ, उनको शरीर दनदनी बाल्दै गर्दा निश्किएको तापले सिंहदरवारलाई पोल्छ कि पोल्दैन । उनि जल्दै गर्दा निस्केको चित्कार, सिंह दरवारको कानसम्म पुग्छ कि पुग्दैन ? उनको शरीरबाट निश्किएको कालो धुवाँले सिंहदरबारको आँखा पोल्छ कि पोल्दैन ? त्यो कालो धुवाँले सिंहदरबारका सेता भित्ताहरुमा दाग लाग्छ कि लाग्दैन ? नेपालमा राज्यको व्यवस्था र पद्धतिबाट पीडित अरु पनि धेरै प्रेम आचार्यहरु छन् । यस्तो नहोस् कि उनिहरुले पनि स्वर्गिय आचार्यको विद्रोहको साथ दिउन् ।
बेरोजगारी निःसन्देह नेपालको एउटा प्रमुख समस्या हो । राज्यमा रहेका दक्ष, अर्धदक्ष, अदक्ष, सबै खालको जनशक्तिलाई उनिहरुको क्षमता अनुसारको काम उपलब्ध गराउनु पक्कै पनि राज्यकै दायित्व हो । तरपनि यो पूर्ण रुपमा कहिल्यै पनि सम्भव हुँदैन । आज संसारमा विकसित भनिएका राष्ट्रहरुमा पनि बेरोजगारीको समस्या छ । यद्धपी कति मात्रामा भन्ने कुरा फरक छ । राज्यमा बेरोजगारीको समस्या भएपनि आफूले केही गर्न प्रयास नगर्ने, जमातलाई राज्यले मलाई रोजगारी दिएन, मैले कमाउन सकिन भन्ने नैतिक हक छैन । तर स्वर्गिय आचार्य जस्ता देशमै केही गरौं, देशलाई समृद्धि तर्फ धकेल्न मद्दत गरौं भन्ने सोंच राख्ने युवाहरुलाई सहज र सरल वातावरण मिलाई दिनुको सट्टा राज्यव्यवस्था र यसको वेथितिले एउटा कर्मशिल युवाले आफ्नो जीवन समाप्त पार्न बाद्य हुनु सरकार र राज्यको लागि एउटा लज्जाको विषय हो ।
स्वर्गिय आचार्यले आफ्नो स्टाटसमा आफ्नो नामै तोकेर भनेका छन्, आफूलाई यो अवस्थामा आउन बाद्य पार्नेहरुको आफ्नो लेनदेनको, हिसाब किताबको । के सरकारले उनको डुवेको पैसा उठाई दिन सक्छ ? के उनलाई अवस्थामा आउन बाद्य पार्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सक्छ ? के उनको श्रीमतिलाई उनकै बाटोमा लाग्नबाट रोक्न सक्छ सरकारले ? या पैसा र पहुँचवालाको अगाडि सरकार निरिह बन्छ ? प्रश्न गम्भिर छ, स्वर्गिय आचार्यले राज्यमा व्याप्त वेथितिबाट आजित भएर आफ्नो जीवन लिला त समाप्त गरे तर जाँदा जाँदै सरकारलाई अमूल्य सुझाव पनि आफ्नो स्टास मार्फत नै दिएर गएका छन् ताकि भोलि देशमै बसौं देशमै केही गरौं भन्ने अर्को एउटा नौजवान युवाले पनि उसले अगालेको बाटो अगाल्न बाद्य नहोस् । के सरकारसंग यति समय छ कि सरकारले स्वर्गिय आचार्यले जाँदा जाँदै दिएको सुझावसम्म पढ्न भ्याओस् ? यो सरकारसंग यति विद्वता छ कि उनको सुझाव के कति ठीक वा बेठिक मूल्याङ्कन गर्न सकोस् ? के सरकारसंग यति हिम्मत र साहस छ कि स्वर्गिय प्रेमप्रसाद आचार्यलाई यो बाटो रोज्न बाद्य बनाउने बेथितिको अन्त्य गर्न सकोस् ? देशमा सुशासन र सुव्यवस्थाको स्थापनाको गर्न सकोस् ? नयाँबानेश्वरमा एउटा युवाको शरीरमा दन्किएको आगोको लप्काले नेपालको एउटा अध्यारोलाई चिरेको छ । त्यो अध्यारोभित्र लुकेको विकृतिमाथि प्रकाश पारिदिएको छ । कसैले आफ्नो जीवन नै सकाएर चिरेको अध्यारोलाई सरकारले देख्छ या देख्दैन ? या देखेर पनि नदेखे जस्तै गर्दछ ? प्रश्न ज्यूँदै छ । स्वर्गिय आचार्यको आत्माले शान्ति पाओस् ।