७१ वर्ष अगाडि अघिल्लो साता हो नेपाली नागरिकले एकसय चार वर्ष लामो बन्धनबाट मुक्ति पाएको । अर्काे शब्दमा नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालको आज ७० वर्ष पूरा भएर ७१ वर्ष लागेको छ ।
२००७ साल फागुन ७ गते नेपाली नागरिकका लागि सर्वाधिक महत्वको दिन रह्यो र यो दिनलाई नेपाली नागरिकले कदापि भुल्ने छैनन् । सात सालको त्यो जनक्रान्तिले हामीलाई रैतीबाट नागरिक बनाएको थियो । हामीले यसलाई प्रजातन्त्र नाम दियौं र हरेक वर्ष फागुन ७ लाई स्वतन्त्रता प्राप्तीको उत्सवको रुपमा मनाउन थाल्यौं । त्यसैले आज प्रजातन्त्र दिवस हो ।
प्रजातन्त्र प्राप्तीको लागि अर्थात हामीलाई रैतीबाट नागरिक बनाउनका लागि धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथका अतिरिक्त धेरै नेपाली सपूतहरुले आफ्नो प्राण आहुती गरे । हाँसी हाँसी फाँसीमा चढ्न तयार भए । ७१ औं प्रजातन्त्र दिवसको यो अवसरमा म हाम्रालागि सहादत हुने, हाम्रो सुन्दर भविष्यका लागि ति स्वतन्त्रता सेनानीहरु प्रति सम्मान प्रकट गर्न, स्मरण गर्न चाहन्छु । मलाई लाग्छ, उनीहरुको सम्मानमा दिपावली गर्नु हामी सबै नेपाली नागरिकको दायित्व हो । प्रजातन्त्र प्राप्तीको यो सात दशकमा दुइ पटकसम्म हाम्रो स्वतन्त्रता खोसियो । पहिलो २०१७ साल पुष १ मा र दोस्रो २०५८ माघमा । ०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा रहेको सरकारलाई अपदस्त गरेर निर्दलिय पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए । उनले नेपालको माटो सुहाउँदो व्यवस्था भन्दै सुरुवात गरको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म नेपाली जनताका अधिकारलाई कुण्ठित तुल्यायो । आम नेपालीका आशाहरुमाथि निराशा थापर्ने काम महेन्द्रले गरे । बीपीले जनताको प्रतिनिधिका रुपमा थालेका जनपक्षिय कामबाट आत्तिएका उनले नागरिक स्वतन्त्रता खोसे ।
नेपाली नागरिक राजा महेन्द्रको महत्वाकांक्षाको शिकार भए र नागरिकबाट रैतीमा झर्न बाध्य भए, तीन दशकका
लागि । २०४६ साल फागुन–चैत्रमा भएको पहिलो जन आन्दोलनले फेरी हामीलाई रैतीबाट नागरिक बनायो । तर एक दशक बित्न पाउँदा नपाउँदै हाम्रा हात खुटटा बाँधिन थाले । हाम्रो स्वतन्त्रता खोस्ने खेल प्रारम्भ भयो । हामीलाई फेरी नागरिकबाट रैती बनाउने दुचेष्टा राजा ज्ञानेन्द्रले गरे । तर दाजु बिरेन्द्रको अस्वाभाविक अवसान पछि राजा बनेका ज्ञानेन्द्रको २१ आंै शताब्दीका नागरिकलाई रैति बनाउने प्रयास धेरै टिकेन ।
२०६२÷६३ को दोस्रो जन आन्दोलनले राजा ज्ञानेन्द्रको त्यो दुस्साहसलाई खारेज गर्दै फेरी हामीलाई नागरिक बनायो । हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक भयौं । देश गणतन्त्र उन्मूख
भयो । राजा ज्ञानेन्द्रको महत्वाकांक्षा दुइसय वर्ष लामो राजतन्त्रको अवसानको कारक बन्यो ।
हामीले स्वतन्त्रता प्राप्तीका लागि तीन पटकसम्म लड्यौं । नागरिकलाई लागको थियो हामी सफल पनि भयौं । पछिल्लो पटक २०६२÷६३ कोआन्दोलनमा होमिँदै गर्दा हामीले सोचेका थियौं, स्वतन्त्रता प्राप्तीको यो लडाईँ अन्तिम हो । आन्दोलनको नेतृत्व गर्दै गरेका दलका नेताहरुले पनि राजनैतक लडाई यो नै अन्तिम हुने बताएका थिए । उनिहरुको प्रतिवद्धता थियो, अब देशले अर्थिक क्रान्ति गर्न बाँकी छ र त्यसका नेतृत्व हामी गर्छाै तर यो आन्दोलन स्वतन्त्रता प्राप्तीको अन्तिम लडाईँ हुनेछ ।
तर पछिल्ला घटनाक्रमहरुले स्वतन्त्रता प्राप्तीका लागि फेरी लड्नु पर्ने देखिएको छ । नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकार बारम्बार नागरिक स्वतन्त्रता खोस्ने प्रयत्न गरिरहन्छ र यो क्रम अझै जारी छ । वर्तमान सरकारका प्रधानमन्त्री ओली आफ्नो आलोचना गर्नेहरु माथि आफ्ना कार्यकर्तालाई अरिंगाल बनेर चिल्न निर्देश
गर्छन् । संगसंगै सरकारका मन्त्री सरकारको विरोध गर्नेहरुलाई थला पर्नेगरी कुट्न आफ्ना झोलेहरुलाई अह्राउँछन् ।
आधुनिक समाजको प्राण बनेको सामाजिक सञ्जालमा अंकुश लगाउने प्रयत्न एकपटक विफल भएकोमा फेरी सोही प्रयत्न दोहोरिएको
छ । र भनिरहनु परेन यो पनि हाम्रो स्वतन्त्रता खोस्ने र हामीलाई फेरी रैती बनाउने प्रयत्नको पूर्वाभ्यास नै हो । आलोचना, छलफल र बहस भनेको त प्रजातन्त्रको सुन्दर पक्ष हो । तर वर्तमान सरकारलाई आलोचनाको आलोक मन
पर्दैन । फरक मानिस भएपछि विचार फरक हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्न नसक्ने र आक्रमणमा उत्रन कार्यकर्तालाई उक्साउने राजनैतिक नेतृत्वबाट स्वतन्त्रता रक्षाको आशा गर्नु सायद अनर्थ हुनेछ ।
त्यसैले हामीले फेरी एकपटक आफ्नो स्वतन्त्रता रक्षाको लागि अझ भनौं नागरिक नै रहिरहनका लागि आन्दोलनमा उत्रनु पर्ने भएको छ । समय १७ साल र ५८ सालबाट धेरै अघि बढीसकेको छ र वर्तमान सरकारमा रहनेहरुले बुझ्नु पर्ने के हो भने स्वतन्त्रताको भरपुर उपभोग गरिसकेको वर्तमान नेपाली पुस्ता त्यो खोसिएको सहन गर्न तयार छैन । हामीलाई प्रजातन्त्र अर्थात स्वतन्त्रताको मूल्य राम्ररी थाहा छ । त्यसैले कसैले पनि हाम्रो स्वतन्त्रता खोस्ने सपना नदेखुन् । वर्तमान नेपली पुस्ता राणा विरुद्धको सात साल अघिको आन्दोलनको इतिहास पढेर, गंगालाल, धर्मभक्त, दशरथ चन्द तथा शुक्रराजको बलिदानीको इतिहास पढेर अनि त्यसबाट प्राप्त उर्जाले सिँचित भएर हुर्केको पुस्ता हो । कतिपय ३० वर्षे पञ्चायती कालरात्री भोगेको र त्यस विरुद्ध लडेको साथै कतिपय ६२÷६३ को आन्दोलनमा ज्यानको बाजी राखेर स्वतन्त्रताका लागि लडेको पुस्ता हामीसंग छ । फेरी दोहा¥ेयाउँ यो पुस्ता आफ्नो स्वतन्त्रता रक्षाका लागि एकपटक फेरी लडाईँको मैदानमा उत्रन तयार छ । स्वतन्त्रता हरण गर्न खोज्नेहरुले यो बुझुन् । प्रजातन्त्र दिवसको ढिलै भएपनि शुभकामना साथै लोकतन्त्रको निरन्तरताको कामना ।