
तनहुँ जिल्लाको दक्षिणी भेगमा अवस्थित ऋषिङ्ग तनहुँ जिल्लाको कर्णाली उपनामबाट परिचित छ। जिल्ला सदरमुकाम दमौलीबाट करिब दुईघण्टाको सवारी यात्रामा पुग्न सकिने यस ठाउँ पर्यटकीय महत्त्व बोकेको स्थान हो। प्रचारप्रसारको कमिले ओझेलमा परेकरुो ऋषिङ्ग बाईसेचौबिसे राज्यहरुमध्येको एक प्रसिद्ध राज्य थियो । धार्मिक,साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेका अनगिन्ती ठाउँहरु यहाँ अवस्थित छन् । मुख्यत जनजातिहरुको बाहुल्यता रहेको यस ठाउँमा खसआर्य र दलित समुदायका मानिसहरुको पनि बाक्लो उपस्थिति रहेको छ । ऋषिङ्गलाई मगरजातिहरुको मुख्य नृत्य कानराहा अर्थात कौराहाको उत्पत्ति थलोको रुपमासमेत चिनिन्छ। यहाँका अग्ला डाँडाहरु, पहाड,बेंसी,ठुलासाना गरेर करिब आधा दर्जन खेतीयोग्य टारहरुले सिङ्गो नेपालको भू–बनोटको चित्रण गर्दछ ।
मानिसहरुको मुख्य पेसा कृषि हो तर मल,बिउ,किटनाशक औषधी अभावले बर्सेनि कृषि उत्पादनमा ह्रास आएको पाइन्छ । जुन चिन्ताको बिषय हो । यद्यपि पालिका सरकारले कृषि र व्यवसायलाई महत्त्व दिँदै बिउबिरुवा वितरण तथा व्यवसायका लागि अनुदान प्रदान गरिरहेको भएतापनि यसको तत्कालै परिणाम नदेखिएको अवस्था छ । सुन्तला, कागति, नास्पति, आँप, केरा जस्ता फलफूलहरु खेतीका लागि अनुकुल हावापानी भए पनि कृषिमा व्यवसायीकरण भने हुनसकेको छैन् । परम्परागत कृषि प्रणालीमा निर्भर हुने भएकोले पनि आशातित उब्जाउ नहुने र भएको उत्पादनलाई बिक्री गर्नका लागि बजार व्यवस्थापनको अभाव छ।कालीगण्डकी नदिसँगै जोडिएका टारहरुमा सिँचाइ अभावले प्राय जमिन बाँझै छ।सिँचाइ सुविधाका लागि बर्षा र आकाशेपानीको भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ । अनावश्यक रुपमा वनजङ्गल फडानी र डढेलो लगाउनाले पर्यावरणीय समस्या बढ्दो छ । विभिन्न अभाव र सम्भावनाहरुका बिचमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाहरुले जति भरिपूर्ण छ त्यति नै भौतिक सुविधाले विपन्न छ।संघियता लागु भएसँगै बनेका स्थानीय सरकारको उपस्थिति भएता पनि स्थलाकृतिले गर्दा भनौं वा समुचित बजेट व्यवस्थापनको अभावले भनौं सोंचेअनुरुपको संरचनागत विकास भने भएको देखिंदैन । यसमाथि पनि गत साउन २३ र २४ गते गएको ठुलो बर्षासहितको पहिरोले गर्दा मानवीय र भौतिक संरचनाको अकल्पनीय क्षति बेहोर्नुपर्यो । गाउँबासीहरुको कठिन संघर्षबाट निर्मित सडकको गोरेटोसमेत नभेटिने गरि सडक क्षतविक्षत भएको छ । चाडपर्वहरुको आगमन र बर्षायामको बिदाईसँगै यात्रीहरुको सुविधालाई मध्यनजर गरि सडक खुलाउने कार्यले तीब्रता पाएको छ । समयसमयमा विद्युत आपूर्ति बन्द हुनु पनि यहाँको एउटा प्रमुख समस्या हो । प्राकृतिक विपत्तिलाई टारेर टार्न नसकिने । संधै हराभरा देखिने ऋषिङ्ग आज उजाड छ ।
मठमन्दिर,निजी तथा सार्वजनिक भवनहरु भत्किएर अवशेषसमेत नभेटिएको अवस्था छ।अब स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर पुनर्निर्माण कार्यलाई तिब्रता दिई जनतालाई परिवर्तनको अनुभुती दिलाउनुपर्छ । यस प्राकृतिक प्रकोपले आगामी आर्थिक बर्षहरुका लागि विकासको योजनाहरु कोर्दा प्राकृतिक प्रकोपबाट भविष्यमा हुनसक्ने क्षति बारेमा थप गम्भीर र सजग हुनुपर्ने पाठ सिकाएको छ।आशा गरौँ ऋषिङ्ग छिट्टै तङ्ग्रिएर पुरानो अवस्थामा फर्कने छ ।