एउटा नेपाली उखानलाई शीर्षक बनाएर आजको आलेख तयार पर्ने जमर्काे गरेको छु । हाम्रा अग्रजहरुले आफ्ना वर्षाैको अनुभवबाट सिकेको पाठलाई आधार बनाएर तयार पारेका अनेकौं उखानहरु हामीसंग छन् । त्यही उखान मध्येको एक हो, आजको आलेखको शिर्षक । नेपाली नागरिकले २००७ सालदेखि २०६२÷०६३सालसम्म बारम्बारका आन्दोलनहरुमा सहाभागिता जनाए । हरेक आन्दोलन पछि आम जनताको आशा हुन्थ्यो । अब हाम्रो चुहिएको छानो फेरिने छ । नाङ्गो आङ हिड्नु पर्ने छैन अझ भनौं लाज ढाक्न समस्या हुनेछैन । स्वास्थ्य उपचार नपाएर मैले अकालमा मर्नु पर्नेछैन, आदि आदि ।
पञ्चायतले नागरिकलाई नागरिकको जस्तो व्यवहार गरेन । जनआकांक्षाको बारेमा पञ्चायतका नेताहरुले साचेनन् भन्ने हाम्रो गुनासो थियो । दुइ करोड नेपाली प्रजातन्त्र स्थापनाको आन्दोलनमा सहभागी भए । थुप्रै नेपाली आमाका सन्तान भावि पुस्ताको सुख र समृद्धिको लागि ज्यान अर्पण गर्न तयार भए । नेपालमा प्रजातन्त्र स्थापना भएको तीन दशक नाघेको छ । व्यवस्थाको नाम बदलिएर निर्दलिय पञ्चायती व्यवस्थाबाट बहुदलिय प्रजातन्त्र भयो । बहुदलिय प्रजातन्त्रका स्थापनासंगै नेपाली नागरिकमा आकांक्षाका आँधी नै आएको सत्य हो । आम मानिसले सोचे व्यवस्था परिवर्तन भएसंगै सत्ताको साँचो सम्हाल्न पुगेका र जनताको सुख र समृद्धिको लागि लेडेको भनेका नेताहरुले साँच्चै नागरिकको हितमा काम गर्नेछन् । हामी नागरिकले सोच्यौं अब हाम्रा सुखका दिन आए । अब हामी मध्ये कसैले पैसा र उपचारको अभावमा अकाल मृत्यु वरण गर्नुपर्ने छैन । सबैका छोराछोरीले आफ्नो क्षमता अुनसारको शिक्षा प्राप्त गर्ने अवसर पाउने छन् । सडक र सञ्चारसञ्जालले देश ढाक्नेछ । खाए मकै नखाए भोकै अवस्थाका नागरिकले अब भोकै बस्नु पर्नेछैन । कसैले आकाशलाई छानो बनाउनु पर्नेछैन अनि कसैले बाध्यताले नाङ्गो जिउ लिएर हिँड्नु पर्नेछैन ।
तर दुःख पूर्वक भन्नु पर्छ, हाम्रा नेताहरुले हाम्रा आकांक्षाको आँधीको व्यवस्थापन गर्न सकेनन् । अनेक बहानामा जनआकांक्षामा तुषारापात गर्दै आएका राजनैतिक दलका नेताले राजतन्त्रले हामीलाई काम गर्न दिएन भन्ने अर्काे बहाना बनाए । हामीले नेताका कुरा सहजै पत्याईदियौं । र जुरुक्क उठ्यौं, २०६२÷०६३ को आन्दोलनका लागि । फेरी नेपाली आमाका सन्तानहरु आगामी पुस्ताको सुखद भविष्यका लागि आफ्नो ज्यान उत्सर्ग गर्न तयार भए । त्यो आन्दोलनले राजतन्त्रको अन्त्य भयो । देश संघीय संरचनामा गयो । तर डेढ दशक वितिसक्दा पनि हामीले परिवर्तनको अनुभूति गर्न पाएनौं । फेरी पनि निर्वाचनका बेलामात्र मतदाता समक्ष आइपुग्ने नेताका कुरा पत्याएर उनीहरुलाई निर्र्वाचित बनाएर पठायौं । तिनै दल जसले हाम्रा सपनामा पानी छर्किरहे । तिनै नेताहरु जसले हाम्रा बारेमा कहिल्यै सोच्ने जाँगर देखाएनन् । उनैलाई हामीले सत्ताको साँचो सुम्पिरह्यौं । हामीले फेरी पत्यायौं कि अब त नेताहरुले हाम्रा दुःखका कुरा बुझ्ने छन् ।
र क्रान्तिको राप र तापबाट आएको माओवादीलाई २०६४ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनाएर पठायौं । लाग्यो, जनताको लागि युद्ध गरेका भनेका माओवादीहरु जसलाई युद्धका बेला तिनै झुपडीमा बस्ने जनताले आफु नखाएर भएपनि खाना खुवाएर साथ दिएका थिए । छोराछारीको पेट भोको अनि आङ नाङ्गो राखेर भएपनि चन्दा दिएर सहयोग गरेका थिए । ति नागरिकका बारेमा माओवादीले अवश्य सोच्ने छ । तर सोचे जस्ता कहाँ भयो र ? सत्ता प्राप्ती पछि अरुले जस्तै माओवादीले पनि जनताका दुःख भुले । शायद उनीहरुलाई लाग्यो, आफ्ना दुःखका दिन गएपछि, आफु महलमा बस्ने भएपछि जनताका दुःख त्यसै मेटिए ।
त्यसपछि नेपाली कांग्रेसमाथि भरोषा गर्दै फेरी नेपाली मतदाताले संविधान निर्माणको कामको अगुवाई गर्ने जिम्मा
दिए । कांग्रेसले आफ्नो नेतृत्वमा संविधान त बनायो तर फेरी पनि जनआकांक्षाको सम्बोधन गर्ने कुरामा धेरै ठाउँ चुक्यो । वीपीको तस्विर देखाएर यो कुन बुढो हो भन्नेहरु कांग्रेस नेतृत्वमा पुगेपछि प्रधानमन्त्री हुँदा आफ्नो कार्यकक्षमा विपन्न परिवारको सदस्यको तस्विर राख्ने अनि उनीहरुलाई सम्झेर योजना बनाउनु पर्छ भन्ने वीपीको उपादेयता शायद कांग्रेसलाई रहेन ।
पछिल्लो निर्वाचनको कुरा गरौं । नेपालका दुइ ठूला कम्युनिस्ट पार्टीले चुनावी गठबन्धन गरे र भने हामीलाई बहुमत दिनुस्, हामी स्थायी सरकार दिन्छौं । यतिमात्र होइन काकरभिट्टा देखि कैलालीसम्म रेल कुदाएर देखाउँछांैं । चीनको केरुङदेखि काठमाण्डौसम्म अर्काे रेल कुद्नेछ । यतिमात्र होइन घरघरमा ग्याँस पाइपलाइन लगिने छ । नेपालको आफ्नै पानी जहाज हुनेछ । गठबन्धनका नेता खड्गप्रसाद शर्माले त पानी जहाजका टिकट काट्न समेत आह्वान गर्दै सेवा सुरु हुने मिति समेत तोकिदिए । यी केही सपना थिए, ओली प्रचण्ड गठबन्धनको । यस्ता अनन्त सपनाहरु बाँडिएको थियो । हामीले पत्यायौं । लाग्यो, अब भने नेताहरुमा नागरिकका लागि केही गर्नुपर्छ भन्ने चेत पलाएछ । झण्डै दुइ तिहाई दिएर पठायौं । तर ओली नेतृत्वको सरकारले आफ्नो तीन वर्षे कार्यकालमा कस्ता कस्ता काम ग¥यो त्यो सबैका सामु छर्लङ्ग छ । कोभिडले आक्रान्त नागरिकको उपचार गर्न ल्याएका औषधीमा कमिसन खाने, एउटा प्रेस खरिदमा ७० करोडको कमिसन डिल गर्ने, वाइडबडीमा अरबौं कुम्ल्याउने, बालुवाटार जग्गा आफ्नो नाममा गर्ने लागएतका बेथितीका काम ओलीकै पालामा भयो । जनताको प्रतिनिधि मूलक थलो संघीय संसदको असमयमा अवसानका प्रयास सबै सबै ओलीको पालामा भए ।
ओली सत्तामा रहँदा कांग्रेस सांसदहरु भन्थे, हामीले सरकारको नेतृत्व गर्ने अवसर मिल्यो भने देखाईदिन्छौं कि सरकार कसरी चलाउनु पर्छ । अहिले देखिएकै छ, सरकार कसरी चल्दो रहेछ । महंगीको मारमा नागरिक यति पिल्सिएका छन् त्यसका हिसाब गरिसाध्य छैन । सरकारसंग जनताका थुप्रै अपेक्षा छन् तर सरकारलाई ति भूई मान्छेका बारेमा कुनै चासो र चिन्ता छैन । छ त केवल फेरी कसरी सत्तामा जाने । पुनः सत्ता प्राप्तीका लागि जायज र नाजायज के कस्ता कर्म गर्न सकिन्छ, त्यता मात्रै राजनैतिक नेतृत्वको ध्यान गएको छ । हामी नेताको भर परेर वस्दा शीर्षकमा भनिए झै सधै उपवास बस्नुपर्ने अवस्थामा पुगेका छौं ।
पराईको आश, संधैंको उपवास
previous post