न्याम्स र बिपी प्रतिष्ठानको उपकुलपति आफूअनुकूल बनाउन स्वास्थ्यमन्त्री यादव सक्रिय, बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की
काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति नियुक्ति र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति फेर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच चर्काचर्की भएको छ।
स्वास्थ्यमन्त्री यादवले न्याम्समा आफूअनुकूलको व्यक्तिलाई नियुक्त गर्न र बिपी प्रतिष्ठानको उपकुलपति हटाएर त्यहाँ पनि आफ्नो निकटको व्यक्तिलाई उपकुलपति बनाउन खोजेपछि विवाद उत्पन्न भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा उपकुलपतिका विषयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले विवाद नआउने हिसाबले न्याम्सको उपकुलपति नियुक्त गर्नुपर्ने र बिपी प्रतिष्ठानको उपकुलपति तत्काल फेर्दा विवाद आउने कुरा राखेपछि स्वास्थ्यमन्त्री यादवले त्यसको प्रतिवाद गरेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्रीले विवाद नआउने ढंगले उपकुलपतिको विषय टुंग्याउनुपर्ने धारणा राखेपछि उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्यमन्त्री यादवले आफूले भनेको व्यक्ति उपकुलपति नियुक्त नभए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए। सो क्रममा बालुवाटारमा केही समय प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीच चर्काचर्की समेत भएको थियो।
प्रधानमन्त्री न्याम्स र बिपी प्रतिष्ठानका कुलपति हुन् भने स्वास्थ्यमन्त्री सहकुलपति। न्याम्सको ऐनअनुसार उपकुलपतिको नियुक्ति सहकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट र अन्य पदाधिकारीको नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिबाट हुन्छ।
न्याम्सको उपकुलपति नियुक्तिका लागि स्वास्थ्यमन्त्री यादवको संयोजकत्वमा रहेको उपकुलपति छनोट समितिले असोज १ गते उपकुलपतिमा नियुक्तिका लागि तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। समितिले सिफारिस गरेका तीन जनामा डा डिएन साह, डा ढुण्डीराज पौडेल र डा अजित रायमाझी छन्।
सिफारिसमा परेका तीन जनामध्ये स्वास्थ्यमन्त्री यादव डा साहलाई उपकुलपति बनाउन चाहन्छन्। स्वास्थ्यमन्त्री यादवले नियुक्त गर्न चाहेका डा साह हाल ग्रान्डी अस्पतालमा कार्यरत छन्। उनी त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका व्यक्ति हुन्।
स्रोतका अनुसार मन्त्री यादव आफू निकटका व्यक्तिलाई उपकुलपतिमा नियुक्त गरेपछि त्यहीअनुसार न्याम्सका अन्य पदाधिकारीहरु पनि आफू निकटका नै नियुक्ति गर्ने तयारीमा छन्। न्याम्स ऐनअनुसार उपकुलपति नियुक्तिपछि अन्य पदाधिकारीको नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपति एवं स्वास्थ्यमन्त्रीले गर्ने छन्।
उपकुलपतिसहित न्याम्सका अन्य पदाधिकारी पनि आफूअनुकूल बनाउन सकेमा न्याम्सअन्तर्गत हुने उपकरण खरिद, भौतिक पूर्वाधार निर्माण, अन्य नियुक्ति लगायतमा चलखेल गर्न सकिने भएकाले मन्त्री यो खेलमा सक्रिय भएका हुन्।
मन्त्रीले आफू निकटका व्यक्तिलाई उपकुलपति बनाउन खोजेपछि न्याम्सका कार्यरत अधिकांश प्राध्यापकदेखि कर्मचारीहरुले यसको विरोध गरिरहेका छन्। उनीहरु न्याम्स बाहिरको व्यक्ति उपकुलपति ल्याउन नहुने पक्षमा छन्। उनीहरुले न्याम्स बाहिरबाट उपकुलपति नियुक्त भएमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
यो विषयमा प्रधानमन्त्री ओलीलाई न्याम्समा रहेका नेकपानिकट केही प्राध्यापकले जानकारी दिएका थिए। उनीहरुले प्रतिष्ठान बाहिरबाट डा ढुण्डीराज पौडेलबाहेक अन्य दुई जना सिफारिस गरिएको भन्दै नियुक्ति प्रक्रिया नै खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।
यसैगरी, मन्त्री यादव तत्कालै विपी प्रतिष्ठान धरानका उपकुलपति समेत फेर्ने खेलमा छन्। उनी हालका उपकुलपति फेरेर प्रतिष्ठानका अनियमिततामा आरोपीतलाई जोगाउने खेलमा लागेको स्रोत बताउँछ।
मन्त्री यादव प्रतिष्ठानमा यसअघि भएका अनियमिततामा संलग्न रहेका पूर्व उपकुलपति डा बिपी दास र प्रतिष्ठानको भवन निर्माण र उपकरण लगायतका सामग्री खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न रहेका र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र कार्यकारिणी सदस्य गुरु खनाललाई जोगाउन उपकुलपति डा रौनियारलाई हटाउने खेल सुरु गरेका हुन्।
मन्त्री यादवले यो खेलका लागि प्रधानमन्त्री ओलीलाई समेत झुक्याएर छानविन समिति गठन गरेका थिए। यो कुरा सार्वजनिक भएपछि प्रधानमन्त्री ओली मन्त्रीसँग रिसाएका थिए। स्रोतका अनुसार प्रधानमन्त्री ओली विवादित व्यक्तिलाई जोगाएर हालका उपकुलपति हटाउने पक्षमा छैनन्। ‘उपकुलपति हटाउने विषयले सरकारलाई झन् विवादमा ल्याउन सक्छ, त्यसकारण यो विषयलाई अहिले अगाडि बढाउनु हुन्न,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
तर, मन्त्री यादव भने जसरी पनि धरानको उपकुलपति हटाएर त्यहाँ पनि आफू निकटका व्यक्तिलाई उपकुलपति बनाउने खेलमा सक्रिय छन्। उपकुलपति हटाउन उनले सिनेट बैठक समेत बोलाएका थिए।
मंसिर ५ गते बोलाइएको सिनेट बैठक ऐनविपरीत भएपछि स्थगित भएको थियो। त्यसपछि उक्त बैठकलाई मंसिर १६ गते सारिएको थियो। तर, प्रधानमन्त्रीले नै यो विषयमा विवाद हुने भनेपछि उक्त बैठक पनि सरेको छ।
बिपी प्रतिष्ठानको उपकुलपतिमा पुन दोहोरिने खेलमा लागेका पूर्व उपकुलपति डा दास गौरीबहादुर कार्कीको संयोजकत्वमा रहेको आयोगले दोषी ठहर गरेका व्यक्ति हुन्। आयोगले उनलाई कुनै पनि सरकारी पदमा नियुक्ति नगर्न सरकारलाई सिफारिस समेत गरेको छ।
दासकै पालामा प्रतिष्ठानको ४ सय शय्याको मातृशिशु, २ सय शय्याको कार्डियोलोजी र २ सय शय्याको क्यान्सर भवन निर्माणको काम अगाडि बढेको थियो। उक्त भवन निर्माणका क्रममा अनियमितता भएको विषयमा छानिबन समेत भइसकेको छ। प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत बुझाइसकेको छ।
उक्त प्रतिवेदनमा पूर्व उपकुलपति डा दास लगायत तत्कालीन समयका पदाधिकारीलाई दोषी देखाइएको छ। तर, मन्त्री यादवले उक्त प्रतिवेदन गोप्य राख्दै अनियमितताका आरोपीलाई जोगाउन ती भवन निर्माणका क्रममा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने र निर्णायक भूमिकामा रहेकालाई जोगाउन लागिरहेका छन्।
पूर्व उपकुलपति दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र कार्यकारिणी सदस्य गुरु खनालसहित प्रतिष्ठानका डा अरविन्द सिन्हा, डा बिएन यादव समेत उपकुलपति हटाउने खेलमा मन्त्रीलाई साथ दिइरहेका छन्। डा सिन्हा र डा यादव हालका उपकुलपति हटाएर आफू उपकुलपति बन्ने दौडमा छन् भने पूर्व उपकुलपति दास पनि पुनः उपकुलपति बन्ने दौडमा छन्।