हरेक वर्ष बैशाख १३ आउनासाथ नेपाली कम्युनिस्ट आन्दोलनमा सादगी नेताका रुपमा परिचित मनमोहन अधिकारीको स्मृति हुन्छ । नेपालको ३१ औं प्रधानमन्त्रीको रुपमा २०५१ मंसिर १३ गते नियुक्त भएका अधिकारीलाई आम नेपालीले बृद्ध भत्ताका सुरुवात कर्ताका रुपमा चिन्दछ भने राजनीतिमा सामान्य चासो राख्नेहरुले प्रजातान्त्रिक योद्धा र कुसल राजनीतिज्ञका रुपमा चिन्दछ ।
विसं १९७७ जेठ २८ मा काठमाण्डौंको लाजिम्पाटमा जन्मेका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य अधिकारीलाई उनको पार्टीका नेता कार्यकर्ताले भुलिसकेका छन ्। प्रधानमन्त्री केपी ओली जसले दुइदिन अघिमात्र हजारौं नागरिक जम्मा पारेर निर्माण नै नसकिएको घरहराको उद्घाटन् गरे तर मनमोहनलाई कुनै औपचारिक कार्यक्रम गरेर सम्झन चाहेनन्, ट्वीटरमा मात्र सम्झिए । उनको ठाउँ अब दीपक मनाङ्गेहरुले लिन थालेका छन् । किनभने मनमोहनको त्यो सदगी, सुसाशनका प्रतिको प्रतिवद्धता एमालेका नेता कार्यकर्ताका लागि बेकामको चिज भएको छ । र सोही साता गुण्डा नाइकेका नामले बदनाम गणेश लामा उर्फ दिपक मानाङ्गे गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भए । महोमद आफताब आलमलाई मन्त्री बनाएकोमा बद्नाम कांग्रेसको पदचाप अब एमालेले पछ्याएर बदनामीको केही अंश व्यहोर्न तयार भएको छ ।
तर नेपालको प्रजातान्त्रिक आन्दोलन तथा ट्रेड युनियन आन्दोलनका बारेमा सामान्य ज्ञान भएको जो कोहिले उनलाई भुल्न सक्दैन । अध्ययनका सिलसिलामा भारतको बारणासी पुगेका अधिकारी भारत छोड आन्दोलनमा सहभागी भएकै कारण भारतीय जेलमा परे र जेलमा भारतका कम्युनिस्ट नेताको संगतमा परेर कम्युनिस्ट बने र त्यहीबाट कम्युनिस्ट आन्दोलनमा सहभागी भएका थिए । यसरी भारतीय स्तवतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवनको आरम्भ गरेका मनमोहनले २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनमा सहभागी भए ।
विभिन्न उतारचढाब बाट गुज्रँदै आएको नेपाली कम्युनिस्ट आन्दोलनलाई एकाताबद्ध बनाउँदै अधिकारीले नेकपा एमाले गठनमा महत्वपूर्ण भूमिका खेले । यसैको फलस्वरुप २०५१ मध्याबधी निर्वाचनमा २०५ मध्ये ८९ सिट सहित एमाले संसदमा सबैभन्दा ठूलो दल बन्न सफल भयो । रमनमोहन अधिकारीलाई नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री अवसर मिल्यो ।
०५६ सालमा हुन लागेको आमनिर्वाचनमा पार्टीले ‘आगामी सरकार एमालेको अल्पमतको होइन बहुतमतको’ भन्ने नारालाई अगाडि सारेपछि त्यो नारालाई सार्थकता प्रदान गर्न उनी अझ बढी जोस र जाँगरका साथ पार्टी काममा संलग्न भए । चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउँछ भन्ने प्रबल विश्वास उनमा थियो र त्यही आत्मविश्वासले मेचीदेखि महाकालीसम्मका भू–भागहरूमा सक्रियतापूर्वक सहभागी भएका थिए । चुनावी कार्यक्रमको सन्र्दभमा वैशाख ६ गते काठमाडौं जिल्ला अन्तर्गत क्षेत्र नं. १ गोठाटारको चुनावी सभालाई सम्बोधन गरी निवास फर्कने क्रममा एक्कासि अस्वस्थ भए । त्यसलगतै शिक्षण अस्पतालमा भर्ना गरियो तर उनलाई बचाउन सकिएन । यसरी साही १३ मा नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक, इमान्दार योद्धाको अवसान
भयो ।
मंसिर १४ मा मन्त्रीमण्डल विस्तार गरेर काम थालेका अधिकारीले थालेको बृद्धभत्ता वितरणको व्याज आजपनि एमालेले खाइरहेको छ । त्यसकै कारण वृद्धवृद्धा सूर्य चिन्हमा मतदान गर्ने गर्दछन् तर एमालेले उनै अधिकारीलाई सम्झन छाडेको छ । अधिकारीकै पालमा आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम सुुरु भयो र गाउँ विकास समितिहरुमा पहिलो पटक ३ लाख अनुदान प्रदानगर्न थालियो । सकुम्बासी समस्या समाधान आयोग मार्फत सुकुम्बासीको समस्या समाधान गर्ने प्रयास पनि अधिकारीको पालाको महत्वपूर्ण कामको रुपमा रह्यो । तर आफुले महत्वपूर्ण मुद्धाको रुपमा उठाएको दासढुङ्गा दुर्घटना सम्बन्धका कुनै सोधखोज नगर्नु, त्रिविविको उपकुलपतिमा सूर्य चुनाब चिन्ह लिएर पराजित कमलकृष्ण जोशीलाई नियुक्त गुर्नले उनका सकारात्मक कतिपय काम छायाँमा परे । अभैm समय छ, एमालेले मनमोहनको पदचाप पछ्याउँदै जनहितका काममा लागोस् र उनको सपना साकार गर्ने तर्फ लागोस्, स्मृति दिवसको अवसरमा यही कामना ।