वर्तमानमा नेपाली जनले भाग्नु परेको नियति देखेर पञ्चतन्त्रमा केही अगाडि पढेको लाटोकोसेरो र गधाको नीति कथाबाट आजको आलेख आरम्भ गर्न मन लागेको छ । पहिले कथालाई संक्षेपमा प्रस्तुत गर्नेछु अनि अरु सन्दर्भहरु थपौंला ।
कथा संक्षेप यस्तो छ– एउटा गधा कतै टाढै गन्तव्यमा जाँदै थियो । सांझ पर्न लागेकाले उसलाई कसरी गन्तव्यमा पुग्ने भन्ने चिन्ता थपिएको थियो किनभने अँध्यारोमा उसले हिँडने मेसो पाउँदैनथ्यो । त्यस्तैमा एउटा लाटोकोसेरोले उसलाई सम्बोधन गर्दै भन्यो ः–कता जान लाग्यौ, गधाराज ? गधाले आफु केही पर जान लागेको तर सांझ परकोले समस्या भएको
बतायो । लाटोकोसेरोले आफुले रातमा आँखा देख्ने भएकाले गधालाई गन्तव्यमा पुग्न सघाउन तयार रहेको तर आफु उड्ने र गधा हिँड्ने भएकाले सहयोग गर्न केहि समस्या भएको बतायो । गधालाई पनि ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो र आफ्नो टाउकोमा बसेर बाटो देखाउन लाटोकोसेरोलाई आग्रह ग¥यो ।
लाटोकोसेरो गधाको टाउकोमा बस्यो र उनीहरुको यात्रा प्रारम्भ भयो । रातमा आफुले आँखा नदेखेपनि लाटोकोसेरोको सहयोगमा आफु गन्तव्यमा सुरक्षित पुग्ने कुरामा गधा ढुक्क थियो । रातभर गफ गर्दै लाटोकोसेरोको मार्ग निर्देशनमा गधा हिँडिरह्यो । उज्यालो भयो तर उनीहरु गधाको गन्तव्यमा पुगेनन् । तब गधाले लाटोकोसेरोलाई अब आफु मार्ग तय गर्न सक्षम भएको बतायो । लाटोकोसेरोले आफु अझै बाटो देखाउन सक्षम रहेको जिकिर ग¥यो । गधा पनि आफुले बाटो बिराइएला कि भनेर चिन्ता लिनु नपर्ने भएकाले खुसी भएर लाटोकोसेरोले भने अनुसार हिड्दै रह्यो । वास्तविकता के थियो भने लाटोकोसेरो अब बाटो देखाउन सक्षम थिएन, अभिमानवस उसले आफु बाटो देखाउन सक्षम रहेको बताएको थियो । जे नहुन पथ्र्याे त्यही भयो । लाटोकोसेरोका निर्देशनमा हिँड्दा गधा ठूलो खाल्डोमा
प¥यो । शरीरभरी चोटै चोट भयो खाल्डोबाट निस्कन उसलाई निकै कठिनाइ भयो । गन्तव्यमा पुग्ने त कुरै भएन ।
३० वर्षे पञ्चायती व्यवस्थाले आमनागरिकको शोषण ग¥यो, त्यो अवधिमा विकास निमार्णका काम भएनन् भनेर हामी भन्छौं । जुन स्वाभाविक पनि हो । नागरिकलाई सबैभन्दा प्यारो हुने स्वतन्त्रता हो र उक्त अवधिमा नागरिक स्वतन्त्रता थिएन । अपेक्षित रुपमा विकास पनि नभएकै हो । अहिले हिसाब गर्दा पञ्चायत हटेको पनि तीन दशक नै भएछ । तर नेपाली नागरिकले त्यो तीन दशकमा पञ्चायतले दिन नसकेको कुरा यो तीन दशकमा हामीले के नयाँ पायौं त भनेर प्रश्न गर्न थालेका
छन् । हुनपनि तीन दशक अगाडिको आमविपन्न नेपालीको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आउन सकेको छैन । धनी र गरिब बीचको खाडल झन गहिरो हुँदै गएको छ । पञ्चायतको अवसानसंगै गरिबी, असमानता, अशिक्षा, विभेद, भ्रष्टाचार, बेथिती, स्वेच्छाचारिता आदिको पनि अवसान हुन्छ भन्ने विश्वास थियो नागरिकमा । तर व्यवहारमा त्यो हुन सकेको छैन । हाम्रा नेताहरु आन्दोलन गर्न र राजनैतिक व्यवस्था परिवर्तन गर्न त सफल भए तर त्यसपछिको जनआकांक्षालाई सम्बोधन गर्न असफल भएकै हुन् । विद्रोहको नेतृत्व त नेताहरुले गरे तर त्यसपछि के गर्ने भनेर योजना बनाउन नसक्दा आमनागरिकमा निराशा पैदा भएको छ ।
२०४८ मा निर्वाचित भएर आएको कांग्रेसलाई जन भावना अनुरुप विकास निर्माणका अतिरिक्त असमानता, गरिबी, अशिक्षा, विभेद हटाउने र देशलाई प्रगतिको मार्गमा डो¥याउने अवसर थियो तर आफै भित्रको झगडाका कारण अपेक्षित काम गर्न सकेन । नेपाली कांग्रेसलाई नेपाली जनताले बारम्बार मौका दिएका हुन तर उसले देशलाई समाजवादको मार्गमा सफलता पूर्वक हिँडाउन आफुलाई योग्य सावित गर्न सकेन । तितो लागे पनि सत्य के हो भने कांग्रेससंग आन्दोलनको सफलता पछि के गर्ने भन्ने कुनै कार्यक्रम नै
थिएन । उसले आफुलाई समयानुकुल परिवर्तन गरेर युग सापेक्ष तुल्याउन सकेको थिएन तर उ आफ्नो कमजोरी नागरिक सामु भन्दैनथ्यो बरु आफु नेतृत्व गर्न सक्षम भएको अभिनय गरिरहन्थ्यो नीतिकथाको लाटोकोसेरोले जस्तै ।
तत्कालिन एमालेको पनि हालत उस्तै रह्यो । आन्दोलनमा कार्यकर्ता जतिपनि उतार्न सक्ने विद्रोहको भाषा बोल्न सक्ने तर त्यसपछि के गर्ने भन्ने कुनै कार्यक्रम
नभएको । भाषणमा सर्वहारा वर्गको प्रतिनिधित्व गर्छाै हाम्रो सरकार आएमा गरिब तथा विपन्नको हित हुने काम गर्छाैं भन्ने तर के गर्दा उनीहरुको हित हुन्छ भन्ने थाहा
नपाएको । तर तिनको हितमा काम गर्न सक्षम छु भन्ने स्वाङ गर्न भने कहिल्यै नछोड्ने । आफुले नजान्ने तर जान्दिन भन्ने कुरा नमान्ने ।
तत्कालिन माओवादीले आन्दोलनका क्रममा खासगरी सिमान्त नागरिकलाई निकै मिठा सपना बाँडेको थियो । आन्दोलन गर्ने समाथ्र्य पनि राखेको थियो, हतियारकै बलमा भएपनि । उसंग पनि आन्दोलनको सफलतापछि के गर्ने भन्ने कुनै योजना रहेनछ सक्षमता रहेनछ भन्ने देखियो । रहेछ त केवल कसरी हुन्छ,आफु सत्तामा पुग्ने अनि आफु र आफन्तलाई पुस्तौ पुग्नेगरी कमाउने । बहिर्गमित लडाकुको चेक खोस्ने र क्यान्टोनमेन्टको अरबौं रुपैयाको हिसाब किताब नदेखाएको कुराले त्यही पुष्टी गर्छ । तर लाटोकोसेरोले दिउँसोमा आँखा देख्छु र गधालाई मार्गदर्शन गर्न सक्छु भन्न नछाडे झैँ एमाओवादीले पनि आफुलाई जनताको सक्कली सेवक भन्न छाडेको छैन ।
यो वा त्यो दल अनि यो वा त्यो नेताको कुरा भएन । अहिलेको हाम्रो राजनैतिक नेतृत्व वर्तमान सन्दर्भमा दिउँसोमा गधालाई मार्गदर्शन गर्न तम्सने लाटोकोसेरो जस्ता छन् अनि आमनेपाली गधाको नियतिमा । युवा पुस्तालाई नेतृत्व नदिने बरु अन्तिम स्वाससम्म नेतृत्वमा रहने अनि वर्तमान पुस्तालाई नेतृत्व गर्ने, उनीहरुका आकांक्षाको सम्बोधन गर्ने क्षमता छैन तर भन्ने कि हामी सबै कामका लागि सक्षम छौं । अनि हामी जनता उनीहरुका कुरा पत्याएर उनीहरुलाई नेतृत्वको अवसर दिइरहेका छौं र गधा जस्तै असमानता, गरिबी, विभेद, अशिक्षा, कुशासन, भ्रष्टाचार तथा स्वेच्छाचारिता जस्ता अगणित घाउका कारण थलिँदै गएका छौं ।
नीति कथाको गधा नियतीमा नेपाल र नेपाली
previous post