
सात वर्ष अगाडिको कहाली लाग्दो घटनाक्रमलाई संक्षेपमा प्रस्तुत गरेर न्यायको पखाईमा रहेकी निर्मला पन्तको सम्झना गर्न र श्रद्धाञ्जली व्यक्त गर्न मन लाग्यो ।
कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको शनिबार सात वर्ष पूरा हुँदैछ । २०७५ साल साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी छोरी अवेरसम्म नफर्के पछि सहयोगका लागि प्रहरी सामु पुगेकी आमा दुर्गादेवीलाई प्रहरीले तिम्री छोरी भोली खोजौंला भनेर फर्काए । छोरी हराएकीले खोजी गरिदिनु प¥यो भनेर गुहार माग्न जाँदा जनताको शान्ति सुरक्षाको जिम्मा लिएर बसेको प्रहरीबाट आएको जवाफले दुर्गादेवीलाई आहत तुल्यायो तर उनी के नै गर्न सक्थिन र ? अनेकौं आशंका र डर मिश्रित भारी मन लिएर घर फर्किन । त्यो रात उनले कति अत्याहाट, छटपटी र वचैनीमा बिताइन भन्ने सहजै अुनमान लगाउन सकिन्छ ।
रातभर छोरी नफर्के पछि दुर्गादेवी भोलीपल्ट साउन ११ गते बिहानै फेरी निर्मलाकी साथी रोशनीको घरमा पुगिन्, तर छोरीको कुनै पत्तो लागेन । थोरै समयमा नै रोशनीको घरमा थुप्रै स्थानीय जम्मा भए । केही छिनपछि एक स्थानीय निर्मलाको साइकल नजिकैको उखुबारी छेउमा भेटिएको खवर लिएर आए । साइकल भेटिएको खवर सुन्नासाथ निर्मलाकी साथी, रोशनीकी दिदी बबिताको साइकल भेटिएको भए लाशपनि त्यतै होला भन्ने अभिव्यक्तिले निर्मलाको हत्या भएको र त्यसमा, खोजीमा चासो नदेखाउने प्रहरी र बबिताका दिदी बहिनीको पनि मिलेमतो रहेको हुन सक्ने आशंकामा उब्जन थाल्यो ।
निर्मलाको शव नजिकै उखुबारीमा भेटियो । प्रहरीले घटना स्थाल सुरक्षित राख्नु साटो निर्मलाको कपडा पखाल्ने सम्मका हर्कत ग¥यो । यि सबै सामाजिक सञ्जाल र पत्रपत्रिकामा सार्वजनिक भएसंगै देशभर आक्रोषको आगो दन्कन थाल्यो । निर्मलाको न्यायका लागि प्रदर्शन हुन थाले । प्रदर्शनका क्रममा अर्का एक बालक सनी खुन्नाले ज्यान गुमाउनु प¥यो ।
तत्कालिन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले निर्मलाको न्यायको लागि भएको प्रदर्शनलाई कम्युनिस्ट सरकार विरुद्धको आन्दोलनको रुपमा अथ्र्याउन थाले । नेकपाकी एक सांसद जो आफै एक महिला हुन् उनैले निर्मलाको न्यायका कुरा गर्लिन, बलात्कारी हत्यारालाई कारबाही गर्नुपर्छ भन्छिन् भन्ठानेको त कम्युनिस्ट सरकार असफल गराउन गरिएका घटना पो भनिन् । कामको सिलसिलामा भारतमा रहेका निर्मलाका बुबा साउन १२ मा नेपाल आए तर प्रहरीले साउन ११ मै सनाखत गराएको प्रमाण पेश ग¥यो । निर्मलाका बाबुको किर्ते हस्ताक्षर किन गरियो ? हतार हतार निर्मलाको दाहसंस्कार गरेको किन ? प्रमाणको रुपमा रहने भएकाले यस्ता घटनाका मृतकले लगाएका लुगा जलाईँदैन तर निर्मलाका लुगा जलाइए । यसले आम मानिसको शंकामा बल पुग्यो कि निर्मलाको बलात्कार पछि भएको हत्यामा कञ्चनपुर प्रहरीको पनि मिलेमतो छ ।
यत्तिमै सरकारी गाइजात्रा अझै सकिँदैन । प्रधानमन्त्री केपी ओली सरकारी टेलिभिजन मार्फत अनुसन्धानको क्रममा रहेका बम दिदी बहिनी निर्दाेष रहेको उद्घोष आफै न्यायाधीश बनेर गरे । भारतको एउटा मामुली फिल्मी कलाकारले प्रम ओलीलाई काठमाण्डौं आर्लेको केही घण्टामा भेट्न पाए तर आफ्नी छोरीको बलात्कारी हत्याराको खोजि गरी आवश्यक कारवाहीको माग गर्न आएका निर्मलाका आमा बुबाले उनैलाई भेट्न एक हप्ता कुर्नु प¥यो । भुई मान्छेका समस्या समाधानमा हाम्रो नेतृत्व कति असंवेदनशील छ भन्ने कुराको उदाहरण बन्यो ओलीको
व्यवहार ।
जनताको शान्ति सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले बलात्कारमा पूँजिवादको हात रहेको भन्ने हास्यास्पद तर्क गरेर आफ्नो असक्षमता लुकाउने प्रयत्न गरे । पछि त अझ गृहमन्त्री उनले आफ्नो मन्त्रालयको प्रगति सुनाउँदै भने निर्मला पन्तको जस्तो घटना विगतमा पनि भएको, अहिले पनि भैरहेका र भविष्यमा पनि भैरहने बताए । यस्तो अवस्थामा कसरी एउटी बालिका निर्धक्क भएर विद्यालय वा कलेज जान सक्छे ? हाम्रा मन्त्री कस्तो सन्देश प्रवाह गर्न खोज्दै छन् आम नागरिकमा ? दोषीलाई कारवाही गर्ने प्रतिवद्धता कतै छैन उल्टै राजनीति भएर काम गर्न पाइएन भन्ने कुतर्क । आफ्ना चेलीको दैनिक जसो भैरहेका बलात्कार र हत्याका घटनाले मन नछुने र आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकोमा थोरै पनि आत्मग्लानी नहुने अझ भविष्यमा पनि यस्ता घटना भईरहन्छन् भन्ने कस्तो व्यक्तिलाई प्रतिनिधि चुन्यौं भनेर आम जनताले आफैलाई धिक्कार्नु पर्ने अवस्था बादलले बनाए ।
निर्मला पन्तको बलात्कार पछि हत्या भएका बखत रामबहादुर गृहमन्त्री थिए र उनले निर्मलको न्यायका लागि केही गर्लान भन्ने आशा आम नागरिकमा थिएन । उनीद्वारा प्रदर्शित व्यवहार र व्यक्त विचारले उनी प्रति कुनै आशा गर्ने ठाउँ पनि थिएन । त्यस यता नेपाली कांग्रेसका बालकृष्ण खाँण र रमेश लेखक, नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भैसकेका छन् । हरेकले मन्त्रालय प्रवेश गर्दैगर्दा निर्मला पन्तको बलात्कारी हत्यारालाई कानुनी कारवाहीको दायरामा ल्याउने उद्घोष गर्छन् तर आजका मितिसम्म कुनै गृहमन्त्रीले गम्भीरतापूर्वक त्यस तर्फ कदम चालेको देखिएको छैन ।
सञ्चार कर्ममा रहँदा निर्मलाको निम्ति न्यायभन्दै घाँटीका नशा फुट्ने गरी चिच्याउने अनि राजनीतिमा आएपछि आफु गृहमन्त्री भए २४ घण्टामा निर्मलाका हत्यारा समात्ने भाषण गर्ने रवि लामिछाने दुइ पटक गृहमन्त्री भए तर उपलब्धि हात लाग्यो सून्य । राजनैतिक फाइदाका लागि जे पनि बोल्ने रोग पुराना भनिएका दलका नेतामा मात्र हो कि भनेको नयाँ भनिएकामा झन बढी देखियो । नयाँ वा पुरानो जो भएपनि निर्मलाहरुको न्यायको पक्षमा कोही छैन भन्ने तथ्य गृहमन्त्रीहरु खाँण, लामिछाने, श्रेष्ठ तथा लेखकको व्यवहारले पुष्टि गरेको छ ।
अब हाम्रा लागि जिम्मेबार र बोलीमा प्रतिबद्ध गृह नेतृत्वको खाँचो छ । यसो भएमा अन्य नेपाली चेलीहरु निर्मला हुनबाट जोगिने छन् । र निर्मलाको न्यायका लागि संघर्षमा वितेको सात वर्षको सार्थकता रहने छ । निर्मलाको आत्माले शान्ति पाउने छ ।