संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आइतबार प्रधानमन्त्री नियुक्त दाहाललाई दोस्रो ठूलो दल एमालेका अतिरिक्त रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीका साथै तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन बाँकी नै छ तर हालको अवस्थामा उनलाई त्यो प्राप्त गर्न कठिन हुने देखिएको छ्रैन किनभने उनलाई समर्थन गर्ने सांसदको संख्या १६९ रहेको छ जुन उनलाई आवश्यक १३८ भन्दा ३१ मतले बढी हो ।
केही दिनमा दाहालले विश्वासको मत पनि प्राप्त गर्लान् भन्ने विश्वास गरौं । यस पछिको दुइ वर्ष दाहालका लागि ढुक्कले काम गर्ने समय हुनेछ किनभने संवैधानिक व्यवस्था अुनसार उनी विरुद्ध कसैले पनि अविश्वासको प्रस्ताव ल्याउन पाउने छैन । तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले अघिल्ला दुइ कार्यकाल ९÷९ महिना मात्र काम गर्न पाएका थिए । र यो चौविस महिना दाहालका लागि पार्टीको अस्तित्व जोगाउँदै अझ सशक्त पार्टी बनाउने वा समाप्त पार्ने भन्ने अवसरको रुपमा रहने छ । खिईँदै गएको पार्टीलाई सबल बनाउँदै लैजाने हो भने उनले दिनरात नभनि नागरिक अपेक्षा अुनसार काम गर्नु पर्नेछ । कोभिडले ध्वस्त प्रायः बनाएको आर्थिक क्षेत्रलाई सबल बनाउँदै कुशासन, भ्रष्टाचार, ढिलासुस्ती, गैरजवाफदेही प्रवृत्ति आदिको अन्त्य गर्दै समग्र देशलाई समुन्नतिको मार्गमा लैजाने अवसरका रुपमा दाहालले यो दुइ वर्षलाई प्रयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।
तर उनले सात तिर मुन्टो फर्काएका दलहरुलाई मिलाएर लैजाने कुरामा कत्तिको कुशलता देखाउँछन् त्यसमा देश र उनको पार्टीको भविष्य निर्धारण हुन्छ । व्यवस्था परिवर्तनका लागि गरिने आन्दोलन सकिएको र अवको समय अवस्था परिवर्तनका लागि भनेर भाषण गर्ने दाहाल साँच्चै देश र जनताको अवस्था परिवर्तनमा दत्तचित्त भएर लागि परुन् भन्ने कामना । नागरिकका साना साना अपेक्षा पूरा गर्दे आफुलाई सफल प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्न दाहाल र उनी नेतृत्वको सातदलिय गठबन्धनको सरकार सफल होस् यही कामना ।
नयाँ सरकारसंगको अपेक्षा-सम्पादकीय
previous post