केही वर्ष अगाडी देखि बालापनको सम्झना गर्दै गुनगुनाइने गीत मध्येको प्रीय गीत हो यो । साँच्चै हामी आफ्नो बालापनलाई आजकलको भाषामा भन्नु पर्दा मिस गरिरहेका हुन्छौं । बालक छँदाका दिनहरु सम्झेर रमाउँछौं र फेरी ति दिनहरु फर्केर आए कस्तो हुँदो हो भनेर कल्पना गर्छाै अनि त्यसैमा मग्न हुन्छौं ।
एकछिन आफ्नो बालापनतिर फर्केर हेर्न मन लाग्यो । मलाई धेरै सम्झना त छैन तर कक्षा ४ मा पढ्दै गर्दा बुबाले दशैंमा ल्याइदिनु भएको दायाँ–बायाँ र घुँडा नजिक गरेर ४ वटा खल्ती भएको पाइन्ट लगाएर विद्यालय जाँदा साथीहरुले तँ त पाइलट हुन्छस् क्या हो ? भनेर जस्क्याएको हिँजो झै लाग्छ । पाइलटले धेरै पैसा कमाउँछ र राख्नका लागि धेरै गोजी भएको पाईन्ट लगाउनु पर्छ भन्ने बुझाई हाम्रो थियो र साथीहरु मलाई पाईलट बन्ने हो कि भनेर गिज्याई रहेका थिए । म भने पाईलट नै भएको जसरी मख्ख परेको थिएँ र चारवटै गोजी पैसाले भरिएको कल्पना गर्दै रमेको थिए ।
साना कुरामा पनि रमाउन सक्थ्यौं हामी । साथीले सित्तलचिनी ल्याएर ला भनेर दिँदा म खुसीले गदगद हुन्थें । हरेक वर्ष नयाँ पात्रो हात पर्नासाथ पहिलो काम भनेको दशैं कहिले परेको छ भनेर हेर्नु हुन्थ्यो । किनभने दशैं आउनुको मज्जा नै बेग्लै हुन्थ्यो । दशैंमा नयाँ लुगा लगाउन पाउने कुरा त छँदै थियो, मिठो खान पाईने, धित मरुन्जेल मासु खान पाईने तथा निधारभरी दुर्गाको प्रसादको रुपमा रातो टिका र कानमा जमरा लाएर दामलीहरुसंग घर घर टीका लगाउँदै डुल्न पाईने भएकाले पनि दशैंको विशेष महत्व हुन्थ्यो बाल्यकालमा ।
मामाघर जाँदा हजुरआमाले टीका लगाएर आर्शिबाद दिँदै हातमा थमाउनु भएको दुइ रुपैयाँको नयाँ सिक्का छिनछिन्मा पाईन्टको गोजीबाट झिकेर हेर्दै घर फर्केको थिएँ म ।
फागुन पहिलो साता अब चैते धानको बीउ राख्नु पर्ने बेला भयो भनेर बुबा आमाले सल्लाह गरेको र भोलीपल्ट बुबा गोरु अगाडी लगाउँदै काँधमा हलो र जुवा भिरेर खेत तिर लागेको सम्झन्छु म । मलाई त्यतिबेला लाग्थ्यो, मेरा बुबा आमालाई धानको बीउ राख्ने बेला भयो भनेर कसरी थाहा भएको
होला ? के मैले पनि यसरी नै बीउ राख्ने, मकै छर्ने, धान रोप्ने, पिँडालु वा अदुवा रोप्ने अनि घैया छर्ने समय थाहा पाउँँला ? मकै पाकेपछि देउतालाई चढाएर मात्र खाने चलन थियो, म सोच्थे मकै पाकेको कसरी थाहा पाउने
होला ? यस्तै अनेकौं जिज्ञासाहरु थिए मेरा मनमा ।
अहिले पनि जब म मेरी छोरीसंग बाटोमा हिँडिरहेको हुन्छु, उ मलाई अनेक प्रश्न गर्छे । हामीलाई किन थकाई लाग्छ ? भोक किन लागेको होला ? कुनै बोट ठूलो र कुनै सानो किन हुन्छ ? बोटविरुवाका पात किन हरियो भएका ? उसंग अगणित जिज्ञासाहरु हुन्छन् । हैरान पार्ने गरी दोहोरिएका सामान्य प्रश्नहरू हुन्छन् । कतिपय जिज्ञासा त म शान्त गर्नपनि सक्दिन ।
र यस्तै अगणित जिज्ञासाका भण्डार बालबालिकाको अधिकार संरक्षण र उनीहरुका अधिकारका बारेमा जानकारी गराउने दिनका रुपमा हामीले हरेक वर्ष भाद्र २९ गते बाल दिवस मनाउँदै आएका छौं । विसं २०२१ सालमा तत्कालिन बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भाद्र ४ गते पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो । विसं २०४७ साल भदौं २९ मा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बालअधिकार सम्बन्धी महासन्धीमा हस्ताक्षर गरेका थिए र सोही दिनलाई बाल दिवसको रुपमा मनाउने चलन भने विसं २०६३ बाट चलेको हो ।
अहिलेका बालबालिका माथि वर्णन गरिए जस्तो वातावरणमा हुर्कन पाएका छैनन् । लुगा फेर्न अब दशैं कुर्नु पर्दैन अनि धित मरुन्जेल मासु खान पनि दशैं कुर्नु पर्दैन । उन्मुक्त भएर खेल्ने खेल मैदानको अभाव छ । प्रविधिको विकासले बालबालिकालाई घरबाट बाहिर ननिस्कने बनाएको छ । साथीसंगीसंग घुमफिर गर्ने, खेल्ने , समय विताउने कुरा अब नयाँ बन्दै गएको छ । भुटेको मकै तथा गहुँ, कोदोको रोटी, मोही आदिको ठाउँमा आजका बालबालिकाको खाजामा मःम, पिज्जा र कोल्ड ड्रिक्स आएका छन् ।
बच्चाको शारीरिक विकासका लागि खेलकुदमा सहभागी हुनु आवश्यक छ भने साथीहरुसंग घुमफिर गर्ने तथा समूह बनाएर खेल्ने कुराले बालबालिकामा नेतृत्व क्षमताको विकास हुन्छ । यी सबै अवसरहरुबाट आजका बालबालिका बञ्चित भएका
छन् । हजुरआमा बा हजुरबुबाको काखमा लुटपुटीँदै दन्त्य कथा सुनेर कथाको राजकुमार आफै भएको कल्पनामा मख्ख पर्ने बाल पुस्ता अब पाउन सकिने अवस्था छैन । अघिल्लो पुस्ताका अनुभव र भोगाईबाट सिकेर आफ्नो भाविष्यलाई सत्मार्गमा लैजाने अवसरबाट वर्तमानको बालपुस्ता विमुख भएको छ । हाम्रा परम्परागत रैथाने ज्ञान र सिप वास्तवमै जीवनोपयोगी छन् भन्ने कुरा सिकाउने अवसर नै कहाँ छ र ?
समयक्रमसंगै बालबालिकाले भोगेर सिक्ने अवसर त गुमाएका छन् नै जन्मनु पूर्व देखिनै आफ्ना अधिकार हनन् हुने अवस्था आएको छ । आमाको गर्भमा भएको बच्चा छोरा या छोरी के छ भनेर थाहा पाउन सकिने भएसंगै जन्मन पाउने अधिकारबाटै बालबालिका बञ्चित हुने अवस्था आएको छ । खासगरी छोरीको हकमा यो धेरै लागू हुने गरेको छ । छोरा जन्मे खसी, छोरी जन्मे फर्सी भन्ने दुर्गन्धित विचारबाट निर्देशित हाम्रो समाजले छोरीका प्रति गर्ने अमानविय व्यवहारको गणना गरिसाध्य छैन ।
बालबालिकाले जन्मेपछि समयमा खोप पाउने, विरामी पर्दा उचित उपचार पाउने, पोषण युक्त खाना खान पाउने, जोखिम युक्त काम गर्न बाट छुट्कारा पाउने, शिक्षा आर्जन गर्न पाउने, समय समयमा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन पाउने, बाल क्लब तथा विभिन्न संघ संस्थाहरुमा सहभागी हुन पाउने, सामाजिक क्रियाकलापमा सहभागी हुन पाउने जस्ता अधिकारहरुको बालबालिकाले निर्वाध उपभोग गर्ने वातावरण बनाउनु अहिलेका अभिभावक पुस्ताको दायित्व
हो ।
भविष्यका कर्णधार भनिने बालबालिकाले ति अधिकारको निर्वाध उपभोग गर्न नपाउँदा उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक पक्षको समग्र विकास हुन पाउँदैन । यस्ता कुरामा हामी सबैको ध्यान जाओस् । बालबालिकालाई उनीहरुको अधिकार उपभोग गर्ने वातावरण निर्माणमा हामी सबै सहयोगी बनौं । बालदिवसको अवसरमा यही कामना ।
नफर्किने बालापन र बालअधिकार
previous post