पर्सी असार १५ । यो दिनलाई राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको रुपमा मनाउने गरिन्छ । कसैलाई असाध्यै हतार छ भने म हतारमा छु भन्नका लागि मलाई असार १५ छ भन्ने गरेको पनि हामीले सुन्ने गरेका छौं । यसको अर्थ नेपाली किसानहरु असार महिनामा मानो खाएर मुरी उब्जाउने भन्दै खेतमा व्यस्त हुन्छ, धान रोप्न । कोही बीउ काढ्न, कोही आली लगाउन, धान रोप्ने खेत तयार पार्न त कोही रोप्न ।
नेपालको प्रमुख अन्नबाली धान हो । तर विडम्बना कुल धान खेती योग्य जमिनको झण्डै ३० प्रतिशत भूभागमा मात्र राम्रो सिँचाई सुविधा पुगेको छ । यदि सबै जमिनमा सिँचाई सुविधा उपलब्ध हुने हो भने वर्षाै अर्वाै रुपैयाँको चामल आयात गर्ने बाध्यताबाट हामी उम्कने थियौं । यसका लागि सिंचाई सुविधाको कुरा मात्र छैन, समयमा मल र बीउ उपलब्ध हुनु पनि त्यत्तिकै जरुरी छ र अझ जरुरी छ समयमा पर्याप्त वर्षा हुनु । जलवायु परिवर्तनसंगै जलचक्रमा परिवर्तन आएको छ । कहिले अतिवृष्टि र कहिले अनावृष्टिको मारमा हामी पर्दै गएका छौं ।
अधिकांश धान खेती योग्य भूमिमा सिंचाई सुविधा नपुग्नुका कारण आकाशे पानीको भरमा रोपाईँ गर्नुपर्ने बाध्यता नेपाली किसानसंग छ । असार लागेसंगै आकाशमा बादलका टुक्रा हेर्दै आशावादी हुनु अनि मंसिरमा धान काटेर भकारी भरेको कल्पनामा रम्नु नेपाली किसानको हरेक असारको दैनिकी हो । सुखद संयोेगले समयमा बीउ पाइयो र असारमा सामयमा वर्षा भयो भने पनि त्यसमा हाल्ने मल नपाएर किसान व्यथित हुनुपर्ने यथार्थ छँदैछ । बीउ र मलको नाममा व्यापारी मोटाउने काम मात्र भएको छ, त्यसको वास्तविक लाभ किसानले पाएका छैनन । धान दिवसको अवसरमा हाम्रो राजनैतिक नेतृत्वमा समयमै बीउ तथा मल उपलब्ध गराएर देशलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने सदबुद्धि पलाओस् । बीउ तथा मलको कृतिम अभाव खडा गरेर अकुत कमाउने व्यापारीलाई आफ्नो अर्काको नभनि कारवाही होस् र सबैभन्दा मुख्य कुरा जलवायु परिवर्तनको मारबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा भाषण मात्र होइन काम गर्ने प्रेरणा समेत यस वर्षको धान दिवसले प्रदान गरोस् भन्ने कामना ।
धान दिवस र प्रेरणा प्राप्ती-सम्पादकीय
previous post