आज भन्दा ठ्याक्कै एक साता अघि अर्थात साउन ३० गते नेपाली हिन्दु धर्मावलम्वीहरुको ठूलो मध्येको एउटा पर्व परेको थियो, जनै पूर्णिमा अर्थात रक्षा बन्धन । यो पङ्तिकारलाई ठ्याक्कै थाहा नभए पनि जनै पूर्णिमा मनाउने प्रचलनको नेपालमा पुरानो इतिहास रहेको सम्म थाहा छ । साथै यो दिनको धार्मिक एवम् सांस्कृतिक महत्वको बारेमा थोरै भएपनि जानकारी भएजस्तो लाग्छ । जनै पूर्णिमा मनाउन कसरी सुरु गरियो, किन सुरु गरियो भन्ने यथेष्ट जानकारी नभए पनि कसरी मनाईन्छ भन्नेसम्म चाहिँ पङ्तिकारलाई ज्ञान भए जस्तो लाग्छ । तर आजकल जसरी जनै पूर्णिमा मनाईन्छ वा भनौं विगत केही वर्ष देखि जनै पूर्णिमा मनाउने जुन नयाँ चलन सुरु भएको छ
(विषेशगरी किशोर किशोरीहरुमा) त्यसले चाहीँ म भित्र केही जिज्ञासाहरु उत्पन्न गराएको छ । यस पटक म रक्षा बन्धनको त्यही नयाँ प्रचलनहरु बारे आफ्नो जिज्ञासाहरु पाठकहरु सामु प्रस्तुत गर्दैछु । हिन्दु धर्मलाई संसारकै सबैभन्दा पुरानो, सनातन धर्मको रुपमा लिईन्छ । विश्वका विभिन्न देशहरुमा हिन्दु धर्मावलम्बीहरु रहेका छन् । तिनै देशहरु मध्ये एक हो नेपाल । धर्म एउटै भएपनि देशको परम्परा र संस्कृति अनुसार मनाइने चाडपर्वहरु र चाडपर्व मनाउने तरिकाहरु फरक फरक हुन सक्छन् । नेपाल आफैमा सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ वर्षेनी सयौं चाडपर्वहरु मनाईन्छन् । विभिन्न धर्मका विभिन्न जातजातिको छुट्टा छुट्टै । आफ्ना आफ्नै जनै पूर्णिमा तीनै पर्वहरु मध्ये एक हो, जसको हिन्दु धर्मावलम्वीहरुमा आफ्नै विशिष्ट स्थान छ ।
नेपाली हिन्दु परम्परा अनुसार जनै पूर्णिमाको दिन विहान सबेरै नुहाई धुवाई गरी ब्राम्हणद्वारा बेदका मन्त्रोच्चारण गरी शुद्ध र शक्तिशाली पारिएको पवित्र धागो (रक्षासूत्र) ब्राम्हणद्वारा हातमा धारण गरिन्छ र उनलाई दक्षिणा समेत प्रदान गरिन्छ । ब्राम्हण र क्षेत्री समुदायमा ब्रतबन्ध भइसकेपछि कांधमा पनि जनै (यज्ञोपवित ) धारण गर्ने चलन छ तर अन्य जातिय समुदायमा भने हातमा मात्र रक्षाबन्धन धारण गर्ने परम्परा रहेको छ । यसरी धारण गरिएको जनै वा रक्षासूत्र मन्त्रहरुद्वारा शक्तिशाली पारिएको हुँदा यसले धारण गर्ने व्यक्तिको हरकिसिमले रक्षा गर्ने विश्वास गरिन्छ । सायद त्यसैले यसलाई रक्षाबन्धन पनि भनिएको हुनु पर्छ । यसरी धारण गरिएको रक्षा बन्धन तिहारमा लक्ष्मी पुजाको दिनमा गाईको पुच्छरमा बाँधिदिए सुख–समृद्धिले घरमा बास गर्ने धार्मिक मान्यता छ । ठिक यहि दिन छिमेकी देश भारतमा दिदी बहिनीले आफ्ना दाजु भाइको हातमा राखी बाँधिदिएर रक्षा बन्धन मनाउने प्रचलन छ । यसरी दिदी बहिनीले बाँधिदिएको राखीले दाजु भाइको रक्षा गर्ने र दाजुभाइ तथा दिदीबहिनीको बीचको पवित्र सम्बन्धलाई अझ बलियो बनाउने विश्वास राखेको पाईन्छ । भारतमा रक्षा बन्धनलाई दाजुभाई र दिदीबहिनीको चाडको रुपमा लिइन्छ जसरी हामी नेपाली तिहारको भाइटीकालाई लिन्छौं । मनाउने तरिका फरक भए पनि नेपाल र भारत दुबै देशमा जनै पूर्णिमाको दिनको विशेष महत्व रहेको छ ।
विगत केही वर्ष देखि नेपालमा पनि जनै पूर्णिमाको दिनमा राखी बाँध्ने चलन शुरु भएको छ । त्यो चलनले यो वर्ष पनि निरन्तरता पायो । यस पटक पनि सामाजिक सञ्जालका भित्ताहरु रक्षा बन्धनको शुभ कामना र दिदीभाइ– दाजुबहिनीहरुको तस्वीरले सजिए । धेरै दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई स्नेह पूर्वक राखी बाँधिदिए, विशेषगरी किशोर किशोरीहरुले र आफुलाई आधुनिक भन्न रुचाउने जमात ले । यहाँनेर मलाई जिज्ञासा लागेको कुरा चाहिँ के हो भने जनै पूर्णिमाको दिन हामीलाई राखी बाँध्नु पर्ने आवश्यकता किन पर्न गयो ? यसको पछाडि कुनै ठोस कारण छ या फेरी यो केवल टीभी हेर्दाहेर्दै सिकिएको आयातित भारतीय संस्कृति हो ? भारतमा राखी बाँधिन्छ ताकि राखी बाँध्नेको रक्षा होस् । हामीले रक्षासूत्र धारण गर्नुृको उद्देश्य पनि त्यही हो । भारतमा रक्षा बन्धनलाई दिदीभाइ र दाजु बहिनीको चाडको रुपमा लिईन्छ । हामीसंग पनि छ दिदीबहिनी र दाजुभाइको चाड । हामी धुमधामले तिहार मनाउँछौं, त । भाइटिका लगाउँछौं । मखमली नओइलाए सम्म मृत्युले छुन नसकोस भन्दै दिदी बहिनीले मखमलीको माला लगाइदिन्छन् । इन्द्रेणी जस्तै जीवन रंगिन होस् भनेर सप्तरंगी टिका लगाईदिन्छन् । दुःख कष्टले दाजु भाइको घरमा टेक्न नसकोस भनेर दैलोमा ओखर फुटाइदिन्छन् । यतिमात्र हो र ? आफ्ना दाजुभाई सफलताको शिखरमा घामभन्दा पहिले पुगुन भन्ने कामना गर्छन् । दाजुभाइका अंगअंग पुजेर सफलताको शिखर तर्फको यात्रको कामना पनि गर्दछन् । हाम्रो रक्षा कवचको रुपमा रहने विश्वास गरिने रक्षासूत्र बाँध्ने र जनै लगाउने चाडको रुपमा जनै पूर्णिमा र दिदीबहिनी र दाजुभाईबीचको आत्मियता अभिवृद्धिको चाडको रुपमा भाइटीका हामीसंग छंदैछ, भने फेरी राखी नै किन ? कि भारतले मनाउने पर्व भनेपछि स्वतः नेपाली मौलिक पर्व भन्दा विशिष्ट र उच्च हुने भएर हो ? किनभने समग्र नेपाल नै आखिर भारतको चाहना अनुसार त चल्छ । चाहे त्यो राजनैतिक मामला होस् चाहे अर्थतन्त्र या चाहे विकास निर्माण । म यहीनिर गम खान्छु । हामी दशै मनाउँछौं, उनीहरु दशेरा । के अब भारतीय संस्कृतिको सिको गर्दै दशैमा टीका जमारा लगाउन पनि छोड्ने हो कि ? तिहारको समयमा भारतमा दिपावलीको ठूलो महत्व हुन्छ, हामीकहाँ भाइटीकाको । अब यसलाई पनि फेर्ने कि ?
मैले यो आलेख तयार गर्नुको उद्देश्य कसैको मनमा ठेस ुपु–याउनु हैन । जनै पूर्णिमाको दिन राखी बाँध्नेहरुले अपराधै गरे गरे भन्न खोजेको हैन । समय सापेक्ष रुपमा संस्कृतिमा परिवर्तन आउँछ नै । राम्रो छ भने बाह्य संस्कृतिलाई पनि मान्नु पर्छ, अनुसरण गर्नुपर्छ । यसका कुनै आपत्ति छैन । तर बाह्य संस्कृतिलाई आयात गर्दै गर्दा आफैमा रहेको आन्तरिक संस्कृतिको महत्वलाई भुल्नु हुन्न भन्ने मात्र हो । अरुको संस्कृति अंगाल्दै गर्दा नजिकको तिर्थ हेलाँ भने सरी आफ्नो संस्कृतिलाई भुल्नु हुन्न छाड्नु हुन्न भन्ने मात्र हो । हामी बैशाखको १ गते भन्दा जनवरीको पहिलो तारिख धुमधामसंग मनाउँछौं । हामीलाई जनै पूर्णिमाका दिन रक्षाबन्धन बाँध्न भन्दा राखी बाँध्दा आनन्द लाग्न थालेको छ । हामी आफ्नै चुड्का, सोरठी, बालन, मारुनी , तामाङसेलो भन्दा पश्चिमी पप संगितमा रमाउन थालेका छौं । हामीलाई आफ्नै नेपाली भाषा भन्दा अंग्रेजी बोल्दा ठूलो भएको महसुस हुन्छ । बिहेमा बजाइने पञ्चेबाजाको स्थान विस्तारै विस्तारै व्याण्ड बाजाले लिँदैछ , शहरतिर । यस्तै अवस्था रहिरहने हो भने कुनै दिन हाम्रो मौलिक नेपाली संस्कृति जो हाम्रो पुर्खाले हाम्रालागि अमूल्य निधीको रुपमा सुम्पेर गएका थिए, लोप नहोला भन्न सकिन्छ र ? के यो विचार गर्नु पर्ने विषय होइन ?
अन्तमा हामी नेपाली भलै आर्थिक रुपमा गरिब हौला तर संस्कृतिमा गरिब छैनौं । हाम्रो संस्कृतिको ढुकुटी यति खजानाले भरिएको छ कि हामी अरुलाई बाँड्न सक्छौं । तर यदि समय छँदै हामी सचेत भएनौं भने र हामीलाई यसरी नै विदेशी संस्कृति प्यारो लाग्दै जाने हो भने एक दिन हाम्रो संस्कृतिको ढुकुटीमा हाम्रो भन्ने नै केही हुने छैन । हुनेछन् त केवल अरुले दिएको र अरुबाट चोरिएको कुराहरु मात्र । अरुबाट सहि कुराको सिको गर्नु राम्रो हो तर यति धेरैपनि सिको नगरौं कि आफ्नै अस्तित्व मेटियोस् । रामबहादुरले कपाल हरिबहादुरको जस्तो बनाउँछ, लुगा श्यामबहादुरले जस्तो लगाउँछ, बोली तुलबहादुरको जस्तो बनाउँछ, बानी हर्कबहादुरको जस्तो बनाउँछ अनि खाना मदनबहादुरले जस्तो खान्छ भने रामबहादुर चाहिँ खै ? को हो आखिर रामबहादुर ? रामबहादुरको अस्तित्व कहाँ छ ? त्यस्तै हामीपनि नयाँ वर्ष जनवरी १ मा मनाउने, नेपाली छोडेर अंग्रेजी बोल्ने, चाडपर्व भारतको मनाउने, खाना चाइनिज र कन्टिनेन्टल रुचाउने, लुगा पश्चिमाहरुले जस्तो लगाउने, गीत संगित पनि पश्चिमी नै मनपराउने हो भने हामी नेपाल िहुनुको परिचय खै ? खोई हामीमा नेपाली पन ? कसरी हामी नेपाली ? त्यसैले, संस्कृति हाम्रो धरोहर हो । हाम्रो पहिचान हो । नेपाली संस्कृति रहेसम्म मात्र हामी नेपाली रहन्छौं । यसलाई बचाउँ । आउनुहोस् हामी सबै मिली बचाउँ । अस्तु ।