गत विहिबार साथीहरुसंग भारतको पर्यटकिय नगरी दार्जीलिङको भ्रमणमा निस्कंदै गर्दा मनमा ठूलो उत्साह थियो । उत्साहको कारण हो, दुइ दशक अगाडी सोही स्थानको भ्रमण गर्दा नेपाली पर्यटक भएका कारणले पाएको न्यानो आतिथ्य । र भ्रमण प्रारम्भ भएसंगै सामाजिक सञ्जाल फेसबुकमा लेखेको थिएँ, तीन दिनका लागि नागरिकताले नेपाली हुन नपाएपनि मनले नेपाली भएका दार्जीलिङका दिदीबहिनी तथा दाजुभाइसंगको भेटका लागि निस्केका छौं ।” अनि त्यही उत्साहले हामी सिद्धेश्वरी माविका शिक्षकहरुलाई पुषको मुटु काम्ने जाडो भन्न दिएन ।
चियाका लागि प्रख्यात इलामको फिक्कल पुगेर रात विताउने योजना भएकाले विहान ६ बज्दा नबज्दै हामीले दमौली छाडेका थियौं । अधिकांश भारतीय पर्यटकले जस्तो गाडीमा ग्याँस, चुल्हो लगाएत आवश्यक सबै सामग्री राखेर उपयुक्त ठाउँमा खाना बनाएर खाने योजना बनाएका थियौं र ग्याँस लगाएत आवश्यक भाँडा थिए हामीसंग अनि जाडो छल्न कफी र चिया बनाएर पिउनका लागि कफि, चियापत्ती, चिनी पनि थियो साथमा । तर झण्डै ६ सय किमी( ५ सय ८४.७ किमी) को यात्रा तय गर्नुपर्ने भएकाले बाटोमा खाना बनाएर खाने कुरा त्यति व्यबहारिक लागेन र हटौंडा पुगेर खाना खायौं । लोकल वासमती चामलको भातसंग भैसीको शुद्ध ताजा दुइचम्चा घ्यु सहितको राम्रो खाना पाईने स्थान भनेर सिफारिस गरिएको हटौंडा चौकीटाल, त्रिभुवन राजपथ किनारमा रहेको चुनिया थकाली होटलको खाना साँच्चै सम्झन लाएक रहेछ ।
फिक्कल पुगेर वास बस्ने र भोलीपल्ट विहानै पशुपतिनगर पुगेर दार्जिलिङको यात्रा तय गर्ने योजना त थियो तर हामीसंग योजनामात्रै थियो । कसैसंग सम्पर्क वा समन्वय थिएन । भ्रमणदलका साथी प्रतापसिं अधिकारी सर र मैले फिक्कल र पशुपतिनगर तिर सम्पर्क गर्न खोज्यौं । फिक्कलका हंग्री वाउल रेष्टुरण्ट एण्ड बारका सञ्चालकसंग सम्पर्क भयो । उनले हामीलाई दुइरात बास र तीन छाक खाना तथा दार्जिलिङ घुमघामका लागि प्रतिव्यक्ति दुइहजार रुपैयाँ लाग्ने बताए । हामीलाई मनासिव लागेकाले उनको प्रस्ताव स्वीकारेर भोलीपल्ट पर्यटकिय नगरी दार्जीलिङको भ्रमणमा रमाउने कल्पनाका साथ अघि बढ्यौं । पूर्व लाग्दै गर्दा नदीजन्य पदार्थको दोहनका दारुण दृश्यहरुले मन द्रवित बनाउँदै गयो । हरेक नदीमा गिट्टी, बालुवा उठाउन सयौंको संख्यामा टिपर तथा ट्याक्टरहरु देखिन्थे । अझ पूर्व जाँदै गर्दा सात तले महलको छेउमा झिंगटीको छानो भएका चिमले बारेका साना झुपडीहरु पनि देखिए सडक छेउमा । लाग्यो धनी र गरिबबीचको खाडल निकै गहिरो रहेछ, पूर्वी तराईमा ।
सिराहाको लाहान बजार पुग्दा केही युवाले हाम्रो गाडी रोके र ५० रुपैयाँ मागे । हामीले रसिद माग्यौ तर एक युवा रसिद सकिएकोले लिन जाने भन्दै साईकल चढेर छिनभरमै अलप भए । अरुले हामीसंग जोरजवरजस्ती कायमै राखे पचास रुपैयाँका लागि । देशको प्रमुख राजमार्गमा दिन दहाडै चलेको डकैती देख्दा मन अमिलो भयो । हामीसंग वहस गर्ने समय थिएन र सम्भवतः राज्य संरक्षित त्यो डकैतीको प्रतिवाद गर्ने क्षमता पनि र उनीहरुले मागेको रकम दिएर अगाडि बढ्यौं । पछि थाहा भयो, नियमित सोही रुटमा चल्ने बाहेकका गाडी रोकेर पैसा असुल्नु उनीहरुको दैनिकी रहेछ । तर ति सबै तनावलाई पन्छाउँदै भ्रमणको मजा लिन भने हामी चुकेनौं । साथमा भएको मादल बजाएर दोहोरी गाउँदै साँघुरो गल्ली भएको गाडीमा मिलि नमिली नाच्ने तथा दुबैमा सहभागिता जनाउन नसक्ने नजान्नेहरुले ताली बजाएर साथ दियौं । दोहोरीका क्रममा मिठा सवाल जवाफ हुँदा उन्मुक्त हाँसो हाँस्न छाड्ने त कुरै भएन । सबै मज्जाले हाँस्थ्यौं । यो क्रम यात्राभर जारी रह्यो ।
कोशी बाँध पुग्दा साँझ परिसकेको थिथो । भुटेको मकै, भटमास तथा चनाको झोला रित्तिएको र भोक लागेकोले सडक छेउको होटल अगाडि गाडी रोकेर चाउचाउ बनाएर खायौं । खुब मिठो भयो । उता सााँझ छिप्पिँदै गर्दा हाम्रो मन भने गन्तव्यमा कति बेला पुगिने हो भन्ने कुराले व्याकुल हुँदै थियो । झापाको चारआली पुग्दा पुसको रात निकै छिप्पी सकेको थियो, जहाँबाट हामी महेन्द्रराजमार्ग छाडेर मेची राजमार्ग हुँदै फिक्कल पुग्थ्यौं । मैले गुगलमा सर्च गरें अब कति दूरी र लागभग लाग्ने समय कति छ । ४६ किमी अर्थात झण्डै १ घण्टाको दूरीमा रहेछ, फिक्कल । फिक्कल पुग्दा रातको ११ः३० बजेको थियो । फिक्कलको ट्राफिक चोकमा हामीलाई स्वागत गर्न पर्खेर वसेका थिए, हंग्री वाउलका सञ्चालक पि. लामा । उनले हामीलाई सडक छेउमै रहेको आफ्नो रेष्टुरण्टमा लगे । स्नेह पूर्वक वस्न आग्रह गरे र तातो पानी पिउने व्यवस्था मिलाए । क्षणभरका लागि यस्तो लाग्यो, हामी उनको लामो समयपछि भेटिएका आफन्त हौं । खाना खाएर हामी सत्ने तरखरमा लाग्यौं । न्यानो आतिथ्य प्रकट गरेका र मिठो खाना खुवाएका लामाले सुत्ने ठाउँ भने गतिलो दिएनन् । दिनभरको यात्रा का कारण लागेको थकाई र घर्कंदो रातका कारण सिरकको खोलमा लागेका दाग, तिनबाट आएको फरक गन्धसंग खासै सरोकार नराखेर सबै ठाउँमा स्यानीटाइजर छरेर सुत्यौं । यात्रामा हुन भएका म्याडमहरुको बेडको व्यवस्था गतिलो नभएको गुनासो गर्दे हुनुहुन्थ्यो भोलिपल्ट ।
उनै पि लामाले गरेको वन्दोवस्त बमोजिम हामी पशुपतिनगर पुगेर दुइवटा जिपमार्फत दार्जीलिङ जानु थियो । चिसो निकै भएपनि विहानै घाम लाग्ने भएकाले खासै जाडोको अनुभव गर्नु परेन । वस पार्क गरिराखेको ठाउँमा सीत जमको देखेर हिउँसंग अपरिचित हामी हिउँसंग साक्षात्कार गर्न पाएको भन्दै मख्ख भयौं र केही फोटोहरु खिच्यौं ।