
लेखक/उपन्याकार
यस पालीको दशै कस्तो होला ? भन्ने खुलदुली मनमा हदै लागिरहेको थियो । शौभाग्यको प्रतिक रातो टिका निधारमा कसरी ग्रहण गर्ने होला ? जमरा कानमा कसरी घुसारिएला ? आफूभन्दा मान्यजनलाई निहुरिएर ढोग कसरी गर्ने होला ? भन्ने मनमा थुप्रै कौतुहल र उथुलपुथल भएको थियो । परपरबाट आफ्ना इष्टमित्रहरू आउनु होला कि न होला ? भन्ने मनमा अनगिन्ती जिज्ञासाहरू पलाइरहेका थिए । यो असिम महत्वको चाडमा मानिसहरूको आवत जावत बढी हुने हुनाले सायद सरकारले यातायात बन्द गर्छ कि ? कतिपय टिका थाप्न भनेर हिँडेका मनुवाहरू अनायास बीचबाटैमा पो रोकिन पर्छ कि ? भन्ने पनि एक मनले नसोचेको थिएन । तर मेरा ती अनुमानका भरमा उडेका कल्पनाहरू कतिपय गलत सावित भए भने कति पय त ठिकै पनि ।
संन्त्रासको अवस्था
२०७७ को दशैलाई कोरोनाको कहरले ख्यार्लाप्पै निलेको थियो । मनभरी सन्त्रासको वातावरणले ढपक्क ढाकेको थियो । विश्वमा झण्डै १२ लाख विभिन्न उमेरका मानिसहरू यै महामारीको कारणले ज्यान गुमाइसकेका थिए । विश्वमा एक प्रकारको स्तब्धता छाएको थियो । मानिसहरू आतङ्कित, वेचैनी र भुकम्पे मुद्रामा आफूलाई समायोजन गरिरहेका थिए । यसैको कारणले यो ब्रह्माण्डका हिन्दु, बौद्ध आदि धर्मालम्बीहरू नजिकै आइरहेको आफ्नो महान चाड दशै कसरी कुन प्रकारले मनाउने वा मनाउँदै नमनाउने भन्ने सोचमा मग्न थिए ।
सोसल मिडिया
पत्र–पत्रिका रेडियो, टेलिभिजन वा सोसल मिडियामा खबर छाएनुसार कतिपय शक्तिपिठहरूमा प्रतिनिधिमुलकको रुपमा मात्र पूजालाई सिमित गर्ने भन्ने खबर सुनिन्थ्यो र पढिन्थ्यो पनि । कतिपय ठाउँमा त अधिक भिडभाडकै कारणले शक्तिपिठहरू बिल्कुल बन्दै गर्नु परेको थियो । यो क्रम नेपाल मात्र नभएर विश्वमा जहाँ हिन्दु, बौद्ध बाहुल्य ठाउँहरूका मन्दिरहरू वा शक्तिपिठहरू छन् त्यहाँ बन्दको नीति अवलम्बन गर्न परिरहेको अवस्था थियो । यो त्रासदी, क्रुर र भयावह अवस्थाबाट दूरदराजका गाउँहरू पनि अछुतो थिएनन् ।
योजना
विदेशमा बस्ने दाजुभाइहरू पनि कतिपय अवस्थामा उडान प्रभावित भएर आफ्नो घरमा टिका, जमरा साथै आर्शिवाद ग्रहण गर्न आउन नपाइरहेको अवस्था थियो । अर्काेतिर आफ्नो तर्फबाट घरका आफन्तको सुरक्षाको लागि पनि यसलाई कार्यान्वयनमा ल्याउन परिरहेको जटिल अवस्था
थियो । यसै सन्र्दभलाई पक्षपोषण गर्दै सरकारको कडा निर्देशनको पालना गर्नुपर्ने अवस्था पनि टड्कारो थियो । कतिपय जानकार महानुभावहरूले यो तनावग्रस्त वातावरणकै कारण विजया दशैको लागि कुनै नयाँ योजना र सोचाइ नबनाइरहेको अवस्था थियो । हरपल निरन्तर सिर्जना पोख्न सक्ने सिर्जनशिल मनुवाहरूको सिर्जनालाई पनि यो महामारीको कारणले अस्तव्यस्त पारेको थियो ।
गाउँमा दशै
यसपाली दशैको रोनक केवल शहर र ठुलाठुला सिटीमा मात्रै हराउँला भन्ने मेरो सोच थियो । सबैलाई थाहै छ शहरको वातावरण कति घना छ ? र यस्तो अवस्थामा कति सजिलै रोग सर्छ । त्यसैले त घनाबस्ती भएका क्षेत्रहरूमा जहिले पनि सतकर्ता अपनाउनुपर्ने नै हुन्छ । त्यसको ठिक विपरित गाउँको बसाइमा विविधता छ । एकादुई ठाउँहरूमा बाक्लो बस्ती भए तापनि अधिकांश ठाउँहरूमा भने गाउँका बस्तीहरू पातलै छन् र हुन्छन् पनि । सर्वसम्मत रुपले सधैं विशेष उल्लासपूर्ण मनाइने दशै यस पाली कोरोना कहरको कारणले पनि खासै फरक नपर्ला भन्ने मैले अनुमान गरेको थिए । गाउँको वातावरण स्वस्थ्य, हराभरा, शान्त र स्वच्छ हुने हुनाले गाउँमा त कोरोना कहरको सम्बन्धमा एक रोँ बराबर पनि आत्तिनु पर्दैैन भन्ने मैले पूर्वानुमान लगाएको थिएँ । गाउँमा त एउटा न एउटा नयाँ मानिस त आइ हाल्छन् । उनीहरूले रमाइलो गर्छन् । ठूला(साना, नयाँ(नौला थुप्रैसँग भेटघाट गर्न पाइन्छ । बेलुका अबेरसम्म सबै जुटेर घुमीघुमी पिङ बाँट्न पाइन्छ । भोलिपल्ट बिहान चिया नास्ता पश्चात पुनः सबै जुटेर अग्लो रुखको तेर्सो हाँगामा पिङ राख्न पनि पक्कै पाइन्छ भन्ने मेरो सोचाइ थियो ।
सोचाइले पानी खायो दशै मान्दाको अनुभवलाई मात्रै मैले व्याख्या गर्ने हो भने थुप्रै छन् । पहिले पहिलेको दशैमा रोदी खेल्दै नजिकका मगर, गुरुङ गाउँहरू बाँकी राखिन्नथ्यो । दरकाङ, काहुले, गोरडाँडा र हिस्कीथर त सामान्य नै भए । मलाई सम्झना छ पुसको सिरौटे, मुटु कपाउने जाडोमा मेरो प्यारो साथी विमलले मलाई एक पटक झुक्याएर जौपानीको चिसो ठाउँमा रातभर रोदी बसाएर ल्याए । त्यहाँको ठिहिरो चिसोेको कारण मेरा हात खुट्टा सुनिए । ३ दिनसम्म म घ रमै सुतिरहेँ । स्कुल जानी त कुरै भएन । अर्काे पटक उनीहरूकै पछि लागेर मगेम चिसापानीको बजारमा घण्टौंसम्म हिँडेर जाँदा भोकले आत्तिएर नानीजाहरूले बोकेर डालोमा लगेको भातका चोइला सप्काएको सम्झना हिजै जस्तो लाग्छ । हाम्रै छिमेकीहरूले राखेको पिङ्बाट मानिसहरू थेच्चारिएको भर्खरै जस्तो
लाग्छ । पिङकै कारणले यताका साथीहरू र पल्लो डाँडाका साथीहरूबीच झगडा भएको सम्झना ताजै छ । कलात्मक रुपले सजिएर पिङ खेल्न आएका युवतीहरूलाई यूवाहरूले तानेर विवाह गर्ने हेतुले भगाएको पनि सम्झना छ । यति मात्र होइन मादलको तालमा रातभर नाचेर बिहान पख घरकाले गाली गर्नुहुन्छ भनेर सास दबाएर कोठाभित्र लुसुक्क पसेर सिरकले मुखछोपी सुतेको सम्झना छ । यस्ता थुप्रै अनुभव र भोगाइ व्यहोरेको पङ्तिकारलाई यस पालीको दशैमा यस्ता कुनै प्राक्टिसहरू सुन्न, देख्न र अनुभव गर्न नपाउँदा कति नरामाइलो, निराष र अत्याहाड लाग्यो होला ? सायद अनुमान लगाउन पनि सकिन्छ ।
दशमीको दिन
यस पालीको दशैमा हाम्रो घरका रैथाने सदस्यहरू मात्र मिलेर टिका लगाउँदा अद्भुत, अजिब र अनोठो लाग्यो । अलि अलि त दशै खुम्चेजस्तो पनि मानें । दशै जस्तो विश्व प्रशिद्ध प्रिय चाडमा पनि उही मानिस, उही जहान, उही बाबा, उही आमा, उही श्रीमती, उही नातिना र बुहारीहरू मात्र । खै त परपरका दाजु, भाउजु, खैत छुट्टै बसेको भाइ, बुहारी, खै त जागिरे जुवाइ, छोरा र छोरी अनि खैत नाति नातीना ? खै त दिदी भिनाजु, खै त बैनी र बैनी जुवाइहरू ? खै त बाबाका भाञ्जा भान्जीहरू ? अनि खै त नजिकैका छिमेकीहरू ? खै त ………….? ……..?
हिजो आज त गाउँमा पनि जता ततै गाडी गुड्ने बाटाहरू निर्माण भएका छन् । प्रायः ती सबै बाटाहरूमा यातायातका साधनहरू दगुर्न सक्छन् । सारा बाटाहरू पनि निर्वाध रुपमा खुल्ला छन् । स्थानीय वा केन्द्रीय सरकार कसैले पनि कहि कतै बन्द गरेको सुनिएको छैन । तथापि यता हेर्छु कोही देख्दिनँ । उता हेर्छु कोही देख्दिनँ । अनि झल्यास्स बिउँझन्छुं । ए साच्चै कोरोनाको कमाल पो त !
रहश्य
दशै जस्तो महान चाडमा पनि आफन्तहरूको दर्शन पाउन नसक्नु कति पीडापूर्ण अवस्था होला ? यै चाडबाडमा आफन्तसँगको सुखदुःख बिसाउनको लागि करिब १ वर्षसम्म आफन्तहरू प्रतिक्षारत हुन्छन् । त्यो प्रतिक्षाको घडीमा आफूले निर्वाध रुपमा पाउनुपर्ने भेट वा मिलन प्राप्त हुन नपाउँदा निर्दाेष मानवीय मनहरूमा ठेस लाग्नु अस्वाभाविक हुँदैन । यो महान चाडको अस्मिता केवल टिका, जमरा र आर्शिवादमा मात्र सिमित नरहेर हाम्रा आस्थाका धरोहरको सम्मान मिलेर गर्ने अवसरमा यो दुर्दसा हुनु पक्कै पनि मानवीय आत्माहरूले शान्त्वना नपाइ आन्तरिक चित्कार गर्नु हो । आत्मा चित्कारको आवाज आत्मगत हुनसक्छ । विलापका पलहरू सुसुप्त अवस्थामा हुन सक्छन् । ती प्रतिक्षाका पलहरूबाट आशातित उसले वर्षाैदेखिको आशक्तीको रापलाई ढाकछोप गर्न गाह्रो हुनसक्छ । मुटुभरीको छटपट्याहट फुत्केर सडकमा पोखिन नसक्ने बनाउने प्रयाशमा अनायास उसका प्रयासहरू झन् पीडामा परिणत हुनसक्छन् । तथापि शान्त, धैर्य र मौन रहनुको सिवाय अरु के नै त्यसको उपाय हुन सक्छ र ?
महत्व
दशैको दिन, नुवाइधुवाइ गरेपछि पल्लो घरको भाइ जो केही दिन पहिले नै चितवनबाट सपरिवार आएका थिए, भेट्न गएँ । मनमा कसो कसो लागिरहेको थियो । मैले मनमा आएको कुरा सर्लक्क उनलाई ‘बाबु, यस पटकको दशैमा आ–आफ्नो परिवार आ–आफ्नो घरैमा बसेर टिका लगाउनु होला, भन्ने नेपाल सरकारको उर्दी भएनुसार हामीले पनि त्यसै गरे कसो होला ?’ भनेर प्रश्न गरें ।
उनी पढेका मानिस थिए । मेरो आशय बुझी हाले । एक किसिमले उनी खुसी पनि भए । उनको मनमा पनि त्यही सोच रहेछ तर उच्चारण गर्न भने सकिरहेका रहेनछन् । मैले उप्काए उनी हर्षित भए ।
टिका लगाउने साइत १०ः१९ बजे थियो । हामीले १०ः२२ मा लगायौँ । टिका लगाउँदै गर्दा मैले परिवारका सबै सदस्यहरूलाई हामीले गरेको समझदारी भनेँ । तर बाआमा, छोरा, छोरी नातिनी, बुहारीहरू लगायतले मेरो कुरालाई विश्वासै गर्न सक्नुभएन । ‘त्यसरी हुँदैन’ भनेर मलाई भात खाउँ कि थाल खाउँ बनाउनुभयो । उता पनि त्यस्तै भए छ । सबै मिलेर विचरा सुशिलबाबुको सातो लिनु भएछ । ‘हामीलाई सल्लाह नगरी कसरी यस्तो हुनसक्छ ?’ भन्ने कुरा भए छ ।
हाम्रो घरमा करिब आधा घण्टा पछि टिका, जमरा, आर्शिवाद र ढोगभेट गरेर
सकियो । त्यसपछि करिब २० मिनट त विभिन्न पोजमा फोटो खिचियो । करिब १० मिनट जति गुनासा, गन्थन र कोरोनाले पारेको यो दुर्दसाको बारेमा कुरा गर्दै बित्यो । ‘यताका उता र उताका यता नआउँदा टिका र जमरा लगाएको मजा नै भएन भन्दै’ केटाकेटीहरू कराउन र छटपटिन थाले । अनि एक छिनपछि त बाआमा र म बाहेक हाम्रो घरका सबै ह्वारह्वारर्ती पल्लो घर गए । त्यहाँ पुगेपछि म्याडम लगायत सबैले पल्लो घरका दाजी, भाउजु, छोराछोरीहरूलाई ‘किन टिका लगाउन नआउनु भएको हो ? छिटो हिंड्नुस्’ भनेर भनेछन् । ती शब्द बाणले त्यहाँ एकछिन रुवाबासी चलेछ । अनि आँशु पुछेर काइँलो दाइले ‘हामी जम्मा यहाँ तीन घर छौँ । तीन घरबीच पनि यस्तो कुरा गरेर हुन्छ ? हामीबीच फलफूल, दूध, घिउ, मही, पानी चल्नी अनि टिका नचल्नी पनि हुन्छ ? अर्काे वर्ष मरिन्छ कि बाँचिन्छ के थाहा छ र ? त्रियानब्बे वर्षको बाबा र सतासी वर्षको आमासँग टिकाजमरा लगाएर आर्शिवाद लिने कत्रो धोको थियो । ? तर, झन् यसैबीच नमिठो कुरा सुन्न पर्दा अति नै दुःलाग्यो’ भन्दै रुँदै गर्नु भएछ । सो सुनेर अरु थप दुईजना पनि रुन थाल्नुभएछ । केही बेरपछि मनका वेदना पोखेर आँसु पुछिवरी उहाँहरू सबै टिका लगाउन जेठो घरमा जम्मा हुनुभयो । उहाँहरू आएपछि बल्ल सबैलाई दशै आएजस्तो भयो । रमाइलो भयो । हामी सबै एकै ठाउँमा भयौँ ।
निश्कर्षः
कहर जे सुकै वा जस्तो सुकै प्रकारको होस् । आफ्नो धर्म, संस्कार र संस्कृतिभन्दा प्यारो केही नहुने रहेछ । यथार्थमा मानिसहरू भोलिको दिनमा रोग लागेर मर्न बरु खुसी हुन्छन् ।
तर आफ्नो चलिआएको धर्म, संस्कार र संस्कृतिमाथि कुनै प्रकारको सम्झौता गर्न चाहदैनन् । मैले बुझेँ आफ्नो धर्म, संस्कार र संस्कृतिमाथि कसैको बल, बुद्धि र विवेकले काम गर्दाे रहेनछ । यो त स्वत स्फूत, धारा प्रभाव रुपमा हिजो जे थियो त्यसरी नै निरन्तर चलिरहने प्रक्रिया
रहेछ ।