भगवानसंग एउटै कुराको बिन्ती गर्छु “म जहाँ रमेपनि, जसरी रमेपनि आमाको हातबाट खाएको त्यो दिनको सुन्तला जति मीठो मलाई अरु कुनै सुन्तला नलागोस्, कहिल्यै नलागोस् ।”
सुन्तला, असाध्यै मीठो फल । हुन त, मीठो र नमिठो भन्ने कुरा व्यक्तिको स्वाद अनुसार फरक पर्ने कुरा हो र पनि फलफूलका पारखीहरुको अग्रिम रोजाइ अन्तर्गत नै पर्छ, सुन्तला । अझ हिउँद याममा पारिलो घाममा सेकिएर रसिलो सुन्तलाको स्वादमा रमाउनुको त बेग्लै आभाष हुन्छ । प्रायः व्यक्तिले आफ्नो जीवनखण्डको कुनै न कुनै समयमा यो अनुपम आभाषको मज्जा लिएकै हुन्छन् । पङ्तिकारको पनि सानैदेखि, बालखा छँदैदेखि जानेर नजानेर सुन्तलासंग धेरै नाता गाँसिएको छ । भावनाहरु मिसिएका छन् । हिउँद बढ्दैछ । बजारमा पनि विभिन्न स्थानमा थरीथरीका सुन्तलाहरु दखिन थालेका छन् । फुटपाथदेखि फलफूल पसल सम्म सुन्तलामय भएर पहेंलपुर देखिन थालेका छन् । चाहे फलफूल पसलको तखतामा मिलाएर सजाइएका हुन्, चाहे फुटपाथका पसलमा पालमाथि चाङ लगाइएका हुन्, त्यो पहेंलो फलको चाङले विगतको मीठो घटनाको याद दिलाउँछ । अनि म फेरी एक पटक सम्झन्छु, त्यो मीठो सुन्तला ।
हाम्रो घर भएको स्थान व्यास १२ कमलबारी सुन्तला खासै नहुने ठाउँ । तर जम्मा पाँचसय मिटर जति पूर्व पालिङमा र हाम्रो जिजुवाजेहरुको पुख्र्यौली थलो केत्रासातमा भने राम्रो हुने । अलिअलि चाहिँ हाम्रै बारीमा पनि हुन्थ्यो । गाउँमा कसैको घरमा सुन्तलाको बोट नभएपनि हाम्रो घरमा भने एउटा बडेमानको सुन्तलाको बोट थियो, फल कम लाग्ने तर असाध्यै मीठो । मलाई याद भएसम्म मैले देख्दा देखि नै त्यो बुढो भै सकेको थियो, शायद जिजुबुबाहरुले लगाउनु भएको होला । कसले लगाएको, कति वर्ष भयो, यस्ता प्रश्न गर्ने ध्यान नै त्यो बालापनमा आएन या सोधेर पनि मैले याद गर्न सकिन । तर जे होस्, गाउँमा आफ्नै घरमा मात्र सुन्तलाको रुख हुनु पनि बेग्लै शानको कुरा जस्तो लाग्थ्यो । त्यतिखेर शायद म ६, ७ वर्षको हुँदो हुँ । यसरी सुन्तलासंगको मेरो नाता घरबाटै सुरु भयो तर यो सम्बन्ध पुग नपुग ५वर्ष जति मात्र रह्यो । शायद बुढै भएर हो वा अन्य केही कारणले त्यो मेरो शानको प्रतिक विस्तारै विस्तारै सुकेर दाउरामा परिणत भयो ।
घरबाटै सुरु भएको सुन्तलासंगको नाताको पहिलो अध्याय सकिएपनि सुन्तलासंगको नातामा भने पूर्ण बिराम कहिल्यै लागेन । आजको मितिसम्म पनि त्यो पहिलो अध्यायको समाप्तीसंगै हिउँदमा आउने प्रत्येक चाडबाड र पुजा आजाको व्यग्रतको साथ प्रतिक्षा हुन थाल्यो , कारण एउटै थियो फुपुले माइत आउँदा ल्याउने कोसेली सुन्तला, त्यो पनि फुपुहरुको आफ्नै बारीको । हुन त बजारमा सुन्तला किन्नै नपाइने अवस्था थिएन, तर खै किन हो बजारमा किनिने सुन्तलाभन्दा फुपुले ल्याउने त्यो सुन्तलाको मिठास छुट्टै लाग्थ्यो । किन त्यति मीठो लाग्थ्यो, फुपुले ल्याउने सुन्तला ? म आजसम्म अनुत्तरित नै छु । किनभने आजपनि म बढीमा २/३ दाना भन्दा सुन्तला खान सक्दिन तर खै किन हो म अत्यन्तै व्यग्र भएर पर्खन्थें, हिउँदमा फुपु माइत आउने दिन, कारण थियो उही सुन्तला । सुन्तलासंग सुन्दर र भावनात्मक मात्र होइन उछृङ्खल र हास्यास्पद नाताहरु पनि गाँसिन पुगे । चाहे त्यो आफ्नो भागमा काँचो परेको झोंकमा झटारो हानी हानी सबै काँचो सुन्तला झारी दिएको घट्ना होस् या फेरी घरबेटीले थाहापाएर हामफाल्दा खुट्टामा काँडा बिझेर साथीहरुले बोकेर घर पु¥याएका घटना या फेरी सत्य नारायण पुजाको घटना, जहाँ म लगाएतका साथीहरु सुनतलाकै लागि मुख छोपीछोपी ४/५ पटकसम्म प्रसाद थाप्न पुुग्थ्यौं । अहिले पनि साथीभाइ मिलेर त्यही घटनाको कुरा गर्दा हाँसाको झोंका छुट्ट । ती बाजेहरु अहिले त अलिक नै बुढो हुनुभयो, काँप्दै गरेको स्वरमा सुनाउनु हुन्छ “हाम्रो सुन्तला चोर्ने तिमेरु नै हौ भनेर त्यतिखेरै था थ्यो, आफ्नो बेलां आफु नि त्यस्तै थें त्यै भएर नभनेको” अनि फेरी हाँसको अर्को झोंका छुट्छ । हाम्रो चोरी उत्तिखेरै पक्रिसकोको थियो भनेर यतिका वर्षपछि थाहा पाउँदा हाँस्नु या लाज मान्नु खै के गर्नु ? जे होस् त्यो चोरी जानाजान गरिएको कुनै अपराध थिएन । त्यो केवल किशोरावस्थाको एउटा गल्ती थियो, अन्जान गल्ती ।
यसरी सुन्तलासंग धेरै किसिमको नाता गाँसिन पुग्यो । धेरै थरीको सुन्तला खाइसकेको थिएँ, धेरै ठाउँको सुन्तला खाइसकेको थिएँ, झण्डै १५ वर्ष लाग्दै गर्दा । तर त्यो दिन जत्तिको मीठो सुन्तला भने कहिल्यै खाएको थिइन । वा यसरी भनौं त्यो दिन खाएको सुन्तला जत्तिको मीठो त्यो भन्दा पहिलाको कहिल्यै लागेन । म नौ कक्षामा हँदाको कुरा हो । २÷३ दिन देखि विरामी भएर स्कुल पनि जान सकेको थिइन् । त्यो दिन पारिलो घाममा पिंढीमा गुन्द्री ओछ्याएर पल्टिरहेका थिएँ , आमा छेउमै हुनुहुन्थ्यो । एकछिन घरधन्दा गर्नु हुन्थ्यो अनि फेरी मेरै छेउमा आएर बस्नु हुन्थ्यो । त्यो दिन आमाको हातले छोडाएर दिनुभएको सुन्तला जत्तिको मीठो सुन्तला मैले आजसम्म खाएको रहेनछु, आजभोली म महसुस गर्छु ।
तर म आफैलाई भने सबैभन्दा मीठो लागेको सुन्तलाको घटना अर्कै छ । हिउँदको याम, पारिलो घाम, नदी किनार, एक माना बदाम र एक किलो सुन्तला । त्यो दिन र त्यो सुन्तला मलाई एकदम मीठो लागेको थियो । आमो हातको सुन्तलाभन्दा पनि मीठो । कमसेकम त्यतिखेर त्यही लागेथ्यो ।
तर न त्यो सुन्तला विशेष ठाउँको भएर मीठो लागेको थियो न विशेष स्वादको भएर । मीठो लाग्नुको कारण एउटै थियो– उनी । म आजपनि अक्सर त्यो क्षणको बारेमा कुरा गरिरहन्छु । म सोधिदिन्छु, साँच्चै मीठो थियो है सुन्तला ? उनी मधुर बोलीमा लाज मान्दै उत्तर दिन्छिन् “मलाई के था ! हजुलाई नै था होला नी ।” आज जीवनको २७ औं वसन्तमा रमाउँदै गर्दा म कहिले काहीँ सोच्छु, साँच्चै कुन चाहीँ सुन्तला बढी मीठो थियो ? नदी किनारको या पिँढीको ? केहीबेर गमेपछि मनले एउटा निष्कर्ष दिन्छ, दुबै उत्तिकै मीठा थिए । एउटामा प्रेम घोलिएको थियो, एउटामा आमाको ममता । एकछिन पछि त्यही मनले भन्छ, नदी किनारको सुन्तला मीठो थियो,असाध्यै मीठो तर आमाको ममतालाई उछिन्न त्यो पर्याप्त थिएन । हो , ती दुबै सुन्तला उत्तिकै मीठा थिए । फल एउटै भएपनि परिस्थिती वेग्लै थियो, भावना बेग्लै थियो । नदी किनारको सुन्तला मेरो जीवनको सबैभन्दा मीठो क्षण मध्येको एक हो । जुन म जीवनभरी संगाल्न चाहन्छु, जहाँ म जीवनभरी रम्न चाहन्छु । तर भगवानसंग एउटै कुराको बिन्ती गर्छु “म जहाँ रमेपनि, जसरी रमेपनि आमाको हातबाट खाएको त्यो दिनको सुन्तला जति मीठो मलाई अरु कुनै सुन्तला नलागोस्, कहिल्यै नलागोस् ।”