
केटा पक्ष विवाहका लागि केटी हेर्न केटीको घरमा आउने भएसंगै केटा पक्षको सकारात्मक जवाफ आओस् भन्नका लागि सबै प्रयत्नहरू भए । मिठा परिकारहरू बने । घर आँगन, कोठा र केटी सबैलाई चिटिक्क पारियो ।
केटा पक्ष आएर सामान्य औपचारिकता सकिएपछि केटीलाई प्रश्न सोध्न थालियो । बत्ती कात्न जानेकी छौं ? खाना बनाउन आउँछ ? स्वीटर बुन्न आउँछ ? बजार गएर तरकारी किनेर ल्याउन सक्छौ ? केटीले यस्तै आवश्यक र अनावश्यक थुप्रै प्रश्नको जवाफ दिँदै गईन् । अन्त्यमा केटाले भन्यो, म पनि एउटा प्रश्न गरौं ? केटीले सहमती सूचक दृष्टिले हेरिन् । अरु सोध्ने कुरा सबै उसका आमा, बहिनी, भाउजु आदिले सोधि सकेका थिए, त्यसैले सोध्यो, तिमीलाई गीत गाउन आउँछ ? खानपिन लगाएतका काम सकिए, केटा पक्षले एक दुइदिन सोचेर हुन्छ या हुन्न भन्ने उत्तर दिने बताउँदै घर फर्कने तरखर ग¥यो ।
सकारात्मक उत्तरको आशमा रहेका केटीका बाबु विचलित जस्तै देखिए । उठेर हिँड्ने तरखरमा रहेको केटा पक्षलाई केटीले भनिन्, मैले तपाईहरूका थुप्रै प्रश्नको जवाफ दिएँ के म तपाईँहरूलाई एउटा प्रश्न गर्न
सक्छु ? “कसलाई ?” केही हड्वडाएको स्वरमा केटाले प्रतिप्रश्न ग¥यो । केटीको जवाफ थियो, कुरा सकारात्मक भयो भने मैले जीवन यापन गर्ने तपाईँसँग हो, र प्रश्न पनि तपाईँलाई । केटाले स्वीकृति सूचक टाउको
हल्लायो । तब केटीले सोधिन, तपाईँलाई मादल बजाउन आउँछ ? केटाले दायाँ बायाँ टाउको हल्लायो अर्थात नबोलेरै भन्यो, आउँदैन । तब केटीले भनिन्, भोली मैले गीत गाउँदा मादल चाहिँ कसले बजाउँछ त ? अब मसँग सम्बन्ध आगाडी बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने कष्ट हजुरहरूले गरिरहनु परेन । म आज नै निर्णय दिन्छु, यो सम्बन्धको बीट म¥यो ।
वर्ष २०८१ मा करोड होइन करोडौं कमाउने सिनेमा बन्यो विजय बराल र अञ्जली बराइली अभिनित सिनेमा पूर्णबहादुरको सारंगी । सोही सिनेमामा रहेको “रैयाँ चाँदीको” बोलको गीतले पनि निकै चर्चा र दर्शक श्रोताको मायाँ पायो । यो आलेख तयार गर्दासम्म युट्युवमा यो गीत हेर्नेको संख्या चार करोड ५५ लाखभन्दा धेरै भइसकेको
छ ।
यो गीतमा परम्रागत स्वयंवरमा जस्तै दोहोरी प्रतियोगिता छ । आफ्नो वर आफै छान्ने योजना बनएकी चलाख युवती केटा पराजित भए केटीको घरमा गोठालो वस्नु पर्ने र केटी पराजित भए केटासंग विहे गर्ने सर्त राख्छिन् । केटी दोहोरीमा पराजित हुन्छिन् र भन्छिन्, “दाहिने हातले गलबन्दी समाउछु, तिम्रो दुःख सुखमा रमाउँछु ।”
प्रज्ञा नेपाली बृृृृृृहत् शब्दकोशमा स्वयंवरको अर्थ यस्तो दिइएको छ । कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्न एक रीति वा विधान । स्वयंवरको अर्काे पनि अर्थ छ, शब्दकोशमा जसमा भनिएको छ, विवाह हुनु अगाडि कन्याको घरमा वा देवस्थलमा गई वर र कन्या दुवैबाट माला, औंठी आदि लगाएर विधिपूर्वक कन्याद्वारा गराइने वरको वरण । संस्कृत शब्द स्वयं र वर मिलेर वनेको स्वयंवरको अर्थ आफै पति छनौट गर्ने भन्ने हो । तर वास्तवमै एउटी युवतीले आफैंले वर छनौट गर्ने अवसर भन हाम्रो समाजमा निकै कम पाउने गर्दथे । अर्काे शब्दमा आफ्नो जीवन साथी आफैले छनौट गर्ने स्वतन्त्रता निकै कम थियो । विस्तारै स्वयंवरको वास्तविक अर्थ अनुकूल भने हुन थालेको छ ।
रामायणमा सिताले उनको घरमा राखिएको शिव धनुमा ताँदो चढाउन सक्ने राजकुमार वरको रुपमा ग्रहण गर्ने वा स्वयंवर गर्ने सर्त थियो भन्ने हामीले पढेका हौं । महाभारतमा द्रैपदीको स्वयंरको पनि सर्त थियो । उनले माछाको आँखामा निशाना लगाउन सक्ने धर्नुर्धारीलाई वरको रुपमा ग्रहण गर्ने सर्त थियो ।
तर रामायण र महाभारतलाई आफ्नो धर्म ग्रन्थ मानेर पुजा गर्ने अनि स्वस्थानीको कथा पढेर रमाउने हामीले रामायणकी सिता, महाभारतकी द्रौपदी वा स्वस्थानीको पार्वतीलाई जस्तो वर छनौटको स्वतन्त्रता दिन चाहेनौं जुन अझै कायमै छ । धेरै हदसम्म स्वयंवरको अर्थलाई हामीले “विवाह हुनु अगाडि कन्याको घरमा वा देवस्थलमा गई वर र कन्या दुवैबाट माला, औंठी आदि लगाएर विधिपूर्वक कन्याद्वारा गराइने वरको वरण” मा खुम्च्याएर राखेका थियौं र अझै पनि हामीले गर्ने गरेको स्वयंवरले आफ्नो वास्तविक अर्थ बुझाउन पाएको छैन ।
मेरी हजुरआमा भन्नुहुन्थ्यो, विवाह गर्दा उहाँको उमेर सात वर्ष मात्र थियो । छोरी पर सर्नु अगाडी नै कन्यादान गर्दा पूण्य मिल्ने बुझाईका कारण त्यतिबेलाका बाबुआमाले आफ्नी छोरी सात/आठ वर्षकी हुँदा विवाह गरेर दिन्थे । विवाहको अर्थ समेत नबुझकी सात वर्षे बालिकाले स्वयंवर गर्ने अर्थात आफै आफ्नो वर रोज्न सक्ने वा रोज्ने अवसर पाउने कुरै भएन । खानदानी र खाइलाग्दो केटा भेटेपछि बाबुआमाको छोरी अन्माइहाल्थे । त्यहाँ छनौटको कुनै गुञ्जायस नै थिएन । अलिपछि धेरै खेत भएको, गोठमा लैनो र बकेर्नाे दुहुना भैंसी भएको, सरकारी जागिरे केटा भए पुुग्थ्यो । बाबुआमा वा आफन्तले त्यो परिवार तिम्रालागि सुहाउने छ, त्यही केटासंग विहे गर्न हो भनेपछि केटीले नाईँ भन्ने विकल्प रहँदैनथ्यो । पछिल्लो समय राम्रो कमाई हुने कुनै देश आउजाउ गर्ने, अमेरिका जस्ता विकासित देशको पिआर भएको वा डिभी परेर गएको केटा भनेपछि बाबुआमाले हुन्छ भन्ने अनि छोरीले पनि हो मा हो मिलाउने तर नाई भन्न नसक्ने अवस्था बाँकी नै छ । ब्राम्हण, क्षेत्री समुदायमा यो बढी थियो । अहिले सात वर्षकी छोरी अन्माउने चलन नभए पनि स्वयंवर शब्दले आफ्नो वास्तविक अर्थ अनुसारको अर्थ बोक्न पाएको छैन । आफ्नो वर आफै छनौट गर्ने पूर्ण स्वतन्त्रता केटीहरुले पाइसकेको अवस्था छैन ।
तुलनात्मक रुपमा जनजाति समुदायमा स्वयंवरको स्वतन्त्रता बढी नै हुन्छ । जुन अत्यन्त सकारात्मक पक्ष हो । अब अरु जसले स्वयंवरको स्वतन्त्रता आफ्नी छोरी वा बहिनीलाई दिएका छैनन् उनीहरुले सोच्ने बेला आएको छ, कि एक्काइसौ शताब्दीका नानीहरु आफ्नालागि योग्य वर छनौट गर्न सक्षम छन् । त्यसैले स्वयंवरको स्वतन्त्रता उनीहरुलाई दिनु पर्छ । हजारौं वर्ष अगाडि बुनिएका कथामा नारी स्वतन्त्रताको एउटा अंगको रुपमा रहेको वर छनौटको स्वतन्त्रतालाई पुनः स्थापित गरौं ।
सबै छोरी बहिनीलाई आफ्नो छनौटसंग सहजै “तिम्रो दुःख सुखमा रमाउँछु ।“ भन्ने वातावरण बनाऊँ । मादल बजाउन नजान्नेसँग पहिल्यै सम्बन्धको बीट मार्ने उद्घोष हाम्रा छोरी चेलीले पनि गर्न सकुन ।