तमु ल्होछार (ल्होसार) गरुङ्ग जातिको महान चाड हो । यो नेपाल लगाएत गुरुङ्ग जातिको बसोवास रहेका अन्य विभिन्न देशमा समेत धुमधामका साथ मनाउने गरिन्छ । गरुङ्ग जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होछार, ल्हो+छार (सार) मिलेर बनेको पाईन्छ । गुरुङ्ग भाषामा “ल्हा”े को अर्थ वर्ग र “छार”(सार) को अर्थ सर्नु भएकोले यसलाई ल्होछार (ल्होसार) भनिएको हो । तमु ल्होसार हरेक वर्ष पौष महिनाको १५ गते गरुङ्ग जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यो दिनले तमु (गुरुङ) समुदायको नयाँ वर्ष प्रारम्भ भएको संकेत गर्दछ । प्राचीन तमु प्ये शास्त्र अनुसार तमु ल्होसारको दिन तमुहरुका प्रथम महापुरुषको उत्पत्ती भएको समेत मानिन्छ ।
तमु पात्रो अनुसार ल्हो कोर (वर्ग चत्र) समेट्ने गरी १२ वर्गको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ । यी वर्गहरु हरेक वर्ष पौष १५ गते बाट परिवर्तन हुने हुँदा ल्होसारलाई नयाा वर्ग वा नयाँ वर्षको सुरुवातको रुपमा मनाइन्छ । तमु पात्रो अनुसार ल्हो कोर (वर्ग चत्र) ः
१) च्यु–ल्हो ( मुसा वर्ग )
२) ल्वोँ–ल्हो ( गाई वर्ग )
३) तो–ल्हो ( बाघ वर्ग )
४) हि–ल्हो ( बिरालो वर्ग )
५) मि–ल्हो ( गिद्ध वर्ग )
६) सप्री–ल्हो ( सर्प वर्ग )
७) त–ल्हो ( घोडा वर्ग )
८) ल्हु–ल्हो ( भेडा वर्ग )
९) प्र–ल्हो ( बाँदर वर्ग )
१०) च्हमा– ल्हो ( चरा वर्ग )
११) खि–ल्हो ( कुकर वर्ग )
१२) फो–ल्हो ( मृग वर्ग )
यसरी तमु पात्रो अनुसार १२ वर्गलाई चक्रका रुपमा मानि ल्हो वर्ग परिवर्तन हुने गर्दछ । यस वर्ष फो–ल्हो ( मृग वर्ग ) को बिदाइ र च्यु–ल्हो (मुसा वर्गको ) स्वागत गरी तमु ल्होसार मनाइँदै छ । तमु ल्होसार पुष १५ गतेको पहिलो किरणसंगै सुरुवात हुन्छ भने तमु प्ये ल्हु संघले आधिकारिक समय पुष १४ गते रातीको १२ बजे फेरी १२ वर्ष पछि घुम्दै सर्दै आउने जाने ल्होको बिदाई र १२ वर्ष पछि घुम्दै सर्दै आउने ल्होलाई स्वागत गर्न आगो धुनी (Bon fire) लगाई एक वर्गको बिदाइ र अर्काे वर्गको स्वागत गरी ल्होसार मनाइन्छ ।
तमु पात्रो अनुसार हरेक १२ वर्ग फरक–फरक रहेको र चक्रका रुपमा घुमीफिरी १२ वर्ष पछि आउने हुँदा तमु जातिले आफ्नो उमेर यसै पात्रोलाई आधार मानेर गणना गर्ने गरेको पाइन्छ । कुनै पनि वर्षको पौष १५ गते भन्दा अगाडि जन्मने व्यक्ति र पौष १५ पछि जन्मने व्यक्ति फरक वर्ग र फरक वर्षको समेत मानिन्छ । हिन्दु पात्रो विसं अनुसार बैशाख १ गते नयाँ वर्ष मनाए जस्तै पौष १५ लाई गुरुङ्ग जातिले ल्होसारका रुपमा नयाँ वर्ष भनेर मनाइन्छ ।
आम जनमानसलाई गुरुङ्गहरुले वर्ग वा वर्ष (उमेर) कसरी गणना गर्छन् भन्ने कुरा चासो हुनसक्छ । मुख्यतया गुरुङ्गहरुले पौष १५ लाई आधार मानेर आफ्नो उमेर (वर्ष) गणना गर्दछन् । जस्तै २०७५ पौष १५ बाट २०७६ पौष १४ गते सम्म जन्मेको व्यक्ति फो–ल्होसार ( मृग वर्ग ) हुन्छ भने २०७६ पौष १५ गतेबाट २०७७ पौष १४ गतेसम्म जन्मने व्यक्ति च्यु–ल्हो (मुसा वर्ग) हुन्छ । यही वर्ष यानी २०७६ पौष १४ गते जन्मने व्यक्ति फो–ल्हो (मृग वर्ग ) हुने र २०७६ पौष १५ गते बाट च्यु–ल्हो (मुसा वर्ग ), नयाँ वर्ग÷नयाँ वर्ष सुरु हुने हुँदा उक्त व्यक्ति एक दिनको मात्र नभई तमु पात्रो (ल्हो कोर) अनुसार एक वर्षको समेत हुने मान्यता छ । गुरुङ्ग जातिले कुनै पनि काम गर्दा ग्रहदशा र ल्हो (वर्ग) का आधारमा फाप नफाप हेर्ने समेच चलन छ । मुख्यतया विवाह गर्दा केटा र केटीको ल्हो(वर्ग) हेरी फाप नफाप र मियो मिलेमा मात्र मागी विवाह गर्ने चलन छ ।
गुरुङ्ग जाति देशका विभिन्न ठाउँमा छरिएर रहेका भएता पनि ल्होसार भव्यताका साथ मनाउने गर्दछन् । तमु ल्होसारको दिन भन्दा अघिदेखि नै यो पर्वको सुरुवात हुने गर्दछ । तमु ल्होसारको अघिल्लो दिन पुष १४ गते राती १२ बजेको समयलाई आधार मानी पौष १५ गतेको पहिलो किरणसंगै नयाँ वर्षको सुरुवात हुने
गर्दछ । त्यस दिन गुरुङ्ग समुदायले आफ्ना चेलीबेटी आफन्त, कुटुम्बलाई बोलाई आशिमाला (शभकामना ) व्यक्त गर्ने साथै भोज भतेर खुवाएर यो पर्व मनाउँछन् । त्यस दिन नराम्रो ग्रहको प्रभाव छल्न ग्रह दशा कटाउने कार्य पनि
गरिन्छ । त्यस दिन गुरुङ्ग जातिहरु आफ्नो जातिय भेष भुषामा सजिएर हिडेको देख्न पाइन्छ । महिलाहरु शिबन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु, घलेक र कुर्म (मजेत्रो)मा सजिन्छन् भने पुरुषहरु शिरमा टोपी, भोटामाथि भाङ्ग्रा र कछाडमा सजिन्छन् । तमु ल्होसार गुरुङ्ग समुदायको महान पर्वमात्र नभई साथी भाइसंग भेटघाट, शुभकामना आदान–प्रदान र भोज भतेर गरी रमाइलो साथ मनाईन्छ । ढिलै भएपनि ल्होसार बै आशिमाला ।