
अधिवक्ता
पृष्ठभूमिः
ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने , ज्येष्ठ नागरिकहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिबृद्धि गर्ने सम्बन्धमा राज्यले कानुन बनाएर नै वातावरण निर्माण गरेको छ ।
ज्येष्ठ नागरिकको प्रसंगः
नेपाली समाजमा पनि बृद्धिश्रममा संख्या बढ्दो छ । घरका छोरा बुहारी र अझ विशेष गरी नातीनातिनालाइ घरको ज्येष्ठ नागरिकको खोकी, स्याँस्याँ, असक्तता, रातीको आवाजले पढाइमा, टिकटक बनाउनका लागि वा केही नभए निंद्रा विथोल्नको आरोपमा अपमानित भैरहेका छन् । सोही अपमानले परिवारको साथमा बस्न नपाएर घरको ज्येष्ठ नागरिकलाइ बृद्धाश्रममा पु¥याएका पीडादायी घटना समाचारमा आईरहेका छन् । त्यतिले नपुेर कुटपिट, हत्यासम्मका घटनाहरु पनि मिडियामा आइरहेका छन् ।
यो साताको चर्चाः
यो साता सामाजिक सञ्जाल र समाचारमा बढी स्थान पाएको घटना झापाको बनेको छ । झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं. ८ का ३० बर्षिय आशिष घिमिरेले ७९ बर्षिया आमा चन्द्रमायाँ घिमिरेलाइ कुटेर घाईते बनाएको घटना सामाजिक सञ्जाल र पत्रपत्रिकामा बढी स्थान पाएको छ । सो दृष्यले देशभर आशिष घिमिरे जस्ता छोराहरुप्रति नकारात्मक सन्देश गएको छ । कुटाईबाट बृद्ध आमाको दुवै आँखा हेर्न नमिल्ने गरी सुन्निएको छ । बैशाखीको भरमा हिड्ने आमाको दाहिने हातपाखुरामा रक्ताम्य चोटहरु देखिएको छ ।
राज्यको दायित्वः
राज्यले ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको कानुनद्वारा प्रत्याभूति प्रदान गरेको छ । सामाजिक सुरक्षा भत्ता प्रदान गरेर राज्यको तर्फबाट उच्च सम्मान, श्रद्धा, आदर र सद्भाव देखाएको छ । त्यसको साथै कानुन नै बनाएर ज्येष्ठ नागरिकको सम्पत्ति खानेलाइ, ज्येष्ठ नागरिकको परिवारको सदस्यलाई जिम्मेवार तुल्याएको छ ।
कानुनमा के छ ?
नेपाल सरकारले २०६३ साल मंसिर आठ गते ज्येष्ठ नागरिक अधिकार सम्बन्धी ऐन प्रमाणिकरण गरेर सोही मितिबाट कार्यान्वयनमा ल्याएको छ । साठी बर्ष उमेर पुरा गरेको व्यक्तिलाइ ज्येष्ठ नागरिक परिभाषा गरेर राज्यले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । ज्येष्ठ नागरिक हेरचाह केन्द्र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन, स्वास्थ्य सेवा, सार्वजनिक कार्य समेतमा आवश्यक सेवा, सुविधा र सहयोग गर्नुपर्ने कर्तब्य तोकेको छ । मुद्दा मामिलामा प्राथमिकता तोकेको छ । ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्न सम्पत्ति खानेलाइ पहिलो जिम्मेवारी तोकेको छ । त्यस्तो कोही नभए परिवारको सदस्य मध्ये ज्येष्ठ नागरिकले रोजेको परिवारको सदस्यले पालनपोषण तथा हेरचाहको व्यवस्था गर्नुपर्ने गरी कर्तब्य तोकेको छ ।
निष्कर्षः
ज्येष्ठ नागरिक परिवारको मेरुदण्ड हो । परिपक्वताको आधारस्तम्भ हो । विगत भोगेको अनुभवी भविष्य द्रष्टा हो । ससम्मान पालपोषण, हेरचाह, संरक्षण गर्नु सन्तान तथा परिवारको सदस्यको कतव्य पनि हो ।
