भोली शुक्रबार अर्थात मे २२ तारिख । यो दिन हरेक वर्ष नेपालमा र संसारभर जैविक विविधता दिवस मनाउने गरिन्छ । संसारमा हजारौं जात जातिका जिवजन्तु र वनस्पती रहने गरेका छन् । यि सबैको समान अस्तित्वमा नै मानव समाज र मानव जातिको हित निहित छ भनेर आम जनमानसलाई बुझाउन यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । अर्काे वाक्यमा भन्नुपर्दा एउटाको अस्तित्वसंग अरुको अस्तित्व जोडिएको हुन्छ । त्यसैले हामीले जतिपनि जीव वा वनस्पति देखेका छौं ति सबैको अस्तित्व स्वीकार्न सक्दा र उनीहरुको अस्तित्व कायम राख्न सक्दा मात्र हामी मानवको सहज अस्तित्व सम्भव हुन्छ । यसको बोध गराउन यो दिवसको भूमिका उल्लेखनिय हुने अपेक्षा गर्न सकिन्छ । जैविक विविधतासंग हाम्रो अस्तित्व त जोडिएको छ नै संगसंगै हामीले भनेको समृद्धि पनि जोडिएको छ भन्ने कुरा बुझ्न र बुझाउन सकेको खण्डमा यो दिवस मनाउनुको सार्थकता रहने छ ।
पहिले हामी मानव जाति वा अन्य कुनैपनि जीव वा वनस्पति कसरी एक अर्कासंग निर्भर छौ वा एकको अस्तित्व रक्षा हुँदा कसरी अर्काको अस्तित्व रक्षा हुन्छ भन्ने बुझ्न सानो कथा प्रस्तुत गर्न चाहन्छु अनि अरु कुरा गरौंला । हामीले सानो छँदा पढेको कथा हो । त्यतिबेला केवल मनोरञ्जनका लागि पढिएको उक्त कथा दिन चाहेको जैविक विविधताको आवश्यकता र महत्वको शिक्षा बुझिएको थिएन । कथाको शीर्षक थियो, “ढुकुर र कमिलो ”। कथामा एउटा कमिलो खोलाको पानीमा वगिरहेको हुन्छ । खोला किनारमा निस्कने उसको प्रयत्न विफल भइरहको र मृत्युको मुखमा पुग्न लागेको देखेको एउटा ढुकुरले कमिला छेउ पुगेर कमिलाको नजिकै एउटा पात राखिदिन्छ । कमिलो उक्त पातमा चढ्छ र ढुकुरले पातलाई खोला किनारमा ल्याएर जीवन दिन्छ । अर्काे दिन सोही ढुकुरलाई मार्न कुनै शिकारीले बन्दुक ताकि रहेको कमिलाले देख्छ र शिकारीको गोडामा टोकि दिन्छ । फलतः शिकारीको हातबाट बन्दुक खस्छ । बन्दुक खसेको आवाज सुन्नासाथ ढुकुर उडेर ज्यान जोगाउन सफल हुन्छ । ढुकुरले कमिलाको जीवन रक्षा गरेको र कमिलाले ढुकुरको जीवन बचाएको कथा प्रसंगबाट पनि बुझ्न सकिन्छ कि जैविक विविधताको आवश्यकता किन रहेछ र तिनको संरक्षणको आवश्कयता किन रहेछ । पृथ्वीमा भएका चराचर जगतको परस्पर निर्भरताको महत्व बुझाउन यो भन्दा उपयुक्त उदाहरण शायद अर्काे छैन । यद्यपि साग, बाघ र बाख्राको खाद्य चक्रको कुरा वा टपरी र ढुङ्गा को कथा पनि जैविक विविधताको आवश्यकता बुझाउन पर्याप्त छन् । फेरी ढुङ्गाको भर माटो, माटोका भर ढुङ्गा भनेर हाम्रा पुर्खाले जैविक विविधताको महत्व नबुझि त्यसै बनाएका कहाँ हुन र ?
मानिस स्वभावैले विविधता मन पराउँछ । हामीलाई कहिल हिमालको दृश्य हेर्न मन पर्छ त कहिले तराइको समथर भूभाग हेरेर रमाउन मन पर्छ । कहिले दाल–भात खान मन पर्छ त कहिले मासु– भात खान मन पर्छ अनि कहिले मःम र चाउमिन खान मनपर्छ । आकाशमा कावा खाँदै स्वच्छन्द उडेका चराहरु हेर्दै रमाउने पनि हामी नै अनि मैमत्त बनेर हिंडेको सिंह देखेर रमाउने पनि हामी संगै सयौको समूहमा आहाराको खोजीमा हिंडेका मृगको वथान देखेर पुलकित हुनेपनि हामी नै । लालीगुराँस र सुनाखरी फुलेको देखेर मोहित हुनेपनि हामी अनि गुलाफ र कमलको सुगन्धमा लठ्ठिने पनि हामी नै । कहिले हामीलाई बञ्जी जम्पिङ्ग भन्दै उचाइबाट फालहाल्ने मन पराउने पनि हामी अनि हाइकिङ, माउण्टेन वाइकिङ आदिमा रमाउन चाहने पनि हामी नै । यी सबै अवसर हामीलाई भौगोलिक, प्राकृतिक तथा जैविक विविधताले दिएको त हो । कल्पना गरौ त यो प्राकृतिक अनि जैविक विविधता नभएको भए हाम्रो जीवन कस्तो हुने थियो । तीन दशक उमेर पार गरेको पुस्ताको सम्झनामा हुनपर्छ, आकाशमा समय समयमा उड्ने गरेका गिद्धहरु अनि आजकल देखिन छोडेका विभिन्न जातका चरा तथा अन्य जनावरहरु । र तिनीहरुको अस्तित्व समाप्त हँुदै जाँदा हामीले भोग्नु परेका अनगिन्ती समस्याका बारेमा त त्यो भन्दा पछिल्लो पुस्ता पनि जानकार नै छ । तर अहिले पनि सर्प देख्यो कि मार्न अघि सर्ने, जंगलमा विभिन्न जातका पंछी तथा जनावरको शिकार गर्न रुचि राख्ने पुस्ता कायमै छ । हाम्रो वरपर भेटिने सबै सर्प विषालु हुँदैनन् बरु तिनले सूर्यबाट आउने हानीकारक परावैजनी किरण सोसेर हामीलाई आउन सकने अनेकौ समस्याबाट बच्न सघाउँछ भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ । यस्तो लाग्छ, उनीहरुलाई आफुले र आफ्नो सन्तान पुस्ताले भोग्नु पर्ने कठिनाईका बारेमा जानकारी नै छैन वा भएर पनि विश्वास गर्दैन ।
जैविक विविधताको संरक्षण हाम्रो जीवनसंग जोडिएको त छ नै हाम्रो संमृद्धिको सपनासंग पनि जोडिएको छ । यार्सागुम्बा, पाँच औले, जटामसी, कुरीलो, हर्राे, बर्राे, अमला, जिम्मो लगाएतका हिमाली जडिबुटीले हाम्रो समृद्धि सपना पुरा गर्न गरेको सहयोग कसैबाट लुकेको छैन । हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक तथा हिमाल आरोहण गर्न आउने पर्यटक तथा नेपालको भौगोलिक विविधताको अध्ययन गर्न आउने विद्यार्थीहरुबाट हुने आम्दानीले हाम्रो समृद्धि अकांक्षालाई पुरा गर्दैन र ?
दुइसय बढी प्रजातिको स्तनधारी, आठसय बढी प्रजातिका चरा, छहजार बढी फुल फुल्ने जातका वनस्पति आदिले हामीलाई मानसिक र शारिरीक रुपमा स्वस्थ रहन र सहज जीवन यापन गर्न जसरी सघाएका छन्, त्यसको मूल्य अगणित छ ।
क्षणिक लाभ वा मनोरञ्जनका लगि जैविक विविधताको विनाश गर्ने काममा आफु नलाग्ने र अरुलाई पनि लाग्न नदिने वाचा गर्ने बेला अब भएको छ । नभए हाम्रो पुस्ताले त जेनतेन जीवन जीउन सक्ला तर हाम्रो छोराछोरी पुस्ताको जीवन कष्ठकर हुनेछ ।
कुनैपनि अभिभावक चाहँदैन कि आफ्ना छोराछोरीको जीवन कष्ठकर होस् । त्यसैले हामी सबैले आजैबाट जैविक विविधता संरक्षणका आफ्नो तर्फबाट सकेको योगदान गर्ने प्रण गर्नु परेको छ । जैविक विविधताको संरक्षणसंगै हाम्रो जीवनको पनि संरक्षणमा हामी सबैको ध्यान जाओस्,यहि शुभेच्छा ।
जैविक विविधतासंगै हाम्रो पनि संरक्षण गरौं
previous post