खासगरी दशैंको टीका लगाउने क्रममा मान्यजनले टीका लगाईदिँदै सन्तानले डाँडाकाँडा ढाकुन भनेर दिएको आशिर्वचन सहर्ष स्वीकार्ने समय थियो अलि पहिले । भनिन्छ,यो आशिर्वचनमा दुइवटा कुरा निहित थियो । पहिलो सबै डाँडाकाँडामा आफन्त छन् भन्न पाइने र काम विशेषले कहिँ कतै जाँदा सहजै र सम्मानित गास वासको व्यवस्था हुने कुरा । आज जस्तो होटल वा लजको चलन नभएका बेला घरबाहिर कतै पर जाँदा वास वस्ने ठाउँ र खाने कुराले शायद धेरै पिरोल्ने गथ्र्याे र आफन्त भए त्यसमा सजिलो हुन्छ भन्ने सोचेर यस्तो आशीर्वचन दिइन्थ्यो । अझ सबैतिर आफन्तजन हुँदा जिउँदो छँदा जन्ती र मर्दा मलामीको संख्या धेरै हुने कुराले शायद हाम्रा पुर्खालाई सन्तुष्ट तुल्याउँथ्यो । सुखमा संगै खुसी हुने र दुःखमा संगै दुःखीहुनेहरुको संख्या धेरै हुनु पनि आत्मसन्तोषको कुरा हन्छ । जनु दुबोझै मौलाउँदा वा सन्तानले डाँडाकाँडा ढाक्दा हुने गर्छ भन्ने विश्वास हाम्रा अग्रजहरुमा थियो ।
अर्काे पर्याप्त प्राकृतिक श्रोत भएको तर जनसंख्या कम भएका कारण त्यसको सदुपयोग हुन नसकेको सन्दर्भमा जनसंख्या वृद्धिको कामना गरिएको हो । समाजशास्त्रीय दृष्टिले हेर्दा यि दुर्व तर्क उपयुक्त नै लाग्छन् ।
विश्वका कतिपय विकसित भनिएका देशको तुलनामा हाम्रो जनसंख्या वृद्धिदर बढी भएका बेला “दुइमात्र सन्तान इश्वरका वरदान” भन्ने स्लोगन नै बनाएर रेडियो र टेलिभिजनबाट व्यापक प्रचार प्रसार गर्न थालियो । “भैसीलाई सिङको भारी हुँदैन”, “इश्वरले दिएको थाप्ने हो” भन्ने जस्ता तर्क गरेर धेरै सन्तान जन्माउँदा भएको तिब्र जनसंख्या वृद्धि, यसले निम्त्याएको संकट र भविष्यमा निम्त्याउन सक्ने महासंकटको अनुमान गरेर नै होला “थोरै भए पुगिसरी, धेरै भए भारी” जस्ता थप नारा बनाएर आम मानिसलाई थोरै सन्तान जन्माउन अभिप्रेरित गरियो । यस्तो समय पनि आयो, दुइभन्दा बढी सन्तान भएका बाबु आमालाई तपाईँका कति सन्तान छन् भन्ने जिज्ञासा राख्दा जवाफमा “छुट्टीको दिनमा गन्नुपर्छ” आउँथ्यो । दुइभन्दा बढी सन्तान हुनु लज्जाको विषय ठानिन्थ्यो, शायद । यो अवस्था अझै पनि कायमै छ ।
तर विसं २०७८ को जनगणनाको नतिजा हेर्दा अब फेरी “दुइमात्र सन्तान इश्वरका बरदान” भन्ने स्लोगन फेर्नु पर्ला जस्तो अवस्था देखिएको छ । जनसंख्या वृद्धिदर धेरै भयो भनेर अत्तालिएका हामी जनसंख्याको घट्दोदरले चिन्तित हुने अवस्थामा पुगेका छौं । देशभरका ७७ जिल्ला मध्ये ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणत्मक छ । जनंसंख्या वृद्धिदर ऋणात्मक हुने देशभरका गाउँ पालिका मध्ये टप टुमा हाम्रै जिल्लाको ऋषिङ गाउँ पालिका पर्छ । २०६८ को जनगणनामा २५ हजार ८७० जनसंख्या रहेको ऋषिङमा १० वर्ष पछि २०७८ मा गरिएको गणनामा जनसंख्या घटेर १७ हजार ९१८ रहेको छ । ऋषिङको मात्र किन हाम्रो जिल्ला तनहुँ जनसंख्या ऋणात्मक हुने देशभरका ३४ जल्लाको सूचिमा समावेश छ । अघिल्लो अर्थात २०६८ को जनगणानामा तीनलाख २३ हजार २८८ जनसंख्या रहेको तनहुँमा यस पटक घटेर तीनलाख २१ हजार १५३ भएको छ ।
आफुलाई सहरिया भन्न रुचाउनेहरुले कछार भनेर हेप्ने गरेको ऋषिङमा जनसंख्या घट्नु स्वाभाविक मान्न सकिएला तर समग्रमा सुगम भनिएको तनहुँमा जनसंख्या घट्नुका कारण बुझ्न सकिने खालको छैन । ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत आदिको राम्रो सुविधा नभएका कारण बसाइसराई गर्नेको संख्या बढ्न जाँदा जनसंख्या घट्नु अस्वाभाविक होइन । तराई र सुविधा सम्पन्न स्थानहरुमा जनसंख्या बढ्दै गएको तथ्याङ्कले यही बताउँछ र ऋषिङको नियति त्यही हो । शायद “वसाई हिँड्नेको ताँतीले वस्नेको मन रुवाउँदछ” भन्ने जेवी टुहुरेको गीत संगै ऋषिङमा वस्ने र यहाँका जनप्रतिनिधि भक्कानिँदा हुन् ।
आन्तिरक रुपमा बसाइसराइका कारण विभिन्न जिल्लाको जनसंख्यिकीमा आएको परिवर्तन एउटा पक्ष भयो । समानुपातिक विकास र अवसरको उपलब्धतामा राज्यले ध्यान दिने हो भने रामेछापको अहिले रहेको –१.६७ प्रतिशत ऋणात्मक रहेको जनसंख्या वृद्धिदरलाई कम गर्न सकिन्छ । यसरी नै चौरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोकको –३.७६ प्रतिशत रहेको जनसंख्याको घट्दो आकारलाई ठिक ठाउँमा ल्याउन सकिन्छ अनि ७.४१ प्रतिशत वृद्धिदर रहेको कागेश्वरी मनोहरा नगरपालिकाको जनसंख्यालाई पनि नियन्त्रणमा ल्याउन सकिन्छ । तर अहिलेको ०.९३ प्रतिशतको वृद्धिदर हाम्रा लागि सोचनिय विषय हो । अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको हाम्रो जनसंख्या वृद्धिदर यही अनुपातमा घट्दै जाने हो भने अबका केही दशकमा वृृद्धिदर शून्य हुने छ । यसले निम्त्याउने अनिष्टका बारेमा हामी बेखबर जस्तै देखिएका छौं । केही दशमा देशमा जनशक्तिको अभावमा कारण विकास निर्माणका काम हुन नसकेको नियती भोग्न हामी बाध्य हुने अवस्था देखिएको छ । संकट सन्निकट छ तर हामी कानमा तेल हालेर बसेका छौं । हामीले सोचेको देखिएको छैन कि जनसंख्या वृद्धिदर संधै नकारात्मक हुँदैन । प्रचुरमात्रामा प्राकृतिक श्रोत उपलब्ध भएको तर तिनको उत्खनन् र प्रयोग हुन नसकेका हाम्रो जस्तो देशमा जनसंख्या वृद्धि हानीकारक मात्रै हुँदेन । बढ्दो जनसंख्या नियन्त्रण गर्न एक सन्तान नीति ल्याएको चीनले आफुलाई बदलेर दुइ सन्तान जन्माउन पाउने नीति अख्तियार गरेको कुराबाट हामीले सिक्नु पर्ने भएको छ । यसका साथै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारीवारीक समय निकाल्न तथा बढ्दो वृद्ध–वृद्धाहरूको जनसंख्यासंग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात बच्चा जन्माउन प्रेरित गर्न थालिएको घटनाबाट हामीले पनि सिक्नु पर्ने भएको छ र जुन दरमा जनसंख्या वृद्धिदर ओरालो लागेको छ, कतै त्यसले भविष्यमा संकट त निम्त्याउने होइन भनेर अहिल्यै देखि सचेत हुन पर्ने भएको छ ।
थोरै सन्तानको समृद्धि भन्ने होइन बरु उचित स्याहार, सुसार, आहार अनि स्वास्थ वातावरण पाएर हुर्केको सन्तान समृद्धिको सूचक हो भन्ने तथ्यलाई आत्मसाथ गर्दै जनसंख्याको उचित आकारबारे बहस थालनी गरौं अनि आवश्यक परे अहिलेका स्लोगनलाई परिमार्जन गरौं । विश्व जनसंख्या दिवसको अग्रिम शुभकामना ।
जनसंख्या र समुन्नति साइना
previous post