कर्मथलो दमौलीको दैनिकीबाट केही दिन फुर्सद मिलेपछि यसै साताको सुरुमा जन्मथलो राम्जाकोट गएको थिएँ । एक समय थियो, कार्यालयका विभिन्न कामले दमौली झरेपछि गाउँ फर्कनु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । तर अहिलेको रोजाई बजार होइन । बाध्यता ज्यादा र रोजाइ कम । अरुले भन्दा धेरै कमाउने, छिमेकिको भन्दा अग्लो घर बनाउने, छोराछोरी सबै विदेश भएका र आफुपनि एक वा केहिपटक गएर आएको अथवा जाने तयारीमा रहेको सुनाउने तँछाडमछाडले अन्य शहर जस्तै दमौली पाने ब्यस्त र ग्रस्त छ । यतिमात्र छैन शहरमा, बरु शहरमा त अरुले भन्दा राम्रो गाडी चढ्ने होड छ ।
यातायातका साधनको २४ घण्टे कर्कश ध्वनी, धुलो घुँवा, अभाव, वैचेनी आदिको भकारी वर्तमान शहर बनेका छन् । यि सबैबाट छोटो समयका लागी भएपनि उन्मुक्ति पाउने लालसाले मलाई गाउँ डो¥याउने गर्छ । जीवनको झुण्डै चार दशक गुजारेको मात्र होइन जन्मेको, बाबाको हात समाएर तातेताते गर्दै हिड्न सिकेको, बाबाकै काँध चढेर खेतबारी छरछिमेक डुलेको गाउँ प्यारो नलाग्ने र त्यहाँ दिन विताउन नचाहने कुरै भएन । त्यसैले छोटो समय फुर्सद हुनासाथ म गाउँ पुग्ने गर्छ र शिर्षक सोही क्रममा बसमा बजेको लोक दोहोरी गीतको अंश हो ।
५० को दशक तिर निकै लोकप्रिय तर आजकल कम बज्ने÷बजाइने र सुनिने यो लोकदोहोरीका संकलक, लय र संगीत भर्ने तथा सुमधुर स्वरले शब्दमा प्राण भर्ने कसैको नाम सम्झना नभएको र यहाँ उन्लेख गर्न नसकेकोमा क्षमा माग्दै आजको विषयवस्तु अगाडी बढाउन चाहन्छु ।
चौतारी देखिन छाडेको बेला संगै उभिएका वर र पिपल देख्न पाउनु दुर्लभ संयोग भएको छ । शहर होस या गाउँ चौतारी देखिनु मरुभूमिमा पानी पाउनु जस्तै त नभनौ तर कठिन भएको छ । मेरो हजुरबा–आमाले लगाउनु भएको चौतारी भन्दै सगर्व चौतारीको ढुङ्गामा बसेर गफ गर्ने पुस्ता संगसंगै चौतारी पनी हराउँदै गएका छन् । चर्को घममा सितल ताप्न वा सानोतिनो पानी पर्दा बटुवा,गोठाला, गाईवस्तु वा अन्य जीवजनावर र मानिसका लागि उपयोगी हुन्छ भनेर चौतारी लगाउने पुस्ता छैन अब । भित्री उद्देश्य यसका अतिरिक चराचुरुङ्गीले खाना र बास पाउने हुन्थ्यो भने आवरणमा धर्म हुन्छ भनिन्थ्यो चौतारी लगाउनुको । अब धर्म हुने कुरामा विश्वास गर्ने पुस्ता वाँकी छैन । ‘म खाउँ मै लाऊँ सुखसयल वा मोज म गरुँ’ भन्ने कविशिरोमणी लेखनाथ पौडेलको कवितांशलाई आदर्श वाक्य मान्नेहरुको बाहुल्य भएको वर्तमानमा परहितको कुरा कसले गरोस् । हाँसको बीचमा बकुल्लो बन्नु किन ?
पिपलले अन्य वृक्षको तुलनामा धेरै अक्सिजन उत्सर्जन गर्छ जुन मानिसलाई स्वासप्रस्वास प्रक्रियामा अत्यावश्यक हुन्छ भनेर भन्न सक्ने युवा वा बालपुस्ता छ । परीक्षामा सोधिएको वा अन्य कुनैबेला राखेको वढी अक्सिजन दिने वनस्पती हुन्छ हो? जिज्ञासामा ‘पिपल’ भन्न धेरैले सक्छन् । तर सार्वजनिक स्थलमा भएको चौतारीमा रहेका बर पीपलको रुख काट्न र चौतारी भत्काउन अग्रसर हुनेपनि उनै हुन् । यसले हाम्रो शिक्षा प्रणालीमा भएको खाक्रोपन उदाङ्गो पार्छ । हिन्दी चलाचित्र थ्रि इडियटस मा पढाइको अर्थ बुझ्नुपर्छ भन्दा होइन म घोकेर जानी हान्छु भन्ने विद्यार्थी ले चमत्कार शब्दलाई बदलेर लिखित भाषणमा बलात्कार बनाइदिंदा सन्दर्भको खोजी नै नगरी ‘बलात्कार’ भनेको सम्झना पीपल काट्न र चौतारी भत्काउन अग्रसर पुस्ता देख्दा हुन्छ । पीपललाई विष्णु भगवानको प्रतिरुप मानेर पुजा गर्ने पुस्ता अब सुड्डो भयो । सड्डोको वास्तविक अर्थ मलाई थाहा भएन तर अहिलेको आफूलाई आधुनिक र युवा भन्ने पुस्ताले अपहित, अबुझ र वृद्ध भन्नु पर्दा सुड्डो शब्द प्रयोग गर्छन् । उनीहरुकै भाषामा आउट डेटेड ।
यसको अर्थ सबै युवा र बालपुस्ता बुबा वा हजुरबुवाको पुस्तालाई आउट डेटेड भन्ने र उनीहरुका कामलाई अन्धविश्वास भन्ने छन् भन्नु होइन । सार्वजनिक स्थलमा रहेका वर पिपलका चौतारी मासिंदै जाँदा चिन्ता ब्यक्त गर्ने संरक्षणका लागि अभियान सञ्चालन गर्ने युवाहरु पनि छन् । तिनै युवाहरुको बलमा दमौलीको अनसन चौतारी बाँकी छ, संरक्षित अवस्थामा ।
प्रकाृति र मानिसबीचको अन्योन्याश्रित सम्बन्ध पढेर मात्र होइन बुझेर बर पिपलका चौतारी संरक्षणमा लाग्ने युवाको संख्या बढ्दै गएको छ । यद्यपी सार्वजनिक स्थल र चोकमा भएका चौतारी अतिक्रमण गरेर कमाउने धन्दामा लाग्नेहरूसँग लडेर चोकको चौतारा जोगाउनु कठिन काम भएको छ ।
चौतारीको वा पिपलको मात्र होइन सार्वजनिक स्थलको संरक्षण कठिन काम भएको छ । यसैसाताको सुरुमा गाउँ आई गाडीबाट झरेर घरतर्फ हिड्दै गर्दा मैले वाल्यकालमा विद्यालयबाट फर्कदा सातपत्रे खेलेर रमाउने फराकिलो चौर सम्झिएँ । उक्त सार्वजनिक चौर अतिक्रमणको चपेटामा परेर अहिले त्यहाँ घर, गोठ र वगैचा बनेको छ । केटाकेटीले खेल्ने र रमाउने खुल्ला स्थानको अभाव शहर र गाउँ दुवैतिर हुन थालेको छ । दमौलीमै जमिन र सम्पत्तीका भोकाहरुले डांग्रे खोल्सीको अस्तित्व नामेट बनाईसकेका छन् । साथीसंगी भेटघाट हुने, खेल्ने– रमाउने खुल्ला ठाउँ नहुँदा बालबालिका घरको छतमा वा कोठाको चारभित्तामा सीमित हुन बाध्य भएका छन् । अनि बालबालिका टेलीभिजन, मोबाइल वा ल्यापटप हेर्नमा ब्यस्त नभएर के गरुन । यसले बालबालिकाको सामाजिकिकरण र शारीरिक विकासमा आउने समस्या तर्फ धेरैको चासो देखिएको छैन वा अकूत धनार्जन गर्ने महत्वाकांक्षाले अन्धो बनाएको छ । पोखरी पुरेर घर बनाएका, खोला मिचेर घर बनाएका वा सार्वजनिक स्थलमा भएका चौतारा वा वगैंचा मासेर निजी संरचना खडा गरेका र कमाएका समाचार यसैका उदाहरण हुन् ।
मायाँ भेट्दा मात्र होइन पीपल चौतारीमा बस्दा पनि मनमा सितलु हुन्छ भन्ने कुरा हामीले जतिछिटो बुझ्छौ, त्यति नै छिटो चोक–चौतारी संरक्षणमा लाग्न थाल्छौ । हाम्रा पिता पुर्खाले बैठक, छलफल र न्याय निरुपणको थलो बाउने गरेको बर पिपल चौतारी हाम्रा लागि पनि त्यति नै आवश्यक छ जति हाम्रा बुवा वा हजुरबुबालाई आवश्यक थियो । प्रकृति र मानवबीचको सन्तुलित सम्बन्धले नै हाम्रो अस्तित्व सुरक्षित रहन्छ ।
वर्ष २०८१ ले हामीलाई मानव – प्रकृति सम्बन्ध बुझन सक्षम बनाओस् । शुभकामना ।
चौतारीमा बर र पिपलु, मायाँ भेट्दा मन हुन्छ सितलु
previous post