भानु, व्यास, शुक्ला हुँदै चितुवाको आक्रमण अब आँबुखैरेनीसम्म पुगेको छ । भानुमा ६ जना बालबालिकाको ज्यान लिएर आतंक मच्चाएको चितुवाको आतंक अब आँबुखेरेनी सम्म पुगेको हो । केही दिन अघि शुक्लागण्डकीका एक बालकको ज्यान लिएको समाचार आएको थियो । सोको दुःख विर्सन नभ्याउँदै आँबुखैरेनीमा जंगली जनावरले एक बालकको ज्यान लिएको खबरले समग्र तनहुँबासीलाई चिन्तित तुल्याएको छ ।
यसबीच चितुवा नियन्त्रणका लागि विभिन्न प्रयत्न भएका छन् । भानुमा खोर बनाएर केहि भाले तथा पोथी चितुवा परेर अन्यत्र स्थानान्तरण गरिएको छ । कतिपय चितुवा यही अवधिमा मृत अवस्थामा पनि भेटिए । तर आक्कलझुक्कल चितुवाको आक्रमण रोकिएको छैन । चितुवाको नियन्त्रण प्रयास प्रभावकारी हुन सकेको छैन ।
चितुवाले मानिसको ज्यान लिन थालेसंगै यसको नियन्त्रणका लागि भइरहेका प्रयासहरु प्रभावकारी हुन नसक्नुमा कतै हामी व्यथा एकातिर औषधी अर्काेतिर भन्ने भइरहेको त होइन ? भन्ने प्रश्न उब्जन थालेको छ । वासस्थानको अभाव त न होला किनभने सामुदायिक वनको विकासमा संसारमै सफल राष्ट्र मानिन्छ नेपाल र यसैका कारण चितुवाको वासस्थान सुरक्षित छ भन्न सकिन्छ । तर कतै मांशहारी जंगली जनावरको संख्या बढ्दै जाँदा अनि चोरी शिकारीका कारण उनीहरुको आहाराको अभाव हुँदा गाउँ निस्कन थालेका र जे शिकार गर्न सजिलो हुन्छ त्यही शिकार गरेर आफ्नो पेट भर्न थालेका त होइनन् भन्ने तर्फ कसैको ध्यान गएको देखिएको छैन । चितुवाको आहाराका रुपमा रहेका वन्यजन्तुहरु मानिसको आहारा बन्न गएसंगै कतै जंगलमा चितुवाको आहारामा कमि भएको त होइन ? हामीले उनीहरुको प्राकृतिक आहार खोसेका कारण उनीहरु भोकको आगो शान्त पार्न गाउँ छिर्न र हामीमाथि नै आक्रमणमा उत्रन थालेका त होइनन् ?
पिडित परिवारलाई राहत प्रदान गरेकै छौं, चितुवा नियन्त्रणको प्रयासपनि गरिरहेकै छौं भनेर बस्ने अवस्था यो होइन किनभने धेरै मानविय क्षति हामीले व्यहोरी सकेका छौं । के अझै पनि यत्रो मानविय क्षतिका बारेमा गम्भीर भएर सोच्ने बेला भएको छैन र ? कामना गरौं हामी सबैको ध्यान यता पनि जानेछ ।