गत सोमबार जुलाई ११ तारिखमा संसारभर र नेपालमा विश्वव जनसंख्या दिवस मनाइयो । सन् १९८७ जुन ११ तारिखमा विश्वको जनसंख्या ५ अर्व पुगेको घोषणा गरिएको थियो र त्यही मितिलाई सम्झँदै सन् १९८९ बाट विश्व जनसंख्या दिवस मनाउन थालिएको हो ।
विश्वको जनसंख्या ५ अर्व पुगेको घोषणा गरिएको ३५ वर्ष र केही महिनामा अर्थात सन् २०२२ को नोभेम्बर १५ तरिखमा विश्वको जनसंख्या ८ अर्व पुग्ने प्रक्षेपण संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले गरेको छ । ‘आठ अर्ब जनसंख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ भन्ने नाराका साथ यस वर्षको विश्व जनसंख्या दिवस मनाइयो । र यो नाराको अर्थ बढ्दो जनसंख्यालाई उचित अवसरको प्राप्ती तर्फ विश्व समुदायको ध्यान जाओस् भन्ने हो ।
कुनैपनि देशको यथोचित विकासका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको त्यस देशमा रहेको मानवसाधन हो । अझ भनौै मानव साधनको उपलब्धता विना देश विकासको कल्पना गर्न सकिँदैन । कुन आकारका जनसंख्या हुँनु कुनै देशका लागि उपयुक्त हुन्छ भन्ने कुरा त्यस देशको भुगोल र त्यहाँ उपलब्ध हुने प्राकृतिक साधनमा भर पर्दछ । ठूलो भुगोल अनि पर्याप्त प्राकृतिक साधन भएको देशमा सानो आकारको जनसंख्या उपयुक्त होइन । त्यसरी नै सानो भुगोल र प्राकृृतिक साधनको उपलब्धता कम भएको देशमा ठूलो आकारको जनसंख्या उपयुक्त होइन ।
ठूलो भूगोल तथा पर्याप्त प्राकृतिक साधन भएको देशमा सानो आकारको जनसंख्या हुँदा देशको उपयुक्त विकास हुन सक्दैन भने ठिक त्यसरी नै सानो भूगोल तथा सीमित मात्रामा प्राकृतिक साधन भएको देशमा ठूलो आकारको जनसंख्या हुँदा पनि विकास हुन सक्दैन । अधिक र कम जनसंख्या देश विकासका लागि उपयुक्त होइनन् । जनसंख्या कम हुँदा प्राकृतिक साधनको पूर्ण प्रयोग हुन पाउँदैन र विकासले गति लिन सक्दैन भने अधिक जनसंख्या हुँदा प्राकृतिक साधनको पूर्ण प्रयोग भैसकेको हुनाले विकासको गति अवरुद्ध हुन जान्छ । तर हामीले मनन गर्नुपर्ने कुरा के हो भने जसंख्याको आकार ठूलो हुँदैमा विकास हुने होइन बरु त्यसका लागि त दक्ष जनशक्तिको आवश्यकता पर्दछ । भूगोल ठूलो हुने, प्राकृतिक साधनको उपलब्धता पनि पर्याप्त हुने अनि जनसंख्याको आकार पनि ठूलो हुने तर उपलब्ध जनशक्ति अदक्ष खालको हुने हो भने देश विकास सम्भव हुँदैन । विकास बहुआयामिक कुरा हो तर त्यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मानव साधन र त्यो पनि दक्ष मानव साधनको उपलब्धता हो ।
सन्दर्भः जनसंख्या दिवस
जनसंख्या, विकास र अस्तित्वका बारेको कफी गफमा मित्र छविदीप आले,जापान जनसंख्याको न्यून वृद्धिदरका कारण केही दशकमा जापानी रहित जापान बन्ने खतरा रहेका प्रति चिन्ता व्यक्त गर्न थालिएको बताउँदै हुनुहुन्थ्यो । जापानका लागि घट्दो जनसंख्या वृद्धिदर चिन्ताको विषय हो । उत्पादक उमेर समूहको जनसंख्याको अभावका कारण जापानमा विकासले अपेक्षित गति लिन सकेको त छैन नै अब त अस्तित्व संकटको समेत भयावह कल्पना जापानीले गर्न थालेका छन् । हरक्षण काममा व्यस्त रहने वर्तमान युवा पुस्ताको विवाहका प्रतिको अरुचि जापानका लागि थप चिन्ताको विषय बनेको हामीले सुन्ने गरेकै हौं । नेपालमा केही वर्ष अगाडिसम्म जनसंख्याको अधिक वृद्धि चिन्ताको विषय थियो । तर २०७८ को जनगणनाको प्रारम्भिक नतिजा हेर्दा हामीले पनि जापानको नियती भोग्नु पर्ने त होइन भन्ने चिन्ताले सताउन थालेको छ । २०५८ बाट २०६८ को दशको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको नेपालका जनसंख्या वृद्धिदर २०६८–२०७८ को दशकमा ०.९३ प्रतिशतमा झरेको छ । २०६८ को जनगणनासम्म ऋणात्मक जनसंख्या वृद्धिदर भएका जिल्लाको संख्या एक हातको औलामा गन्न सकिने थियो तर पछिल्लो दशकमा यस्ता जिल्लाको संख्या ३२ पुगेको छ । “भैसीलाई सिङको भारी हुँदैन” भन्दै दर्जन छोराछोरी जन्माउने अवस्थाबाट “दुइमात्र सन्तान इश्वरका बरदान” भन्ने अवस्थामा नेपाली समाज आईपुग्नुलाई सकारात्मक मान्नु पर्छ । तर जनुरुपमा जनसंख्या वृद्धिदर घटेको छ, त्यो भने चिन्ताको विषय बन्न सक्ने अनुमान लगाउन सकिन्छ ।
आधुनिक प्रविधिको प्रयोगमा अभ्यस्त भैनसकेको तथा ति प्रविधिको प्रयोग गर्न सक्षम समेत नभएको नेपाल जस्ता देशको विकासमा जनसंख्या नै प्रमुख सहयोगी हो । तर औषत आयु बढ्दै जाने तथा शिशु मृत्युदर घट्दै जाने हुँदा पनि हाम्रो देशमा जुन रुपमा जनसंख्या वृद्धिदर घट्दो क्रममा छ, त्यो अवश्य चिन्ता र चासोको विषय हो । राज्य सञ्चालकहरुको अयोग्यता, अदूरदर्शिता र भ्रष्ट प्रवृत्तिका कारण झण्डै तीन करोड जनसंख्या पनि हाम्रा लागि धेरै भएको छ । रोजगारीको सृजना गर्ने, कृषिमा आधुनिकिकरण गर्ने, उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने हो भने जनसंख्याको यो आकार हाम्रालागि ठूलो होइन बरु यसले देशको कायाकल्प गर्न सक्छ ।
हाम्रा नेताहरुले गाउँलाई बसौं बसौं बनाउने भाषण त गरे तर काम गरेनन् र रामेछाप अहिले माइनस १.६ प्रतिशतको जनसंख्या बृद्धिदर रहेको जिल्ला भनिन अभिशप्त छ अनि उसैको लाईनमा छन् बाँकी ३१ जिल्ला । ऋणात्मक जनसंख्या वृद्धिदर भएका भनिएका जिल्लाको जनसंख्या वृद्धि ऋणात्मक हुनुमा त्यहाँको जन्मदर कम हुन मात्र कारण होइन बरु गाउँमा स्वास्थ्य, शिक्षा, यातायात, विद्युत जस्ता सुविधाको कमि हुँदा सुविधाको खोजी अनि विभिन्न अवसरको खोजीमामा वसाइसरारई गर्नेको लर्काे लाग्नु हो ।
गाउँमा सेवा र सुविधा उपलब्ध गराउन सक्दा कतै थामि नसक्नु जनसंख्या त कतै गाउँ नै रित्तिने अवस्था अवस्य आउने थिएन् । रोजगारीको अवसर सृजनाका उपायहरुको खोजी, कृषि पेशामा लाग्नेहरुलाई प्रोत्साहनका कार्यक्रम हुने हो भने अहिलेको जनसंख्याको आकार हाम्रा लागि बोझ होइन बरु घट्दो जनसंख्याको वृद्धिदर भने भविष्यमा समस्याको कारण बन्न सक्छ । अधिक जनसंख्या संगै अल्पजनसंख्या पनि विकासमा बाधक हुन्छ भन्ने सत्यलाई राज्यले समयमै आत्मसाथ गर्न सकोस् ।