
नेपालको अहिले शासन व्यवस्था के हो ? कुन पद्दतिको आधारमा अहिले शासन व्यवस्था चलिरहेको छ ? भन्दा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ भनिए पनि वास्तवमा एतिखेर नेपालमा गणतन्त्र छैन । यदि वर्तमान समयमा नेपाल कुनै विधिबाट, कुनै तन्त्रबाट सञ्चालित छ भने एउटै तन्त्रबाट सञ्चालित, त्यो हो “मनपरीतन्त्र”राजनैतिक शक्तिको नेतृत्व वर्गको हर्कतले वर्तमानमा त्यही संकेत गर्दछ ।
नेपालमा पहिलो पटक २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भयो । त्यस कारण प्रत्येक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाइन्थ्यो, अहिले भनिन्छ मात्र । फागुन ७ गतेको ऐतिहासिक महत्वलाई अहिलेका राजनैतिक शक्तिहरुले बिर्सिसकेका छन् । सायद सरकारले याद गर्न चाहँदैन किनकी तरुण अवस्थामा पनि पुग्न नपाएको प्रजातन्त्रलाई यिनै सत्ता र शक्तिका लोभीहरुले उहिल्यै बाल्यावस्थामै घाँटी निमोठी सकेका छन् ।
भोली फागुन ७ गते, यदि अहिले पनि नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था हुँदो हो त भोली प्रजातन्त्र ७० वर्षको हुने थियो । तर अफसोच नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था छैन । प्रजातन्त्रको स्थापना नेपालमा एत्तिकै हचुवाको भरमा भएको थिएन । न त कुनै शक्ति विशेषको स्वार्थ पूरा गर्नको लागि नै प्रजातन्त्रको स्थापना गरिएको थियो । जहानियाँ निरंकुश राणा शासनबाट नेपाली जनतालाई स्वतन्त्र गराउनको लागि प्रजातन्त्रको स्थापना भएको थियो । नेपाल आमाका सपूतहरु महान सहिदको रगतको बलिदानबाट प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र कसैले टपक्क टिपेर ल्याई दिएको शासन व्यवस्था थिएन, कदापि थिएन । यसको पछाडि संघर्षका लामो कथा छ । र त्यो संघर्ष नेपाल र नेपालीको लागि थियो । सम्पूर्ण नेपालीको लागि । २००७ सालमा जन्मिएको प्रजातन्त्रलाई शक्तिको मोहमा डुबेर राजा महेन्द्रले १० वर्षको कलिलो उमेरमा नै कोमामा पु¥याई दिए । लगभग तीन दशक लाग्यो, प्रजातन्त्रलाई त्यो कोमाबाट व्यूँझिन । २०४६ सालमा बहुदल आएपछि बल्ल २०४६ चैत्र २६ गते प्रजातन्त्रको पुनः बहाली भयो । लगभग ४० वर्षका तरुण अवस्थामा हुनुपर्ने प्रजातन्त्रले मर्दा मर्दै बल्लतल्ल सास फेर्न थाल्यो । नेपालको संविधान २०४७ ले प्रजातन्त्रको सम्मान गर्दै संवैधानिक राजतन्त्रको स्थापना ग¥यो । देशमा राजतन्त्र ने भएपनि त्यहाँ प्रजातन्त्र पनि थियो । जनताका हक अधिकारहरु संविधानले सुरक्षित गरिदिएको थियो । राजा देशको पहिलो व्यक्ति भएपनि उ संविधानभन्दा माथि थिएन् । तर यही कुरा केही सिमित व्यक्तिहरुलाई आँखाको कसिंगर बन्न पुग्यो । गासको ढुँगा बन्न पुग्यो । त्यसैले त प्रचण्ड र बाबुरामहरु मिलेर २०५२ सालमा जनयुद्धको सुरुवात गरे । राजतन्त्रलाई समाप्त पारेर राज्य सत्ता उल्ट्याउने नाममा भर्खर व्युँझेको प्रजातन्त्र माथि निर्मम प्रहार हुन थाल्यो । अन्ततः२०६२÷६३ को आन्दोलनले राजतन्त्रको अन्त्य गरी लोकतन्त्र÷गणतन्त्रको स्थापना ग¥यो । अहिले त गणतन्त्र पनि कमसेकम दुइ खुट्टाले टुकटुक हिँड्नु पर्ने हो तर अहिले ओली सरकार पुरै सरकारलाई पनि दोष नदिउँ, वस एक जना व्यक्ति केपी ओलीको मनपरी तन्त्रले गणतन्त्रको पनि घाँटी थिचिएको छ । यदि यस्तै पारा रहिरहने हो भने गणतन्त्रको पनि छिट्टै धड्कन बन्द हुनेछ । जसरी हिजो बाबुराम प्रचण्ड र मोहन बैद्यहरुले आफू शक्ति र सत्तामा पुग्न प्रजातन्त्रको हत्या गरे । त्यसरी नै यदि नेपाली जनता अब पनि नजाग्ने हो भने आजिवन आफू शक्तिमा रहनको लागि केपी ओलीले पनि गणतन्त्रको हत्या नगर्लान भन्न सकिदैन । उनि अगाडि बढेको दिशा र चालेको कदमले त यही संकेत गर्दैन र । हिजो बाबुराम र प्रचण्डहरुले कथित जनयुद्धको नाममा संघर्ष गर्दै गर्दा हजारौं हजार मान्छे मार्दै गर्दा प्रजातन्त्रले तड्पितड्पि प्राण त्याग गर्नु प¥यो । जनताको लागि लडेको भनेर दश बर्षसम्म दाजूभाई जाजूभाई बीच युद्ध गराई रहे । राष्ट्रिय सम्पत्तिहरु भत्कि रहे । बैंकहरु लुटिइ रहे । महिलाहरुको सिउँदो पुछियो । अन्त्यमा जनताले पाए के ? हिजो रुकुम रोल्पाको जंगलमा मिटिङ बस्ने प्रचण्ड बाबुरामहरु निर्धक्क पेरीस डाँडामा बैठक बस्ने भए । हिजो खद्दरको पाईन्ट भेष्ट लगाएर बन्दुक भिरेर हिड्नेहरु कोट पाईन्ट लगाउनेलाई सुकिला मुकिला भनेर गालि गर्नेहरु आफै सुकिलो मुकिलो बनेर चिल्ला गाडि चढ्ने भए । हिजो परिवर्तनका लागि भनेर बन्दुक भिर्नेहरु बन्दुक भिरेको मान्छे अगाडि पछाडि लगाएर हिड्न सक्ने भए । हिजो धेरै सम्पत्ति भएको मानिसलाई सामन्ति भन्दै भौतिक कारवाहीको नाममा हत्या गर्नेहरुसंग आज करोडौं अरबौंको सम्पत्ति छ । त्यति हैन दश बर्षे युद्धले ल्याएको परिवर्तन ? जनतालाई त प्रजातन्त्रको फेरेर लोकतन्त्र राखेर आँखामा धुलो छ¥या मात्र हैन र ? लोकमन्त्रको जप्दा पनि आफ्नो स्वार्थ सिद्ध नभएपछि फेरी गणतन्त्रको शुरु लगाएको न हो ।
हिजो संगै लडि हिडेका प्रचण्ड मोहन बाबुराम र रामबहादुरहरु आज अंशबण्डा नमिलेको दाजूभाई जस्ता भएका छन् । कोही अरुलाई काखी च्यापेर बसेका छन् । कोही अरुको शरणमा पुगेका छन् । अरुको शरणमा पुगेका छन् । यस्ता शक्ति र स्वार्थका लोभिहरुले गणतन्त्रको पनि हालत प्रजातन्त्रको जस्तै बनाउन के बेर ?
नेकपाका प्रथम अध्यक्ष केपी ओली अहिले प्रधानमन्त्री छन् । अस्ति भरखर घटेको वैतडीको दुःखद ३टनाको अपराधी पत्ता लागि सक्यो तर उनकै शरणमा आएको रामबहादुरले किन अहिलेसम्म निर्मला पन्तको अपराधी समाउन सकेको छैन ? स्वर्गिय मदन भण्डारी, तत्कालिन नेकपा एमालेका महासचिव जसको योगदानको व्याज अहिले पनि नेकपाले खाईरहेको छ, जस्की श्रीमति अहिले राष्ट्रको प्रथम व्यक्ति छिन् र पनि किन र कसरी अझैसम्म बच्न सफल भएका छन्, मदन भण्डारीका हत्याराहरु ? यो प्रश्नको उत्तर छ केपी ओलीसंग ? हुन त सरकारको नियमित काम कारवाहीलाई आफ्नो ठूलो उपलब्ध बताउँदै हिड्ने, आफ्नो कमजोरी लुकाउन अरुलाई तुच्छ भाषामा गाली गर्दै हिड्ने, सभा सम्मेलनमा उखान टुक्का भन्दै कार्यकर्ता हसाएर तालि खान पल्केका प्रधानमन्त्री ओलीसंग यो प्रश्नको उत्तर के होला र खै ?
प्रचण्ड बाबुरामहरुको त जन्म नै हिंसाबाट भएको हो, त्यसैले अब पनि तिनीहरुको कुरा पत्याएर फेरी सत्तामा पु¥याउनु भनेको त हिन्दी उखान ‘आ बयल मुझे मार’ भने जस्तै हो । तर प्रधानमन्त्री केपी ओली त सिद्धान्तको राजनीतिबाट आएका मान्छे हुन र पनि किन उनले यस्तो गैरसैद्धान्तिक काम गरिरहेका छन् ? जसरी हिजो मोहन बैद्य बाबुराम र विप्लबलाइ पाखा लगाउँदै जाँदा प्रचण्ड एक्लिएर माधव कुमारतिर घुस्नु परेको छ त्यसरी नै आफ्नो सिद्धान्त मिल्ने सहकर्मिहरुलाई पाखा लगाउँदै बादलको साथ प्यारो लाग्न थाल्दा आफ्नो राजनीतिक भविष्यमा नै बादल लाग्न सक्छ भन्ने कुरा केपी जत्तिको मान्छेले पक्कै बुझेका होलान् ।
खैर यिनिहरुको राजनीतिक भविष्य कस्को के हुन्छ ? त्यो भोलिको दिनमा हेर्दै जाउँला । तर पंक्तिकारको विचारमा आम नेपाली चिन्तित र सचेत चाही के कुरामा नभै हुँदैन भने यिनिहरुको आपसी स्वार्थको सिद्धिको राजनीतिले गणतन्त्रको भविष्य खतरामा नपरोस् । यिनीहरु भनेका हल नमिलेका ति गोरु जस्ता हुन्, जो एउटै गोठमा बस्छन् तर बारीमा जोत्न जाँदा कहिले कुन संग कहिले कुन संग हुन्छन् । संगै नारीदियो भने एउटाले एकातिर अर्कोतिर अर्कातिर तानेर मेलै सर्दैन । बारी बाँझै हुन्छ । तर साँझ विहान कुडो पानी एउटै गोठमा खान्छन् । अझ भनौं एउटै डेक्चीमा खान्छन् । यि नमिल्ने भनेको, जोत्ने बेलामा मात्रै हो । हाम्रो राजनीतिक नेतृत्व पनि यस्तै छन्, आपसी स्वार्थ सिद्धि र लुटमारको लागि यिनीहरु सँधै एकजुट हुन्छन् । त्यस्तो अवस्थामा यिनीहरुको ब्रेकफास्ट, लन्च डिनर पनि संगै हुन्छ । जब विकासको समृद्धिको कुरा आउँछ, एउटा पूर्व फर्कियो, अर्को पश्चिम । अनि एक अर्कालाई दोषादोष ग¥यो, त्यसैले हामी सचेत हुनै पर्दछ । यी हल नमिलेका गोरु जस्ता नेताहरुले कतै आफ्नो स्वार्थ सिद्धीका लागि गणतन्त्रको पनि घाँटी ननिमोठुन्, जसरी प्रजातन्त्रको निमोठिएको थियो ।