डिसेम्बर १ अर्थात मंसिर १५ गते नेपालमा पनि ३१ औं विश्व एड्स दिवस मनाइयो । यो दिवस मनाइरहँदा नेपालले एच आइभी संक्रमणको दरमा उल्लेख्य कमि ल्याउन सकेकोमा गर्वै गर्नु पर्ने तथ्याङ्कहरुले बताएका छन् । संसार भर पछिल्लो सात वर्षको अवधिमा एचआइभीको नयाँ संक्रमण दरमा जम्मा १६ प्रतिशतले कमि आउँदा नेपालमा भने ६१ प्रतिशतले कमि आएको छ । यसै गरी बच्चाहरुमा हुने संक्रमणमा संसारभर ३५ प्रतिशतले कमि आउँदा नेपालमा ६३ प्रतिशतले कमि आएको छ । सन् ८० को दशकमा जानकारीमा आएर अति छोटो समयमा विश्वव्यापि रुपमा महामारीको रुप लिएर मानव सभ्यताको विकासमै चुनौति बन्न पुगेको एचआइभीको संक्रमण दर नियन्त्रणमा नेपालको सफलता वास्तवमै गर्व गर्न लायक छ ।
“एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाआँै” “पलयध थयगच कतबतगक” भन्ने यस वर्षको विश्व एड्स दिवसको नाराको निहितार्थ एड्स भएका व्यक्तिहरुको गुणस्तरिय उपचारमा पहूँच बढाई स्वस्थ रुपमा जीवन यापन गर्न सक्षम बनाउनका लागि उनीहरुको एचआइभीको अवस्था थाहा पाउनु सबभन्दा महत्वपूर्ण हुन्छ भन्ने हो । विश्व समुदाय यतिबेला सन् २०३० सम्ममा संसारबाट एड्सको महामारी अन्त्य गर्ने प्रतिवद्धताका साथ अगाडि बढिरहेको छ । हामीले पनि हातमालो गर्दै मानव सभ्यताको विकासमा चुनौति बनेको एचआइभी र एड्सको अन्त्यका लागि दिगो विकासको लक्ष्यमा सहयोग गर्नुछ । सोही अनुरुप नेपाल सरकारले संक्रमितलाई निःशुल्क औषधीको व्यवस्था गरेको छ । एचआइभी रोकथाम, हेरचाह र सहयोग तथा उपचार सम्बन्धी कार्यलाई तिब्रता दिएको छ । जुन सरकारको दायित्व पनि हो ।
उपचार निःशुल्क हुनु, रोकथामका प्रयत्न गरिनु, हेरचाह तथा सहयोगको व्यवस्था गर्नु मात्र नेपाली समाजमा पर्याप्त होइन । समाजले एचआइभी संक्रमित र एड्स भएको व्यक्ति भनेर चिने पछि गर्ने हेलाँ र दुव्र्यवहारका कारण अझै कति संक्रमितहरु परिक्षणमा नआएका हुन सक्छन् । उनीहरुलाई जाँच गर्ने वातावरण निर्माण पनि राज्यको दायित्व हो र आगामि दिनमा यस्तो वातावरण निर्माणमा सरकार अग्रसर हुनु पर्दछ ।
संक्रमितलाई हेलाँ र दुव्र्यवहार होइन मायाँ र सद्भाव व्यक्त गरौं । यसले पनि संक्रमणको दरलाई कम गर्न सघाउने छ । अन्त्यमा एचआइभी विरुद्धको लडाईं जित्न सबैको संयुक्त र समन्वयात्मक प्रयासको खाँचो रहेकाले सबैले यता तर्फ मन लगाऔं । एड्स रोक्ने प्रतिवद्धता पूरा गरौं ।