चैत्र ७ गते, नेपाली राजनीतिको एक युगका संवाहक गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस । विराटनगर जुट मिलको मजदुर आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरी मुलुकको सर्वोच्च कार्यकारी पद ’प्रधानमन्त्री’ सम्म चार पटक पुगेका कोइरालाको अभाव आजको तरल राजनीतिमा झन् बढी खड्किएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा उनले निर्वाह गरेको भूमिका इतिहासको पानामा स्वर्ण अक्षरले कुँदिएको छ ।
गिरिजाप्रसाद कोइराला केवल एक दलका नेता मात्र थिएनन्, उनी संकटका बेला सबैलाई एउटै टेबुलमा ल्याउन सक्ने ‘अभिभावक’ पनि थिए । २०६१ माघ १९ को शाही कदमपछि विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको एकसुत्रीय माग लिएर उनले गरेको सडक संघर्ष र त्यसपछि सात दल एवं विद्रोही माओवादीलाई १२ बुँदे समझदारी मार्फत एउटै धारमा ल्याउनु उनको जीवनको सबैभन्दा ठूलो राजनीतिक कौशल थियो । १७ हजार नेपालीको ज्यान लिने गरी भएको दशक लामो सशस्त्र द्वन्द्वलाई विस्तृत शान्ति सम्झौतामार्फत अवतरण गराउनु र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रलाई विदा गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा डो¥याउनु कोइरालाको अदम्य साहसको परिणाम हो ।
यद्यपि, कोइरालाको लामो राजनीतिक जीवन विवादरहित भने रहेन । उनको पहिलो कार्यकालमा सुरु भएका शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका उदारवादी नीतिहरूले मुलुकमा आधुनिक विकासको जग बसाले । तर टनकपुर सन्धि, धमिजा, लाउडा र चेज एयर जस्ता काण्डहरूले उनको छविलाई बेलाबेला धमिल्याउने काम ग¥यो । जीवनको उत्तरार्धमा ‘पुत्री मोह’ का कारण लागेको दाग र केही अपारदर्शी नियुक्तिहरूले उनको कद घटाउन खोजे पनि, राष्ट्रिय संकटका बेला उनले देखाउने ‘दृढ निश्चय’ ले ती कमजोरीहरूलाई ओझेलमा पारिदिए ।
गिरिजाबाबुले सधैं ‘सहमति, सहकार्य र एकता’ को मन्त्र जप्ने गर्थे । आज मुलुकमा गणतन्त्र त आएको छ, तर कोइरालाले देखाएको त्यो राजनीतिक संस्कार र राष्ट्रिय सहमतिको मार्ग भने कताकता अलमलिएको भान हुन्छ । सत्ताको लुछाचुँडी र दलहरूबीचको बढ्दो अविश्वासका बीच कोइराला जस्तो निडर र निर्णय लिन सक्ने नेतृत्वको खाँचो अझै टड्कारो छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलन र गणतन्त्रको संस्थागत विकासमा कोइरालाले पु¥याएको योगदान आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनिरहनेछ । १६औँ स्मृति दिवसको यस घडीमा गिरिजाबाबुप्रति शब्द–श्रद्धा अर्पण गर्दै गर्दा, उनले देखाएको लोकतान्त्रिक बाटो र सहमतिको राजनीतिको मर्मलाई आत्मसात् गर्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
गिरिजाबाबुः सहमतिका सूत्रधार र गणतन्त्रका सारथि-सम्पादकीय
previous post
