गतांकबाट निरन्तर………
उपचारका लागि क्यान्सर अस्पताल पु¥याएपछि सायद दिदीलाई अनुमान भएको हुनुपर्छ कि कतै मलाई क्यान्सर भएको त होइन् ? तर हामी मध्ये कसैले उहाँलाई यो बताउन सकिरहेका थिएनौं । उहाँले सोध्दा के रोग हो पत्ता नलागेकाले विभिन्न अस्पताल धाउनु परेको भनेर अनि अन्य कुरा गरेर प्रसङ्ग अन्यत्र मोडिरहेका थियौं । तर कति दिन यसो भनेर टार्न सकिन्थ्यो र ? तीन दिन भित्र शल्यक्रिया गर्ने तय भएको र डाक्टरहरुले सफल शल्यक्रियामा विश्वस्त हुन भनेकाले दिदीलाई बतायौं ।
भाइ राजेन्द्र र म साथै थियौं । मलाई डर लागेको थियो कि दिदीलाई कसरी सम्हाल्ने । दिदी पक्कै आफ्नो जीवन समाप्त भएको निश्कर्षमा पुग्नु हुन्छ र धेरै रुनु हुन्छ । स्वाभाविक डर त दिदीको मुहारमा देखिन्थ्यो तर रुनु साटो उहाँले गुनासो गर्नु भयो कि मलाई यत्रो समय किन नभनेको भनेर । हामीले फेरी पनि पूर्ण सत्य बोल्ने हिम्मत गर्न सकेनौं । र भन्यौं ः क्यान्सर त हो तर सामान्य अवस्थामा छ । पित्त थैलीमा क्यान्सर भएको रहेछ, सानो शल्यक्रिया गरेर त्यसलाई फालेपछि ठिक हुन्छ । तपाईंलाई क्यान्सर भएको भन्दा धेरै चिन्ता गर्नु हुन्छ भनेर नभनेको । दिदीले थप प्रश्न गर्नु भएन । हामीलाई राहात भयो ।
शल्यक्रियाको दिन पनि तय भएको र आफ्नो जागिर पनि धान्नु पर्ने भएकाले एक÷दुइ दिनपछि आउने वाचा गरेर म दमौली फर्किएँ । त्यो विचमा के भयो थाहा भएन तर दिदीलाई भरतपुरमा रहेको बीपी मेमोरियल क्यान्सर अस्पतालमा ल्याउनु हुने भएछ । अहिले सम्झंदा लाग्छ, शल्यक्रियामा जोखिम रहेकाले त्यहाँका डाक्टरहरु तयार भएनन् । हामीलाई सान्त्वना दिनमात्र शल्यक्रिया सफल हुने बताइरहेका थिए कि उनीहरुले । यद्यपि शल्यक्रियाको मिति तय भएको विरामीलाई वीचैमा अन्यत्र पठाउनु डाक्टरी धर्म अनुकूल हो वा प्रतिकूल म अझै द्विविधामा छु ।
अब भने मलाई पनि साँच्चै डर लाग्ने थालेको थियो । किन भक्तपुर अस्पतालले ३ दिनमा शल्यक्रिया गर्ने मिति तय गरेका विरामी अन्यत्र रिफर ग¥यो ? अनेकौं शंका जन्माउने खालका प्रश्नहरु मनमा आउन थाले । एमविविएस अध्ययनरत ठूला भञ्जालाई हेर्थं, उनको सामान्य मुख मण्डल देखेर आफुलाई पनि सामान्य बनाउने प्रयत्न गर्थैं । किनभने मलाई लाग्थ्यो, सम्बन्धित विषयको विद्यार्थी भएका नाताले रोगको गम्भीरताको बारेमा उनलाई बढी नै जानकारी छ । उनले पक्कै चसो पूर्वक जानकारी हासिल गरेका छन्, आफ्नी आमाको रोगका बारेमा । यस्तो अवस्थामा उनको सामान्य व्यवहारले मलाई आवश्वस्त तुल्याएको थियो ।
भर्ना गरेको हप्ता भित्रै शल्यक्रियाको मिति तय भयो । बीर अस्पताल र भक्तपुर अस्पतालका डाक्टरहरुले देखाएको व्यवहारले त यो मितिमा पनि दिदीको शल्यक्रिया हुनेमा शंका लागेका थियो । तर भिनाजुको चिनजानका डाक्टरहरु भएकाले त्यस्तो नहोला भन्ने पनि लाग्थ्यो घरीघरी । हामी त हरेक हिसाबले तयार थियौं । तर शंसय अस्पतालसंग नै बाँकी थियो । यसपटक मेरो शंसयले काम गरेन, शल्यक्रियाका लागि आवश्यक उपकरण र औषधी किनेर ल्याउन अस्पतालले हामीलाई आग्रह ग¥यो,जुन हामी आफैले जुटाउनु पर्ने रहेछ । मलाई लागेको थियो, अस्पतालले नै सबै सामानको बन्दोवस्त गर्छ, हामीले त लागेको शुल्क तिरे पुग्छ । तर त्यस्तो होइन रहेछ । जे भएपनि शल्यक्रिया हुने कुराले हामीलमा खुसीको सिमा थिएन । हाम्रा लागि ठूलो उपलब्धी प्राप्त भएको थियो र हामी शल्यक्रियाका औजार तथा अन्य आवश्यक औषधी संकलन गर्ने तर्फ लाग्यौं । यी सबै सामान पाउन अर्काे महाभारत जित्नु पर्ने रहेछ । अस्पतालसंग त चाहिने आधा औषधी र औजार पनि रहेनछ । दौडधुप गरेर आवश्यक सबै औजार र औषधी जम्मा पा¥यौं । यति गरिसक्दा हामी सबैलाई ठूलो सन्तोष भयो । अब हामी दिदीलाई अपरेसन थिएटरमा लगेको र ८ घण्टा पछि अपरेशन सफल भएको भन्दै त्यसमा सहभागी चिकित्सकहरु हँसिलो मुहार लिएर बाहिर आएको क्षणको प्रतिक्षामा रहन थाल्यौं ।
प्रतिक्षाको घडी सकियो । दिदीलाई शल्यक्रियाका लागि तयार पारे, नर्सहरुले । अपरेसन कक्षमा लग्दा विरामले लगाउने पोशाक फरक हुने रहेछ । केही क्षणमा थिएटरमा दिदीलाई लगेपछि हामी त्यहाँ जम्मा भएका सबै आफन्तले सफल शल्यक्रियाको कामना ग¥यौं । म केही दिनदेखि रुघा खोकीले ग्रस्त थिएँ । धेरै दौड धूप र खानपान तथा वसाई अव्यवस्थाका कारण हुनुपर्छ । र म भाई राजेन्द्रलाई साथ लिएर चितवनकै अर्काे अस्पताल गए । अस्पतालमात्र के छिरेको थिएँ,दिदीलाई अपरेशन गर्न लगेको एक घण्टा पनि भएको थिएन, भाञ्जा विज्ञानको फोन आयो “ मामा, मम्मीलाई अपरेशनबाट निकाल्योे, हजुर छिट्टो आउनु होला ।” आठ घण्टा लाग्छ भनेका अपरेसन कसरी यति चाँडै सकियो ? मनमा अनेक आशंका उब्जन थाले । हतार हतार हस्पिटल पुग्यौं । उपस्थित कसैको मुहारमा रङ्ग थिएन । मलाई देख्नासाथ भाञ्जा भक्कानिन लागे । मलाई परिस्थिती आँकलन गर्न गाह्रो हुने कुरै भएन । आफै सम्हालिन नसक्ने अवस्थामा थिएँ तर मैले सम्हाल्नु पर्ने दुइ भञ्जाहरु थिए अनि बहिनी थिइन साथमा । कुरा बुझ्दा शल्यक्रिया गरेर पनि फलदायी नहुने भएपछि दिदीलाई छिट्टै निकालिएको रहेछ । हात गोडा फतक्क गले । सर्वत्र अन्धकार भयो ।
दिदी अब हाम्रो साथमा हुनुहुन्न । मेरो सबै भन्दा नजिकको अभिभावक हुनुहुन्थ्यो उहाँ । नजिकको यस कारण कि उहाँ मलाई अध्ययन देखि अन्य धेरैकामको पथप्रदर्शक हुनु हुन्थ्यो । बहिनीको अभिभावकिय भूमिका पनि उहाँले नै लिनु भयो र मैले कहिल्यै अभिभावक नै हुनु परेन । अहिले सम्झँदा लाग्छ, बीर अस्पतालका डाक्टरले रोगको संवेदनशिलतालाई बुझेर बेलैमा अपरेशन गरिदिएका भए शायद हामीले दिदीलाई गुमाउनु पर्ने थिएन । मैले मेरो सबैभन्दा नजिकको अभिभावक गुमाउनु पर्ने थिएन । हामी डाक्टरहरुलाई भगवान सम्झन्छौं । तर के हाम्रो भगवान त्यति निष्ठुर हुन सक्छ । के कुनै भगवान आफ्नो भक्त मृत्युशैयामा छट्पटाउँदा आफु विदेश सयरमा निस्कन सक्छ ? तर कसैका प्रति गुनासो गरेर के हुन्छ र अब । तर म कामना गर्छु, हाम्रा डाक्टरहरु यति स्वार्थी नभइदिउन कि विरामीको ज्यान जाने खतरा देख्दा देख्दै विदेश सयरमा निस्कने । अस्तु ।
पहिलाे लेख: https://tanahunawaj.com.np/?p=3861