कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण खरबारीको डढेलो जस्तै फैलिएको छ । कोरोनाका कारण मृत्युवरण गर्नेहरुको संख्या पनि डरलाग्दो ढंगले बढेको
छ । आइतबार मात्र कोरोनाका कारण २८ जनाले ज्यान गुमाए । गत वर्ष संक्रमण दर उत्कर्षमा रहेर दैनिक पाँचहजार ७ सय पुगेका बेला समेत दैनिक मृतकको संख्या यति धेरै थिएन । नेपाल जस्तो सानो आकारको जनसंख्या भएको देशमा दैनिक दुइ दर्जनभन्दा बढी नागरिरकको ज्यान जानु चिन्ताजनक अवस्था हो । तर राज्य सञ्चालकहरु यति गैर जिम्मेबार छन् कि जनस्वास्थ्य भन्दा देशको अर्थव्यवस्था ठूलो भएको अभिव्यक्ति दिन्छन् ।
संवेदनशीलतालाई ध्यानमा राखेर कतिपय स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र निषेधाज्ञा जारी गरेका छन् । काठमाण्डौं उपत्यका लगाएतका केही स्थानमा साता लामो निषेधाज्ञा सुरु हुँदैछ । स्वास्थ्य क्षेत्रसंग सम्बन्धित व्यक्तिहरुले बालबालिका सबैभन्दा जोखिममा रहेको भन्दै धेरै पटक भनेपछि मात्र सरकारले सोमबार कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्व विद्यालय लगाएत अन्य विश्व विद्यालयहरुले भौतिक उपस्थितीमा हुने पठन पाठन र परीक्षाका सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।
विभिन्न अस्पतालका चिकित्सकहरुका अनुसार अवस्था अत्यन्त चिन्ताजनक छ । अस्पतालमा वेडहरु छैनन् । कोभिडका विरामीकालागि अत्यावश्यकहुने अक्सिजन तथा कतिपय औषधीको अभाव हुने अवस्था छ । बेड नहुँदा विरामीको एम्बुलेन्समै उपचार गर्नुपर्ने वा उपचार गर्न नपाएर घर फर्कनु पर्ने र मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । तर सरकारले जस्तै नागरिकले पनि कोरोना संक्रमणको यो भयावहतालाई गम्भीरता पूर्वक लिएको देखिएको छैन । तर अब हामी सबै सचेत हुनु जरुरी भै सकेको छ ।
गत वर्ष देखिएको कोभिडको भन्दा यसपटकको कोरोना संक्रमणका लक्षणहरु भिन्न छन् र जोखिमपूर्ण पनि । शरिर दुख्ने, आँखा पाक्ने, धाँटी दुख्ने, पखाला लाग्ने, शरिरमा डावर आउने, औलाहरुको रङ बदलिने तथा टाउको दुख्ने जस्ता लक्षणहरु दोस्रो लहरको कोरोनाका लक्षणहरु रहेका छन् । यदि यस्ता लक्षणहरु आफुमा देखिएमा तथा अरु कसैमा दखिएमा परिक्षणका लागि जाने र जान सल्लाह दिने गरौं । मास्क लगाएर मात्र घर बाहिर निस्कने गरौं । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कौं । सावधानी अपानाउन सके आफु बाँच्न र अरुलाई पनि बचाउन सकिन्छ ।