शिव सरस्वती मावि तनहुँको शिक्षा क्षेत्रमा सामान्य चासो राख्ने सबैका लागि परिचित नाम हो दान बहादुर श्रेष्ठ । निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिरहेको यो विद्यालय दक्षिण तनहुँको नमूना विद्यालयको रुपमा समेत परिचित छ । २०३२ सालमा स्थापना भएको यो विद्यालयले आगामी माघ २५ मा स्वर्ण महोत्सव समारोह आयाजना गर्दैछ । सोही सन्दर्भमा तनहुँ आवाज साप्ताहिकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठसंग गरेको कुराकानीको सम्पादित अंश ।
तपाईँ व्यवस्थापनको नेतृत्वमा रहेको विद्यालयले स्वर्ण महोत्सव मनाउँदै छ । विद्यालय स्थापना यताको पाँच दशकलाई कसरी सम्झनु हुन्छ ?
सबैभन्दा पहिले हाम्रा विचारहरु राख्ने अवसर प्रदान गर्नु भएकोमा तनहुँ आवाजलाई धन्यवाद दिन चाहन्छु । खासगरी विद्यालय र शिक्षा क्षेत्रको विकासको कुरा गर्दा कुनै एक जनाले कायापलट गर्न सक्दैन । तसर्थ मभन्दा पहिला विद्यालय व्यवस्थापनको नेतृत्वमा रहेर काम गर्ने अग्रजहरुका प्रति हृदयदखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । चेतनाका हिसाबले पछाडी रहेको भनिएको यो क्षेत्रमा विद्यालय स्थापना गर्ने र त्यसलाई टिकाइराख्ने काममा अहोरात्र खट्नु हुने पूर्व विव्यस अध्यक्षहरु तथा सदस्यहरु र प्रत्यक्ष अनि अप्रत्यक्ष सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्न चाहन्छु ।
अरुण प्रावि कसरी शिव मावि बन्यो ?
यो विद्यालयको नाम शिव मावि हुन पूर्व यसको नाम अरुण प्राथमिक विद्यालय थियो । अरुण प्रावि अहिले ऋषिङ गापा ७ मचदाङमा रहेको छ । शिव मावि नामाकरण पूर्व यो विद्यालयको प्रधानाध्यापक शिवराज चन हुनुहुन्थ्यो भन्ने हामीले पढेको हौं । मलाई उहाँको नाम लिँदा मात्र पनि गर्व हुन्छ किनभने ऋषिङ बाहिरको भएर पनि विद्यालयको स्थायित्वका लागि आफ्नो तबलबाट शिक्षक राख्ने, दिनरात खट्ने गर्नु हुन्थ्यो । घरमा बुबाआमा तथा परिवारका अन्य सदस्यको पालनपोषण गर्ने दायित्व एकातिर हुँदा हुँदै यस क्षेत्रको शैक्षिक विकासमा उहाँले दिनु भएको योगदानको कदर गर्दै २०३२ सालमा यहाँका हाम्रा अग्रजहरुले उहाँको नाममा विद्यालयको नामाकरण गर्नु भएको थियो । ऋषिङको शैक्षिक उन्नयनमा उदाहरणिय कार्यका लागि स्व. चनको योगदानको स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्दछु । योगदानको कदर गर्न ऋषिङले पहिल्यै जानेको हरेछ भन्ने कुराले ऋषिङे भएकोमा थप खुसी लाग्छ ।
अहिले विद्यालयको नाममा पूर्व अध्यक्ष सरस्वतीकृष्ण श्रेष्ष्ठको नाम पनि जोडिएको छ । यसबारे पनि केही बताईदिनुस् न ।
मैले अघि नै भने कि थुप्रै अग्रजहरुको अतुलनिय योगदानका कारण शिवसरस्वती मावि अहिलेको स्थानमा आइपुगको हो । यहाँले जसको सन्दर्भ उठाउनु भयो । ऋषिङ क्षेत्रको विकासको कुरा गर्दा सरस्वती आजपनि हाम्रा सामु भएको भए ऋषिङको मुहार भिन्दै हुन्थ्यो भन्नेहरु प्रसस्त हुनुहुन्छ । उहाँको देहावसान पछि परिवारजनले राज्यले तोकेको शुल्क विद्यालयलाई प्रदान गर्नु भएपछि २०६७ सालमा उहाँको नाम जोडिएको हो । विद्यालयको सन्दर्भमा मात्र होइन, अन्य सन्दर्भमा पनि उहाँ अत्यन्त क्रियाशिल व्यक्ति हुनुहुन्थ्यो ।
यहाँ विव्यस अध्यक्षको दोस्रो कार्यकालमा हुनुहुन्छ । आजसम्मको यात्रा कस्तो छ ?
यो साढे चार दशकमा मभन्दा अगाडी ११ जनाले विद्यालय व्यवस्थापनको नेतृत्व गरिसक्नु भएको छ । २०७६ जेठ ११ मा विव्यस अध्यक्षमा निर्वाचित भएसंगै विद्यालयको शैक्षिक स्तरमा आमूल सुधार गर्ने तथा प्राविधिक विषयको पढाइ समेत सञ्चालन गर्ने योजनाका साथ काम गरिरहेका छौं । यसका लागि अर्थ संकलन गर्न सोही वर्ष माघमा महायज्ञको आयोजना ग¥यौं । प्राविधिक विषयको पढाई सञ्चालन गर्न हामी सफल भयौं तर लगतै कोभिड आयो र सोचे जति काम गर्ने अवसर भने पाइएन । तर कतिपय द्विविधाहरु हटाउने अवसर त्यो समयले मलाई दियो । शिक्षक, विद्यार्थी र अभिभावकका बारेमा थप जान्ने मौका मिल्यो । पहिलो कार्यकाल सिक्ने अवसरको रुपमा रह्यो । पछिल्लो कार्यकाल विद्यालयको शैक्षिक र भौतिक विकासमा सक्दो काम गरिरहेको छु । यसै विद्यालयको विद्यार्थी, दुइ कार्यकाल विव्यस सदस्य भएकोले विद्यालय बनाउनु पर्छ भन्ने एक खालको भोक म मा छ र सोही अनुसार क्षमताले भ्याएसम्म गरिरहेको छु ।
यहाँले कोभिडका कारण राम्रो काम गर्न नपाएको उल्लेख गर्नु भयो । कोभिडले विद्यार्थीको सिकाईमा ठूलो क्षति पु¥याएको छ । परिपूरणका केही योजना छन् ?
कोभिडका कारण सिकाई घेरै नभएपनि केही क्षति व्यहोरेका विद्यार्थी अहिले कक्षा ९,१० मा अध्ययनरत छन् । यनीहरुले व्यहोरेका क्षति परिपूरण गर्न अघिल्लो वर्षदेखि नै सिकाई सुधारका योजनाहरु विद्यालयले सञ्चालनमा ल्याएको छ । कक्षा ८,९ र १० मा कठिन भनिएका विषयको अतिरिक्त कक्षाहरु सञ्चालन गरिएका छन् । कक्षा ९ र १० मा गणित विषयका दैनिक दुइ पिरियड पढाइ हुने व्यवस्था गरिएको छ । प्राथमिक तह सिकाई सुधार समिति बनाएर क्षतिको परिपूरण गर्ने प्रयास गरिएको छ । कोभिडका कारण सबैभन्दा धेरै सिकाई क्षति व्यहोरेका विद्यार्थीहरु अहिले कक्षा १२ मा भएकाले उनीहरुका लागि अतिरिक्त कक्षाहरुको व्यवस्था गरिएको छ ।
विद्यालयमा विद्यार्थी उपस्थिती बढाउँदै सिकाई सुधार गर्ने उद्देश्यले दिवा खाजा कार्यक्रम कार्यान्वयनमा छ । यसको प्रभाव मूल्याङ्कन गर्नु भएको छ ? कस्तो नतिजा पाउनु भएको छ ?
दिवा खाजाको मैले देखेको सबैभन्दा सकारात्मक पक्ष भनेको सबै विद्यार्थीले एउटै खाजा खाने हो । धनीका बच्चाले खाने खाजा र गरिबको बच्चाले खाने खाजामा हुने समानताले गरिब हुनुको हिनता बालबालिकाले पाल्नु पर्ने छैन । यद्यपि खाजाबापत प्राप्त हुने रकम भने अत्यन्त कम छ । यसले विद्यार्थीले उपयुक्त पोषणयुक्त खाजा खान पाएका छैनन् । यसलाई मध्यनजर गरेर अभिभावकसंगको सल्लाह र सहमतीमा केही रकम अभिभावकले व्यहोर्ने गरी विद्यालयले सरकारले उपलब्ध गराएको मेनुमा भएको खाजा खुवाउने व्यवस्था गरेको छ । दिवा खाजाले विद्यार्थीको उपस्थिति अवश्य वढाएको छ । तर सिकाइमा सुधार भए नभएको जान्न भने केही समय हेर्नै पर्छ ।
शिवसरस्वती माविलाई तनुहँको दक्षिणको नमूना विद्यालय भनिन्छ । एसईई र एसएलसीको नतिजा कस्तो छ ?
नतिजामा उतार चढाबहरु भइरहेका छन् । २०७६ मा म अध्यक्ष भएर आउँदा यो विद्यालय गण्डकी प्रदेशमा १६ नम्बरमा र देशभरमा १०८ औं नम्बरमा थियौं । दुइ वर्ष अगाडीको हाम्रो नतिजा पनि निकै उत्साहजन थियो । तर ८० को एसईईको नतिजामा सन्तोष मान्ने ठाउँ रहेन । मैले अघिपनि भनें हामीले सुधारको प्रयत्नहरु गरेका छौं । हाम्रोमा दिवा छात्रावास सञ्चालन गरेर अतिरिक्त कक्षाहरु सञ्चालन भइरहेका छन् । फेरी कुरा के पनि हो भने कति हुँदा सन्तुष्ट हुने भन्ने सिमा हुँदो रहेनछ । प्राप्त नतिजामै सन्तुष्ट भयौं भने थप प्रगतिका बाटाहरु बन्द हुने भएकाले थप राम्रो गर्ने प्रयत्न जारी छ । अघिल्ला वर्ष शिक्षण सिकाई क्रियाकलापमा देखिएका कमजोरी पहिल्याएर सुधार गर्दै लगेकाले राम्रो नतिजा आउने कुरामा विश्वस्त छौं ।
स्थानीय सरकारहरु विद्यालय र शिक्षक मैत्री भएनन् भन्ने आरोपहरु पनि छन् । यहाँको अनुभव कस्तो छ ?
राजनीतिको प्रभाव हरेक क्षेत्रमा पर्छ । तर हाम्रोमा अलिक बढी नै राजनैतिक चश्माले हेरिने भएकाले फरक विचार राख्ने शिक्षकहरु माथि न्यायपूर्ण व्यवहार भएन भन्ने आवाजहरु मैले पनि सुनेको छु । अभिभावकीय भूमिकामा हुनु पर्ने सबैभन्दा नजिकको सरकारले आफ्नो अभिभावकीय भूमिकामा न्याय गर्न नसकेको कुरामा म पनि सहमत
छु । जहाँसम्म विद्यालयको कुरा छ । खासगरी शिवसरस्वती माविको हकमा मेरो अुनभव भिन्न छ । हामीले प्राविधिक शिक्षा सञ्चालन गर्ने १५ औं गाउँ सभाले प्राविधिक तर्फको दरबन्दी उपलब्ध गराउने निर्णय ग¥यो । यसका अतिरिक्त अन्य विषयमा पनि स्थानीय सरकार हाम्रा सन्दर्भमा सहयोगी नै छ । मेरो व्यक्तिगत धारणाको कुरा गर्नुहुन्छ भने विद्यालयको अनुगमन, रेखदेख संघीय सरकार मातहत हुँदा राम्रो हुन्छ ।
शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई दिएसंगै विद्यालय अनुगमन तथा रखेदेखमा कमी आयो र परिणाम शैक्षिक गुणस्तर खस्कियो भन्ने गरिन्छ । यहाँको अनुभव कस्तो छ ?
कर्मचारी वा दक्ष जनशक्तिको अभाव देखाएर अुनगमन र मूल्याङ्कनको काम कम गरिनु दुर्भाग्य हो । सिंहदरबारको सरकार गाउँ गाउँमा भन्ने तर कार्यालय छेउको विद्यालय अनुगमन गर्न नभ्याउने भन्नु उपयुक्त तर्क होइन । तर मैले त्यस्तो अनुभव गरेको छैन । समयसमयमा अुनगमन आउने र आवश्यक सुझाब सल्लाह दिने काम भएको छ । हामीसंग भएको अनुगमन रकर्डले पनि त्यो देखाउँछ । तर फेरीपनि भन्छु कुनै पनि बहानामा यसमा कमि आउनु हुँदैन ।
प्राविधिक शिक्षा सञ्चालन गरेको बताउनु भयो । विषय, नतिजा यसले सृजना गरेको रोजगारी र स्वरोजगारीको अवस्था कस्तो छ ?
हामीले भेटेरिनरी विषयमा प्राविधिक शिक्षा दिइरहेका छौं र त्यो पनि निःशुल्क । पहिलो वर्ष हामीसंग २२ जना विद्यार्थी थिए र ९ जना उत्तिर्ण भए । जुन देशव्यापी नतिजाका हिसाबले राम्रो नतिजा हो । जहाँसम्म रोजगारीको कुरा छ । अधिकांश स्वरोजगारमा हुनुहुन्छ । केही लोकसेवाको तयारीमा हुनुहुन्छ भने कोही यही विद्यालयमा प्रशिक्षण सहायकको रुपमा आउने प्रयत्नमा हुनुहुन्छ । हामीलाई विश्वास छ । उहाँहरु सबै रोजगार हुनुहुनेछ । ऋषिङले एक वडा एक पशु प्राविधिकको व्यवस्था गरेको छ । यसले पनि उहाँहरुलाई रोजगार हुन सहज हुनेछ ।\
विद्यालयमा कक्षा ११ र १२ को पनि पढाइ भइरहेको छ । स्नातक तहको कक्षा सञ्चालनको सोच बनाउनु भएको छ ?
यो विषयमा हामीले झण्डै दुइ महिना अगाडी छलफल गरेका थियौं । सम्भाव्यतासंगै दीगोपनाका बारेमा पनि हामीले व्यापक छलफल गरेका छौं । शिक्षा विषयमा मात्रै भएपनि आगामी शैक्षिक शत्रबाट स्नातक तहको कक्षा सञ्चालन गर्ने निष्कर्षमा हामी पुगेका छौं । यसका लागि विभिन्न आदिकवि भानुभक्त क्याम्पस लगाएतका क्यापसहरुसंग अनुभव आदानप्रदानका कामहरु सुरु गर्दैछौं । विद्यालयको स्वर्ण महोत्सव लगतै यसका प्रक्रियाहरु अगाडी बढ्ने छन् ।
सुरुमै हामीले विद्यालयको स्वर्ण महोत्सवको कुरा ग¥यौं । यो अवसरमा के कस्ता कार्यक्रमहरु हुँदैछन् ?
स्वर्ण महोत्सवलाई सफलता पूर्वक सम्पन्न गर्ने भनेर मेरो नेतृत्वमा २५ सदस्य रहेको मूल समारोह समिति बनाएका छौं । स्वागत, सम्मान, आर्थिक संकलन, अतिरिक्त क्रियाकलाप लगाएतका दर्जन जति उपसमितिहरु समेत बनाएका छौं । विद्यालयको सिङ्गो इतिहास अभिलिखित गर्न स्मारिका प्रकाशन गर्ने योजना पनि छ । शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्ने खालका दीगो खालका कार्यक्रम ल्याउने योजना छ । स्वर्ण महोत्सवलाई साताव्यापि रुपमा मनाउने कार्यक्रम छ । अन्तर विद्यालय हाजिरीजवाफ गर्ने योजना पनि छ । यसले विद्यालय र विद्यार्थीको बीच आपसी प्रेम र सद्भावको विकास हुने विश्वास छ । ऋषिङ भित्रका सबै विद्यालय र विद्यार्थी अनि अभिभावकले मेरो पनि स्वर्ण महोत्वस हो भन्ने महसुस गरुन भन्ने हिसाबले कार्यक्रमहरु गर्ने छौं । यहाँको कौरा, मारुनी जस्ता सांस्कृतिक नृत्यको प्रदर्शन, विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत नृत्य प्रस्तुती पनि रहेन छ ।
विद्यालय व्यवस्थापनको नेतृत्व गर्दै गर्दा आम अभिभावकबाट कत्तिको सकारात्मक सहयोग पाउनु भएको छ ?
हाम्रा अभिभावक कति सहयोगी हुनुहुन्छ भन्ने कुरा पाँच वर्ष अघि सम्पन्न महायज्ञमा हामीलाई प्राप्त आर्थिक सहयोगले पनि बताइ सकेको छ । यस अर्थमा सबै अभिभावक, विद्यार्थी र शिक्षकको सकारात्मक सहयोगले मात्र विद्यालय यहाँ आइपुगेको हो । तिन वर्ष अगाडी हामीले प्राविधिक शिक्षा दिने, सभाहल बनाउने, व्यवस्थित पुस्तकाल तथा इ–पुस्तकालय र आर्थिक आत्मनिर्भरताका लागि व्यवसायिक भवन बनाउने भनेका थियौं । ति सबै काम अभिभावकको सहयोगमा सम्पन्न भएका छन् । छात्रा छात्रावास बनाउने र व्यवस्थित खेल मैदान हाम्रो तत्कालका प्राथमिकता हुन् । यो सबैमा अभिभावकको यस अघि जस्तौ सहयोग पाउने आशा छ । यो अवसरमा सबै पूर्व विव्यस अध्यक्ष, सदस्य, प्रधानाध्यापकहरु , शिक्षकहरु तथा अभिभावकहरु सबैलाई धन्यवाद दिन चाहन्छु । अन्त्यमा निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग गर्ने ऋषिङ गाउँ पालिका, हामीलाई अनुदान उपलब्ध गराउने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रति आभार व्यक्त गर्न चाहन्छु । साथै राज्यका निकायहरुलाई शिक्षामा लगानी बढाउँदै समुन्नत राष्ट्र निर्माणमा अग्रसर हुन समेत आग्रह गर्दछु ।