जातीय विभेद र छुवाछुत नेपालको सन्दर्भमा परापूर्वकालदेखि चलिआएको कुसंस्कार हो । कानुनी रुपमा जातको आधारमा भेदभाव र छुवाछुत गर्न पाईदैन । यो एउटा दण्डनीय अपराध हो र पनि नेपाली समाजमा आजको मितिसम्म पनि छुवाछुतको कुप्रथा कायमै छ । समय समयमा जातिय विभेदका कुराहरुको उग्र रुप पनि लिने गरेको पाईन्छ । यस्तै घटना फेरी एक पटक दोहोरिएको छ । राजधानी काठमाण्डौमा सञ्चारकर्मि रुपा सुनारले आफूले जातकै आधारमा भेदभाव गरी कोठा नदिएको कुरालाई लिएर प्रहरीमा उजुरी गरेपछि घरवेटी पक्राउ परेको कारणले जातिय विभदको कुरा फेरी एक पटक सतहमा आएको छ । यो प्रकरणमा पक्ष र विपक्षमा मत राख्नेहरुको आ–आफ्नै तर्क छ । सामाजिक सञ्जालको भित्ताहरुमा रुपा सुनार प्रकरणले गतिलै स्थान पाएको छ । कोही आफैलाई आफ्नो वेइज्यत गरेको भन्दै रुपालाई गालि गर्दै छन, कोही राम्रो ग¥यौ भन्दैछन् । कोही घररबेटीलाई तुरुन्तै रिहाई गर्न माग गरिरहेका छन् । जे होस् आफ्नो दृष्टिकोणबाट सही र सत्य लागेको कुृराहरु सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले व्यक्त गरिहेका छन । पंक्तिकार यो विषय माथि कलम चलाउने प्रयास गर्नुको तत्पर्य चारी रुपा सुनार सहि छिन या गलत भन्ने निक्र्योल गर्नु पक्कै होइन । तर रुपा सुनार प्रकरणमा व्यक्त भएका केही तर्कहरु माथि बहस गर्ने प्रयास भने पक्कै हो ।
तर्कहरु माथि बहस गर्नुपूर्व एक छिन घटनाकै विषयमा छलफल गरौं । सामाजिक सञ्जालमा केही रुपा सुनारलाई गाली गरिरहेका छन् । कोही ठीक भनिरहेका छन् । त्यस्तै कोही घरवेटीले जातिय विभेद गरेकै हो भन्ने पनि छन् । कोही उनलाई उनलाई दोषमुक्त देख्ने पनि छन् । पंक्तिकारको नजरमा भने उनिहरु दुवै आफ्नो ठाउँम ासही छन् । र गलत पनि । रुपा सुनार यो मानेमा सही छिन कि उनि आफै एक शिक्षित नागरिक भैकन पनि जातिय विभेदको शिकार हुनु पर्दछ भने, दलित भएको कारणले कोठा पाउँदिनन् भने अरु अशिक्षित र असाय दलित बनाइएकाहरुको के हालत होला । यसर्थ उनले आवाज उठाउनु पर्दथ्यो । उठाईन । गलत उनि यो मानेमा छिन कि यदि उनलाई साँच्चै नै जातिय विभेदको अन्त्य हुनु पर्दछ भन्ने लाग्छ भने उनले जातको कुरै उठान गर्न हुँदैनथ्यो । उनले आफैले म त कामी हुँ है भन्नुले सुनार जातिको हुनुमा कहिँ न कहि आफूप्रति हिनता बोध भएको अभाष गराउँदछ । जातिय मुक्तिको आवाज उठान गर्नेहरुलाई यस्तो हिनताबोधले शोभा दिंदैन ।
घरवेटी कै कुरा गर्दा पनि उनि सहि पनि छिन् र गलत पनि । सही यो अर्थमा कि हो उनको पनि घरमा अग्रजहरु होलान्, उनले जातपातको कुरा गर्दा नमाने पनि घरको बुढापाकाले मान्न सक्छन्, घरयासी निर्णयको कुराहरु एक्लै निर्णय गर्न गाह्रो हुन्छ । यसर्थ कोठा दिनु नदिनु उनको आफ्नो कुरा हो । उनि गलत कुन अर्थमा छिन् भने आफ्नो घरको अग्रजहरुले जातपातको कुरा मान्छन् भन्ने त उनलाई पक्कै पहिलेदेखि थाहा थियो होला । या यदि उनि आफै पनि जातपातको कुरा मान्छिन् भने पनि उनले यो कुरा पहिल्यै निश्चित गर्नु पर्दथ्यो कि कोठा कुन जातको मान्छेलाई दिनु पर्ने हो । किनभने कोठा खोज्न शुरुमै रुपा त गएकी थिईन् । घरवेटी र रुपाको बीचमा साथिहरु त थिए । जसले कोठा खोजि दिएका थिए, रुपाको जातको कुरा त उनिहरुबाटै पत्ता लगाउन सकिन्थ्यो । कोठा देखाईवरी मिलेर बस्नु पर्दछ है भन्नेसम्म सल्लाह गरेर कामी हो भन्ने थाहा पाएपछि घरमा सल्लाह गरेर खबर गर्छुले त प्रष्ट रुपमै जातिय भेदभाव गरेको हो भन्ने आधार दिदैन र ।
अब चाहि सामाजिक सञ्जालमा आएका तर्कहरु माथि केही तर्कहरु गरौं होला । एकाथरीको भनाई छ तिमीहरु आफ्नो जात लुकाउँछौं, थर फेर्छौ, खुलेर कुरा गर्ने हिम्मत राख्नु पर्दछ, अर्काथरी भन्छन् । तिमीहरुको निधारमा दमै, कामी, सार्की भनेर त लेख्या हुँदैन । किन सुनाउँदै हिड्नु प¥यो आफ्नो जात ? अब दलित भनिएका बनाइएकाहरुले कस्को कुरा सुन्ने ? मलाई मेरा विद्वान मित्रहरुसंग प्रश्न गर्न मन लाग्छ – दलित समुदायले आफ्नो थर फेर्नु पर्ने लुकाउनु पर्ने अवस्था, कस्ले सिर्जना गराएको हो ? कथित ठूलो जात भनिएकाहरुले नै होइन र । अनि जब उनिहरु आफने जात नलुकाईकन खुलेर आउँछन्, हामीले कस्तो सम्मान र व्यवहार गर्दछौं त्यो त रुपा सुनार प्रकरणले नै देखाउँछ । एउटा कोठासम्म पनि हामी दिंदैनौं । दलित बनाइएका समुदायको मानिसहरुलाई जात लुकाउँदा पनि सुख छैन । नलुकाउँदा पनि सुख छैन । यसमा गल्ति कस्को हो ? दलित समुदायको ?
जातीय भेदभावसंगै सम्वन्धित अर्को तर्क यहाँ प्रस्तुत गर्दछु । अलिक समय पहिला सामाजिक सञ्जालमा एउटा भिडियो देखें, जसमा एक जना कामी, सार्कीलाई साकी नभनेर के भन्ने भनेर कराउँदै हुनुहुन्थ्या । बडो उदेक लाग्दो । एकछिनको लागि उहाँको कुरालाई ठिकै मानौं । कामीलाई कामी भन्न पाउनु पर्दछ । तर हाम्रो समाजमा कथित ठूलो जात जस्लाई सोझो भाषामा भन्दा बाहुन क्षेत्री, बाबुनलाई बाहुन भन्दा त ब्रम्मण जातिका मानिसहरु हेपेर बाहुन भनेको भन्ने महसुस गर्दछन् भने दलित समुदायका मानिसहरुलाई त यो समाजले सानो जात अछुत भन्ने दर्जा दिएको छ । अनि उनिहरुलाई कामी, सार्की, दमाई भन्दा उनिहरुले चित्त दुखाउन नपाउनु । फेरी अर्को सभ्य भाषा भन्ने कुरा पनि त हुन्छ । आँखा नदेख्ने मान्छे अन्धो नै त हो, तर हामी दृष्टिविहिन भन्छौं । कान नसुन्न बहिरा नै हुन्, तर हामी सम्मानजनक भाषामा श्रवण शक्ति विहिन भन्छौं, हात खुट्टा नहुनेहरु डुँडो लंगडो नै हुन्, तर हामी सभ्य भाषामा शारीरिक अपाङ्गता भएका भन्छौं, भन्ने नगरेको भएप्नि भन्नु पर्दछ भने कामीलाई कामी नै भन्नु पर्छ भन्ने पनि त छैन । सभ्य र सम्मानित भाषामा दलित समुदाय भन्न सकिदैन र ?
जब जब जातिय विभेदको कुरा आउँछ, तब तब मान्छेहरु भन्ने गर्दछन्– कामीले दमैले छोएको खाँदैनन् रे । दमै सार्कीले छोएको, सार्कीले खै कस्ले छोएको नखाने । खै के के हो ? भेदभाव त ब्राह्मण जातिभित्र पनि छ कि उपाध्य र जैशी बीच भेदभाव छ । ब्राह्मण र क्षेत्री मै पनि भेदभाव छ । सार्की, कामी दमैका कुरा भनेको उनिहरुको जातिय समुदाय भित्रको कुरा हो । दलित समुदाय भित्र पनि भेदभाव छ भन्दैमा अरुले सिंगो दलित समुदायलाई भेदभाव गर्नु पर्दछ, गर्न पाउनु पर्दछ भन्ने पनि कुरा हुन्छ र ? गैरदलित समुदायका मानिसहरुले प्रायः एउटा कुरा भन्ने गर्दछन् । पहिला तिमीहरु आफू आफू बीचको छुवाछुत हटाउ । अनि हामीसंग बराबरी गरौला । हामी किन भन्न सक्दैनौं कि, हामीले तिमीहरुसंगको भेदभाव र छुवाछुत अन्त्य ग¥यौं, तिमीहरु पनि आफूआफूमा भेदभाव र छुवाछुत बन्द गर । छुवाछुत अन्त्यको कुरा दलितबाट नै शुरु हुनु पर्दछ अरुबाट हुनुहुँदैन भन्ने त कहि कतै लेखेको छैन होला ।
जातिय विभेदको कुरा निस्किदा प्रत्येक पटक उठ्ने कुरा हो कोटा वा भनौं आरक्षणको व्यवस्था । यो पटक पनि त्यही कुरा फेरी उठ्यो । अझ पहिल्य भन्दा धेरै । तिमीले दलित भएर कोठा पाईनौ, मैले बाहुन भएर कोटा पाईन । मलाई अचम्म लाग्छ, जातिय छुवाछुत र कोटाको सम्बन्ध चाहि के हो ? मेरो विद्वान मित्रहरुले कोटाको व्यवस्था किन गरेको, त्यसको अवधारणा किन आयो, भन्ने बुझ्नु भएको छैन र हो कि किन हो, जातिय विभेदको कुरा हुनासाथ कोटाको कुरा जोडि हालिन्छ, के दलित समुदायले मात्र कोटा पाएको छ ? अपाङ्गले पनि पाएको छ । अल्पसंख्यक पिछडिएका बर्ग, महिला सबैको लागि कोटाको व्यवस्था छ । राज्यको मूल धारमा पछाडि परेको महसुस गरेको सबैलाई आरक्षणको व्यवस्था गरेको छ । दलित समुदायले दलित भएको कारणले कोटा पाएको होइन नि । दलित समुदाय राज्यको मूल धारमा पछाडि परेकोले आरक्षण दिइएको हो । ताकि उ पनि अगाडि आउन सकोस् । महिला पुरुष बराबर हुन् । प्रकृतिले दिएको गुण बाहेक महिला पुरुषमा केही फरक छैन भनिन्छ । त्यसो भए महिला कोटा पनि हटाई दिउन । त्यस्तो माग त कसैले राख्दैनन् । जनजातिका मान्छेहरुलाई पनि तिमीहरु जाँडरक्सी खाएर आफै पछाडि परेका हौ, तिमीहरुलाई कोटासोटा दिनु पर्दैन भनि दिउँ न त । कसैले हिम्मत गर्दैनन् त ! अल्पसंख्यक पिछडिएका बर्गलाई पनि भनि दिउँ न तिमीहरु मान्छे नै थोरै छौ, किन आउन प¥यो अगाडि । तिमीहरुको कोटा खारेज । अपाङ्गता भएकाहरुलाई पनि भनि दिऊँ, तिमीहरुले समाङ्गले जति काम गर्न सक्दैनौं, अपाङ्ग कोटा हट्यो । कसैले भन्दैनन् त । आजको मितिसम्म पनि गैरदलित मानिसहरु यो भन्न तयार छैनन कि दलित समुदायका मानिसहरु पनि हामी जस्तै हुन् । हामी बराबर हौंं । गैरदलित समुदायको मानिसहरुमा मुखले जति जे भने पनि दलित समुदाय भन्दा हामी ठूलो हौं भन्ने भ्रम आजसम्म पनि कायमै छ । अनि आफूभित्र भएको त्यो पुरातनवादी सोंचलाई ढाक्न राज्यले व्यवस्था गरेको कोटालाई ढाल बनाउने ? गैरदलित अझ विशेष गरी ब्राह्मण क्षेत्री समुदायका पुरुष साथीहरुको गुनासो हुन्छ, कोटाले गर्दा मैले मौका पाइन । सय सिट मध्ये उनान्सय सिट त सबैको लागि खुल्ला छ त । त्यतिकै क्षमतावान भए उनन्सय सिटमा लड्न सक्न प¥यो नि । राज्यले अरुलाई दिएको एक सिटमा रिस गरेर हुन्छ र ? यदि केहि साथीहरुले भन्ने गरे जस्तो आरक्षण कोटाले सक्षम जनशक्तिलाई पाखा लगाएको हो भने सबै आरक्षण कोटा फेकी दिऊँ । महिला, अल्पसंख्यक, जनजाति, पिछडावर्ग, अपाङ्ग कोटा ति कोटाबाट पनि त असक्षम जनशक्ति आउन सक्ने सम्भावना त्यतिकै होला जति दलित कोटाबाट हुन्छ । गैर दलित समुदायको व्यक्तिहरुले पनि त आफ्नो छोरी बुहारी, छोरी श्रमिति दिदी बहिनीलाई जागिरको फर्म भराउँदा महिला कोटामा पनि भर्न लगाउनु भएकै होला । कतिले त महिला कोटामै जागिर खानु भएको होला, होइन र ?
जातिय विभेद कस्ले कस्ले कहाँ कसरी शुरु ग¥यो, त्यो अलग पाटो छँदै छ, तर आजको समयको समयसम्म पनि हामीलाई जातिय भेदभावमै अल्मलिई रहनु राष्ट्रको विकासको लागि ठूलो बाधक हो । रुपाको प्रकरणमा रुपा र घरवेटी दुवैलाई न्याय हुने गरी सम्मानित कानुन र प्रहरी प्रशासनले पक्कै निर्णय गर्नेनै छ । तर जातिय विभेदको अन्त्य जरुरी छ । हामी सबैले आ–आफ्नो ठाउँबाट यसको लागि पहल गरौं । आफैबाट, आफ्नो घरपरिवारबाट नै यसको थालनी गरौं । भनिन्छ नि सास फेर्नु छ, सुरुवातबाटै आफैबाट गर्नुछ ।
कोटा र कोठाका कुराहरु
previous post