
१. विषयप्रवेश
नेपालको इतिहासमा बीपी कोइराला संसार बुझेका, दृढ राष्ट्रवादी, अध्ययनशील, प्रजातान्त्रिक समाजवादका कट्टर अनुयायी, चामत्कारिक नेताको रुपमा चिनिनुहुन्छ । उहाँ कुशल राजनेता, प्रखर वक्ता, गहन अध्येता र परिवर्तन एवं चेतनाका संवाहक पनि हुनुहुन्थ्यो । नेपालको राजनीतिक इतिहासमा बीपी कोइराला अहिलेसम्म शीर्ष व्यक्तित्वको रुपमा कसैले मेटाउन नसक्ने गरी अङ्कित हुनुभएको छ । बीपी कोइरालाको शारिरीक व्यक्तित्व पनि सुन्दर अग्लो शरीरले युक्त थियो । अध्ययनशीलता, निर्भिकता र दार्शनिक स्पष्टतासहितको चिन्तन र कुशल नेतृत्व दिन सक्ने व्यक्तित्वका कारण उहाँमा एउटा राजनेतामा हुनुपर्ने धेरैजसो गुण थिए । उहाँ प्रजातान्त्रिक समाजवादी आन्दोलनका अगुवा, व्यवहारवादी परिवर्तनयुक्त राष्ट्रवादका व्याख्याता एवं बीसौ शताब्दीका सर्वोत्कृष्ट नेता हुनुहुन्थ्यो । बीपी कोइरालामा विद्यमान गुणमध्ये जोसुकैलाई तत्क्षण प्रभाव पार्न सक्ने, प्रहार थेग्न सक्ने, त्याग गर्न सक्ने, विशाल जनसमूहलाई एकै चोटी प्रभाव पार्न सक्ने विलक्षण प्रतिभाले युक्त हुनुहुन्थ्यो । नेपाली राजनीतिक क्षेत्रमा मात्र होइन बीपी कोइरालाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो पहिचान बनाउनुभएको थियो । खास गरेर समाजवादी आन्दोलनमा उहाँले अन्तर्राष्ट्रिय चिनारी बनाउनु भएको थियो । बीपी कोइरालाका कतिपय विचारलाई विश्वका नेताहरुले समेतअन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा गरेको पाइन्छ । जर्मनीका सोसियल डेमोक्रेसीका नेता तथा समाजवादीहरुको अन्तराष्ट्रिय सङ्गठनका अध्यक्ष विलि ब्राण्डको बुझाइमा बीपी कोइराला स्वतन्त्र र न्यायपूर्ण समाजका लागि प्रेरणा दिने व्यक्ति हुनुहुन्थ्यो । बीपी कोइरालाले अमेरिकाको २० विलियन डलर खर्च गरी चन्द्रमामा मानिस पठाउने कार्यक्रम भन्दा विश्वको गरिबी हटाउनमा खर्च गरेको भए राम्रो हुन्थ्यो भन्दै तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ क्यानेडी सरकारको अन्तरीक्ष योजनाप्रति आलोचनात्मक धारणा राख्नुभएको कुरा विलि बाण्डले एक प्रसङ्गमा उल्लेख गरेका छन। बीपी कोइरालाले राजनैतिक जीवनको प्रारम्भदेखि आफ्नो पाटर्टीले लिने आर्थिक नीतिहरुको बारे प्रष्ट हुनुहुन्थ्यो । उहाँले पूँजीवादी अर्थव्यवस्था तथा साम्यवादी अर्थ व्यवस्थाका राम्रा पक्षहरु समाहित गरेर प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नुभएको थियो । विस २०१२ सालको नेपाली कोंग्रेसको छैटौं वीरगञ्ज महाधिवेशनमा प्रजातान्त्रिक समाजवादको अवधारणालाई विधिवत र सर्वसम्मत रूपमा पार्टीको प्रमुख सिद्धान्त र लक्ष्यमा प्रवेश गराएर आफूलाई एक समाजवादी नेता र आफूले नेतृत्त्व गरेको पार्टीलाई एउटा समाजवादी पार्टीको रूपमा रुपानारण गर्नुभएको थियो । नेपाली काङ्ग्रेसलाई समाजवादी पार्टीमा परिणत गरेको घटनाले नेपाली काग्रेसका कार्यकर्ताहरुमा गरिबी, शोषण र अत्याचारबाट मुक्त हुन पाइने आशाको सञ्चार भएको लियो र त्यही भावनाले उनीहरूमा एउटा नयाँ स्फूर्ति र प्रेरणा प्राप्त भएको थियो । बीपी कोइरालामा एउटा सफल राजनेतामा हुनुपर्ने आवश्यक गुणहरु थिए । उहाँले प्रबाह गर्नु भएको आर्थिक विचारहरुको संश्लेषण र विश्लेषण गर्दा उहाँ एक समाजवादी अर्थशास्त्रीको रूपमा चिनिनुहुन्थ्यो तथापि उहाँको यससम्बन्धी छुट्टै ग्रन्थ भने प्रकाशित भएको छैन । उहाँले प्रजातान्त्रिक समाजवाद अन्तर्गत आर्थिक समानतालाई जोड दिनुभएको देखिन्छ जसका लागि उत्पादन तथा वितरणमा सन्तुलन हुनु पर्ने ठान्नुहुन्थ्यो। कोइरालाले उठाएको विषयवस्तु गरिबी अथवा दरिद्रताको वितरण होइन, उत्पादनको वितरण हो । आर्थिक समानताको नाममा धनीलाई गरिब बनाउने नभएर उत्पादनमा वृद्धिगरी सबैलाई धनी बनाउने बीपी कोइरालाको आर्थिक नीति हो । नेपालजस्तो मुलुकका लागि समाजवादी विकासको पहिलो पाइला उत्पादन वृद्धि रहेको उहाँको ठहर थियो । उहाँको कथन थियो पूँजीको विकास नभई आर्थिक विकास सम्भव छैन र उत्पादनमा वृद्धि नमइकन वितरणको प्रश्नै उठ्दैन । कृषिप्रधान मुलुक नेपालको विकासको खाका मूलतः कृषिमा आधारित हुनुपर्ने उहाँको धारणा थियो । उहाँले आफूजस्तै मध्यम वर्गीय परिवारको परिकल्पना गर्दै सबै नेपालीको खाना, नाना र छानाको व्यवस्था होस्, एक हल गोरु, जग्गा जमिन, एउटा दुहुनु गाई होस् भन्ने पनि बीपीको चाहना थियो। बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादका मुख्य दुई मध्ये राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिकस्तरमा गरिब जनतालाई सामाजिक न्याय दिने खालको विकास हो । यी दुई पक्षविना गरिबी उन्मूलन गर्छु भन्नु र स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो भन्ने धारणा राख्नुहुने कोइरालाले यी दुई पक्षमध्ये पनि आर्थिक पक्षमा बढी केन्द्रित हुनुहुन्थ्यो ।
२. बीपीको राष्ट्रवादी चिन्तन
बीपी कोइरालाले सुरुमा राष्ट्रवादलाई नागरिकको प्रजातान्त्रिक अधिकारसंग जोडेर विश्लेषण गरेको पाइन्छ । पछि अन्तर्राष्ट्रिय अनुभव बटुल्दै भारत निर्वासन छाडेर स्वदेश फर्कने क्रममा र त्यसपछि उहाँको राष्ट्रवाद राष्ट्रिय एकता, राष्ट्रिय अस्तित्वको रक्षा र प्रजातन्त्रतर्फ बढी उन्मुख भएको देखिन्छ । उहाँको विचारमा नेपालको अस्तित्वका लागि राष्ट्रियता अपरिहार्य तत्व हो तर त्यो प्रजातन्त्र र समाजवादविना अड्न सक्तैन । राष्ट्ररक्षा र प्रजातन्त्रका निम्ति आन्तरिक राष्ट्रिय शक्तिहरुका बीच मेलमिलाप अनिवार्य छ र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापबिना एकोहोरो अधिकार प्राप्तिका निम्ति गरिने प्रजातान्त्रिक आन्दोलनले विदेशी तत्वलाई मात्र फाइदा पुग्छ भन्ने उहाँको धारणा थियो । उहाँले राष्ट्र नरहे हामी पनि रहन्नौ भन्ने उद्घोषका साथ राष्ट्रवादी स्वार्थ भएको राजसंस्थासहितको शक्ति र जनताको प्रजातान्त्रिक अधिकार खोज्ने शक्ति बीचको मेलमिलाप नै राष्ट्रिय मेलमिलाप हो भन्नुभएको थियो । उहाँको राष्ट्रिय एकता र मेलमिलापको नीति तत्कालीन राष्ट्रिय तथा अन्तःराष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरेर व्यवहारिकतावादसँग सम्बन्धित नेपाली राष्ट्रवादमा आएको नयाँ सोच थियो ।
बीपी कोइरालाको राष्ट्रियता नागरिकमुखी, समाजमुखी, आर्थिक समृद्धि र समानता तथा पूर्णप्रजातन्त्रको आदर्शसँग जोडिएको छ । देशको अस्तित्व र देशका जनताको प्रजातान्त्रिक अधिकारलाई जोड दिदै भारत वा चीनमध्ये कुनै एकसँग मात्र निर्भर भएर राजनीति गर्ने सफल हुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो । बीपी कोइराला राष्ट्रवादी शक्ति र पूर्णप्रजातन्त्र माग्ने जनताको शक्तिबीचको स्वार्थको मिलानको अवस्थालाई मात्र प्रजातन्त्र मान्नुहुन्थ्यो । समाजवाद, साझापन, सहअस्तित्व, परिश्रमको फलको सुनिश्चितता, सामाजिक सुरक्षाजस्ता विषयसँग प्रजातान्त्रिक समाजवादयुक्त राष्ट्रियताको आवश्यकता बीपीको परिकल्पना थियो । कोइरालाले देशको विकासमा उत्पादनको अभिवृद्धि पूर्ण प्रजातन्त्रको अवस्थाबाट र वितरणको प्रवर्द्धन समाजवादी शैलीबाट हुनुपर्ने कुरामा जोड दिनुहुन्थ्यो । अधिकार प्राप्ति, आत्मसम्मानको रक्षा र मानवीय मर्यादालाई महत्व दिनुपर्ने तर जातीय र क्षेत्रीय आधारमा राजनीति गर्न नहुने बीपी कोइरालाको स्पष्ट धारणा थियो । नेपालको राष्ट्रियताको विषयमा अलमल भए देशको एक मुठी माटो हातमा लिएर सोच्न सबै नेपालीलाई सल्लाह दिने राजनेता पनि बीपी हुनुहुन्थ्यो । प्रजातन्त्रको जगमा मौलाएको न्यायपूर्ण आर्थिक वितरणयुक्त व्यवस्थामा मात्र राष्ट्रियता फस्टाउने कुरामा बीपी कोइराला विश्वस्त
हुनुहुन्थ्यो । कोइरालाले प्रजातन्त्रलाई संस्थागत गर्दै जाँदा राष्ट्रियता र प्रजातन्त्रलाई छुट्याउन नसकिने एक अर्काको परिपुरक मान्नुहुन्थ्यो ।
प्रजातान्त्रिक समाजवादले विश्वका मानव जाति सबैलाई भोक, रोग, गाँस, बास र कपासजस्ता न्यूनतम आवश्यकताबाट मुक्ति दिलाउने सोच राख्ने भएकाले नेपालमा प्रजातान्त्रिक समाजवादको आवश्यकता औल्याउनु भएको थियो । बीपी कोइराला समाजवादी अर्थव्यवस्थाप्रति बढी आश्वस्त हुनुहुन्थ्यो । सन् १९८१ मा अस्ट्रेलियाको राजधानी सिड्नीमा भएको सम्मेलनमा बीपी कोइरालाले भन्नुभएको थियो समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्दछ । समाजवाद तेस्रो विश्व भनौ या असङ्लग्न विश्वको लागि स्वभाविक पनि हो । समाजवादको मियोमा बाँधिएनन् भने तेस्रो विश्वका देशहरु या त फाँसिस्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिष्ट तानाशाही या कुनै सुधार विरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर जान्छन् भन्ने बीपीको धारणा
थियो ।
३. बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद
संसारका सबैजसो मुलुकमा अहिले नत पूर्ण समाजवादी व्यवस्था छ, नत पूर्ण पूँजीवादी व्यवस्था नै । विश्वका अधिकांश मुलुकहरुले अहिले अङ्गिकार गरेको आर्थिक व्यवस्था भनेको मिश्रित अर्थव्यवस्था हो । सिद्धान्ततः पूँजीवादले उत्पादनमा व्यक्तिलाई प्रधान मान्छ भने समाजवादले राज्यलाई प्रधान मान्दछ । एउटाले व्यक्तिबाट शोषण गर्दछ भने अर्कोले राज्यबाट शोषण गर्दछ । प्रजातान्त्रिक समाजवादले यी दुबै अतिवादबाट बचेर सन्तुलन कायम गर्ने प्रयास गर्दछ । तथापि प्रजातान्त्रिक समाजवादको खासै ठोस आकार छैन । अहिले पनि यो शास्त्रीय बहसकै विषय हो । देशको आवश्यकताअनुसार यसका प्राथमिकता निर्धारण र प्रविधिको प्रयोग आवश्यक हुन्छ । प्रजातान्त्रिक समाजवादले आर्थिक तथा राजनैतिक समानता दुबैलाई जोड दिएको हुन्छ । राजनैतिक समानता राजनैतिक क्रान्तिपछि प्राप्त हुने गर्दछ । यो एकै चोटी कार्यान्वयन हुन पनि सक्छ तर आर्थिक समानता एउटा लामो प्रक्रिया हो, यसका लागि लामो तथा निरन्तर प्रयासको आवश्यकता पर्दछ । बीपीको मौलिक प्रजातान्त्रिक समाजवादसम्बन्धी धारणाको सैद्धान्तिक पक्ष द्वितीय विश्वयुद्धपछि उपनिवेशवादबाट मुक्त भएका अधिकांश तेस्रो विश्वका स्वतन्त्र राष्ट्रहरूले राज्यकेन्द्रित विकासको मोडल बनाएको देखिन्छ । गरिबी र पछौटेपनबाट मुक्ति र आर्थिक विकास राज्यकेन्द्रित पद्धतिबाट मात्र हुन सक्ने मान्यता द्वितीय विश्वयुद्धपछि स्थापित भएको हो । उपनिवेशवाद र पूँजीवादबाट हुने शोषणको अन्त्यका लागि न्यायपूर्ण समाज स्थापनाका साथ योजनाबद्ध विकास, राष्ट्रियकरण र आर्थिक क्षेत्रमा सरकारको प्रत्यक्ष सलग्नतालाई मान्यता दिइयो । सरकारी संस्थानहरु र सरकारको स्वामित्वमा उद्योगहरु स्थापना गरी त्यसबाट प्राप्त नाफा र बचतबाट सामाजिक, लोककल्याणकारी कार्यक्रम र पूर्वाधार विकासमा लगानी गरिने अपेक्षा पनि समाजवादमा गरिएको देखिन्छ ।