यतिबेला संसार कोरोना भाइरससंग कसरी जुध्ने भनेर सोचिरहेको छ । हुनपनि संक्रमणको ४ महिनामा यसका कारण छ हजार बढीले ज्यान गुमाइ सकेका छन् । लाखौं संक्रमित बन्न पुगेका छन् । संसारका एकसय ६० भन्दा बढी देशहरु संक्रमणको मारमा छन् । सुखद कुरा के छ भने नेपालमा यो आलेख तयार पार्दाका मितिसम्म कोरोना संक्रमित भेटिएका छैनन् । तर के पनि सत्य हो भने हामी संक्रमणको जोखिमबाट टाढा छैनौं ।
मैले यो आलेखमा कोेरोनाका बारमा चर्चा गर्न खोजेको होइन । बरु संक्रमणको यो बेलामा नेपाल शिक्षक महासंघले देशभरका सामुदायिक विद्यालयका शिक्षकको पोशाक परिवर्तनका लागि प्रक्रिया आरम्भ गरेको विषयलाई उठान गर्न खोजेको हुँ । म गलत पनि हुन सक्छु तर महासंघबाट आम नागरिक र शिक्षकले यतिबेला पोशाक परिवर्तका कुरा होइन, कोरोना संक्रमणबाट कसरी जोगिन सकिन्छ भनेर चेतना मूलक कार्यक्रमको अपेक्षा गरेको थियो । कतै शिक्षक महासंघ कामकुरो एकातिर……… भन्ने नेपाली उखान चरितार्थ गर्ने गरी अनपेक्षित मार्ग उन्मुख हुन लागको त होइन भन्ने लागेसंगै अन्य केही जिज्ञासा पनि भएकाले यो आलेख मार्फत महासंघको नेतृत्वमा रहनेहरुसम्म पुगोस् भन्ने मेरो चाहना हो ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकको पोशाक निर्धारण भएको एक दशक पनि भएको छैन । अहिले उक्त पोशाक उपयुक्त भएन भनेर फेर्ने धुनमा महासंघ लागेको र नमुना पोशाक सामाजिक सञ्जालमा राखेर भोटका लागि आह्वान समेत गरिएको समाचार सुन्नमा आएको छ । अहिलेको पोशाक कसले अनुपयुक्त भन्यो र किन अनुपयुक्त लाग्यो भन्ने कुनै तर्क छैन । नेपालका शिक्षकहरुको छाता संस्था शिक्षक महासंकघले गर्नुपर्ने कामहरु अरु थुप्रै छन् । केही उदाहरणहरु म यहाँ प्रस्तुत गर्न चाहन्छु । विद्यालयमा कार्यरत कार्यालय सहायक र पूर्व प्राथमिक कक्षामा अध्यापनरत शिक्षकको पारिश्रमिक सरकार आफैले हस्ताक्षर गरेको श्रम कानुन भन्दा कम छ । अत्यन्त न्यून तलबमा उनीहरुलाई काम लगाइएको छ । आब २०७६÷२०७७ मा शिक्षक तथा कर्मचारीको तलब सुविधामा बृद्धि गरेको सरकारले न्यून तलबमा काम गरिरहेका विद्यालय कर्मचारी र पूर्व प्राथमिक कक्षामा अध्यापन गर्ने शिक्षकको तलबमा वृद्धि गर्न आवश्यक ठानेन् । आम शिक्षकहरुको चाहना छ, महासंघले ति कर्मचारी र शिक्षकको समस्याका बारेमा ठोस पहल कदमी लिएर समाधानमा पहल गरोस् ।
संविधानले शिक्षालाई नागरिकको मौलिक हकको रुपमा परिभाषित गरेको छ । तर सरकार भइरहेका विद्यालयहरु मर्ज गरेर बालबालिकाको उक्त हक छिन्ने प्रयत्नमा छ । विद्यालय मर्ज समस्याको समाधान होइन बरु यसले समस्या झन बढाउँछ भन्ने कुराको हेक्का नराखेको सरकारलाई हेक्का दिलाउँदै विद्यालय मर्जमा होइन सरकारले ति विद्यालयको शैक्षिक र भौतिक सुधार र विकासमा ध्यान दिनु जरुरी छ भनेर भन्ने काम पनि महासंघको हो ।
नेपालमा डेढ दर्जन प्रकारका शिक्षकहरु कार्यरत छन् । ति सबैका आ–आफ्नै प्रकारका समस्याहरु छन् । ति सबै चाहन्छन्, आफ्नो समस्या समाधानमा आधिकारिक निकाय भएकाले महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरोस् । उही योग्यता र समान पदको निजामती कर्मचारीले खान पाउने ग्रेड संख्या भन्दा शिक्षकको ग्रेड संख्या कम छ । सबै शिक्षकहरु चाहन्छन्, यो राज्यले गरेको यो विभेदको बारेमा महासंघ बोलोस् र विभेदको अन्त्यका लागि आवश्यक कदम चालोस् । निजामति कर्मचारीका लागि अस्पतालको व्यवस्था छ । शिक्षकहरुको लागि पनि त्यस्तै व्यवस्था होस् र यसमा पनि महासंघले अगुवाई गरेर सरकारलाई अस्पताल स्थापनामा बाध्य पार्न सकोस् भन्ने शिक्षकहरुको चाहना छ । तर महासंघ यस्ता मुद्दाहरुमा किन केही गरिरहेको छैन, जसले शिक्षकहरुको समग्र हित गर्छ ?
भर्खरै विद्यालय समय ९–४ बनाउने भन्ने समाचार बाहिरिएको छ । सुनिंदैछ, सरकारले परामर्श गरेर यो लागु गर्ने सोच बनाएको छ । तर महासंघ यस विषयमा केही बोलेको सुनिएको छैन । यो काठमाण्डौ उपत्यकालाई मात्र हेरेर गर्न लागिएको व्यवास्था जस्तो देखिन्छ । उपत्यका बाहिर पनि नेपाल छ भन्ने थाहा नभएको वा भएर पनि नभएझैं गरेका सरकारलाई उपत्यका बाहिर पनि नेपाल छ, त्यहाँ पनि विद्यालयहरु छन् र ति विद्यालयहरुमा ९–४ विद्यालय सञ्चालन कति व्यवहारिक छ भन्ने कुराको जानकारी गराउने काम पनि महासंघको हुनुपर्ने होइन र ?
बहुभाषिक ,बहुजातिय र बहुसांस्कृतिक नेपालमा पछिल्लो समय अंग्रेजीका लागि गर्न थालिएको अपहत्तेले हाम्रा मात्रृ भाषाहरुसंगै नेपाली भाषा समेत लोप हुने खतरामा पर्न लागेको छ । भाषासंगै सभ्यता र संस्कृति मर्ने वा लोप हुने कुरामा दुइमत रहेन । यस्तो अवस्थामा गुरु हुनुको दायित्व पूरा गर्दै आफ्नो भाषा, सभ्यता र संस्कृतिको संरक्षणमा जससंग हाम्रो पहिचान जोडिएको छ, लाग्नु पर्ने र त्यसको अगुवाई गर्नुपर्ने होइन र महासंघले ?
युनिसेफका अनुसार नेपालका विद्यालय उमेर समूहका सात लाख बालबालिका अझै विद्यालय बाहिर छन् । नयाँ शैक्षिक शत्र सुरु हुनै लाग्दा ति बालबालिकालाई कसरी विद्यालयमा ल्याउन सकिन्छ भनेर चिन्तन मनन गरी सहज वातावरण निर्माणमा महासंघ जुट्नु पर्ने हो भन्ने म ठान्दछु ।
महासंघलाई अहिले शिक्षकको पोशाक फेर्ने चटारो परेको छ । पोशाक फेरेर शिक्षकको डाँडामाथिको जुन बनेको मर्यादा फर्कन्छ भन्ने महासंघलाई लागको होला । तर यो महासंघको गलत बुझाई हो । राम्रो पोशाकले मानिसको मर्यादा बढ्ने भए भारतका राष्ट्रपिता महात्मा गान्धी खद्दरका लुगा लगाउँथे । के अमेरिकाका चौधौं राष्ट्रपति बनेका अब्राहम लिंकनको पोशाक ठाँटबाँटको थियो भनेर हामीले पढेका छौं ? गौतम बुद्धको गेरुवस्त्र ठाँटबाँटको थियो र उनलाई हामीले भगवान मानेका हौं ? कदापि होइन । त्यसो भए पुरानो कोट लगाउ नयाँ किताब किन भन्ने थारोको भनाई विद्यार्थीलाई आदर्श वचनको रुपमा पढाउने शिक्षकले किन पोशाक परिवर्तन गर्नु परेको ? महासंघको उचित जवाफको प्रतिक्षामा छु ।
के पोशाक परिवर्तनले बढ्छ शिक्षकको मर्यादा ?
previous post