सन्तानको लागि अभिभावक आफ्नो आवश्यकता पूरा गर्ने श्रोतमा सिमित भएका छन् भने अभिभावकको लागि सन्तान बुवा आमाको सपना पुरा गरिदिने मेशिन । यो श्रोत र मेशिनको लडाइँमा सहादत चाहीँ मिठो बातले पाउँदो रहेछ । अब दाजुभाइ, दिदीबहिनी आफ्नो बालापन बोल्ने साथी रहेन । आफुसंगै खेल्न सक्ने, खुल्न सक्ने, आफुलाई थोरै भएपनि आड भरोषा दिन सक्ने मानव चेहरा रहेन अब, रह्यो त केबल आफ्नो प्रतिष्पर्धी ।
केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ
भरे फेरी एकान्तमा
रुनु त छंदै छ
झट्ट सुन्दा स्वर्गीय गायक स्वरसम्राट नारायण गोपालले गाउनु भएको यो गीत कुनै युगल जोडिले आफ्नो प्रियतमाको सम्झनामा गुनगुनाएका शब्दहरु जस्तो लाग्छन् । शायद यो गीत रचना पनि प्रेमलाई मध्यविन्दुमा राखेरै गरिएको होला । तर यसलाई अलिक फरक ढंगले हेर्ने हो भने यो गीतका शब्दहरुले समेट्ने गहिराईले केवल दुइ प्रेमि प्रेमिकाको बीचको भावनालाई मात्र भन्दा पनि हाम्रो समग्र जीवन कसरी जीउन पर्छ भन्ने कुरालाई पनि सम्बोधन गर्छ । जस्तो पङितकारलाई आभाष हुन्छ । यस्तो लाग्छ गीतका शब्दहरुले हामीलाई भनिरहेको छ, यती छोटो जिन्दगी छ किन कोही कसैसंग नमिठो बोल्छौ ? किन कोही कसैको लागि रुखो बन्छौ ? मिठो बोल, मिठो बन । जीवन त आखिर ढल्की हाल्छ । बुढेसकालमा छ आफ्नो जवानीको जीवन सकिएर बस्नुको विकल्प के नै छ र ?
आजको हाम्रो समाजलाई नियालेर हेर्ने हो भने मिठो बातको हरकहिँ अभाव छ , चाहे त्यो राजनीतिक वृत्तमा होस् चाहे पारिवारिक सम्बन्धमा होस् या चाहे अन्य कुनै पनि क्षेत्रमा । कुनैपनि सम्बन्धको सुरुवात मजबुती र समृद्धि मिठो बातमा अडिएको हुन्छ । त्यसैले मिठो बातको हाम्रो जीवनमा धेरै ठूलो महत्व रहेको हुन्छ । तर आजको समयमा हाम्रो जीवनमा केही कुराको साँच्चै अभाव छ त त्यो हो मिठो बात को ।
राजनीतिक क्षेत्रलाई नियाल्ने हो भने मिठो बातको सबैभन्दा धेरै खडेरी त्यहाँ पाईन्छ । यस्तो लाग्छ राजनीतिको मूल मन्त्र भनेकै विरोध हो । कांग्रेसले कम्युनिस्टको विरोध गर्छ, कम्युनिस्टले कांग्रेसको । फरक पार्टीको त कुरै छोडौं, एउटै पार्टी भित्र पनि मतान्तर र विरोध छ । कांग्रेसलाई हेरौं, मौका मिल्यो कि देउवाले पौडेलको विरोध गर्ने पांैडेलले देउवाको । जोशी जीको कुरै छोडौं । उहाँलाई मतान्तर र विरोधको भावले यसरी गाँजेको छ , उहाँ कांग्रेसनै फुटाउने सुर तालमा हुनुहुन्छ । फरक नीतिगत अवस्था भएका दुइ कम्युनिस्ट नेकपा एमाले र नेकपा माओवादी बीचको एकताको हालत पनि उस्तै छ । माधवकुमारलाई ओली देखि रिस उड्ने, ओलीलाई माधबको मुख हेर्नै मन नलाग्ने । प्रचण्ड जिको कुरै छाडौं । उनको कुरा सुन्दा मिठो लागेपनि असाध्यै चिफ्ला, जनता त चिफ्ली हाल्ने । भित्री मनसाय के छ भउ पाउनै गाह्रो । होइन राजनीति भनेको के विपक्षीको विरोध गर्नु र सत्ता प्राप्त गर्नुमात्रै हो र ? के राजनीतिमा राष्ट्रको विकास र समृद्धिको मिठो बात हुनै हुँदैन÷हुनै सक्दैन ? के सबै राजनैतिक शक्तिहरु मिलेर नेपालको समृद्धिको लागि गुरु योजना बनाउन सकिँदैन ? ताकि चाहे सरकारमा कांग्रेस या त कम्युनिस्ट त्यो योजनाले निरन्तरता पाओस् । अनि पो हुन्छ देशको विकास । यहाँ त त्यही काम आफुले सरकारमा वसेर गरे ठिक, त्यही काम अन्य पार्टी सरकारमा रहँदा गरे बेठिक । फेरी सरकारमा रहने पार्टीका पनि हर्कत चाहिँ गजबको छ । सरकारमा हुनेले त काम गरेर प्रतिपक्षको विरोधको उत्तर दिनु, जनता रिझाउनु । दोहोरी गाउँदा टुक्का नआएर भट्टाएजस्तो किन पट्पटाएर हिड्नु ? त्यस कारण नेतृत्व वर्गलाई सुझाव दिन मन लाग्छ, विरोध छोडेर केही मिठो बात गर, साँच्चै मिठो, शायद तिम्रा मतदाताले विरोधो स्वर भन्दा मिठो बात रुचाउँछ कि ?
राजनीति क्षेत्रको विश्लेषण पङ्तिकारको वशको कुरा होइन । यो पङ्तिकारको पहुँच भन्दा धेरै टाढाको कुरा हो । तैै पनि एउटा आम नागरिकको हिसाबले ब्यक्तिगत रुपमा जे बुझें जे लाग्यो, त्यही कुरा लेखिदिएँ । त्यसैले अब आफ्नो पहुँच बाहिरको कुरा छोडेर पहुँच भित्र आउन चाहन्छु । आफ्नै छरछिमेक र समाजको परिधिभित्र हाम्रो परिवार र समाजमा पनि अचेल मिठो बातको अभाब हुँदै गएको छ । श्रीमान्÷श्रीमती , सन्तान अभिभावक, दाजुभाई, दिदीबहिनी हरेक सम्बन्धमा मिठो बातको अभाब महसुस हुन थालेको छ । अहिलेको हाम्रो पारिवारिक सम्बन्धहरुलाई नियाल्नु पर्छ, हामीलाई एउटा विचित्र आभाष हुन्छ । साह्रै विचित्रको, डरलाग्दो अनि भयङ्कर पनि । श्रीमान–् श्रीमतीको सम्बन्ध भनेको कमाउने र चलाउनेमा सिमित छ । सके दुवैले कमाउने, नसके एउटाले कमाउने अर्काले त्यसलाई राम्रोसंग चलाउने । यो कमाउने र चलाउनेको भाग दौडमा श्रीमान् –श्रीमतीबीचको मिठो बात नभएको कति खेर वषौं वित्यो पत्तै हुँदैन । कहिलेकाही त मिठो बातको प्यासले यति सताउँदो रहेछ, मिठो बातको दुइ घुट्कीको लागी सम्बन्धहरु मै पूर्ण विराम लाग्दो रहेछ । सन्तान र अभिभावकको पनि हालत उस्तै । सन्तानको लागि अभिभावक आफ्नो आवश्यकता पूरा गर्ने श्रोतमा सिमित भएका छन् भने अभिभावकको लागि सन्तान बुवा आमाको सपना पुरा गरिदिने मेशिन । यो श्रोत र मेशिनको लडाइँमा सहादत चाहीँ मिठो बातले पाउँदो रहेछ । अब दाजुभाइ, दिदीबहिनी आफ्नो बालापन बोल्ने साथी रहेन । आफुसंगै खेल्न सक्ने, खुल्न सक्ने, आफुलाई थोरै भएपनि आड भरोषा दिन सक्ने मानव चेहरा रहेन अब, रह्यो त केबल आफ्नो प्रतिष्पर्धी । जुन कुराको सुरुवात अभिभावकले नै गराउँछन् । दाइले यति नम्बर ल्यायो खोई त तेरो ? बहिनीले यस्तो गर्दा तैंले गर्न सक्दैनस् ? अनि घरबाटै सुरु हुन्छ
प्रतिष्पर्धा । यो प्रतिष्पर्धामा दाजुभाई, दिदीबहिनीबीचको त्यो मिठो आत्मियता, त्यो मिठो सम्बन्ध अनि केही मिठो बातहरु कतिखेरर पछाडि छुट्न पुग्छ थाहै हुँदैन । जुनदिन हामी फर्केर हेर्छौं ति मिठा बातहरु धेरै पर छुटिसकेको हुन्छन् । यति पर जहाँ न हामी फर्केर जान सक्छौं, नत त्यहिँ बसेर सुन्न नै । सक्छौं त केवल ती मिठा बातको आभाषमा कल्पिन मात्र । उही हाम्रो स्वर सम्राटले भने जस्तै, भरे फेरी एकान्तमा सम्झी रुनु छँदैछ ।
समय गतिशिल छ । गतिशिल समयसंगै हामी पनि गतिशिल हुन सिक्नुपर्छ÷सक्नुपर्छ । जसरी जमेको पानीले समुन्द्रसंग मिल्न पाउँदैन, बगेको पानीले मात्र पाउँछ, त्यसरीनै हामी आफ्नो सपना र लक्ष्यलाई भेट्न बग्नैपर्छ÷दौडनैपर्छ । तर यसरी पनि होइन कि भोली हाम्रो सफलतामा रमाउनको लागि हामीसंग कोही नहोस् । त्यसकारण समय छँदै सम्बन्धहरुलाई मजबुत बनाउनु पर्छ । समय छँदै जीवनलाई जिउनु पर्छ । जीवन बुझ्न तिर लागियो भने जीवन बुझ्दासम्म यति ढिलो भैसक्छ, जीवन जिउने समय नै वचेको हुन्न जीवनमा । जीवन जिउँदै गइयो भने जीवन जिईसक्दासम्म जीवन बुझिपनि सकिन्छ ।
हामी जो सुकै होऔं जहाँ सुकै बसौं, हामीपनि कसै न कसैको सन्तान हौं । कसैको अभिभावक, कसैको जीवनसाथी, कसैको साथी, कसैको छिमेकी या फेरी कसैको प्रमी । त्यसैले समय छँदै सम्बन्धको महत्वलाई बुझौं । सम्बन्धहरु निभाउनलाई सिकौं । हामी चाहे जुनसुकै राजनैतिक विचार प्रति आस्थावान होऔं तर हाम्रो साझा घर त नेपाल हो । नेपालको समृद्धि नै हामी सबैको साझा सपना हो । निश्चित दूरीसम्म त विकर्षण हुने चुम्बकको विपरित धु्रव पनि आउन सक्छ भने हामी किन नसक्ने ? नेपालको समृद्धिको लागि एउटा मिलन विन्दु तय गरेर कमसेकम त्यहाँसम्म आउन त आउँ । त्यसैले समय छँदै एक बनौं । समय छँदै सचेत बनौं ताकि हाम्रा सन्तानहरु सपनामै सिमित नहोउन अनि कुनै पिन सम्बन्धहरुमा निशासा नलागोस् । आजैबाट यसको सुरुवात गरौं । आउनुहोस् केही मिठो बात गरौं ।