–“हामीले आफ्ना विरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।”
कांग्रेसले आफ्नो आदर्श पुरुष मान्ने र श्रद्धापूर्वक जननायक, सान्दाजु आदि नामले पुकार्ने नेता हुन् विश्वेश्वरप्रसाद कोइराला । र नेपाली कांग्रेसका संस्थापक नेता उनै कोइरालाको भनाई हो माथिको । बीपीका हरेक वाणीलाई आफ्नो मुलमन्त्र ठान्ने कांग्रेसले आजकल त्यसको अनुसरण गर्न छाडेको छ । बीपी अब सत्ता प्राप्तीका लागि भ¥याङमात्र बनेका छन् । निर्वाचन आउँदै गर्दा र स्मृति दिवसको अवसरमा मात्र सम्झने पात्र बनेका छन्, बीपी । महाधिवेशन स्थलमा बीपीको तस्वीर देखेर यो कुन बुढो हो भनेर प्रश्न गर्नेहरु महाधिवेशन प्रतिनिधि चुनिन थालेपछि उनका बाणी र आदर्शको परित्याग कांग्रेसका लागि कुनै नौलो कुरा भएन । तर कांग्रेस जनका लागि बीपी कछुवाका लागि उसको कवच जस्तै हो ।
कछुवा भन्ने वित्तिकै हामीलाई उभयचर अर्थात पानी र जमिन दुबै ठाउँमा बस्न सक्ने सरिसृप वर्गको सर्वाधिक बुद्धिमान भनिने प्राणीको याद आउँछ । जलवायु परिवर्तनका कारण वितेको २० करोड वर्षमा धेरै प्राणीको पृथ्वीबाट अस्तित्व समाप्त भयो । तर कछुवा ति सबै अरोह अवरोहलाई झेल्दै हालसम्म सुरक्षित रहेको छ । मेरो जानकारीमा रहेसम्म क्याल्सियम र प्रोटिन फाइबरबाट बनेको कडा कवचले कछुवालाई सुरक्षित बनाएको हुन्छ ।
आफ्नो कवच सम्झेर एकदिन कछुवालाई दिक्क लाग्छ । उ सोच्छ, मेरो शरीरमा यो कवच नभएको भए म कति स्वतन्त्रता पूर्वक हिँड्न सक्थें । शायद म चराहरु जस्तै उड्न सक्थें । यो भारी कवच वास्तवमै मेरो लागि अभिषाप हो । यो भारी कवचको के नै उपयोगिता पो छ र ? मेरा लागि भारी हुनु र मलाई स्वच्छन्द भएर हिँडन नदिनु बाहेक । उसले भुल्यो कि काग, चिल लगाएत शिकारी चराहरुले उसलाई अक्रमण गर्दा सम्पूण शरीर र टाउको समेत त्यही कवच भित्र लुकाएर ज्यान जोगाएको । र एकदिन कवचबाट आफुलाई मुक्त गराएर, स्वच्छन्द पूर्वक बाहिर निस्क्यो । बाहिर निस्केको मात्र के थियो, उसलाई काग, चिल जस्ता मांशहारी पंछीहरुले आक्रमण गर्न थाले । उ हत्तपत्त कवच भए ठाउँ गयो र त्यसभित्र पसेर ज्यान जोगायो । यो घटनाले कछुवालाई आफ्नो कवचको महत्व बुझायो र उसले कसम खायो, अब म कहिल्यै कवचलाई भारी र निरर्थक सम्झने छैन ।
सात दशक देखिको विभिन्न आरोह अवरोह पार गर्दै आफुलाई अझैसम्म देशको प्रमुख पार्टीको रुपमा कायम राख्न सफल नेपाली कांग्रेस माथि प्रस्तुत सन्दर्भमा रहेको पात्र कछुवा जस्तै द्विविधामा छ । कांग्रेसका नेताहरु खासगरी सभापती शेरवहादुर देउवा, रामचन्द्र पौडेल लगाएत केही नेताहरुलाई कछुवालाई कवच भारी भएजस्तै कांग्रेसको आदर्श र बीपीका विचारहरु भारी भएका छन् । उनीहरुलाई पनि बीपीका विचारहरु निरर्थक लाग्न थालेका छन्, जसरी कछुवालाई आफ्नो कवच अनावश्यक र निरर्थक लागेको थियो ।
जननायक बीपी कोइराला भन्नुहुन्थ्यो, सिद्धान्त र सत्तामध्ये एक रोज्नु पर्दा सिद्धान्त रोज्नुपर्छ । तर अहिले कांग्रेसका नेताहरुलाई वीपीको यो वचन निरर्थक र औचित्य हिन लाग्न थालेको छ । सत्ताका लागि होइन, संविधानको रक्षार्थ अहिलेको गठबन्धन गरिएको भनेर वा अन्य कुनै तर्कले वर्तमान गठबन्धनको वचाउ गरेपनि यथार्थ के हो भने यो नितान्त सत्ता प्राप्ती र राज्य शक्तिका दोहनका लागि हो । न भए हिजो छानी छानी कांग्रेस नेता कार्यकर्ता मार्नेहरुसंगको यो साठगाँठ हुने थिएन । आयातित माओवाद, माक्र्सवाद र लेनिनवादसंग आफ्नो मौलिक समाजवादी सिद्धान्तको कहाँनिर समानता छ ? कुन पक्षले सैद्धान्तिक मेल देखाउँछ, कांग्रेस कार्यकर्ताले बुझ्न सकेका छैनन् । कांग्रेस नेताहरुको तर्क छ, हामीले चुनावी गठबन्धन नगरको भए अन्य दलहरु गठबन्धन गर्न तयार भएर बसेका थिए । जसका कारण निर्वाचनमा हामी फेरी पराजित हुने थियौं । निर्वाचनमा हार जित हुने कुरालाई लोकतन्त्रको स्वाभाविक पक्षको रुपमा स्वीकार गर्न आफ्नो दललाई लोकतन्त्रको पर्यायवाची सम्झने कांग्रेस नेताहरुलाई कठिन हुनुका कारण सजिलै बुझ्न सकिन्छ । र सत्ताभन्दा सिद्धान्त रोज्नुपर्छ भन्ने वीपी वाणीलाई कांग्रेसहरुले सत्ता प्राथमिक कुरा हो, सिद्धान्त रद्दीको टोकरीमा गएपनि जाओस् भनेर सम्पादन गरिदिएका बुझ्न कठिन छैन ।
वीपीका अर्काे भनाई थियो, हामीले आफ्ना विरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ । आम कांग्रेस कार्यकर्ताले बुझ्न नसकेको कुरा के हो भने बीपीको यो भनाई र वर्तमान चुनावी गठबन्धनबीच कहाँ तादात्म्य छ ? प्रजातन्त्र स्थापनाको तीन दशकमा नागरिकका पक्षमा जे काम हुन सके वा सकेनन्, त्यसको जस वा अपजसको भागिदार कांग्रेस बढी नै हुनुपर्छ किनभने कांग्रेसनै अधिकांश समय सत्तामा थियो । यो तीन दशकमा आफुले गर्न सकेका कामका बारेमा नागरिकलाई बताएर र आगामी दिनमा अझ राम्रो गर्ने बताएर नागरिकको मन जितेर पो मत हासिल गर्ने हो ।
आफ्ना आकांक्षा सबैको पूर्णता सम्भव छैन भन्ने कुरा नेपाली नागरिकले बुझेका छन् तर अधिकतम नागरिकका आकांक्षा पूर्णतामा लाग्ने प्रयत्न गरेर र आफ्ना सिद्धान्तको भराषामा नागरिक मत तान्ने हो । तर के आफ्ना काम र सिद्धान्तको आधारमा मत लिने पहलु हो वर्तमान गठबन्धन ? अहँ पटक्कै होइन । पाँच पटक प्रधानमन्त्री बनिसकेका शेरबहादुलाई छैटौं पटक प्रधानमन्त्री बन्नुछ । तर किन ? भन्ने प्रश्नको जवाफ देउवासंग छैन । अनि रामचन्द्रलाई राष्ट्रपतिको लालिपपले माकुरोलाई कुमालकोटीले तानेजस्तो तानिरहेको छ, गठबन्धन मन्त्रले ।
वीपीका विचारहरु त्याग्दै गएर कांग्रेस नेताहरुले आफुलाई माथि उल्लेखित प्रेरक प्रसंगको मुल पात्र कछुवाको स्थानमा उभ्याएका छन्, जसले आफ्नो कवचलाई भारी र निरर्थक अनि अभिषाप सम्झने गरेको थियो । आफ्ना सिद्धान्त, आदर्श र विचारहरुका प्रति कांग्रेस नेताहरुलाई शायद अब विश्वास र भारोषा छैन् । त्यसैले त तिनीहरुको बलमा नागरिक मन जितेर मत प्राप्त गर्ने र सत्ता प्राप्ती गर्दै मतदाताको पक्षमा काम गर्ने हिम्मत कांग्रेस नेताहरुले गुमाएका जस्तो देखिएको छ । कछुवाको नियति भोग्न शायद कांग्रेसले बाँकी नै छ । नभए यो उत्ताउलो व्यवहार कांग्रेस नेतृत्वले देखाउने थिएन । अहिलेलाई यत्ती भनौं, बेलैमा सद्वुद्धि प्राप्त होस् अनि वीपीका आदर्शलाई व्यर्थ, बोझ र अनावश्यक सम्झने रोगबाट कांग्रेस मुक्त होस् ।
कांग्रेस र कछुवा
previous post