नेपालको जेठो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा चौधौं महाधिवेशन चर्चा सुरु भएको छ । कोरोनाको दोस्रो लहरको महामारी हटेमा र वर्तमान नेतृत्वलाई फेरी पदमा वसिरहने लोभले छाडेमा आगामी केही महिनामा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाउने छ । तर क्रियाशिल सदस्यता सम्बन्धी कायम विवाद तथा पार्टी सत्तामा निरन्तर रहन चाहनेहरुका लागि कोरोना महाधिवेशन नगराउन पर्याप्त हुनेछन् । यो आलेख तयार गर्दै गर्दा आगामी भदौसम्ममा महाधिवेशन गर्ने भनेर हल्ला चल्न थालिसकेको छ । माथि भनिएझै पार्टी सत्ताका लोभी कतिपय नेताहरु विवाद नसुल्झियोस् भन्ने कामनामा र कोरोनाको कहर तत्काल अन्त्य नहोस् भन्ने कामनामा लागेका छन् । एकछिनलाई मानौं भदौमा महाधिवेशन भयो र नयाँ नेतृत्व कांग्रेसले पायो । तर नयाँ नेतृत्व पुरानै अनुहारको हुने कि अनुहार पनि नयाँ आउने भन्ने चासोको विषय हो ।
पछिल्लो समय बीपी र उनको विचारलाई केवल सत्ता प्राप्तीको सिँढीको रुपमा प्रयोग गर्दै आएको कांग्रेसलाई नयाँ जीवन दिन सक्ने, विचारले समेत नयाँ नेतृत्व आउने अवसर आसन्न चौधौं महाधिवेशनले
देला ? भन्ने जिज्ञासा आमकांग्रेस कार्यकर्ता र शुभचिन्तकमा रहेको छ । र उनीहरुको कामना छ, देह र विचारले समेत युवा नेतृत्व कांग्रेसले प्राप्त गरोस् । वहस के आमकार्यकर्ता र शुभेच्छुकको कामना पूर्ण होला अर्थात युवा विचार, कार्यक्रम, नीति, सिद्धान्त, संस्कार, व्यवहार, मान्यता सबै हिसाबले नयाँ र युवा नेतृत्व पाउला यस पटक कांग्रेसले ? भन्नेमा हो । अनि के युवा भनिएका नेताहरुले आशिर्वादबाट पद प्राप्त गर्ने सकिन्छ र मुर्छाएको कांग्रेसलाई स्वस्थ भएर दौडने बनाउन सकिन्छ भन्ने भ्रम त्याग्दै परस्पर मिलेर पुरानो नेतृत्वलाई चुनौति देलान् ? देउवा, पौडेल, सिटौला आदिको ठाउँमा गगन, विश्वप्रकाश, गुरु, प्रदिपहरु नेतृत्वमा आउँलान् ? के यी नेताहरुले पार्टीको नेतृत्व गर्ने हिम्मत गर्लान् ? कि फेरी बुढा नेताहरुको फेर समातेर उनीहरुलाई मूल नेतृत्वमा लगेर आफु सहयोगीको रुपमा रहने गरी प्रस्तुत होलान् ?
युवाहरु नेतृत्वमा आउन सक्ने वा नसक्ने भन्नेमा विभिन्न तत्वहरु कारक हुन सक्छन् । तर मूख्य कारक त उनीहरुमा निहित आत्मविश्वास नै हो । म नेतृत्व गर्न सक्छु, देशभरका प्रजातन्त्रवादीहरुको भरोषाको केन्द्र बन्न सक्छु भन्ने आत्मविश्वास उनीहरुमा भए नेतृत्वमा आउन समस्या हुने
छैन । तर देशभरबाट महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएर आएका नेताहरुले विश्वास गर्छन कि गर्दैनन् भन्ने कुरा पनि निर्णायक हुनसक्छ । ति प्रतिनिधिहरुलाई विश्वासमा लिने र बीपीको आदर्श अनुसार पार्टीलाई अगाडि बढाउँछु भनेर भरोषा दिलाउने काम पनि ति युवा नेताहरुको नै हो । तर के युवा नेताहरु कुनै नेताको ओत नलागी एकताबद्ध भएर अनि नविन विचार, संस्कार, व्यवहार, संस्कृति, मूल्य मान्यता, आदर्श सहित बहुमत प्रतिनिधिको मन जितेर नेतृत्वमा आउन सक्लान् भन्ने प्रश्न नै यतिबेला प्रमुख
हो । तर अहिलेसम्मको अवस्था हेर्ने हो भने कांग्रेसले युवा नेतृत्व प्राप्त गर्ने सम्भावना देखिएको छैन, यद्यपि युवा भनिएका नेताहरु अघिल्लो पुस्ताका नेताहरुलाई यो महाधिवेशनबाट ससम्मान विदा गरेर युवा नेतृत्व पार्टी सत्तामा आउने कुरा दोहो¥याउन छोडेका छैनन् ।
कतिपय पाठकलाई यो निराशावादी कुरा लाग्न सक्छ तर यो नै यथार्थ हो र यसका केही स्पष्ट आधारहरु छन् । पहिलो कुरा त मैले माथि पनि उल्लेख गरें कि युवाहरुमा नेतृत्वमा आउने अदम्य साहस हुनुपर्छ । कुनै नेताको फेर समातेर पार्टी नेतृत्वमा पुग्छु भन्ने कुराबाट मुक्त हुनुपर्छ । गत निर्वाचन पछि पार्टीमा निर्वाचनको पराजयका कारणहरुको खोजी र समिक्षाका लागि नेतृत्वलाई दवाव दिन भनेर कांग्रेसका युवा नेता एक ठाउँ उभिएका थिए तर आठ मध्येका एक विश्वप्रकाश शर्मालाई पार्टी सभापति देउवाले पार्टी प्रवक्तामा नियुक्त गरेर त्यो एकता भङ्ग गरिदिए । त्यस यता शर्मा सभापति देउवाको राम्रा नराम्रा कामको बचाउमा लागेका
छन् । चल्तीको भाषामा भन्नु पर्दा उनी देउवाको पोल्टामा पुगेका छन् । अन्य युवा नेताहरु पनि कोही पौडेलको त कोही सिटौलाको फेर समात्नमा व्यस्त छन् । उनीहरुमा म आफ्नै बुतामा नेतृत्वमा स्थापित हुन सक्छु भन्ने विश्वास नै छैन भन्ने देखिएको छ । र विर्सेको देखिएको छ कि पार्टीका संस्थापक नेता बीपी कोइराला चालीस वर्षको नहुँदै पार्टी सभापति भएका थिए । त्यसको कारण उनमा रहेको आफ्नै बुतामा नेतृत्वमा पुग्न सक्छु भन्ने आत्मविश्वासले काम गरेको थियो ।
अहिले पनि एकथरी आफुलाई युवा नेता भन्न रुचाउनेहरु यस्ता नेताहरु छन् जसले पार्टीमा देउवाको विकल्प देखिरहेका छैनन् । उनीहरुमा देउवालाई तपाई चार पटक प्रधानमन्त्री हुनु भयो, एक पटक सभापति हुनु भयो । अब हाम्रो पालो हो भन्न सकिरहेका
छैनन् । जब मानिसमा आत्मविश्वास हुँदैन तब उ आफु भन्दा बलियो भनिएको शक्तिको ओत लाग्न र त्यसबाट विभिन्न स्वार्थ पूरा गर्ने ध्याउन्नमा
लाग्छ । अहिले खासगरी सभापति देउवाको पछि लाग्ने नेताहरुमा त्यही आत्मविश्वासको कमि र पौराणिक कथाको गणेश बनेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्ति देखिन्छ । तर के कांग्रेसलाई पुनः जीवन दिन त्यसरी सम्भव छ ? के सिद्धान्त, नीति र विचार सून्य बनेको कांग्रेसलाई नयाँ मार्गमा लैजान र फेरी आमनेपालीको भरोषाको केन्द्र बनाउन यसरी नै सम्भव छ ? छैन ।
तनहुुँकै कुरा गरौं न । प्रजातन्त्र प्राप्तीको तीन दशक पुग्दासम्म एउटै अनुहारका नेताहरुलाई कांग्रेस नेता कार्यकर्ताले नेतृत्व तहमा पठाए तर परिणाम हरौं त २०४८ सालको निर्वाचनमा कम्युनिष्ट उम्मेदवारभन्दा हजारौं मत बढी ल्याएर जितेको कांग्रेस गत निर्वाचनमा ठिक उल्टो परिणाम व्यहोर्न अभिषप्त बन्यो । के यो अहिलेसम्म हामीले पठाएको नेतृत्वको असफलता होइन ? मलाई फेरी पनि लाग्छ, तत्काल कांग्रेसका युवा नेतृत्व पार्टी सत्तामा आउँदैन । बीपीको विचारका संवाहक भनेका युवाहरुले बीपीले जस्तो सहास गर्न सकेमा र आपसमा सहयोगी भाव राख्न सकेमा असम्भव भने छैन । मेरो कामना छ, मलाई लागेको कुरा असत्य होस् । कांग्रेसको पार्टी सत्तामा कार्य र विचार दुवैले पुष्टि गरेका युवाहरु पुगुन् अनि कांग्रेस यस्तो छहारी बनोस् जसमा आम नेपालीले ओत लाग्न सकुन्, आफ्नो समृद्धि सपना साकार भएको देख्न पाउन् ।