काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको सरकारले २०७९ बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तोके यता देशमा चुनावी सरगर्मि ह्वात्तै बढेको छ । साना ठूला हरेक दलहरु चुनावी मत परिणामलाई आफ्नो पक्षमा ल्याउन दिनरात प्रयासमा जुटेका छन् । अहोरात्र खटिएका छन् । कोही चुनावमा आफ्नो अस्तित्व रक्षा गर्नका लागि त कोही केही सिट भएपनि प्राप्त गरेर राष्ट्रिय राजनीतिमा प्रवेश गर्न रणनीति बनाएर कार्यान्वयनमा लागि परेका छन् । लगभग हरेक पार्टीको केन्द्रिय कमिटिले रणनीतिक कार्यक्रमहरु बनाएर कार्यान्वयनको लागि जिल्ला जिल्लामा निर्देशन पठाई सकेका छन् । जिल्लास्तरीय नेताहरु पनि हाईकमाण्डको निर्देशन अनुसार गाउँ गाउँमा युवा पुस्ता भेला पार्नेदेखि मतदान गर्ने उमेर समूहको मानिसहरु माझ आफ्नो पार्टीको प्रचारप्रसारमा जुटेका छन् । स्वयम केन्द्रियस्तरका नेताहरु समेत लामो समयको अन्तराल पछि फेरी गाउँ डुल्न थालेका छन् । कुरो चुरो चाही के हो भने केन्द्रमा मात्र होइन, जिल्ला जिल्ल ामा, गाउँगाउँमा पनि चुनावी सरगर्मि बढेको छ । यो परिस्थितिमा नेपाली काँग्रेस, वर्तमान सरकारको नेतृत्व गरिरहेको कुनै समयको नेपालको सबैभन्दा ठूलो राजनीतिक पार्टीलाई चुनावी गर्मिले नछुने कुरै भएन । अहिले नेपाली काँग्रेसले ‘घर घर जाउँ, नेपाली काँग्रेस जिताऊँ’ भन्ने नाराका साथ अभियान नै सञ्चालन गरिरहेको छ । आजको यो लेखाईमा नेपाली काँग्रेसको यही अभियानको आड लागेर, नेपाली काँग्रेस र वर्तमान राजनीतिलाई अलि अलि चियाउने प्रयास गर्दैछु ।नेपाली काँग्रेसको अभियान तर्फ ढल्कनु भन्दा पहिले वर्तमान राजनीतिलाई सर्सती हेर्ने प्रयास गर्न चाहन्छु । अहिले
काँग्रेस पार्टी गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । माओवादी केन्द्र लगायत अन्य साना दलहरु काँग्रेसको नेतृत्वको गठबन्धन सरकारमा सामेल छन् । नेकपा एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ । माधव कुमार नेपाल नेतृत्वमा रहेको समूह नेकपा एमाले समाजवादी बनेको छ । कुनै समयको चर्चित माओवादी नेता, वक्ता, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मदेशवादी दलको संरक्षणमा छन् । बौद्धिक बर्गहरुको नेतृत्वमा खुलेका साना पार्टीहरु पनि कहिले फुटि रहेका छन्, कहिले फेरी जुटिरहेका छन् । चरा मार्न चारैतिर मुख मुख फर्काएर बसेजस्तो सबै पार्टीको मुख भिन्दा भिन्दै दिशामा फर्केको छ । यद्यपी यी सबै पार्टीहरुमा चाहे सानो होस् या ठूलो, एउटा कुरा चाही समान छ, त्यो के हो भने राजनीति गर्ने तरिका अर्थात गालिको राजनीति ।
यो कटु यथार्थ हो कि नेपालको अहिलको राजनीति गालिमा आडेको छ । अर्कालाई गालि नगरी बस्न नसक्ने नेता नै नेपालमा छैन भन्दा पनि गलत हुँदैन होला । त्यसैले त नेपालको राजनीति राजनीति नभएर लाज नीति भएको छ । राजनीतिमा विरोधी पार्टी वा भनौं अरु पार्टीको कुराहरु काटिनु, आरोप प्रत्यारोप लाग्नु स्वभाविक नै हो । तर गालि गरेकै भरमा पार्टी टिक्नु, अरुलाई दोष लगाएकै भरमा आफने राजनीति बचाउन खोज्नु चाही नैतिकताबाट स्खलित हुनुको पराकाष्ठ हो । अहिलको कुनै पनि नेताको आमसभा, भाषण भयो भने नेताले के बोल्ला भन्दा पनि आज यसले कस्लाई गाली गर्छ होला भनेर सोंच्नु पर्ने विडम्बना छ । किनभने हरेक नेताले आफ्नो भाषणको ९० प्रतिशत समय त अरुलाई गालि गरेरै सक्ने गर्दछन् । आमसर्वसाधारण र कार्यकर्ताको बुझाई पनि उस्तै छ । जसले धेरै अरुलाई गालि गर्न सक्यो, त्यो नेता सही । उही स्पष्ट वक्ता, उही नेपाली राजनीतिलाई निकास दिने आशाको दियो । हाय रे मेरो देशको राजनीति ।
देशको राजनीतिक अवस्थलाई व्याख्या गर्न धेरै शब्द खेर नफालौं क्यारे । नेताले गालि गरेकै भरमा मात्र राजनीति गरें भनेर कराउँदा कराउँदा आफ्नै शब्दहरु पनि गालिकै रुपमा प्रस्तुत भएकी जस्तो पनि लाग्यो । त्यस कारण अब राजनीतिक अवस्थाको व्याख्या नगरी काँग्रेसको अभियान तर्फ मोडिनु पर्ला । यसै पनि नेपालको राजनीतिक अवस्थाको जानकारी र ज्ञान त यो तुच्छ पंक्तिकारलाई भन्दा दिग्गज र बौद्धिक पाठकहरुलाई नै छ । तसर्थ यो प्रसंगलाई आजको लागि यही विट मारेर रुखको हरियालीको बारेमा टिकाटिप्पणी गर्नु पर्ला ।
नेपाली काँग्रेसको इतिहासको व्याख्या र विश्लेषण गर्ने सामथ्र्य त पंक्तिकारको छैन र पनि अहिले काँग्रेसले चलाई रहेको अभियानको चियो चर्चो गर्नुपूर्व नेपाली काँग्रेस कसरी स्थापना भएको पार्टी हो भन्ने सम्म यहाँ उल्लेख गर्नु मनासिब होला जस्तो ठान्दछु । जननायक वी पी कोईरालाले नेपालको गाउँ गाउँ समाज समाज डुलेर, बुझेर, नेपालीहरुको तत्कालिन आवस्था र आवश्यकताहरुलाई महसुस गरेर प्रतिपादन गरेको समाजवादको सिद्धान्तको जगमा अडिएर स्थापना भएको पार्टी हो नेपाली काँग्रेस । त्यसैले त तत्कालिन समयमा सत्तामा रहेको राजतन्त्र लाई समेत पराजित गरी जननायक वीपी कोईराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भयो । वी पी कोईरालाको सिद्धान्त र समकालिन काँग्रेस नेतृत्वको त्याग र बलिदानको आधारस्तम्भमा उभिएको पार्टी हो नेपाली काँग्रेस् । सामुन्ने आइपरेका हरेक आरोह अबरोहलाई सामना गर्दै, समस्याहरुलाई सुल्झाउँदै देश र जनताको लागि हरदम लडेको गौरवशाली इतिहास भएको पार्टी हो नेपाली काँग्रेस । यही गौरवशाली इतिहास भएको कारणले त्यतिबेला मानिसको मनमनमा नेपाली काँग्रेस थियो । राजधानीमा नेपाली काँग्रेस भन्दा दूरदराज क्षतिज र कुना कन्दराबाट पनि जिन्दावादको बुलन्द आवाज आउथ्यो । क्रुर राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाबाट आजित भएका नेपाली जनहरुको आशा र भरोसाको केन्द्र थियो, नेपाली काँग्रेस् । यो थियो हिजोको अवस्था । तर आज ? हिजो मनमनमा बसेको काँग्रेस आज कहाँ छ भनेर घर घरमा खोज्दै हिड्नु पर्ने नियति बनेको छ । कस्ले बनायो यो अवस्था ? उत्तर स्पष्ट छ, गाउँबाट राजधानी छिरेपछि गाउँ फिर्न भुलेका ती काँग्रेसी नेताहरुले बनाए जस्लाई काँग्रेस पार्टी भनेकै मै हूँ । म भनेकै काँग्रेस् । तिनै नेताहरुले बनाए जो सत्तरीको दशको उत्तरार्धको जनताको चेतनास्तर चालीसको जनताकै जत्ति छ भन्ने भ्रममा बाँचिरहेका छन् । जो आफूलाई, केबल आफूलाई सर्बेसर्वा ठान्छ, बाँकी कार्यकर्ता र आममानिसलाई रैती बराबर सम्झन्छ ।
नेपाली काँग्रेसले घरघरमा काँग्रेसीजनहरुको खोजी गर्दै हिड्नु पर्ने नियती भोगेको देख्दा वी पीको एउटा कुरा याद आयो । उहाँले भन्नुभएको थियो प्रजातन्त्र आएपछि पनि केही समय पछि पार्टीमा सुकिला मुकिलाहरुको बोलबाला बढ्नेछ, दवाव हुनेछ । त्यतिबेला सच्चा कार्यकर्ताले फेरी विद्रोहको सुरुवात गर्नुपर्ने छ । सायद त्यो समय आएको छ । त्यसकारण अब साँच्चै नै वी पीको समाजवादको सिद्धान्तमा अडिएको काँग्रेसहरुले चुनावको मुखमा काँग्रेस खोज्दै गाउँ चाहार्ने छद्मभेदी नेताहरुलाई फूलमाला लगाएर स्वागत गरेर टन्टलापूर घाममा उभिएर खलखली पसिना बगाउँदै परर ताली बजाउने होइन, आँखा जुधाएर खबरदारी गर्ने आँट गर्नु पर्दछ ।
नेपालमा जतिपनि निर्वाचनहरु भए विडम्बनको साथ भन्नु पर्दछ, पार्टीले चुनाव जित्यो तर देश र जनताले कहिल्यै चुनाव जितेनन् । ‘जुन जोगी आएपनि कानै चिरेका’ भन्नेको चरितार्थ गर्न कुनै पार्टीले बाँकी राखेका छैनन् । वास्तवमा भन्ने हो भने राजनीतिक पार्टी भन्ने शब्दावली बाटै नेपाली जनता अघाई सकेको अवस्था छ । राजनीति भन्ने शब्दसंगै घृणा लागेको नेपाली जनतलाई । यस्तो अवस्थामा कमसेकम नेपाली काँग्रेस जस्तो गौरवशाली इतिहास भएको पार्टीले पार्टीलाई होइन देश र जनतालाई चुनाव जिताउने लक्ष्य राख्नु पर्दथ्यो । घर घरमा होइन, व्यक्ति व्यक्तिको मनमनमा काँग्रेसलाई खोज्ने प्रयास गर्नु पर्दथ्यो । यो सुनौलो अवसर पनि थियो नेपाली नेपाली काँग्रेसको लागि तर लाग्छ नेपाली काँग्रेस यस पटक पनि चुक्दै छ । त्यसैले त काँग्रेस देश र जनतालाई छायाँमा राखेर काँग्रेसलाई जिताऔं, काँग्रेसलाई भनेर चिच्याई रहेको छ । एक जना दार्शनिकले भनेका छन्, ‘तिम्रो स्वर होइन, शब्द बढाऊ किनकि विरुवा उम्रन पानी चाहिन्छ । गर्जन होइन ।’ सायद नेपाली काँग्रेसले यो सत्यलाई स्वीकार्न चाहिरहेको छैन ।
देश र जनताको हित भन्ने कुरा एउटा भावना हो । अवधारणा हो । त्यसको लागि कुनै न कुनै राजनीतिक शक्तिले नेतृत्व गर्नै पर्दछ । सायद यतिखेर नेपाली काँग्रेसले आफूलाई त्यही शक्तिको रुपमा महसुस गरिरहेको होला । या देश र जनतालाई जित भएको आभाष गराउने नेतृत्वको रुपमा स्थापित हुने प्रयास गरिरहेको होला तर ‘घरघर जाऊँ, काँग्रेस जिताऔं’ भन्दै चिच्याई रहेका लाचार नेतृत्वहरुसंग एउटै प्रश्न गर्न मन छ, काँग्रेसलाई जिताउन, रुखमा छाप लगाए पुग्छ कि पनि लगाउनु पर्दछ ?